‘एउटा जाबो सियो त बन्दैन यो देशमा के बस्नु?’
‘कुनै चिज किनेरै फाइदा हुन्छ भने बनाएर के काम? जुन चिज बनाउँदा जति खर्च लाग्छ किन्दा त्यो भन्दा सस्तो मूल्य पर्छ भने किन बनाउने? सियो बेचेर कुन चाहिँ देश धनी भएको छ र? अमेरिका, चाइना र जापान जस्ता आर्थिक उन्नति गरेका देश के सियो बनाएर बेचेर धनी भएको हो र?’ भन्न त यही कुरा मन थियो मलाई तर किन ज्ञानगुनका कुरा यसको दिमागमा घुसाउनु भनेर यति मात्र भनेँ, ‘त्यसो भए के नेपालमा सियो बन्न थाल्यो भने तँ विदेश जाँदैनस् त?’
मेरो कुरा सुनेर विकास एकछिन गम्न थाल्यो। सोचेँ, ‘निस्की त हाल्यो कुरा, ननिस्कनु पर्ने थियो।’
‘मेरो मतलब देशमा अब केही अपर्चुनिटी छैन भन्न खोजेको। सियो त एउटा बहाना मात्र न हो,’ विकास अघिभन्दा अझ भावुक मुद्रामा प्रस्तुत भयो।
बिस्तारै चियाको ग्लास समाएर सुरुप्प एक चुस्की चिया पियो र चियालाई पेल्न चुरोटको पफ पनि तान्यो। चिया र चुरोटको साँचै गजबको मित्रता रहेछ। चियाले पनि भन्दो हो चुरोटको धुवाँ नहुलेसम्म म पनि पस्दिनँ।
म सोचमग्न भएँ। आजभन्दा तीन वर्षअघि म पनि त यही लाइनमा थिएँ। जागिर हुँदाहुँदै पनि अस्ट्रेलिया जान तम्सिएको, तर किन हो उताको भिसा काउन्सुलरलाई मैले पेस गरेको डकुमेन्ट्समा चित्त नबुझेर त आज ‘मेरो देश नेपाललाई’ माया गर्छु भन्दै यतै छु। सम्झाऊँ पनि के भनेर यसलाई अब? बाहिर नजा यतै बस् त म कुनै पनि हालतमा भन्नै सक्दिनँ। सँगै मास्टर सकाएको साथी एउटा रिटेल स्टोरमा क्यासियर भएर बसेको छ २५ वटा हजारमा। मैसँग अलि अलि किस्तामा सापटी लिएको ६० हजार त दिनै बाँकी छ। पैसा लिनेले पो हिसाबकिताब राख्दैन होला, दिनेलाई त दिनरात पाई-पाई याद आइरहँदो रहेछ। जुन ६० हजारको माया मलाई पनि नलाग्ने कुरै भएन। यसलाई फेरि चिया पिउन जाऊँ भन्यो कि चुरोट नसल्काई हुँदैनथ्यो। जस्तै, कोहीलाई चर्पी बस्दाको साथी चुरोट भने जस्तो यसलाई चियाको साथी चुरोट थियो।
धुवाँ उडाउँदै मलाई चिम्सा आँखा पार्दै भन्यो, ‘तँ पनि मैसँग पिटिई गर् न।’
पहिले हामीले सँगै आइएलटिएस पनि गरेका थियौँ। अन्तिममा कुन्नि के सुर चलेर माइन्ड चेन्ज गर्यो, ‘यत्रा नि जान्न विदेश भन्दै।’ त्यो बेला आइएलटिएस पनि घरमा कर गरेर गरेको थियो रे। जे गर्छु नेपालमै गर्छु भन्दै मलाई पनि अस्ट्रेलिया ट्राई नगर भनेर सम्झाएको थियो, ‘राम्रै जागिर छ, मभन्दा बेसी कमाउँछस् किन जानु पर्यो?’ तर म भने त्यो बेला कुन्नि के हुटहुटीले हो अस्ट्रेलिया को भूत सवार थियो। तर मुला देशले नपत्याएर पो त।
हुटहुटी चल्नुमा मुख्य कारण त अफिसमा सँगै काम गरेका साथीहरू ‘दिवस र टंक’ क्रमशः अस्ट्रेलिया र न्युजिल्याण्ड गएर पनि हो। अहिले फेरी ग्याप अक्सेप्ट हुन्छ भन्ने कुन चाहिँ कन्सल्टेन्सीबाट थाहा पाएछ विकासले, पिटिई क्लास जोइन गर्दैछ। मलाई पहिले नजा भन्दै उक्साउने साथी अहिले दिनकै एकपल्ट फेरि ट्राई गरौँ भनेर पछि लागिराछ। म चाहिँ किन जान्थेँ र अब? भर्खरै प्रमोसन भएको छ।
हाँस्दै भनेँ, ‘जाँदिनँ अब म। उ बेला नि भिसा रिजेक्ट हुँदा ४ लाख स्वाहा भएकै हो। साला बैंक ब्यालेन्स, फाइनान्सियल डकुमेन्ट्स, नभएको कम्पनी खडा गरेर ट्याक्स तिर? यता उता? अझ, फी बुझाउँदा रेट धेरै थियो, फिर्ता आउँदा स्वात्तै डाउन, त्यो पनि मेरै पालामा। भयो कान समाउँछु म जाँदिनँ। तैँ ट्राई गर्? मेरो फुल सपोर्ट छ।’
विकास न खुसी देखियो न त दुखी नै मेरो कुरामा।
संखमुल युएन पार्कबाट २०० मिटरको दुरीमा रहेको ‘चिया बहादुर’ चिया पसलको भाइ ‘दाइ चिया लेराऊँ’ भन्दै फेरि अर्डर माग्न आए। एक लट चिया त भ्याइसकेका थियौँ। फेरि पिउने मन त थिएन मलाई तर विकासले मेरो पर्मिसन बिना फेरि २ कप मसला चिया र २ खिल्ली शिखर आइस पनि मगायो। यसको मनस्थिति बुझ्दा आज मलाई जसरी हुन्छ फकाएर यहीसँग विदेश ट्राई गर्न लगाउने विचार होला।
चिया आइन्जेल हामी यताउता देश, राजनीति, कहिले इंग्लिस प्रिमियर लिग त कहिले नेपाली क्रिकेटको बारेमा गफ गरिरह्यौँ। जब चिया आयो हाम्रो गफ फेरि विदेश तिरै जान थाल्यो। हाम्रो भन्दा पनि विकासको। यताउता गरेर जताबाट पनि विदेशतिर नै लाने गर्थ्यो।
आइसकेको चिया सेलाउन नदिई मैले चाहिँ हातमा लिएँ, विकास चुरोटको पफ उडाउँदै भन्न थाल्यो, ‘मैले कमाएको तलब त सिर्फ मेरै खर्चको लागि भयो यार, अझ मलाई नै पुग्दैन। घरमा एक फुटी कौडी दिन पाको होइन। धन्न सानो किराना पसल चलाएरै गुजारा चलिरा’छ। बुबाले त भन्नुहुन्छ जसरी भए पनि तँ बाहिर जा, जे जति खर्च लाग्छ म ऋण खोजौँला।’
मैले धुवाँको मुस्लोबिच चिया पिउँदै सोधेँ, ‘तेरो के विचार छ त? साँचै मन भएरै हो त बाहिर जान तम्सेको? कि पहिले जस्तै लहलहैमा हो?’
अलि सिरियस भएर विकास बोल्न थाल्यो, ‘लहलहैमा त लाग्ने उमेर नि कटी सक्यो। हेर्, बाध्यता नै भनौँ यसलाई। रहर त मेरो मरी नै सक्यो।’
मैले चियाको अन्तिम चुस्की लिएर उठ्दै भनेँ, ‘ठिक छ तँ जा, ट्राई गर? यदि अस्ट्रेलिया भएन भने युरोप ट्राई गर्? म छु केही सहयोग चाहिएमा।’
त्यसले चुरोट सँगसँगै चिया रित्याउँदै भन्यो, ‘तँ…नि… भयो छोड्दे?’
मलाई यसपल्ट यसले ट्राई गर् भन्न सकेन। अघिदेखि शान्त चिया बहादुरको ब्याकग्राउन्डमा यसपल्ट १९७४ एडीको गीत ‘यो मन त मेरो नेपाली हो’ गुन्जिन थाल्यो।