सडकमा छोडिएको त्यो रक्ताम्मे जुत्ता
सपनासँगै जलेर खरानी भएका नोटका बिटाहरू
रगतले भिजिरहेका असहाय लासहरू
र आगोले जलाएर टुक्र्याइदिएका भवनका हड्डीहरू
यी सबैले के भन्छन्?
परिवर्तनको भ्रममा फेरि किन
डुबिरहन्छौँ हामी रगतको खोलामा?
किन आशाहरू लासमा रूपान्तरित भएका?
किन सपनाहरू अधुरै तुहिएका?
भरोसा किन बने बन्दुकका निसाना?
इतिहासले कहिले उत्तर देला?
कसरी टुक्रियो हाम्रो विश्वास?
के हरेक परिवर्तनका लागि आन्दोलनै
र आन्दोलनका लागि खुन नै अनिवार्य छ र?
सोधौँ त विकसित देशहरूलाई
जहाँ परिवर्तन
कागज, संवाद र सहमतिको गल्ली हुँदै बग्दछ
जहाँ समयकै मागले व्यवस्था बदल्छ
बिना चिच्याहट
बिना टायर बाली।
बिल्डिङ र टायर दहनमा निस्कने धुवाँ
देशको हो कि हाम्रो चेतना स्तरको?
गोलीले ढल्ने मान्छे
नागरिक मात्र होइनन्
राष्ट्रकै नाडी, खम्बा हुन्
घर-घर दन्किँदा
पिँध नै जल्छ
देश नै कमजोर बन्छ।
कति समयसम्म हिंसा नै आन्दोलनको स्वरूप बन्ला?
के अहिंसा
वैकल्पिक होइन,
शान्ति सबैभन्दा शक्तिशाली उचाइ हुन सक्दैन?
आऊ, हिंसालाई कानुनले बाँध्ने
अहिंसालाई संस्कारले रोप्ने
संवादलाई संस्कृतिको रूपमा उभ्याउने
र परिवर्तनलाई
आफ्नै हातले
शान्तिपूर्वक निर्माण गर्ने
नयाँ यात्रा सुरु गरौँ।