रातको शान्ति गहिरिँदै जान्छ। सहर निदाइसकेको हुन्छ, तर मेरो मन भने अझै जाग्राम नै हुन्छ। आँखा बन्द गर्दा निद्रा आउनु अघि एउटा डर हुन्छ—आज पनि उनी सपनामा आउने हुन् कि? किनकि उनी सपनामा आउँदा खुसीभन्दा पीडा धेरै लिएर आउँछिन्।
सपनामा उनी सधैं उस्तै देखिन्छिन्—मुस्कान उस्तै, स्वर उस्तै, आँखामा उस्तै चमक। तर म सधैं फरक हुन्छु थकित,अलमलिएको, र अधुरो। उनी मलाई हेरेर भन्छिन्,
'अझै पनि मलाई बिर्सिन सकेनौ?' म जबाफ दिन खोज्छु, तर शब्दहरू घाँटीमै अड्किन्छन्। सपनाको त्यो संसारमा हामी फेरि पुरानै गल्लीमा हुन्छौं। जहाँ पहिलो पटक हात समातेका थियौं। त्यो बेला संसार सानो थियो, तर सपनाहरू असीमित।
उनी भन्थिन्, 'भोलि के हुन्छ थाहा छैन, तर आज हामी सँगै छौं, हैन र?' म मुस्कुराएर टाउको हल्लाउँथेँ।
तर सपनामा सधैं एउटा मोड आउँछ। अचानक उनी रोक्छिन्, मभन्दा केही पर उभिन्छिन्। उनको आँखामा आँसु हुँदैन, तर पीडा स्पष्ट देखिन्छ।भन्छिन्, 'यहीँसम्म थियो हाम्रो यात्रा।'
म दौडेर उनको हात समाउन खोज्छु, तर दुरी झन् बढ्दै जान्छ। जति दौडिन्छु, उति उनी टाढिँदै जान्छिन्। त्यो बेला म चिच्याउँछु— 'नजाऊ, अझै धेरै कुरा बाँकी छन्!'
त्यसपछि अचानक म ब्युँझिन्छु। कोठा अँध्यारो हुन्छ। तकिया भिजेको हुन्छ। छाती भारी हुन्छ, सास गाह्रो हुन्छ। घडी हेर्छु—बिहानको ३ बजेको हुन्छ। न उनी यहाँ हुन्छिन्, न त्यो सपना पूरा हुन्छ। दिनभरि सामान्य देखिन खोज्छु। मानिसहरूसँग हाँस्छु, काम गर्छु, बोल्छु। तर मनको कुनामा एउटा कोठा छ—जहाँ उनी अझै बसिरहेकी छिन्। त्यो कोठाको ढोका म बन्द गर्न सक्दिनँ। कहिलेकाहीँ सोच्दछु—सायद उनी सपनामा आउनु भनेको मेरो मनले अझै हार नमानेको संकेत हो। वा सायद त्यो प्रेम कहिल्यै मर्न नसकेको प्रमाण हो।
उनी गएको खबर मैले बिहानै सुनेको थिएँ। फोनको अर्कोपट्टि आवाज काँपिरहेको थियो— 'उनी अब छैनन्…' केही सेकेन्डसम्म म मौन रहेँ।शब्दको अर्थ बुझ्न दिमागले मानेन।
हृदयले अस्वीकार गर्यो। किनकि हिजो राति मात्रै त उनी मेरो सपनामा आएकी थिइन्। सपनामा उनी शान्त थिइन्।
पहिलेजस्तै मुस्कुराउँदै भन्थिन्, 'अब तिमी दुखी नहुनू।'
त्यो वाक्य मैले त्यति बेला बुझिनँ। आज बुझ्दैछु—त्यो बिदाइ रहेछ। उनी सधैं बलियो देखिन्थिन्। सबैको अगाडि हाँस्ने, अरूको पीडा बुझ्ने, तर आफ्नै मनको भार कसैलाई नदेखाउने। सायद यही गल्ती भयो—हामीले उनको हाँसो मात्र देख्यौं, भित्रको चिच्याहट सुन्न सकेनौं।
मानिसले कहिलेकाहीँ पीडालाई यति ठूलो बनाइदिन्छ कि जीवन सानो देखिन थाल्छ। त्यो क्षणमा आत्महत्या समाधान जस्तो लाग्न सक्छ, तर सत्य यो हो—आत्महत्या अन्त्य हो, समाधान होइन। र बाँच्नु—संघर्षकै बीच पनि—सबैभन्दा ठूलो साहस हो। जीवन सधैं सजिलो हुँदैन। असफलता आउँछ, सम्बन्ध टुट्छन्,आशा हराएजस्तो लाग्छ। तर ती क्षणहरू जीवनको मूल्य घटाउने प्रमाण होइनन्, बरू मानव हुनुको प्रमाण हुन्। आत्महत्या गर्नु ठूलो निर्णय जस्तो देखिए पनि, त्यो निर्णय पीडाको एक क्षणले जन्माउँछ। तर जीवन भने क्षणको कुरा होइन—जीवन समय हो, सम्भावना हो, परिवर्तन हो।
बाँच्नु भनेको हाँसिरहनु मात्र होइन। बाँच्नु भनेको रूने अधिकार हुनु, थाक्ने अनुमति हुनु, सहयोग खोज्ने साहस हुनु हो। कसैले आत्महत्या गरेपछि पीडा समाप्त हुँदैन—पीडा सर्ने मात्र हो। आमा–बुवाको छातीमा, साथीको मौनतामा, अधुरो प्रश्न बनेर बाँकी रहन्छ। तर जब कोही बाँच्ने निर्णय गर्छ, त्यो निर्णयले धेरै जीवनलाई जोगाउँछ। आफ्नो मात्र होइन—आफूलाई माया गर्ने सबैको।
हामीले समाजमा 'किन बलियो बन्न सकेनौ?' भनेर सोध्न छोड्नुपर्छ। बरू 'किन उसले सहयोग पाउन सकेन?' भनेर सोध्न सिक्नुपर्छ। बाँच्नु कमजोरी होइन। बाँच्नु हार होइन। बाँच्नु भनेको—आज हार माने पनि, भोलि फेरि उठ्ने सम्भावना बचाइराख्नु हो। यदि आज मन भारी छ भने, त्यो अन्त्य होइन।
यदि आज अँध्यारो छ भने, उज्यालोको सम्भावना सकिएको छैन। आत्महत्या सबभन्दा ठूलो कुरा होइन। सबैभन्दा ठूलो कुरा त—पीडासँग पनि बाँचिरहनु हो। किनकि जीवन, जति नै गाह्रो भए पनि, अझै केही देखाउन बाँकी राखेको हुन्छ।
जीवन कुनै सिधा बाटो होइन। यो एउटा खेलजस्तै हो—जहाँ हरेक चरणमा नयाँ चुनौती हुन्छ, कहिले जित, कहिले हार, र कहिलेकाहीँ थकानले घुँडा टेक्न मन लाग्ने क्षणहरू।
तर खेलको नियम एउटै हुन्छ—मैदान छोड्नु हार हो, लडिरहनु नै खेल हो। जीवनको खेलमा सबैले एउटै कार्ड पाउँदैनन्। कसैलाई सजिलो सुरूआत मिल्छ, कसैलाई सुरूमै संघर्ष। तर जित त्यसले तय गर्दैन कि कसले राम्रो सुरूआत पायो, जित तय गर्छ—कसले अन्तिमसम्म खेलिरह्यो।
हार आउनु गलत होइन। गलत त हारलाई अन्त्य ठान्नु हो। हरेक हार एउटा पाठ हो, जसले हामीलाई अझ बलियो बनाउँछ—यदि हामी उठ्न तयार छौं भने। जीवनमा कहिलेकाहीँ सपना भाँचिन्छन्, आशा कमजोर हुन्छ, र आत्मविश्वास लड्छ।
तर त्यही क्षणमा उठ्नु, फेरि प्रयास गर्नु, त्यही नै साँचो साहस हो। सजिलै हार मान्नु भनेको आफ्नै क्षमतामाथि अविश्वास गर्नु हो। तर संघर्ष गरिरहनु भनेकोआफू अझै बाँकी छु भनेर प्रमाण दिनु हो। खेलको मैदानमा त्यस्तै हो जीवन पनि। आज कठिन छ भने भोलि सम्भावना बाँकी छ। आज असफलता छ भने भोलि सिकाइ बाँकी छ। रात पर्न थालेपछि उनी फेरि सपनामा आइन्। यसपालि कुनै गल्ली थिएन, कुनै दुरी थिएन। उनी मेरो अगाडि शान्त उभिएकी थिइन्। आँखामा पीडा थिएन, तर गहिरो थकान थियो।
उनी भन्छिन्, 'म भागेकी हैन। म हारेर गएँ।' म रोएँ। पहिलो पटक सपनामा नै रोएँ। भनेँ, 'मैले तिमीलाई जोगाउन सकिनँ।'
उनी मुस्कुराइन्— 'सबै जिम्मेवारी तिम्रो थिएन। कहिलेकाहीँ मन आफैसँग पनि हार्छ।' त्यसपछि उनी बिस्तारै उज्यालोमा हराइन्।
म ब्युँझिएँ। आँसु रोकिएन। तर त्यो रातपछि एउटा कुरा बदलियो।
अब म सपनामा उनलाई रोकेर राख्न खोज्दिनँ। बरू बाँचेकाहरूसँग बोल्न थालेँ। मन भारी हुँदा चुप लागेर बस्न छोडेँ। उनी अब फर्केर आउने छैनन्। तर उनले छोडेको सन्देश बाँकी छ—पीडा नदेखिए पनि गहिरो हुन सक्छ। र समयमै सुन्नु नै सबभन्दा ठूलो माया हो। जीवन कहिलेकाहीँ कठिनाइले भरिन्छ। दिनहरू लामो, रातहरू अँध्यारो। सपना पूरा नहुने डर, असफलताको पीडा, र कहिलेकाहीँ आफूलाई हराएको महसुस—यी सबै अनुभव हामी सबैले गर्छौं। तर याद गर—जीवनको साँचो मिठास संघर्षमा हुन्छ। जब हामी हिम्मत हार्दैनौं, जब हामी उठ्छौं र फेरि अघि बढ्छौं, त्यसै क्षण हामी वास्तविक जितको अनुभव गर्छौं। सफलता कहिल्यै तुरून्तै आउँदैन। सपना पूरा गर्न समय लाग्छ। तर हरेक प्रयासले हामीलाई बलियो बनाउँछ।
हरेक असफलतामा लुकेको शिक्षा, हरेक चुनौतीमा लुकेको अवसर—यी सन्देशहरूलाई पत्ता लगाउनु नै जीवनको असली सौन्दर्य हो। हामीलाई प्रेरित गर्ने चिजहरू सधैं ठूला हुँदैनन्।
सानो मुस्कान, सहयोगको हात, अलि समय आफ्नै लागि निकाल्नु—यी साना कुरा पनि जीवनमा ठूलो उज्यालो ल्याउँछन्। सबैभन्दा महत्वपूर्ण कुरा—कहिल्यै हार नमान्नु।
सपना टुटे पनि, आशा हराए पनि, फेरि उठ्ने साहस राख्नू।
किनकि बाँचिरहनु, कठिनाइका बीच पनि अघि बढ्नु, त्यही जीवनको सबैभन्दा ठूलो जित हो।
आज यदि जीवन भारी छ भने, एक गहिरो सास लिऔँ।
छोटो मुस्कान गरौँ। र सम्झौँ—जति गाह्रो भए पनि, जीवन अझै रमाइलो छ। तिमी बाँचिरहँदा, संसार अझै सुन्दर छ।
संसारका सबै मिठा कुरा—प्रकृति, साथी, सपना, आशा—
यी सबै तिमीलाई जीवन प्रेम गर्न सिकाउँछन्। सोध्नु पर्दैन कि आज सजिलो छ कि छैन, महत्त्वपूर्ण कुरा यो हो—
तिमीले अझै प्रयास गरिरह्यौ। जीवन मीठो छ, तिमीले बाँचिरहनु नै यसको सबैभन्दा ठूलो मिठास हो।
आज पनि उनी कहिलेकाहीँ सपनामा आउँछिन्। तर अब उनी पीडामा होइनन्। र म—म बाँच्न सिक्दैछु, उनको सम्झनालाई बोकेर,अरूलाई नछुट्याउने वाचा गर्दै।
यदि समय फर्किन सक्थ्यो भने, म सबैभन्दा पहिले यही भन्थेँ—
म हतारिएँ। पीडालाई स्थायी ठानेँ, तर जीवन अस्थायी पीडाभन्दा ठूलो रहेछ। मलाई लाग्थ्यो, म नहुँदा सबै सजिलो हुन्छ।
आज बुझ्छु—पीडा मसँगै सकिएन, पीडा माया गर्नेहरूकहाँ सर्यो। आमाको मौन, साथीको अधुरो हाँसो, अझै नसुल्झिएका प्रश्न—यी सबै मेरा पछुतो बने।
म बोल्न सकिनँ। रून सकिनँ, सहयोग माग्न सकिनँ, त्यहीँ चुकेँ।
किनकि बाँच्नु भनेको सबै ठिक छ भनेर देखाउनु होइन रहेछ,
बाँच्नु भनेको ठिक छैन भन्न सक्ने साहस रहेछ।
म आज पछुतो गर्छु—एक दिनको अँध्यारोलाई पूरै जीवनको मापन बनाएकोमा। थकानलाई अन्त्य ठानेकोमा, सम्भावनालाई कुर्न नसकेकोमा। हार मान्नु सजिलो हुन्छ, तर बाँचिरहनु साहस हो। रूनु कमजोरी होइन, बोल्नु बल हो।
एक फोन, एक संवाद, एक दिनको धैर्य—यी सानातिना कुरा जीवन जोगाउन काफी हुन सक्छन्। म यहाँ छैन, तर मेरो पछुतो सन्देश बनेर बाँकी छ—
मेरो अन्त्यलाई तिम्रो विकल्प नबनाऊ। मलाई सम्झ, तर मेरो बाटो नअपनाऊ। तिमी बाँचिरहनु त्यही नै मेरो लागि सबैभन्दा ठूलो प्रायश्चित्त हो।
जीवन खेल हो—कहिलेकाहीँ हारिन्छ, तर मैदान छोड्नु हुँदैन।
आज गाह्रो छ भने भोलि सम्भावना बाँकी छ। कृपया बाँच।
किनकि जीवन, अझै धेरै कुरा देखाउन बाँकी राखेको हुन्छ।
म जान्दछु, वास्तविक जीवनमा उनी फर्केर आउने छैनन्।
तर सपनामा त उनी अझै आउँछिन्। त्यही सपनाले मलाई भाँच्दछ पनि, जोगाउँछ पनि। र म हरेक रात आँखा बन्द गर्नु अघि एउटै कुरा सोच्दछु—आज फेरि उनी सपनामा आए भने, म यसपटक केही फरक गर्छु कि? तर सपना सधैं उस्तै हुन्छ…
र म सधैं उस्तै गरी अधुरो भएर ब्युँझिन्छु।