डोकाका डोका सपना बोकेर
मतको अमूल्य भार चढी
सिंहदरबार पस्नेहरू
आज आफ्नै चाहनाको सिंहासनमा रमाउँदै छन्।
हामीले दिएको भोट
उनीहरूका लागि
जनतासम्म पुग्ने पुल भएन
केवल कुर्सीसम्म पुग्ने भर्याङ मात्रै बन्यो।
दरबारभित्र
उनीहरू कुर्सीमा चम्किन्छन्
तर बाहिर
मानिसहरूको आँखा ओभाएका छैनन्।
यहाँ
पीडाहरू आवाज बनेर कराउँछन्
तर सत्ताका कान
सुखको तालीमै व्यस्त छन्।
संसदको भीडमा
कोही कम छैन, कोही महान् छैन
सबै कुर्सीको गणनामा
मानवता हराइरहेका मात्र छन्।
साँचो देख्ने आँखाहरू
हाँसको बथानमा
बकुल्लो बनेर
चुपचाप बाँच्न बाध्य छन्।
के कुर्सीले ढाकिएका आँखाले
आफ्नै माटो छोड्न बाध्य सन्तान देख्छन्?
रुँदै गरेको देशको अनुहार देख्छन्?
न्याय खोज्दै थाकेका स्वरहरू सुन्छन्?
देख्ने भए त
बेरोजगारीको लाइन
गरिबीको चिसो रात
असुरक्षित भोलिको डर
सबै देखिन्थ्यो होला।
तर
उनीहरूले देख्ने भनेको
कुर्सी हो—
र कुर्सीले दिने सुविधा।
देश त
त्यो कुर्सीभन्दा तल
सधैँ झुकेको छ
उठ्न नसक्ने दरारमा
फसिरहेछ वर्षौँदेखि।