[भाग-२]
समय कहिल्यै हाम्रो पक्षमा उभिँदैन रहेछ।
चोभार र फुल्चोकीका ती चिसा साँझहरू बितेपछि, जिन्दगी फेरि आफ्नै कडा नियम लिएर फर्कियो। सुस्मिताको म्यासेजहरू उस्तै थिए, तर शब्दहरूमा अब एउटा थकान मिसिएको थियो।
एक बिहान उनले लेखिन्—'प्रतीक… आज मन धेरै भारी छ।'
मैले तुरून्तै फोन गरेँ। उनी रोइरहेकी थिइन्, आवाज दबाएर।
'घरमा कुरा बिग्रिँदैछ… श्रीमान फर्किने कुरा चल्दैछ। मलाई डर लाग्दैछ।' माघको त्यो अन्तिम साता। काठमाडौंको हावामा चिसोपन अझै टेकेको थियो। चोभारको डाँडामा घाम अस्ताउँदै गर्दा संसारको भीड–भाड केहीबेरका लागि हराएजस्तो भयो। तर मनमा त्यो चिसोपन अझै थियो—चोभारको त्यो साँझपछि हाम्रो सम्बन्ध मौनतामा अझ गहिरो डुब्न थाल्यो। बोलाइ कम भयो, तर महसुस झन् धेरै। जसरी धेरै बोलेपछि शब्द थाक्छन्,
त्यो डर मैले पहिल्यै नै चिनेको थिएँ—मलाई गुमाउने डर होइन, आफूलाई फेरि गुमाउने डर।
'म तिमीबाट टाढा जानुपर्यो भने?'
उनको प्रश्न सिधा थियो, कठोर थियो। मैले लामो सास लिएँ।
'यदि तिमी सुरक्षित र शान्त हुन्छौ भने, म टाढा हुन तयार छु। प्रेम भनेको सँगै बस्नु मात्रै होइन सुस्मिता…कहिलेकाहीँ टाढै बसेर बलियो बनाइदिनु पनि हो।' फोनको अर्को छेउमा गहिरो मौनता छायो। केही सेकेन्डपछि उनी फुसफुसाइन्—'तिमी किन यति बुझ्ने मान्छे भयौ?' त्यसदिनपछि सबै कुरा बदलिन थाल्यो।
मर्निङ म्यासेज कहिलेकाहीँ मात्रै आउँथ्यो। भ्वाइस च्याट छोटो भयो। हामी दुवैले नबोली–नबोली दूरीको अभ्यास गर्न थाल्यौं।
तर प्रेम अभ्यासले घट्दैन रहेछ। मनले राति उही आवाज खोज्थ्यो। सुस्मिता पनि खोज्थिन्—तर रोक्थिन्।
एक साँझ उनले अन्तिमपटक चोभार जान आग्रह गरिन्।
'सायद… अन्तिम भेट।' त्यो शब्दले मेरो मुटु चिरेर गयो, तर मैले मुस्कुराएर मात्रै भनेँ—'म आइरहेछु।'
चोभार आज असाध्यै शान्त थियो। हामी धेरै बोलेनौं।
हात पनि समातेनौं। तर मौनताले सबै कुरा भनिरहेथ्यो।
सुस्मिताले टाढा सहरका बत्तीहरू हेर्दै भनिन्—'यी बत्तीहरूजस्तै हो हाम्रो कथा पनि…टाढाबाट हेर्दा सुन्दर, नजिक जाँदा तातोले पोल्ने।' उनको आँखामा आँसु थिएन, तर मनभरि वर्षा थियो।
'म फर्किनुपर्छ प्रतीक,' उनले अन्ततः भनिन्। 'म भाग्न चाहन्नँ। तर तिमीले दिएको न्यानो मसँगै लैजान चाहन्छु।'
मैले टाउको हल्लाएँ।
'न्यानो कसैले खोस्न सक्दैन। यो त मनभित्र बसिसक्यो।'
हामी बिदा भयौं। कुनै वाचा बिना, कुनै भविष्यको योजना बिना।
हामी पनि अब शब्दभन्दा पर पुगेका थियौँ। सुस्मिताको हाँसो अब कम सुनिन्थ्यो। पहिले जस्तो निसंकोच बोल्ने उनी, अब हरेक वाक्य अघि सोच्थिन्—यो बोल्नु ठिक हो कि होइन? एक रात उनले लेखिन्—'प्रतीक… तिमी नआएको भए सायद म यस्तो हुन्न थिएँ। तिमी आएपछि बाँच्न थालेँ, अब तिमी टाढिँदै जाँदा फेरि हराउँदैछु।'
मैले लामो समयसम्म स्क्रिन हेरिरहेँ।
मसँग कुनै जबाफ थिएन, किनकि उनको पीडाको कारण म आफै थिएँ।
'मैले तिमीलाई भेटेर गल्ती गरेँ?' उनको अर्को म्यासेज आयो। त्यो प्रश्नले मलाई भित्रैदेखि चिर्यो।
'हामी गल्ती होइनौँ,' मैले लेखेँ, 'हामी समयभन्दा अगाडि भेटिएका दुई आत्मा हौँ।' तर समय कहिल्यै भावनाको पक्षमा उभिँदैन।
त्यसपछि सुस्मिताको जीवनमा फेरि ‘घर’ हावी हुन थाल्यो। पतिको फोन, परिवारको जिम्मेवारी, समाजको दृष्टि—
सबै कुरा एकैचोटि उनको काँधमा थुप्रियो। एक साँझ उनले फोन गरिन्। पहिलेजस्तो रातको होइन,अफिसबाट फर्कँदै गर्दा।
'प्रतीक… म थाकिसकेँ, 'उनको स्वर भारी थियो।' म कसैलाई दोष दिन चाहन्नँ, तर म आफैसँग पनि झूट बोल्न सक्दिनँ।'
म चुपचाप सुन्दै थिएँ। कहिलेकाहीँ प्रेम भनेको सान्त्वना दिनु होइन, सुनिरहनु पनि हुँदोरहेछ।
'म तिमीलाई छोड्न चाहन्नँ,' उनले भनिन्, 'तर म तिमीलाई यसरी बाँधेर राख्न पनि सक्दिनँ।'
त्यो वाक्य मुटुमा बिस्तारै घोपिएको काँडाजस्तो थियो—
दुख्थ्यो, तर चिच्याउन मिल्दैनथ्यो। हामी भेट्न छोड्यौँ।
फुल्चोकी, चोभार, ती सबै ठाउँहरू अब स्मृतिका नक्सामा सीमित भए। तर सम्झना मर्न कहाँ मान्छ र? एक दिन फागुनको अन्तिम साताम चोभार आफै गएँ। उही डाँडा, उही हावा, तर उनी थिइनन्। हावाले उनको शाल खोजेजस्तो लाग्यो।
मौनताले उनको स्वर। मैले मनमनै भनेँ—'तिमी यहाँ नभए पनि, तिमी यहीँ कतै छौ।'
त्यही रात सुस्मिताको म्यासेज आयो—
'प्रतीक…आज चोभार सम्झिएँ। थाहा छैन किन, मन एकदम भारी भयो।'
मैले उत्तर दिएँ—'केही ठाउँहरू मान्छे भएर पनि मान्छेभन्दा धेरै सम्झना बोकेर बस्छन्।' त्यसपछि हामी दुबै बुझ्दै गयौँ—हामी अब पहिलेझैँ हुन सक्दैनौँ। तर पूर्ण रूपमा टाढा पनि हुन सक्दैनौँ। समय बित्दै गयो। महिना फेरियो, साल फेरियो फेरि माघ आयो, फागुन आयो। सुस्मिता पहिलेझैँ लाइभमा देखिन थालिन्। हाँसो उस्तै थियो, तर आँखामा अब म थिएँ—
लुकाइएका, बोल्न नपाएका। एक दिन उनले अन्तिमपटक लेखिन्—'प्रतीक…यदि अर्को जन्म भन्ने कुरा साँच्चै हुन्छ भने, म तिमीलाई कुनै डर बिना माया गर्न चाहन्छु।'
मेरो आँखा रसाए।
'अर्को जन्म नपाए पनि,' मैले लेखेँ, 'यो जन्ममा तिमी मेरो सबैभन्दा साँचो अनुभूति हौ।'
त्यसपछि हामी सधैंका लागि टाढा भएनौँ, तर सधैंका लागि नजिक पनि रहेनौँ। आज पनि पुस महिनाको चिसो साँझ टिकटक स्क्रोल गर्दा कहिलेकाहीँ @susmi23 देखिन्छ। म लाइक गर्दिनँ, कमेन्ट गर्दिनँ, बस हेरेर मुस्कुराउँछु। किनकि केही प्रेम पाउने भएर होइन, सम्झेर बाँच्ने भएर अमर हुन्छ। सुस्मिता र म—न साथ, न छुट्टै।
बस…
एकअर्काको मनमा सुरक्षित।
यो पनि: