वैशाख पहिलो अनि विवाहको रौनक फैलने महिना। त्यसैले त बाटो, घर, मन्दिर, पार्टी प्यालेस जताततै पञ्चे बाजा गुन्जिएको आवाजसँगै सजिएका मान्छेहरूको ओहोरदोहोर पनि देखिन्थ्यो। यही माहौल आज रश्मिको छिमेकीको घरमा छोराको विवाहमा पनि देखिएको छ।
छोराले आफै रोजेकी केटी र बाबु आमाले पनि मन पराएकी केटी भएको हुनाले घरमा अत्यन्तै खुसी छाएको छ। परिवार र आफन्तहरू राता, पहेँला लुगाहरूमा सजिएर भित्र बाहिर हाँस्दै गरिरहेका छन्। आँगनमा रत्यौली खेल्ने र हेर्नेहरूको भिड पनि बाक्लै छ। घरका पुरुष वर्गहरू ठाँटिएर जन्ती गएका छन् भने नाचौँ-नाचौँ लाग्ने गीत बजेकोले कौसीमा ननाच्ने मान्छे छँदै छैन।
कोही नयाँ जोडीलाई आरती गर्ने सामान मिलाउँदै छन् त कोही दुलहीको मुख हेर्ने सामान। कोही सेलरोटी पकाउनमा व्यस्त छन् त कोही चाख्नमा। त्यस्तै गरी यति धेरै सजिएका बेला दुई/चार वटा टिकटक त बनाउनै पर्यो नि भन्दै सुहाउँदो गीत छान्न र अभिनय गर्न भ्याई नभ्याई पनि छ कसै-कसैलाई। अनि दिदीबहिनीहरू ढोका छेक्दा दुलहा-दुलहीसँग के माग्ने भनेर सल्लाह पनि गर्दैछन्।
रश्मि भने पल्लो घरको रमझम आफ्नो घरको कौसीको डिलमा शिर राखेर आँखा भिजाउँदै नियालिरहेकी छे।
हो, आजभन्दा १० वर्ष अगाडि उसको घर र माइती पक्षमा यस्तै रमझम र उल्लासमय वातावरणमा उनीहरूले पनि विवाह गरेका थिए। विवाहको दिन नजिकिँदै गर्दा लागेको रमाइलो, खुसी, आनन्द, छटपटी कौतुहलता अनि भ्याइ नभ्याई सम्झेर एकैछिन त उसको मन पनि भुलेको छ।
तर फेरि १० वर्षपछि बिना उल्लासको विवाह उसको घरमा आज पनि छ अनि दुलही भित्र्याउनै पर्ने दुर्भाग्यपूर्ण जिम्मेवारी उसलाई पनि आइपरेको छ। उसको घरबाट न कोही जन्ती गएका छन् न घर सजिएको छ। न घरमा कोही पाहुना बोलाइएका छन् न रत्यौली खेलिएको छ। न जग्गे गाडिएको छ न घरपरिवार खुसी भएका छन्।
उसले लिएको निर्णयबाट उसका घरपरिवारहरू ‘आफ्नो भाग्य र खुसी आफैँले खोसिस्, हामीसँग सल्लाह नै नगरी यत्रो निर्णय लिने’ भनेर गाली गर्दै घरबाट बाहिरिएका छन्। उसका दुई सन्तानलाई पनि विवाह हेर्न हुँदैन भनेर आफन्तको घरमा लगेर छोडिएको छ।
उसको लागि भने कालो दिन साबित भएको आज। उसको घरमा भने उसकै श्रीमानको विवाह छ। उसलाई आफ्नै श्रीमानकी कान्छी श्रीमती आरती गरेर भित्र्याउनुपर्ने दुर्भाग्य आइलागेको छ।
ओहो! कसरी बुझाउली उसले आफ्नो मन?
अविरल बगेका आँसुहरूसँगै रश्मिले आफ्ना अतीत पनि बगाइरहेकी छ। घरमा कोही नभएकोले ऊ निर्धक्क डाँको छोडेर रुन भने पाएकी छ।
ऊ सम्झन्छे त्यो कलेजको पहिलो भेट, नयाँ विद्यार्थीहरूलाई स्वागतको कार्यक्रम राखिएको दिन। कार्यक्रम सञ्चालन गर्ने क्रममा नाम बोलाउँदै गर्दा उसले रुपेश नाम भएको व्यक्तिलाई रूपकको नामले बोलाएकी थिई। अनि यही नाम मिलाउने क्रममा उनीहरूको बोलचाल सुरु भएको थियो। ऊ आफूले गल्ती गरेकोमा लाचार थिई भने रुपेश आफूलाई मन परेको र स्कुल पढ्दा परिवर्तन गर्न खोज्दा नमिलेको नाम कसैबाट अनायास उच्चारण भएको सुनेर हर्षित थियो।
पहिलो दिनको भेटपछि बेलाबेलामा हुने भेट र विचारको साटासाटसँगै बढ्दै गएको मित्रताले कुन दिन प्रेमको परिभाषा पाएछ, उनीहरू दुवैले थाहै पाएका थिएनन्।
उसले सुनेकी थिई; प्रेममा संघर्ष हुन्छ, पीडा हुन्छ अनि छटपटी, तडपाहट र आँसु पनि हुन्छ। तर यी सब कुराहरू उसले प्रेममा रहँदा भोग्नु परेकै थिएन। दुवै प्रेमको गन्तव्यमा लम्किएर अघि बढेका थिए। जसले गर्दा उसलाई एकतर्फी प्रेमले सताएको थिएन भने उमेर, जात अनि पारिवारिक स्तर मिलेका कारण घर परिवारको अवरोध सहनु परेको थिएन।
आफ्नो पवित्र प्रेमलाई सजिलै प्राप्त गरेका थिए उनीहरू दुवैले। तर यसरी धूमधामसँग विवाह भएको १० वर्षपछि आफ्नो प्रेममा कसैको आँखा लाग्छ वा दुर्भाग्यले हेर्छ अनि यति ठुलो बज्रपात पर्छ भन्ने कुरा उसले सपनामा पनि सोचेकी थिइन। प्रेममा रहँदा भोग्नु नपरेको पीडा विवाह भएको १० वर्षपछि भोग्नु परेको थियो उसलाई।
‘तर्कने र झर्कने त नमिलेका मनहरूसँग पो रहेछ। मन मिल्ने मन पाए त पर्खने र फर्कने पनि गर्नुपर्दो रहेछ बुझ्यौ? पाँच वर्षको पर्खाइपछि पाएको हो मैले तिमीलाई। अब त मेरो चाहना मात्र तिमी अनि म मात्र तिम्रो’ भन्दै विवाहको दिन घर भित्र्याएपछि उसको श्रीमानले यसरी कुराकानीको सुरुवात गरेको थियो।
साँच्चै कुनै कुरामा झर्को फर्को नगर्ने, आफैँसँग मात्र रहन चाहने, उसका हर कुरामा सहमति जनाउने उसको प्रेमी अनि श्रीमान् कसरी र किन बिस्तारै बिस्तारै अर्काको भइसकेको रहेछ उसले विश्वास नै गर्न सकेकी थिइन। आफ्नो कुरा कहिले नकाट्ने श्रीमान् आजभोलि हर कुरामा विरोध गर्ने भएको थियो। उसले बनाएको खाना मिठो मानेर खाने उसको श्रीमान् आज सकभर घरको खाना खाँदै नखाने भइसकेको थियो। त्यस्तै काम छ भनेर बहाना बनाउँदै धेरै समय बाहिरिने र घरमै भएका बेला पनि मोबाइलमै व्यस्त रहने पनि भइसकेको थियो। तर ऊ भने आफ्ना सन्तानहरूको स्याहार र घर व्यवहारमा व्यस्त भएर आफ्नो प्रेमी र श्रीमान् आफ्नो मात्रै त हो भन्ने कुरामा विश्वस्त भएकी रहिछ।
छोराले रोजेरै ल्याएकी श्रीमती भए पनि बुहारीबाट गर्ने कामको आस उसका परिवारलाई हुने नै भयो। त्यसैले त विवाह भएको सुरुसुरुमा श्रीमानसँग लगातार पाँच/छ चोटि घुम्न निस्कँदा, सासूआमाले ‘उसै त आज भोलिका बुहारी त्यसमाथि छोराले मन पराएर ल्याएकी के कुरा गर्नु र? छोरा च्यापेर घुम्न निस्कँदै ठिक्क छ, घरको काम त आफ्नै जिम्मा, काम घट्लाभन्दा त झन् बढ्दो पो छ, आफ्नो दुःख आफैँसँग’ भनेर सुनाइसकेकी थिइन्।
फेरि आफ्नै आमाले विवाह हुने बेला भएपछि ‘घर खान गाह्रो हुन्छ छोरी, तिमीलाई प्रेम विवाह भएकोले श्रीमान् रिझाउन त सजिलै होला तर परिवार रिझाउन गाह्रो हुन सक्छ। त्यसैले श्रीमानलाई भन्दा घर परिवारलाई बढी महत्त्व दिनू’ भनेर सिकाएकी रहिछन्।
त्यसैले त आफूले अति माया गरेको श्रीमानको व्यवहार धेरै परिवर्तन भइसक्दा पनि उसले कुनै भेउ पाउन सकिन र कुनै दिन केही शङ्का नै गरिन। तर त्यस दिन भने ऊ नराम्रोसँग झस्किई जुन दिन उसले आफू राति भान्साको काम सकाएर आफ्नो कोठामा छिर्दा श्रीमानलाई सोफामा बाहिरबाट आएको लुगा नै नफेरीकन निदाइरहेको देखी। उसको मोबाइल हातबाट तल झरेको रहेछ। मोबाइल झिकेर राखिदिने क्रममा उसले एक महिलाको तस्बिर देखी जुन आजसम्म कहिले देखेकी थिइन।
उसको श्रीमान् त्यही महिलाको फोटो हेर्दा हेर्दै निदाएको रहेछ। अब उसलाई ती महिला को रहिछ भनेर जान्ने उत्सुकता बढ्यो, आँखा अगाडि उसैको तस्बिर नाचिरह्यो अनि दिमागमा उसैका कुरा खेलिरह्यो। तर पनि उसले न आफ्नो श्रीमानसँग ती महिला को हुन् भनेर सोध्ने आँट गर्न सक्थी न श्रीमानको पछि लागेर हिँड्न।
उसले घरपरिवार रिझाउँछु र व्यवहार मिलाउँछु भन्दाभन्दै श्रीमानको मायाबाट टाढा भएको थाहै पाउन सकिनछ। आखिर एउटी महिलाले परिवारलाई खुसी बनाउन खोज्दा श्रीमान् रिझाउन सक्दिन अनि श्रीमानलाई खुसी पार्न खोज्दा परिवारलाई।
प्रेम विवाह भएका कारण श्रीमान् आफ्नै त हो भन्ने सोचेर परिवार खुसी बनाउँछु भन्दा उसले आफ्नो श्रीमानलाई टाढा बनाइसकेकी रहेछ।
बिस्तारै बिस्तारै टाढा भएको उसको प्रेमी (श्रीमान्) अब दुई/चार रात नै घर नआउने भइसकेको थियो। नियाल्दै जाँदा व्यवहारमा निकै परिवर्तन देखेपछि उसले एक दिन आँट गरेर आफ्नो श्रीमानलाई सोधेकी थिई।
‘आजभोलि घरभन्दा बाहिरै रमाइलो र घरका परिवारभन्दा बाहिरकै मान्छे प्यारा लाग्न थालेको हो?’
जवाफमा उसको श्रीमानले निर्धक्क भएर भनेको थियो, ‘हो, म आफ्नै अफिसकी एउटी साथीलाई धेरै मन पराउँछु अनि माया पनि गर्छु। मैले भन्दा धेरै उसले मलाई माया गर्छे र ऊ म बिना बाँच्नै नसक्ने भइसकी। म पनि दिन प्रतिदिनको भेट र कामको साटासाटबाट ऊसँग नजिक भइसकेँ। तर मेरो तिमीप्रतिको लगाव र मायामा पनि कमी आएको भने छैन। ल भन अब म के गरूँ?’
आफ्नो श्रीमानबाट ‘होइन साथी मात्रै हो नि’ भन्ने जवाफ आउँछ कि भन्ने झिनो आस थियो उसलाई तर यसरी निर्धक्क भएर श्रीमानले भनेका कुराहरू सुनेर भने ऊ निक्कै आत्तिई। टेकेको जमिन नै भासिए जस्तै भयो। अब अरू कुरा सुन्नुभन्दा सीता झैँ धर्ती फाटेर विलीन हुन मन लाग्यो उसलाई तर सम्भव कहाँ थियो र?
आफ्नो प्यारो र सर्वाधिक माया गरेको श्रीमानको कुरा सुनेर बेहोस जस्तै भएर ढल्न लाग्दा छोरीले आएर सम्हालेकी थिई उसलाई।
एक महिना जस्तो समय लगभग बेहोस हुने र होसमा आउने गरेरै गुजारेकी थिई उसले। आखिर कति दिन समय यसरी गुजार्नु थियो र? जे जस्तो परिस्थिति भए पनि आफ्नो मन र छोराछोरीको भविष्य उसले सम्हाल्नु नै थियो।
ऊ सम्झन थाली, श्रीमानले सिनेमा हेर्न जाऊँ भन्दा ऊ घरकै काम देखाएर पछि जाउँला नि भनेर टार्थी। श्रीमानले सँगै टाँसिएर बस्न खोज्दा घरपरिवारले देख्लान् भनेर डराउँथी। श्रीमानले बाहिरै खाना खान जाऊँ भन्दा परिवारसँगै बसेर खाएको पो मिठो हुन्छ त भनेर रोक्थी। मानौँ उसले श्रीमानसँग गर्ने सबै रमाइलो विवाह अगाडि नै पूरा गरिसकेकी थिई। श्रीमान् ऊसँगै रमाउन चाहने तर उसले कहिले समय नमिलाउने भएपछि श्रीमानको मन बाहिरै रमाउन थालिसकेको रहेछ।
घर-परिवारमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने नारीले आफ्नो श्रीमानको लागि झनै विशेष हुनुपर्छ भनेर जानेको भए पनि उसले ऊ त आफ्नै मान्छे त हो भनेर बेवास्ता गरेकी थिई। अनुमति दिएको भए पनि सहमति कहाँ थियो र! त्यसैले छटपटिएको मन झन्-झन् तड्पिँदै थियो। भन्दा घर-परिवारलाई कसले पकाउँछ भनेर जान मान्दिनथी। श्रीमानले नजिकै बसेर कुरा गर्न खोज्दा परिवारका मान्छेले देखेर के भन्छन्? भनेर लजाउँथी। श्रीमानले राम्री भएर बस भन्दा ऊ घरपरिवारकै काममा व्यस्त भएर शृंगार पटार गर्न भ्याउँदिनथी।
यसरी आफूले मन पराएर विवाह गरेकी श्रीमतीले आफ्नो लागि भन्दा घरपरिवारकै लागि बढी खट्ने भएपछि आफूले जे भने पनि ओके भन्दै साथ दिने साथी तिरै उसको श्रीमानको लगाव बढ्न थालेको रहेछ। लगाव दुवैतिर यति धेरै बढिसकेको रहेछ कि अब उनीहरू दुवै छुट्नै नसक्ने अवस्थामा पुगिसकेका रहेछन्।
सबै कुरा थाहा पाएपछि ऊ निद्राबाट बिउँझे जस्तै भएकी थिई। उसको श्रीमान् पनि यति कुरा भन्न नसक्दा मात्रै कहिलेकाहीँ हराउने र घर आउने गरेको रहेछ। यति भनिसकेपछि उसको श्रीमानलाई भने ठुलै पुरुषार्थ गरे झैँ लागेर होला अब त महिनौँ घर नआउने भइसकेको रहेछ।
यसरी श्रीमानलाई चाहिनेभन्दा बढी विश्वास गरेर उसको भावना बुझ्न नसकी श्रीमान् टाढिएको भए पनि ऊ आफ्नो प्यारो मान्छे आफूबाट टाढा भएको स्विकार्न सक्दिनथी। महिनौँ आफ्नो प्यारो मान्छेलाई देख्न र बोल्न नपाएपछि ऊभित्र निकै ठुलो पीडा गुम्सिएको थियो। रुने, कराउने छटपटिने, तड्पिने जे गरे पनि अब उसको हातबाट उसको माया खोसिइसकेको थियो। र पनि आफ्नो श्रीमान् घरमै आइदिए बालबच्चाले पनि बुवाको माया पाउने आफूले पनि देख्न बोल्न पाइने र आफ्नो हातले खाना बनाएर खुवाउन पाइने आशामा उसले आफ्नो ज्यानभन्दा प्यारो श्रीमानलाई दोस्रो विवाह गर्ने अनुमति दिएकी रहिछ।
अनुमति दिएको भए पनि सहमति कहाँ थियो र? केही उपाय नलाग्ने देखेपछि उसले आफ्नो मनलाई बाँधेर दिएको अनुमति न थियो।
उसको मन त छटपट हुँदै भतभती पोल्दै थियो। त्यति नै बेला मोबाइलमा घण्टी बज्यो। उठाउने बित्तिकै उताबाट आमाले भनिन्, ‘के गरेकी छोरी? यही खबर सुन्नका लागि बाँचेका थियौँ हामी? यही हेर्न हामीले तँलाई एक शब्द पनि नभनी तेरो रोजाइलाई साथ दिएका थियौँ?’
यसको जवाफमा भन्ने शब्द पनि ऊसँग केही थिएन। त्यति नै बेला गेटबाट उसको श्रीमान आफ्नी कान्छी श्रीमतीको हात समाएर भित्रियो।