हामी नारा चिच्याउने भिडमा हराएका छौँ
स्वतन्त्र सोचलाई लाइक र शेयरमा बदल्ने बनेका छौँ
जहाँ सत्य पनि ट्रेन्डिङ ट्यागको दास बनेको छ
र विवेक— कमेन्ट बक्समा च्यापिएर अर्धमुर्छित भएको छ।
लोकप्रियतावादको गल्लीमा
मान्छे अब अनुयायी गन्ने यन्त्र बनेको छ
र हनुमानवादको मन्दिरमा
स्वर होइन— आज्ञा गुन्जिन्छु
आस्था होइन— आदेश पुजिन्छ
आफ्नै मस्तिष्क भाडामा दिएका हामी
बुझ्दैनौँ— नसोच्नु पनि एक किसिमको अपराध हो।
कहिले नेताले भिड जन्माउँछ
कहिले भिडले नेता जन्माउँछ
नेता बोल्छ— भिड ताली बजाउँछ
भिड बोल्छ— नेता मौन रहन्छ
नेता र भिडको दोहोरीमा
हामी आआफ्नै तालमा नाच्छौँ
किनभने हामी अभ्यस्त बनाइएका छौँ—
‘भक्त बन्नु सिर्जनशील हुनुभन्दा सजिलो कार्य हो।’
लोकप्रियतावादले गिज्याएको सत्य
र हनुमानवादले बाँधेको चेतनाभित्र
हाम्रो आत्मा अहिले निसासिएको छ
अक्सिजन खोज्दै तड्पिरहेको छ।
हामी जिन्दगी जिउँछौँ
अरूको हेडलाइनले लेखिदिएको स्क्रिप्टमा
जहाँ न विचार आफ्नो हुन्छ न निर्णय
सबै केवल पूर्वनिर्धारित ‘फर्मान’ हुन्छ।
तर एक दिन यो अन्यौलताको बादल फाट्नेछ
र हाम्रो मौनता ढोका खुल्नेछ
त्यो दिन कथित लोकप्रियतावादका देवता ढल्नेछन्
हनुमानवादका डोरीहरू टुट्नेछन्
र हामी फेरि मान्छे बन्न सिक्नेछौँ—
आफ्नो टाउकोले सोच्ने
आफ्नो हृदयले बोल्ने
आफ्नो आत्माले निर्देशित हुने।