काठमाडौँको साँघुरो गल्लीभित्र पुरानो घरको एक कुनामा मुकुन्दको सानो परिवार बस्थ्यो। दुई-तीन वटा साना कोठा मात्रै थिए। एउटा भान्साको रूपमा अर्को सुत्ने कोठा र बाँकी कोठा सामान र धुलोले भरिएको हुन्थ्यो। तर त्यही साँघुरो ठाउँभित्र पनि प्रेम, माया र सपनाको उज्यालो पाल्थ्यो।
बाहिरको संसार कठोर थियो, भीड र कोलाहलले भरिएको हुन्थ्यो। तर ती पर्खालभित्र एउटा न्यानो संसार फस्टाइरहेको थियो जहाँ बुबाको आशा, आमाको ममता र भविष्यप्रतिको भरोसा मिसिएको थियो।
पश्चिमको जागिरबाट सरुवा भएर मुकुन्द राजधानी आइपुगेका थिए। आफ्नी श्रीमतीसँगै पुरानो डेराको छानोमुनि उनीहरूले नयाँ जीवन सुरु गरेका थिए। यहीँ, त्यसै डेरामा, उनका जेठा छोरा जन्मिए जसको नाम ‘सुन्दर’ राखियो। मुकुन्दको आँखामा थकान झल्किन्थ्यो तर मनमा भने अथाह उज्यालो थियो। हरेक बिहान उनी छोराको निधारमा हात राख्थे र मनमनै सोच्ने गर्थे ‘बाबु, तिमीले पढ्नै पर्छ, आफ्नो भाग्य तिमीले आफ्नै हातले लेख्नुपर्छ।’
पूर्वी पहाडको दुर्गम गाउँबाट पढाइको सपना बोकेर काठमाडौँ झरेका मुकुन्दको आफ्नै घर थिएन। तर मनमा चाहिँ विशाल संसार थियो— सानो जग्गा जोड्ने, त्यहीँ पसिनाको कमाइले घर उभ्याउने र आफ्ना सन्तानका लागि उज्यालो भविष्यको ढोका खोल्ने। त्यही सपना उनको यात्राको आधार बन्यो। दुःख, अभाव र थकान सबैभन्दा ठुलो शिक्षक झैँ हरेक बिहान उनलाई फेरि उठ्न फेरि प्रयास गर्न र फेरि बाँच्न सिकाउँथ्यो।
सुन्दरको बाल्यकाल संघर्ष र अभावमै बित्यो। कहिले एउटा डेराबाट अर्को डेरामा सर्ने, कहिले भाडा तिर्न मुकुन्दलाई चिन्ता पर्ने हुन्थ्यो। त्यस्तै जीवनका बिचमा पनि उनले हार मानेनन्। अन्ततः धेरै वर्षको मेहनत र बचतपछि मुकुन्दले काठमाडौँको छेउछाउमा एउटा सानो जग्गा र त्यसैमा बनाइएको कच्ची घर जोड्न सफल भए। सुन्दरको बाल्यकाल त्यही कच्ची घरमै बित्यो। घर पुरानो थियो तर भित्तामा पसिनाको गन्धले सपना सम्हाल्थ्यो।
मुकुन्दले आफ्ना सबै कठिनाइलाई पन्छाउँदै सुन्दरलाई काठमाडौँकै नाम चलेको विद्यालयमा एसएलसीसम्म पढाए। एसएलसीपछि सुन्दरले पुलचोक क्याम्पसमा आइई पढ्ने अवसर पायो। त्यो अवसर उनको बुबाको पसिना, आमाको साहस र आफ्नै मिहिनेतको मूल्यमा प्राप्त भएको फल थियो। त्यो क्षणमा मुकुन्दको आँखा रसाए तर त्यसमा गर्व र सन्तुष्टि दुवै मिसिएको थियो।
उनका सपनाको पहिलो इँटा सुन्दरले राखिसकेको थियो। तीन वर्षको मेहनतपछि आइई सकियो। अब उसको सपना बिई पढ्ने र ठुलो इन्जिनियर बन्ने थियो। तर घरमा परिस्थिति अर्कै थियो। बुबाको उमेर बढ्दै थियो, भाइबहिनीको पढाइ खर्च बढ्दै गइरहेको र पुरानो घर भत्कने अवस्थामा पुगिसकेको थियो।
पुरानो घरको छानोबाट बर्सेनि चुहिने पानीका दाग अझै देखिन्थे। भित्ताका चिरा विस्तारिँदै थिए र झ्यालको ढोका हावाले काँपिरहेको थियो। बाहिरबाट गल्याङ-गुलुङ सहरको आवाज सुनिन्थ्यो तर घरभित्र एउटा भारी मौनता पसिसकेको थियो। मुकुन्दको अनुहारमा थकानको छायो थियो तर नजरभित्र अब पनि केही भरोसाको झिल्को बाँकी थियो। शब्दभन्दा बढी मुकुन्दका आँखाले धेरै कुरा बोलेको आभास हुन्थ्यो।
मौनतामा एक गहिरो सन्देश लुकेको थियो- ‘छोरा, अब तिमीले नै सब थाम्नुपर्छ।’
बिई पढ्ने सुन्दरको सपना जिम्मेवारीको भारीमुनि दबिँदै थियो। पढाइ अघि बढाउने रहर अझै मरेको थिएन तर अब त्यो रहरसँगै संघर्षको दायित्व पनि जोडिएको थियो। पुरानो घरले पनि जस्तै उसको जीवन भत्किँदै थियो तर त्यसै भत्काइभित्र ऊ नयाँ बाटो खोज्दै थियो। उसको बुबाले नबोली पनि सबै कुरा भनिसकेका थिए र सुन्दरले नबुझी पनि सबै बुझिसकेको थियो।
त्यो बेला पहिलो पटक उसले महसुस गर्यो; अब ऊ छोरा मात्र रहेन, ऊ घरको आधार पनि बनिसकेको छ।
सुन्दरको पहिलो जागिर साइट सुपरभाइजरको रूपमा सुरु भयो। बिहान घाम लाग्नासाथ साइटमा निस्किन्थ्यो, दिनभर धुलो र घामसँग लड्दै, बेलुकी अफिसमा रिपोर्टिङ गर्नु गर्थ्यो। आज के काम भयो, कति ज्यामी काममा संलग्न थिए? कुन कुन मेशिन चल्यो? कति मेटेरियल खर्च भयो र त्यसको आउटपुट के आयो भन्ने रिपोर्टिङ गर्नु पर्थ्यो। यसले गर्दा उसको शरीरमा थकान हुन्थ्यो तर मनमा हार थिएन।
थोरै बचत गरेर हरेक महिनाको अन्त्यमा आमाको हातमा राख्थ्यो,’यो महिनाको खर्च, आमा।’
आमाको मुस्कान र हातको स्पर्शले उसको थकान भुलाइदिन्छ। समय बित्दै गयो। अब ऊ फ्रिलान्सिङमा पनि लाग्यो। बिहान अफिस, राति प्रोजेक्ट, कहिले सुत्ने समय नपाउने। कहिलेकाहीँ आफै सोच्थ्यो, ‘पैसा त आउँछ तर शान्ति कहाँ हरायो?’
बाहिरका लागि ऊ सफल बन्दै गइरहेको थियो तर भित्रको संसार अझै खोजीमै थियो। एक साँझ झ्यालबाट आकाशतिर हेर्दै सोच्यो— दायित्वले जीवन उचाल्छ तर आत्मिक सन्तुलनका लागि हृदय फराकिलो हुन जरुरी छ।
मुकुन्द अब अवकाशप्राप्त भएर घरमै बस्ने गरेका थिए। आफ्नो सिप क्षमता र दक्षताले दिएका कामहरू पनि गर्ने गर्थे। जुन जग्गा र पुरानो घर उनले पसिना बगाएर जोडेका थिए, त्यो जमिनमा उनले अवकाश हुँदा प्राप्त गरेको पैसा, सञ्चयकोष तथा सुन्दरले बचत गरेको रकमबाट घर खडा गरे। घर बनाउन अलि सजिलो पनि भयो, घर व्यवहार सबै सुन्दरले कमाएर आमालाई दिएको रकमबाट हुने गरेकोले। घर बन्यो— सानो तर गर्विलो।
बुबाको आँखामा चमक थियो- ‘मेरो छोरा इन्जिनियर।’ सुन्दर हाँस्यो तर त्यो हाँसोभित्र अधुरो सपना लुकेको थियो। किनभने त्यो घरमा उसले आफ्ना सबै सपना गाडिसकेको थियो।
घर बनेपछि मुकुन्दको छोराको बिहे गरिदिने र उसको घरबार बसालिदिने अर्को इच्छा थियो। मुकुन्दकै चिने जानेका एकजनाले एउटी कन्याको प्रस्ताव ल्याए। सुन्दरले बुबाको कुरा कहिल्यै नमानेको थिएन।अन्ततः सोही कन्यासँग सुन्दरको विवाह भयो। उसका नाम ज्योति थियो।
ज्योति सरल थिई, मिठो बोल्थी तर बुझ्न कठिन। सुरुमा उसको सिधा स्वभावले सबैलाई आकर्षित गरेको थियो। तर समयसँगै घरभित्र चुनौती देखा पर्यो। ज्योति सोझी थिई तर सुन्दरको कुरा बुझ्ने कहिल्यै प्रयास गरिन। जे माइतीले भन्यो, ऊ त्यही सत्य मान्थी; घरका निर्णयमा सुन्दरको विचार सुन्न चाहन्न थिई। केही कुरा सम्झाउन खोज्दा ऊ प्राय ‘त्यस्तो छैन’ भन्दै बस्ने गर्दथी।
सुरुका केही महिना मिठासले भरिएका घरका दिनहरू बिस्तारै तनावपूर्ण बन्न थाले। केही वर्षमै पहिलो बच्चा जन्मियो। जिम्मेवारी बढ्यो र ज्योतिको सधैँको किचकिचले सुन्दरलाई बुबा-आमाभन्दा अलग व्यवहार गर्न बाध्य बनायो। अलग हुँदा केही दिनसम्म उसलाई खाना समेत मन लागेन। तर पढाइको हुटहुटी रोकिएन।
बिहान ७ बजे घरबाट निस्कने, दिउँसो अफिस र राति फ्रिलान्सको काम गर्दा १२/१ बजे मात्र घर फर्कने गर्दथ्यो। दिनका साना क्षणहरू, अफिसको ब्रेक, रातको सन्नाटामा सबै समय ऊ पढाइमा लगाउँथ्यो। पढाइकै बिच दोस्रो बच्चा जन्मियो तर जिम्मेवारी र थकानले उसको उद्देश्य कमजोर बनाउन सकेन। घरमा ज्योति सँगको सम्बन्ध जटिल बन्दै थियो।
बाहिरबाट हेर्दा उज्यालो घर, दुई सन्तान, राम्रो जागिर भएकोले जीवन सुन्दर देखिन्थ्यो। तर भित्र भित्र मन थकित, कहिलेकाहीँ मरिसकेको जस्तो लाग्थ्यो। घरको हलचल, सधैँको असहमति र थकित आत्माले उसको हरेक सफलतालाई आधा मनले मात्र आनन्द दिन पाउँथ्यो। सुन्दरले सिकेको थियो— जीवनको वास्तविकता बाहिरी दृश्यले होइन; सपना, संघर्ष, जिम्मेवारी र भित्री शान्ति मिलेर मात्रै पूर्ण हुन्छ। यद्यपि उसले पढाइ पूरा गर्यो, परिवार र काममा सक्षम बन्यो तर भित्र भित्र उसको मन अझै शान्तिको खोजीमै थियो।
सुन्दरका दुई सन्तान भइसकेका थिए। समाजमा प्रचलित बाबु बाहिर, आमा घरमा हुने परम्परा त्यही थियो। बच्चाको मनमा जो नजिक हुन्छ, उसको कुराको गहिरो छाप पर्छ। सानो छोरीले सुन्दरलाई हेर्दै एक दिन सोधी, ‘बाबा, तपाईं किन सधैँ रिसाउनुहुन्छ?’
सुन्दर मुस्कुरायो तर त्यो मुस्कानमा थकान, निराशा र मौन पीडा मिसिएको थियो। मनभित्र हरेक प्रयासको परिणाम घरको असहमति र बच्चाहरूलाई दिन सक्ने सीमित समयको पीडा सबै एकैसाथ उठिरहेको थियो। उसले छोरीको आँखामा विश्वासको छाया, मायाको लालसा तर केही कुरा बुझ्न नसक्ने बाल्य आत्मा जस्तो आफ्नै प्रतिबिम्ब देख्यो। छोरीले जे भनिरहेकी थिई, त्यो बारम्बार कसैबाट निर्देशित थियो। तर त्यसले सुन्दरको हृदय भाँचिरहेको थियो।
बाहिरबाट ‘दुई सन्तान र काममा सफलता’ले गर्दा जीवन ठिक जस्तो देखिन्थ्यो। तर भित्रभित्र, थकित आत्मा चुपचाप रुन चाहन्थ्यो। आँसु आँखामा थिएनन् तर हृदयमा गहिरो चोट थियो, जसले उज्यालो दिनलाई पनि ढाक्थ्यो।
सुन्दर बाहिरको कामका कारण प्रायः यात्रामा हुन्थ्यो। काठमाडौँमै भए पनि दिनरात काम गर्ने भएकाले समयमै घर आउन पाउँदैन थियो। कामको सिलसिलामा धेरै थकान हुने र राती घर आउँदा अरूको निद्रा समेत खलबलिने कारण कति दिन सुन्दर अफिसमै सुत्ने समेत गर्थ्यो। यसो गर्दा ऊ घर नगएको हप्तौँ समेत भएछ।
एक साँझ ज्योति रिसाउँदै भन्छे, ‘तिमी बाहिरका मान्छेसँग ह्वाट्सएपमा राति किन कुरा गर्छौ? कसरी बुझूँ कि तिमी ठिक छौ?’
सुन्दर चुप रहन्छ। उसको मोबाइल नै उसको एक्लोपनको साथी बनेको थियो। कामका सन्देश, प्रोजेक्टका नोट, कहिले पुरानो साथीको हाई जस्ता सन्देश आउँथ्यो र ऊ त्यसलाई अध्ययन गर्ने गर्थ्यो। कुरा बुझाउन खोज्दा ज्योति कुरा बुझ्न नखोज्ने भएकोले अब ऊ केही नभनी मोबाइल बन्द गर्न थालेको थियो तर पनि हरेक नोटिफिकेशनसँग ज्योतिको शंका बढ्दै जान्थ्यो।
सुन्दरले अब कहिले रिस, कहिले आँसु, कहिले मौनता महसुस गर्न थाल्यो। उसको हृदय थकानले भरिएको थियो र घर पनि आरामको ठाउँ नभएर तनाव र बोझको अर्को संसार बन्न थालिसकेको थियो। हरेक कोठामा सधैँ हलचल, असहमति र जिम्मेवारीको गहिरो छाप थियो। बाहिर उज्यालो दिन जस्तो देखिन्थ्यो तर भित्र-भित्र उसको मन चुपचाप रुन चाहन्थ्यो।
सुन्दर बाहिर काममा रम्न खोज्थ्यो तर घर फर्कँदा खालीपनले उसको मन भरिएको हुन्थ्यो। ज्योति प्रायः घरमा हुन्न थिइन्— माइतीतिर गइरहन्थिन्। फोन गर्दा पनि उठाउँदिनन्, कहिलेकाहीँ ताल्चा लागेको देख्दा, फोन नउठाएको पाउँदा सुन्दर होटेलमा बस्न बाध्य पनि भएको थियो। घरमा भए पनि ज्योतिको मौनता भारी लाग्दथ्यो। मायाको कुरा कहिल्यै हुँदैन, सामान्य वा आलोचनात्मक शब्दले भरिएको वातावरण मात्र हुन्थ्यो।
बच्चा पनि उसबाट टाढा भएर आफ्नै आफ्नै सानो संसारमा रमाइरहेको हुन्थे। त्यो दूरी, घरको खालीपन लगातारको थकान सबै मिलेर सुन्दरलाई भित्रभित्रै टुक्र्याइरहेका थिए। हरेक दिन, हरेक रात, उसले चुपचाप रुन चाहन्थ्यो तर आँसु आँखामा थिएनन् तैपनि हृदय चिरिँदै थियो।
एक रात सबै सुतिसकेका थिए। सुन्दर आफ्नो कोठाको झ्याल खोलेर बाहिर हेर्यो। पूर्णिमा रहेछ, आकाशमा चन्द्रमा टल्किरहेको थियो। उसले बच्चाहरूको फोटो हेर्यो, मनभित्र बोल्यो— ‘संसार थकाउँछ तर म त उनीहरूको बुबा हुँ। उनीहरूको लागि बाँच्नै पर्छ।’
उसको मनमा भारीपन थियो। सानो हात समाउने, मुखमा मुस्कान देख्ने अवसर पनि कहिलेकाहीँ छुट्थ्यो। उसको भित्री एक्लोपन, भाँचिएको आशा र अनेक पीडा एकैसाथ उम्लिँदै थियो। त्यो रात सुन्दर निदाउन सकेन। तर बिहान उठेर ल्यापटप काम गर्न थाल्यो र केही समयपछि घरबाट निस्कियो। सुन्दर हरेक बिहान नयाँ श्वाससँगै जीवनलाई पुनः सुरु गर्थ्यो। हरेक सासमा उसले सम्झन्थ्यो- ‘जीवनले उनलाई थकाउँछ तर मायाको कारणले फेरि अघि बढ्न सिकाउँछ।’