तिमीले आँसु मात्र देखेका ती आँखामा
अचेल रङ्गिन बगैँचा फक्रिएका छन्
जहाँ संसार जित्ने अठोट बोकेका
सपनाका गुच्छा–गुच्छा फुलेका छन्।
जुन हातहरूलाई
तिमीले चुल्हो–चौकोमै सीमित ठानेका थियौ
जुन हातमा तिमीले
चुराको आवाज मात्र सुनेका थियौ
तिनै हातहरूले आज
यो देशका नीति लेखिरहेका छन्
तिनै हातहरू अन्यायको विरुद्ध
निर्भीक उठिरहेका छन्
र तिनै हातहरूले
भविष्यको नक्सा कोरिरहेका छन्।
जुन मस्तिष्कमा तिमीले भरिदिएका थियौ
विभेदका गीत
डरका छिटा
‘कमजोर छौ’ भन्ने
निराधार आरोपका बोझ
त्यही मस्तिष्कले अचेल
अन्तरिक्षतर्फ चन्द्रयान पठाइरहेको छ
सफलताका गीत लेखिरहेको छ
र नबोलीकनै दिइरहेको छ
तिम्रा बेतुक प्रश्नहरूको उत्तर।
तिमीले जसलाई छोरी मात्र देख्यौ
तिमीले जसलाई आमा मात्र ठान्यौ
तिमीले जसलाई नारीमा सीमित गर्यौ
आज ऊ—
जहाज उडाउँछे, पाइलट भएर
देश चलाउँछे, राष्ट्राध्यक्ष भएर
ज्यान बचाउँछे, चिकित्सक भएर
र माया बाँड्छे—
साधारण तर महान्, मान्छे भएर।
तिमीले देखेभन्दा
तिमीले सोचेभन्दा
धेरै बदलिएको छ छोरीको अवस्था
अब बदलिन बाँकी केही छ भने
त्यो तिमी हौ
अब सुध्रिन बाँकी केही छ भने
त्यो तिम्रो सोच हो।