विगतका केही दशकदेखि
कहिले न्यायको हार हुन्छ, कहिले अन्याय जित्छ
कहिले न्याय मर्छ
कहिले न्याय फेरि जन्मिन्छ
कहिले विधिको शासन चल्छ
कहिले शासनकै विधि जलमल हुन्छ
कहिले आगजनी हुन्छ।
आफैँले बुझेको सत्य जस्तो लाग्ने भ्रम
फुलेर, फैलँदै, दाना लाग्दै
खैरो, सेतो, रातो, पहेँलो
लहराउँदै पाक्यो
टिप्न जाँदा
कौछो जस्तै चिलाउने
भीरमा फुलेको बगैँचा
बाघ जुँगे, कागलाई बेल पाक्यो
न हर्ष, न बिस्मात।
हाम्रो सिमाना च्यापिएको नारा होइन
न राष्ट्रप्रेम नै
न निष्ठा र विचारको
छिमेकीको बढी गुलाम बन्ने भन्ने विषयमा
पुराना वृद्ध–मन्द आन्दोलनकारीभन्दा
नयाँ जोगीले धेरै खरानी घसेका छन्।
मौनतामा बस्नेहरू अबुझ जस्ता लाग्छन्
लेख्दै–बोल्दै
भ्रमको विदेश घुमाइदिनेहरू
जसका लागि सुशासन र राष्ट्रप्रेमको अर्थ
नेपाल र नेपालीभन्दा
सात समुद्रपारि
अरू कसैको आँगनमा जन्मिन्छ।
हिन्दु र बौद्ध धर्मावलम्बीको
तपोभूमि हो यो
न्याय–अन्यायको फैसला
हार-जितको नतिजा— कलम र तरबारको
कलि युगको अन्त्यमा
कसले जित्यो, कसले हार्यो?
नेपाल नेपालीहरू सँगै हारी रहेछ
पुराना झोले र नयाँ झोलेहरू...
एकचोटि जितेको, एकचोटि हारेको
महसुस त गर— गरिरहेकै छौ
किनकि
हारे- तिमी हामी नेपाली नै हौ
जिते- तिमी हामी नेपाली नै हौ।