सिन्धुलीको एक दुर्गम गाउँ थियो जहाँ बिहान कमला खोलाको सुमधुर आवाजसँगै विद्यालय जाने घण्टी बज्थ्यो। खोलाको किनारै–किनार हिँड्दै विद्यालय पुग्ने त्यो बाटोले धेरै सपना बोकेको थियो। त्यही बाटोमा नितेश र निशाको बाल्यकाल सँगै हिँडेको थियो।
उनीहरू एउटै टोलका मिल्ने साथी थिए। दैनिक जसो कमला खोला तरेर जानु पर्ने सानो विद्यालय उनीहरूको संसार थियो। जहाँ टिनको छाना, माटोको आँगन, काठका बेन्च र त्यसमाथि निर्दोष कलिला बालबालिका अध्ययन गर्दथे। उनीहरूको कक्षा एउटै थियो, सुरुमा त सामान्य साथी मात्र थिए निशा र नितेश। गृहकार्य गर्न कापी साट्ने, कलम खोजिदिने,खाजासङै खाने अनि शिक्षक आएपछि लजाएर चुपचाप बस्ने गर्दथे उनीहरू।
एकदिन निशाले नितेशको कापी फर्काउँदै सोधिन्, ‘नितेश, तिमी सधैँ यति ध्यान दिएर किन पढ्छौ?’
नितेश मुस्कुराए, ‘भोलि राम्रो मान्छे बन्नुपर्छ नि।’
‘राम्रो मान्छे त अहिले नै छौ,’ निशाले हाँस्दै भनिन्।
त्यो हाँसो नितेशको मनभित्र धेरै बेर गुन्जिरह्यो।
बर्खाको मौसम थियो। पानी परिरहेको थियो। नितेशले छाता अघि बढाउँदै भने, ‘सँगै जाऔँ, भिज्छ्यौ।’
निशाले लजाउँदै भनिन्, ‘गाउँलेले देखे भने?’
‘देखे पनि के हुन्छ र,’ नितेशले शान्त स्वरमा भने, ‘म त तिमीलाई भिज्न दिँदिनँ ,तिमीलाई चिसो लाग्छ।’
त्यही छातामुनि उनीहरूको प्रेम शब्दबिनै बढ्दै गयो। दिनदिनै उनीहरू पढ्ने कक्षा बढ्दै गए, प्रेम पनि चुपचाप झाङिँदै गयो। खोलाको किनारमा बसेर किताब पढ्नु, भविष्यका सपना बाँड्नु,एक अर्कालाई नियालेर हेर्नू उनीहरूको दिनचर्या झैँ हुन थाल्यो।
निशाले एकदिन भनिन्, ‘नितेश, हामी सधैँ सँगै रहन पाउँछौँ होला?’
नितेशले ढुक्कसँग भने, ‘जहाँ गए पनि, मन त एउटै हुन्छ।’
उनीहरू दुवैले एसएलसी त्यही विद्यालयबाट राम्रो प्रतिशत ल्याएर उत्तीर्ण गरे। त्यो दिन आँखामा खुसी थियो, भविष्यमा विश्वास थियो। तर जीवन सधैँ मनले चाहे जस्तो कहाँ हुन्छ र? निशा धनी परिवारकी छोरी थिइन्। गाउँकै सुविधा र हैसियत बोकेको परिवार थियो उनको।
नितेश चाहिँ साधारण परिवारका छोरा, मेहनत नै उनको सम्पत्ति थियो। विद्यालयमा चटपटे, पानीपुरी जस्ता खाजाको पैसा समेत निशाले दिनहुँ तिर्ने गर्थिन्।
प्रेमको कुरा जब निशाको घरसम्म पुग्यो तब उनीहरूलाई छुट्टाउने उद्देश्यले निशालाई नर्स पढ्न सहर पठाइयो।
बिदाइको दिन निशाले भक्कानिँदै भनिन्, ‘म फर्किन्छु है,तिमी धैर्य गरेर बस।’
नितेशले आँखाभरि आँसु लुकाउँदै भने, ‘म तिमीलाई यहीँ पर्खिरहन्छु।’
तर समयले दूरी बढायो, उनलाई परिवारले नितेशसँग भेट हुन त के फोन सम्पर्कमा समेत बस्न दिएनन्। नितेशले गाउँमै उच्च शिक्षा हासिल गरे अनि नुवाकोटको एक दुर्गम ठाउँमा राहत कोटामा मावि तहको शिक्षकको रूपमा जागिर खान थाले। उनी कक्षामा बच्चालाई अक्षर चिनाउँथे,जीवन सिकाउँथे तर मनभित्र एउटै नाम लेखिएको थियो- निशा। उनी चाहेर पनि निशालाई भुल्न सक्दैन थिए।
समय कहाँ एकनास चल्दो रहेछ र? एक दिन नितेश अचानक बिरामी परे, उपचारका लागि गाउँबाट एम्बुलेन्समा हालेर काठमाडौँ शिक्षण अस्पताल लगियो। उनले आफूलाई गाह्रो परेको कुरा घर-परिवारमा तनाव हुन्छ भनेर कहिल्यै सुनाउने गर्दैन थिए, यो कुरा पनि घर परिवारमा थाहा दिएनन्।
अस्पतालको कोठामा नितेश कमजोर अनि एक्लो थिए। एक नर्स मास्क लगाएर आइन्।
‘सिस्टर,’ नितेशले बिस्तारै भने, ‘म बाँचुँला जस्तो छैन, मलाई निकै मुटु दुखिरहेको छ।’
निशा झसङ्ग झस्किइन्। बिरामी अरू कोही नभएर उहीँ आफ्नो प्रेमी नितेश थियो। तर स्वर संयमित राख्दै भनिन्, ‘डराउनु पर्दैन, तपाईं बलियो हुनुहुन्छ।’
नितेश हल्का मुस्कुराए, ‘म कसैलाई धेरै पर्खेको मान्छे हुँ।’
‘कसलाई?’ नर्सले सोधिन्।
‘मुटुमा बसेको मान्छे,’ नितेशले उहीँ निशाको फोटो पर्सबाट निकालेर देखाए।
‘सायद उसले मलाई बिर्सिसकी होला।’
नर्सको आँखाभरि आँसु आयो तर उनले भनेकी थिइन्, ‘साँचो माया कहिल्यै मर्दैन।’
निशा भावुक भएको देखेर नितेशले फेरि सोधे, ‘तपाईंको पनि कोही छ?’
निशाले बिस्तारै भनिन्, ‘म त अरूको मुटु संरक्षण गर्ने मान्छे।’
नितेशको बिमारी जाँच गर्दा उसको मुटु बिग्रेको रहेछ। भोलिपल्ट अप्रेसन भयो। मुटु नितेशको थियो, धड्कन निशाको। सम्पूर्ण खर्च, हेरचाह, सबै निशाले नचिनिने रूपमा गरिन्। निशाको घर-परिवारले खुसुक्क सहरकै केटासँग विवाह गर्दिसकेका कारण उसले चाहेर पनि आफ्नो परिचय लुकाउने निर्णय गरिन्।
कार्य व्यस्तताले गर्दा वर्षौँपछि माघे सङ्क्रान्तिले उनीहरूको भेट हुने अवसर जुराउँछ। निशा पनि माघी पर्व मनाउन माइत आएकी थिइन् भने नितेश गाउँकै स्कुलमा प्रावि स्थायीमा नाम निकालेर सेवा गर्न थालेका थिए।
गाउँका प्रत्येक घरमा तिलका लड्डु, खिर र तरुल पाक्दै थिए। त्यही दिन उनीहरू पनि धेरै वर्ष पछि भेटिए।
निशाले एक्कासि सोधिन्, ‘मुटु… अब ठिक छ नि?’
नितेश चकित परे। अचानक सबै कुरा जोडियो। अस्पतालको नर्स, त्यो आवाज, त्यो व्यवहार?
‘त्यो दिन… सिस्टर तिमी थियौ है?’ नितेशको स्वर काँपिरहेको थियो।
निशाले आँसु झार्दै भनिन्, ‘चिनिएर माया गर्न सकिनँ तर नचिनिएर माया नगर्न सकिनँ।’
नितेश भावुक बने।
‘हामी त सधैँ ढिला पुग्यौँ।’
निशाले शान्त स्वरमा भनिन्, ‘हामी होइन, समय ढिलो आयो।’
माघे सङ्क्रान्तिको खिर तातो थियो तर मन चिसो। तिलका लड्डु मीठा थिए तर सम्झना तीतो।
उनीहरू फेरि छुट्टिए। तर माघे सङ्क्रान्ति आयो कि नितेशको मुटु अझै पनि उही विद्यालयको घण्टी सुन्छ र निशाले खिर चलाउँदा मास्क पछाडिको प्रेम सम्झिन्छिन्। किनकि केही प्रेमहरू सँगै बाँच्न लेखिएका हुँदैनन् तर जीवनभर मुटुमा धड्किरहन्छन्।