प्रिय गण्डकी,
पैयूँकोटबाट ठाडो ओराली झरेर घाम आकाशको बाटो गुल्मेली भेगको डाँडाबाट अस्ताउनै लागेको छ। म जन्मे हुर्केको गाउँमाथिको त्यो डाँडोबाट घाम अस्ताउँदै गरेको सुन्दर दृश्य कर्मथलोबाट हेरिरहेछु। म त्यही चौपारिमा छु जुन चौपारि हाम्रा केही प्रेमिल साँझहरूको साक्षी बनेको थियो। म त्यही हावाले जुल्फी हल्लाइरहेछु जुन हावाले तिम्रो लामो केसराशिलाई उडाएर मेरो अनुहारभरि छपक्क छोपेको थियो पहिलो चोटि।
म त्यही च्याप्टो ढुङ्गामाथि बसिरहेछु जुन ढुङ्गामा हामी बाघचाल खेलेका थियौँ। त्यही पिपलको रुखलाई अडेस लगाएको छु जुन रुखमा तिमी ज्यान लुकाउँदै मुहार मात्र देखाएर तस्बिर खिचेकी थियौ र त्यही तस्बिर अहिले तिम्रो फेसबुकमा प्रोफाइल पिक्चर बन्ने भाग्य पाएको छ। त्यही बाँसुरी मेरो हातमा छ जुन बाँसुरीमा तिमीले पनि जानी–नजानी धुन भरेकी थियौ।
हो, म महाशिलाको त्यही चौपारिमा बसेर तिमीलाई सम्झिरहेछु जुन चौपारिमा हाम्रा प्रेमिल चिह्नहरू अदृश्य रूपमा बाँचिरहेछन्।
दिनभरि झरी परेर अहिले भर्खर मौसम छ्याङ्ङ खुलेको छ र देखिएको छ तिम्रो मुहार जत्तिकै सफा अनि सुन्दर। अझै पनि माथि चिसापानीतिर, तल पैयूँखोला पारी भोर्लेतिर अलिअलि बादलको च्यादर हावामा लत्रिरहेछ। नत्र आकाश पूरै खुलेको छ निलाम्य भएर। एउटा ठुलो जहाज यही आकाशको बाटो पश्चिमतिर बगेर गएको हेरिरहेँ। जहाजले फालेको धूवाँको मुस्लो पनि कति लहर मिलाएर तैरिरहेछ आकाशमा, निधारको डिलमा तिम्रा आँखीभौँ तैरिरहेजस्तै गरी।
आकाशको बाटो गरेर झरेका पानीका थोपा थोपाले बारीको माटो भिजाएर हरर वासना छरेको छ बस्तीभरि। आहा कति मिठो वासना, तिम्रो ज्यानको अत्तरजस्तै। पात र डाँठका चेपमा अड्किएका बुँद-बुँदसँग पिरती लाउँदा बारीका मकै पनि फुरुङ्ग परेको देख्छु– जसरी म फुरुङ्ग परेको थिएँ तिम्रो मायाले भिजिरहँदा। वन-पाखाभरि घाँस खुसीले हुर्किरहेछ। ऐसेलुका झाडी पनि पहेँलपुर देखिएका छन्, पल्तिरको सिप्लिगानको बोटमा नयाँ पालुवा मज्जाले पलाएका छन्। तिमी त ऐसेलु र सिप्लिगानको पारखी पो, यो सम्झिँदा झनै मिस गरिरहेछु तिमीलाई।
यो प्यारो ठाउँमा हामीले बिताएका ती केही जोर साँझहरू सम्झेरै म हराइरहेछु कतै तिम्रो दुनियाँमा।
सहरमा जन्मे हुर्केर पहिलो चोटि आफ्नो पुर्ख्यौली थलोमा आएकी तिमी र जागिरको सिलसिलामा यहाँ आइपुगेको म। गाउँले परिवेशमा जिन्दगीका केही दिन बिताउन आएकी तिमी र गाउँमै जागिरको मज्जा छ भन्दै सरुवा मिलाएर आएको म। आँखाभरि गाउँ बोक्न आएकी तिमी र नशा-नशामा गाउँको माया बोकेको म।
आउने बाटो जुन भए पनि यही बारे डाँडाको चौपारिमा मिसिएका हामी। यही चौपारिसँगै गाँसिएको हाम्रो साइनो। चिनजान सुरु भएको यही चौपारि र अन्तिम चोटि बाई भनेर हात हल्लाएको पनि यही चौपारि। हाम्रो भेटको, हाम्रो साइनोको, हाम्रो सम्झनाको साक्षी बनेको यही चौपारि। हो यही चौपारिमा बसेर आँखाभरि तिमीलाई भरेको छु, मनभरि तिमीलाई बोकेको छु, मुटुभरि तिमीलाई संगालेको छु, मस्तिष्कभरि तिमीलाई सम्झिरहेछु।
तिमीलाई सम्झेर मस्तिष्कभरि कल्पिएका यी भावनाका सराहरूलाई जोडेर पिङ बनाउनु छ र त्यही पिङमा तिज बोलाउनु छ तिम्रो जिन्दगीको, दसैँ मनाउनु छ हाम्रो सम्बन्धको।
यो चौपारि, तिम्रो सम्झना र यो साँझमा छुटेको छ– प्यारो चिया।
त्यही चियाको बहानाले त जुराएको हो हाम्रो आँखाको बोली, त्यही चियाको चाहनाले त फुटाएको हो मुखको बोली। चियाको विश्वकप प्रतियोगिता भएछ भने स्वर्णपदक पाउने अरू कोही छैन भन्ने मेरो घमन्डलाई एकैछिनमा चिराचिरा पार्दिने तिमी, चियाको अम्मलीको नाम लेख्दा सुनको धूलोले मेरै नाम लेख्छ भनेर सोच्ने मेरो सोचलाई धर्याकधुरुक पारेर एकैछिनमा च्यातिदिन सक्ने तिमी।
तिमीसँगका ती केही जोर साँझमा बिताएका क्षणबाटै प्रस्ट भयो– तिमी चिया लभर होइनौ प्रिय गण्डकी, बरु तिमी त चिया नै रहेछौ। मिठो र स्वादिलो पनि उस्तै– तिम्रो बोली, आँखाको रस र मायाको स्पर्श। चिया प्रेमी म, चियाको महाप्रेमी तिमी अनि कस्यौँ चियागाँठो।
तिमीसँगको सम्झना चौपारि र चिया मात्र कहाँ हो र? महाशिलाका हरेक डाँडा ठाउँसम्म पैदल हिँडेर सँगालेका सम्झना पनि त बाँचेकै छन् मनभित्र। सैलुङजस्तै मुसुरबारीका थुम्कामा तिमीले बनाएका टिकटकका भिडियोहरू मोबाइलमा नाचिरहन्छन्। फलाम खानीको त्यो हरियो पाटनमा बसेर हिमालको लहर हेर्दै तिम्रो काखमा अड्याएको यो शिरबाट अझै पनि चमेली वासना आइरहन्छ।
तिमीले रलाली दलिदिएको यो ओठबाट अझै मायाका शीतका थोपा निस्कन्छन्। पैयूँकोटको मौलोलाई दायाँबायाँ पारेर उभिएको हाम्रो फोटो मोबाइलमा अक्सर डिस्प्ले भइरहन्छ। छहरीखोलाको सिरानतिर ढुङ्गामा बस्दै खुट्टाले पानी खेलाउँदै गरेको बगिरहन्छ आँखैभरि। सम्झनाका ताँती धेरै छन् र त्यो भन्दा धेरै मुटुभरि माया छ। मुटुबाट रगत बग्दैन सानी, तिम्रो माया बगेर पुग्छ शरीरैभरि। ख
प्रिय,
तिनै केही जोर दिनहरूको रुमानी यात्रामा अल्झाएर तिमी गयौँ भुरुर्र उडेर। गाउँको स्वाद चाख्न आएकीले मलाई मायाको स्वाद पनि चखायौ र तड्पिनुको अर्थ पनि सिकायौ। थोरै माया धेरै दिन, धेरै माया थोरै दिन भन्छन् नि, हो मैले अलि बढी नै माया बगाएँ कि जस्तो डर लाग्न थालेको छ माया।
तिमीले जस्तो जोखी जोखी माया पस्कन सकिनँ मैले। भन्न त बालारानी मन्दिरको पेटीमा बस्दा कुन्नि के प्रसंगमा भनेकै थियौ– चिनार! स्लो ड्राइभ इज प्रिफरेबल। सायद म हतारिएँ। मेरो मायाको स्पिड बढी भयो होला। तिमी त स्लो ड्राइभ मन पराउने केटी। फर्केर सहर गएपछि औँसी पूर्णिमाजस्तै गरी सम्पर्क गर्छ्यौ।
हुन त मायाको बगैँचा फूलेको मेरो मनको बारी र डिलमा मात्रै पनि हुन सक्छ र यसो भएको हो सबै। तर जे भए पनि, तिमी पनि मायालु मनले सम्झन्छ्यौ भन्ने चाहिँ थाहा छ।
तिम्री भाउजूले घरीघरी मलाई जिस्काउनुहुन्छ, अचेल त किन एकोहोरो भएर टोलाइरहेको देख्छु नि भनेर। उहाँले जिस्काउनु, म टोलाउनु, तिमीलाई सम्झेर यसरी चौपारिको हावासँग दोहोरी खेल्नु, यी सायद ब्रह्माण्डको कुनै कुनाबाट उत्पन्न भएर आएको भाइब्रेसन होला। त्यही भाइब्रेसनले त चलेको छ संसार, जलेको छ मन। तिमी बाँचेको त्यो सहरमा यस्तो भाइब्रेसन पुगेको छ कि छैन माया? मैले सम्झिरहँदा तिमीलाई बाडुल्की लाग्छ कि लाग्दैन माया?
प्रिय गण्डकी,
अब कहिले आउँछ्यौ तिमी यो गाउँमा? कहिले सँगै उभिएर हेर्न पाइन्छ बारे डाँडाको छेउमा उभिएर पैयूँका फाँटतिर? सँगै यो चौपारिमा बसेर चिया पिउँदै कप साट्न कहिले पाइन्छ? जागिरे जीवन न हो, सरुवा भएर अलि टाढा पुगेँ भने तिमीसँगको त्यही भेट नै अन्तिम पनि त बन्न सक्छ। यो सम्झेर मुटु काम्छ, छाती चिरिन्छ, आँखाबाट मोदी बग्छ।
तिमीलाई भनूँ, ठ्याक्कै यही बेला सित्लेतिरबाट आएको एउटा भाइले नारायण रायमाझीको गीत घन्काउँदै आएको छ आफ्नो मोबाइलमा। सुन्दै छु उनले गाएको गीत– राम्दी पुल तर्ने, बाँचे त हुँला भेट, मरे के गर्ने?
यही गीत तिमीलाई चढाउँदै, यो चौपारिबाट उठ्छु। भरे सपनीमा आइदिनू माया।