सभ्यता—
शब्द चयनको चलाखीमा होइन
अन्तर्मनका सुविचार संस्कारबाट जन्मिन्छ
जहाँ हरेक व्यक्तिले
आफूभन्दा भिन्न सत्य बोकेको आत्मालाई
निषेध होइन, सामीप्य दिन्छ
अस्वस्थ प्रतिस्पर्धा होइन
जसरी पनि जित्नै पर्ने
पाखण्डको लिडेढिपी पनि होइन
एक अव्यक्त ऊष्माले भरिएको सम्मान दिन्छ।
साँचो सभ्यता
वाक्चातुर्यको चहलपहलभन्दा
शान्त हृदयको दूरदर्शितामा बस्छ—
जहाँ सुन्न सक्ने कान
बोल्न सक्ने जिब्रो भन्दा ठुलो मानिन्छ
र बुझ्न सक्ने हृदय
जित्न चाहने अभिमानभन्दा गहिरो ठानिन्छ।
लोकतन्त्र—
मञ्चको उत्तेजक गर्जन होइन
असंगठित भिडको
भ्रामक बरबराहट पनि होइन
कसैको मन नदुखोस्
कोही अपहेलित नहुन् भन्ने
गम्भीर सतर्कता र सूक्ष्म नैतिकता हो
एक अर्धविरामजस्तै सानो तर अर्थ गर्भित भावना
जहाँ विचार राख्दा
अरूको मौनता च्यात्ने प्रहार होइन
समझदारी थप्ने न्यानो स्पर्श हो।
तर आज—
नेपाली राजनीतिक यथार्थ
केही अनौठो र बेढंगले बहकिएको छ
काँडालाई फूलको नाममा बेच्नेहरू देखिन्छन्
जुन काँडा शब्दमा मात्र होइन
आचरणमा, आशयमा
आकांक्षामा लुकेको छ।
गालीलाई ‘कठोर सत्य’ र
अराजकतालाई ‘जनताको आवाज’ भनेर
मान्यता दिने प्रवृत्तिले
देशको मेरुदण्डमाथि
अदृश्य तर तीव्र भार थपिएको छ—
जो थोरै हल्लिँदा पनि
टिक्ने–नटिक्नेको दोधार सिर्जना गर्न सक्छ।
दुर्वाच्यको वाण—
जति धारिलो भए पनि
विश्वासको दृढ किल्लामा
धेरै बेर रेट्न सक्दैन
यसले मन दुखाउँछ तर विचार मार्न सक्दैन।
भीडको पूर्वाग्रही चीत्कार—
जति ठुलो भए पनि
सत्यका कोमल तर बलिया स्पन्दनसँग
कहिल्यै तादात्म्य हुन सक्दैन।
किनकि सत्य—
पक्षधरताको संकुचित सोचमा जन्मिँदैन
विचारको सुकुमार अनुशासनमा फुल्छ
र व्यवहारको सार्थकतामा फक्रन्छ।
हामीले चाहेको लोकतन्त्र
एकै बगैँचामा फुलेका अनगिन्ती फूलहरू जस्तै हो—
जहाँ विमर्शका रङ्गिन फूलहरू
परिपक्व विचारको सुगन्ध छरिरहेका हुन्छन्
तर त्यो फूलबारी
अहिले अविश्वासका हावाहुरी
हतारोको चक्रवात
आरोप प्रत्यारोपको आँधीले
बिस्तारै विद्रुप हुँदै जाने खतरामा छ।
प्रश्नकर्ताको बोलीमै काउसो मिसिएपछि
जवाफकर्ताको छाला चिलाउनु अस्वाभाविक होइन
तर मूल्यहरूको सुगन्ध
दुर्गन्धसँग जुधिरहँदा पनि
नष्ट हुँदैन—
केवल विक्षिप्त मनमस्तिष्कमा
सुषुप्त भएर बस्छ
कुनै अनुकूल प्रकाशको प्रतीक्षामा।
अहिले—
हाम्रो चेतना आफ्नै स्वरमा बन्दी भएको छ
आफ्नै प्रतिध्वनिले
हाम्रो श्रवणलाई थिचिरहेको छ
तर यति पनि सत्य हो—
यही क्षण
सबैभन्दा ठुलो मोड बन्न सक्छ
रूपान्तरणको वा विनाशको
यो मोड कहाँतिर जान्छ?
यो प्रश्नको उत्तर–
हामीले भ्रातृत्व र बन्धुत्वको संस्कार बसायौँ भने
कलहको धुलो बिस्तारै बस्नेछ
र, संवादका पखेटा फेरि स्वच्छ खुल्ला आकाशमा
निःसंकोच फैलिनेछ
विचारलाई तर्क र तथ्यको मलले सिँच्यौँ भने
व्यवहारमा पारदर्शिताको घाम लगायौँ भने
अँध्यारो कतै टिक्न सक्दैन
र सभ्यताको बीउ फेरि उम्रनेछ–
ढिलो होस् तर अवश्य।