शुक्रबारको दिन थियो, दिउँसोको साढे तीन बजिसकेको थियो। त्यो दिन मात्र शुक्रबार थिएन, मेरो लागि बिएएलएलबी नौ सेमेस्टरको फाइनल परीक्षा सकिएको दिन पनि थियो। परीक्षा दिएर कोठामा आइसकेपछि मोबाइल खोलेर फेसबुक लाइटमा क्लिक गरी च्याट बक्स हेरेँ। लगातार दुई वर्ष यता सामाजिक सञ्जालमा कुराकानी हुँदै आएकी मलाई प्रत्यक्ष देखेकी तर मैले प्रत्यक्ष नदेखेको नभेटेको एकजना केटी साथी अनलाइनमा भएको हरियो संकेत देखिएको थियो।
परीक्षा सकिएको मुड थियो कि खै के थियो। सायद यो मनमा कता-कता भेटौँ-भेटौँ लागेर पनि होला। मलाई खै के मुड चल्यो मैले ‘हेल्लो’ भनेर उनलाई म्यासेज पठाइहालेँ। उनी अनलाइनमै भएको कारण तत्काल रिप्लाई आयो ‘हजुर’ भनेर। अनि मैले ‘कता छौँ? के कस्तो छ तिम्रो फुर्सद? चार बजेतिर चिया पिउन भेटौँ न हामी है!’ भनेर म्यासेज गरेँ। उताबाट लगतै रिप्लाई आयो, ‘किन पिउने चिया?’
उक्त म्यासेज मोबाइलको फ्रन्ट स्क्रिनमा देखेँ तर क्लिक गरेर सिन गरिनँ। किनकि त्यो रिप्लाई कुनै साधारण रिप्लाई थिएन। धारिलो तरबार मतिर तेर्सिएको जस्तो भान भएको थियो। चिया पिउन भेटौँ न भनी गरेको प्रस्तावको जवाफ कहिले भेट्ने? कहाँ भेट्ने? को-को भेट्ने? किन भेट्ने? जस्तो प्रतिप्रश्न हुनुपर्थ्यो। तर किन पिउने चिया? भनेपछि मेरो मनमा जागृत भावनामा नै एकाएक उतारचढाव ल्यायो।
मलाई आजसम्म कसैले नसोधेको, मैले सोच्नसम्म नभ्याएको प्रश्न थियो। मैले कति गिलास चिया, कति मान्छेसँग, कति ठाउँमा बसेर खाए तिनी अनगिन्ती छन् गणना गरेर साध्य पनि छैन। तर कारण खोजेर, कारण देखाएर कहिल्यै खाइएन। त्यसैले झट्टै कारण पनि भन्न सकिएन। म एकाकार भएर सोचमग्न भएँ।
चिया पिउन भेटौँ न! यो भन्न जति सजिलो छ, पिउन पनि त्यति सजिलो छ। अझ पैसा तिर्न पनि उतिकै सजिलो छ। जान पहिचान भएका मान्छेदेखि अनजान व्यक्तिसम्मलाई केही खानलाई, भेट्नलाई भन्न सजिलो प्रस्ताव नै चिया पिउन हो। चिनेकाहरूसँग सम्बन्ध अपडेट हुने नचिनेकाहरूसँग चिनजान हुने आधार पनि यहीँ हो। त्यसैले त चिया पिउन भेटौँ न भनिन्छ। आफूभन्दा सानालाई, आफ्नै साथी सर्कललाई, आफूभन्दा ठुलालाई सँगै बसेर पिउनलाई प्रस्ताव गर्न सकिने चिज नै चिया हो। जुनसुकै समय मौसममा पनि जोसुकैलाई जुनसुकै स्थानमा जुनसुकै अवस्थामा चिया पिउन भनेर प्रस्ताव गर्न सकिने चिज हो चिया।
चिया यस्तो चिज हो जुन पिएको कसैले देख्छन् कि भनेर होटेलमा पर्दा लगाउन नपर्ने मज्जाले पिउन मिल्ने चिज हो। मास्क लगाएर मुख ढाक्नु नपर्ने, कसैले शंका उपशंका गर्लान् कि भनेर चिन्ता नलिई पिउन मिल्ने चिज हो। त्यसैले त चिया पिउन भेटौँ न भनेर कतिलाई भनिन्छ, कतिले भन्छन् गणना गर्नै नसकिने अनगिन्ती हुन्छ।
हुन त नेपाली समाजमा चिया पाहुनाहरूको लागि सम्मान र सत्कार हो। बिहान केही नखाई कतै काममा नलाग्ने गाउँलेहरूको लागि चियासँग अझ रोटी हुने हो भने त्यो त खाने हो। त्यति मात्र होइन, रोपाइँका रोप्नेरीदेखि खेतालासम्म, जंगलमा काठको दाउरा चिर्ने मिस्त्रीदेखि, बाटो खन्ने कामदारसम्म झट्ट आगो बालेर दुइटा ढुंगाको चुलो बनाई पराइफिनमा पानी हालेर चियापत्ति, चिनी, अदुवा हालेर ढुंगामाथि राखेर उमालेर सुक्खा रोटी मिठो तरिकाले गलामा पसाउने नास्ता पनि हो चिया। सहरमा सोफा सेटमा उपरखुट्टी हालेर टिभी हेर्दै सुरुप्प चुस्की लिने चिज हो चिया। अझै छतमा बिहानको घाम ताप्दै सानमानले पिउने बिहानको दैनिकी सुरुवात गर्ने चिज हो चिया। त्यति मात्र होइन, ओछ्यानबाट उठ्नै झ्याउ मान्नेहरूको लागि बिहानै बेडमै आइपुगेर निद्राबाट बिउँझाउने आमाको माया मिसिएको मिठो चिज हो चिया।
चिया यस्तो परिकार हो यो गरिबको घरमा, धनीको घरमा, सडक पेटीमा, क्यान्टिनमा, कटेजमा, होटेल रेस्टुरेन्ट, भट्टीमा जताततै बन्ने चिज हो। चिया बनाउन न कुक चाहिन्छ, न ठुलो ठाउँ चाहिन्छ, न ठुलो लगानी चाहिन्छ न लामो समय नै लाग्छ। हतारमा हुनेलाई चिया पिएर जानुहोस् भन्ने आधार हो। स्वागत र बिदाइ दुबैमा पिउने हो कि भनेर सोधिने चिज हो चिया। समानताको सिद्धान्त कतै लागु हुन्छ भने त्यो चियामा लागु हुन्छ। किनकि चिया छोरा मान्छेले खाने छोरी मान्छेले नखाने भन्ने हुँदैन। गरिबले खाने धनीले खान नहुने भन्ने हुँदैन। चिया कुनै जातिले मात्र खाने, कुनै भू-गोलको मान्छेले मात्र खाने भन्ने हुँदैन। हाकिमले मात्र खाने कार्यालय सहयोगीले नखाने भन्ने हुँदैन।
कसैले चिया पिउन घरमै बोलाउँछन्। कसैले कार्यालयमै बोलाउँछन्। कसैले होटेल रेस्टुरेन्टमा बोलाउँछन्। अझ अचेल त चिया मात्र बिक्री गर्न नेपालभर फेसनमा चलेका चिया अड्डा, चिया गफ, चिया चौतारी, चिया आँगन, टि पोइन्ट, चिया घर, चिया मदानी यस्तै यस्तै नाम भएका ठाउँमा बोलाउँछन्। अझ यस्ता ठाउँको डिजाइन डेकुरेसनमा फोटो, भिडियो, टिकटक, रिल्स बनाउन पनि कयौँ मान्छे चिया पिउन भेटौँ न भनेर कसै न कसैलाई भनिरहेका हुन्छन्। त्यसैले रिल्स, टिकटक बनाएर भाइरल बनाउने, डलर कमाउने आधार पनि चिया हो।
चिया पिएर कोही अहिलेसम्म सडकको गल्ली नालामा सुतेको देखेको छैन। चिया पिएर कोही कसैको हानाहान भएको छैन। चिया पिएर कसैले श्रीमती पिटेको छैन। चिया पिएर कसैको घरबार बिग्रेको छैन। चिया पिएर कसैको छोराछोरी बिग्रेको देखेको छैन। चिया पिएर कोही गरिब भएको छैन। त्यसैले चिया पिउन भेटौँ न भन्दा कुनै गलत प्रस्ताव कसरी हुन सक्छ? तर फेरि चिया पिउन भेटौँ न भनेर अन्य नशालु चिज पिउन थाल्यो भने नालामै पल्टिन्छन्। चियाको बहानामा चुरोट पनि सँगै लिन थाल्यो भने पक्कै कसै न कसैका सन्तान नबिग्रेलान् भने भन्न सकिँदैन।
चिया समाजशास्त्रको यस्तो आधार स्तम्भ हो जसले मान्छेहरूलाई सामाजिक बनाउँछ। बोलचाल बन्द गरेकाहरू सँगै बसेर भेटेर चिया पिउने हो भने सम्बन्ध सुमधुर बनाउँछ। चिया पिउने साथीकै कारण नयाँ अर्को साथीसँग दिनौँ चिनजान हुन्छ। सम्बन्ध सर्कल बढ्दै जान्छ। नेपाली समाजमा चिया पिएरै कसैको कुरा काट्छन्, कसैको साह्रै तारिफ गर्छन्। चिया पिएरै राजनीतिक गफ गर्छन्। चिया पिलाएरै राजनीति गर्छन्। त्यति मात्र होइन, चिया पिएरै राजनीतिक दल खोल्ने निर्णयसम्म गर्छन्। चिया पिएरै गुट बनाउँछन्, टिम बनाउँछन्। घरजग्गा किन्ने, व्यापार बिजनेस गर्ने, विदेश जाने सम्मको योजना अधिकांश चिया पिएरै बन्छन्।
अझै विवाहको लागि केटीको घरमा कुरा छिन्न केटा पक्ष जाने हो भने सर्वप्रथम केटीले चिया पकाएर केटीकै हातबाट केटा पक्षलाई चिया दिने गरिन्छ। चियाको स्वादले सम्बन्धको स्वाद मापन हुन्छ। चियाकै माध्यमबाट एक अर्कलाई नजर लगाइन्छ। विवाह उत्सव, पर्व मेलामा पनि आहुनापाहुनलाई चियाले नै स्वागत गरिन्छ। त्यस्तै मान्छे बितेको घरमा कुर्न जाँदा, मानो चामल छोड्न जाँदा पनि चियाले नै स्वागत गरिन्छ। अब आफै सोच्नु त कत्रो समाजशास्त्र जोडिएको छ चियासँग।
अहिलेको जस्तो प्रविधि सामाजिक सञ्जालको पहुँचमा हाम्रो बा, बाजे पुस्ता नहुँदाको समयमा सबैभन्दा बढी सूचना चिया पसलबाटै पैरवी हुन्थ्यो। सबैभन्दा बढी सूचना, सबैभन्दा चाँडो सूचना चिया पिउन चिया पसलमा जम्मा हुनेलाई नै हुन्थ्यो। चिया पिउन भेट्दा धेरै भन्दा धेरै खबर सूचना आदानप्रदान हुन्थे। चिया पिउन निस्कने व्यक्तिमा अरूभन्दा धेरै सूचना भएकै कारण तिनी व्यक्ति गन्यमान्य बुद्धिजीवी मानिन्थे। त्यसैले चिया पिउन भेटौँ भनिएको प्रस्ताव कति फाइदाजनक छ।
मान्छेले चियाको चुस्कीसँगै दुख सुनाउँछ, पीडा पोख्छ। त्यति मात्र होइन, खुसी पनि बाँड्छ। चियाले थकान मेटाउँछ। तनाव भुलाउँछ। अझ कोठा भित्रै बस्ने डिप्रेसनमा रहेका, एन्जाइटीको समस्या भएकालाई चिया पिउन घर बाहिर निस्कँदा अरू साथीभाइ सँग घुलमिल बनाउँदा मानसिक रूपमा आनन्द प्राप्त हुन्छ। त्यति मात्र होइन, चियाले साहित्य फुराउँछ।
चिया दुखी गरिबी बेरोजगारीको सारथि पनि हो। चियाले चिया बेचेर आर्थिक आय आर्जन, जीवन धान्न र संघर्ष गर्न सिकाउँछ। चिया बेचेरै मान्छे कलाकार भएका छन्। चिया बेचेरै मान्छे व्यापारी भएका छन्। चिया बेचेरै मान्छेले जिन्दगी चलाएका छन्। चिया बेचेरै मान्छे नेता भएका छन्। चियाले गाईभैँसी पाल्ने, चिया खेती, उखु खेती गर्ने किसानदेखि चिनी, चियापत्ति उत्पादन गर्ने उद्योगी, चिया बनाएर बेच्ने पसले व्यापारी, चिया पिउन आउने ग्राहक सबै सबै बिचमा पारस्परिक वित्तीय सम्बन्ध स्थापित गर्छ।
अझै भन्ने हो भने कार्यालयका हाकिमले अरू केही खुवाउन नसके पनि सजिलै खुवाउन सक्ने चिज नै चिया हो। सरकारी कर्मचारी, साथीभाइ कोही कसैलाई पर्खिरहँदा किन ढिला गरेको भनेर सोध्ने हो भने चिया पिउँदै थिएँ भन्ने एक राम्रो बहाना पनि हो। त्यति मात्र होइन, काम जानिएन भने निकै झ्याउ भयो भने चिया पिउन निस्कौँ न भन्ने कठिन अवस्थामा निकासको शत्रु पनि हो। स्कुल, कलेज, क्याम्पसमा जाने तर सरहरूको लेक्चर क्लासमा नबस्ने जोडीहरूले शिक्षक, उपप्राध्यापक, साथीभाइहरूलाई चिया पिउँदै थियौँ ढिलो भयो भन्ने बहाना पनि चिया नै हो। कुनै कार्यक्रममा आयोजकले सजिलै खुवाउन सक्ने नास्ता पनि चिया हो।
तपाईंसँग रिसाएको मान्छेलाई तपाईंले साथमा बसालेर चिया सँगै पिउनु भयो भने उसको रिस बिस्तारै कम गराउने औषधि हो चिया। गोजीमा पर्याप्त नास्ता खाने पैसा नभएको अवस्थामा केही खानलाई सहजै प्रस्ताव गर्न सक्ने चिज नै चिया हो। एक गिलास चिया खाएको पैसा तिर्न नसकेको कारण अहिलेसम्म कोही साहुजीले ग्राहकलाई पसलबाट निस्किन नदेको सुनेको छैन। कोही चिया पसलेले एक गिलास चियाको पैसा तिर्न नसकेको भनेर मोबाइल राखेको, घडी धितो राख्न लगाएको देखेको छैन। चियाको पैसा तिर्न नसकेकोमा साहुजीले उधुमै गाली दिएको केटा लगाएर कुट्न लगाएको पनि देखेको छैन। त्यसैले चिया बिजनेसभन्दा बढी भावनात्मक उदारताको कसी हो।
चिया पिउन भेटौँ भन्दा चिया मात्र पिउने हुँदैन। कुनै होटेल रेस्टुरेन्टमा बस्दै गर्दा तत्काल के खाने कुराको निधो गर्नुभन्दा अगाडि पनि चिया नै पिउने गरिन्छ। चिया पिउने नाउँमा कयौँ मान्छेसँग चिनजान हुन्छ। चिया पिउने बहानामै कयौँसँग संवाद र सम्बन्धको सुरुवात हुन्छ। कोही कसैलाई कोही मन पर्यो भने सिधै डेटिङ जाऊँ घुम्न जाऊँ भन्नु भन्दा सजिलो चिया पिउन भेटौँ न भन्नु सहज हुने हुँदा चिया प्रेम तथा सम्बन्ध जोडने ठुलो अस्त्र पनि हो।
हुन त चिया भन्न साथ अलिकति दूध, अलिकति पानी, अलिकति चिनी, अलिकति चियापत्ति मिसिएर अलिकति समयमै बन्ने चिज बुझिन्छ। तर अचेल मान्छेले चियामा पुँजीवादको ठुलो प्रभाव परेर होला, चियाकै मात्र व्यापार गर्ने पसल खोलेर होला मान्छेले चियाको प्रकार, चियाको वर्ग छुट्टाउन थालेका छन्। कसैले कालो चिया, कसैले लेमन टी, कसैले हट लेमन टी, कसैले ग्रीन टी, कसैले दूध चिया, कसैले सुगर फ्री चिया, कसैले मसलादार चिया, कसैले मट्का चिया यस्तै यस्तै पिइरहेका, अर्डर गरिरहेका हुन्छन्। मानव जाति यस्तो जाति हो यसले चियाको जात प्रकारसम्म छुटाइदिएको छ।
चिया सम्बन्ध जोड्ने नाता हो। चिया तनाव कम गर्ने औषधि हो। चिया साहित्य फुराउने उत्प्रेरक हो। चिया संवाद गराउने मध्यस्थता हो। चिया संगत बढाउने अस्त्र हो। चिया रिस कम गराउने औषधि हो। चिया समानताको उदाहरण हो। चिया कमजोर वर्गको सारथि हो। चिया सूचना दिने यन्त्र हो। चिया प्रेम र यौन जागृत गराउने सामाग्री हो। चिया राजनीतिक संवादको खुला मञ्च हो। चिया समाजशास्त्र, अर्थशास्त्र, मानवशास्त्र, राजनीति, मनोविज्ञानको मिलनले बनेको सरलताको पर्यायवाची तरल पदार्थ हो। जोसँग दिनहुँ चिया पिउने गरिन्छ ऊसँग सम्बन्धको लय पनि निरन्तर बगिरहन्छ एकनासले। त्यसैले त भन्दै छु- चिया पिउन भेटौँ न यार!
यति लामो चियाको बखान गरेर मोबाइलको नोटमा शब्द उतारेपछि अघिको म्यासेज सिन गर्दै उनलाई यो सबै कपि गरेर पेस्ट गरी म्यासेज पठाएँ। त्यसको करिब दश/बाह्र मिनेटपछि उताबाट रिप्लाई आयो- ‘ओहो! के खाएर लेख्न सक्यौँ यति धेरै यति सबै कुरा!’
यिनी सबैकुरा मैले चिया पसल पुगेर चिया पिउँदै लेख्न भ्याएको थिएँ। अनि लगतै मैले रिप्लाई गरेँ, ‘चिया खाएर नि!’
त्यसैले त अझै पनि भन्दै छु म- चिया पिउन भेटौँ न यार!