रमेश र उनीभन्दा २७ वर्ष कान्छी पत्नीबिचको वैवाहिक सम्बन्ध प्रेमको पवित्र बन्धन नभई क्षणिक आकर्षण र अपरिपक्वताको परिणाम थियो। उनीहरूबिचको उमेरको खाडलले गर्दा घरमा आत्मिक मेलभन्दा निरन्तरको वैचारिक द्वन्द्व र अशान्ति मौलायो। यस अस्थिर जगमा सन्तोष र समीक्षा नामक दुई निर्दोष सन्तान जन्मिए।
जब आमा स्वार्थ र भ्रमपूर्ण प्रेमको पछि लाग्दै घर छाडेर गइन्, त्यो मातृत्वको पहिलो र अक्षम्य कलङ्क थियो। त्यस लगत्तै बुबा रमेशले आफ्नो अक्षमता र नयाँ जीवनको लालसाले वशीभूत भई ती कलिला सन्तानलाई निःसन्तान आफन्तको निर्जीव काखमा सुम्पिदिए। रमेशको यो निर्णय पितृत्वको गरिमाको चरम पतन थियो; उनले रगतको सम्बन्धलाई भौतिक सुविधाको झुटो आश्वासनसँग साटे।
यसरी सन्तोष र समीक्षाको बाल्यकाल आफ्नै मानिसहरूबाट दुई पटक त्यागिएको दारुण र अविश्वसनीय यात्रा बन्यो।
समीक्षाको जीवनको कथा न्यानो रङहरूबाट सुरु भएको थिएन, बरु आफ्नै मान्छेहरूको शीतलताले कोरिएको थियो। उनको पहिलो स्मृति कुनै खेलौनाको आवाज थिएन, बरु रित्तो काखको अनन्त शून्यता थियो। आमाको अनुपस्थिति उनको आत्मामा जमेको एक टुक्रा बरफ जस्तै थियो, जसले कहिल्यै गर्मी महसुस गर्न पाएन। जब बुबा रमेशले उनलाई नयाँ गन्तव्यतर्फ मोडे, त्यो पितृत्वको हातको स्पर्श नभई भारी जिम्मेवारी पन्छाएको शीतयुद्ध थियो।
त्यो नयाँ घर, जहाँ निःसन्तानताको खालीपनलाई भर्न उनलाई लगियो, प्रेमको बगैँचा थिएन, बरु चिसो हिसाबकिताबको गोदाम थियो। धर्मबाबुआमाले उनलाई 'छोरी' को दर्जा दिएनन्; उनी त उनीहरूको एउटा सामाजिक ऋण थिइन्, जसको ब्याज आजीवन कृतज्ञतामार्फत चुक्ता गरिनुपर्थ्यो। समीक्षाले त्यहाँ खाइएको हरेक गाँस र लगाएको हरेक लुगालाई अपमानको भारी ठान्थिन्। उ
नीहरूको भित्री भाव यस्तो हुन्थ्यो कि 'हामीले तिमीलाई अपनाएर तिम्रो भाग्यमा ठुलो उपकार गरेका छौँ।' उनीहरूका शब्दहरू समीक्षाका लागि पोसिलो भोजन नभई समय-समयमा दिइने ऋणको किस्ता जस्तै थिए। हरेक रात सुत्नुअघि उनलाई लाग्थ्यो, उनी आफ्नो शरीरमा होइन, कसैको परोपकारको छायामा बाँचिरहेकी छन्। यही अनवरत विरक्तिको बोधले उनको हृदयको बालसुलभतालाई ढुङ्गाको आकृति परिणत गर्यो, जसले गर्दा उनको आत्मिक मुटु पूर्ण रूपमा चिसिएर भावनाविहीन पर्खाल बन्न पुग्यो।
समीक्षाको जीवनमा कुटपिट थिएन
तर दैनिक रूपमा हुने भावनात्मक दबाब थियो।
धर्मआमा-बुबाले उनलाई कहिल्यै कराएनन्।
उनीहरू सधैँ शान्त बोल्थे।
तर त्यही शान्त स्वरमा बारम्बार एउटै कुरा दोहोरिन्थ्यो— 'हामीले तिमीलाई अपनायौँ,
तिमी त भाग्यमानी हौ।'
यो वाक्य माया जस्तो सुनिन्थ्यो
तर यसको अर्थ थियो—
'तिमी स्वतन्त्र छैनौ।'
समीक्षा बिरामी परिन् भने उपचार हुन्थ्यो तर त्यससँगै सम्झाइन्थ्यो— 'यति खर्च त आफ्नै छोरीका लागि पनि धेरै हुन्छ।'
यसले उनलाई सिकायो—
आफ्नो आवश्यकता महसुस गर्नु पनि गल्ती हो।
उनी रुन चाहन्थिन्
तर रुन पाउँदिनथिन्।
किनकि आँसु देखिएपछि भनिन्थ्यो— 'हामीले यति गरेपछि पनि तिमी दुखी?'
त्यसपछि उनले दुख लुकाउन सिकिन्।
समीक्षा पढ्न चाहन्थिन्।
कलेज जान चाहन्थिन्।
तर जब उनले आफ्नो इच्छा बताइन्,
धर्मबुबाले शान्त स्वरमा भने— 'हामी अब बुढा भयौँ।
हामीलाई छोडेर टाढा जाने त सोचिरहेकी छैनौ नि?'
यो प्रश्न थिएन।
यो दबाब थियो।
यदि गइन् भने
उनी कृतघ्न ठहरिन्थिन्।
यदि नगइन् भने
उनको सपना मर्न बाध्य हुन्थ्यो।
समाजले भने भन्थ्यो—
'कति भाग्यमानी छोरी!'
तर कसैले बुझेन—
उनी छोरी भएर होइन, ऋणी भएर बाँचिरहेकी थिइन्।
राति एक्लै हुँदा समीक्षा आफैँलाई सोध्थिन्—
'म के साँच्चै ऋणी छु?
म जन्मिनु नै गल्ती थियो?'
उनलाई यस्तो लाग्न थाल्यो—
आफू मानिस होइन,
जिम्मेवारी पूरा गर्न ल्याइएको साधन हुँ।
त्यस रात समीक्षा ऐनामा हेरेर भनिन्—
'म बाँचेकी छु
तर मेरो इच्छा बाँकी छैन।'
समय बगिरह्यो।
कहिले आमाबुबाप्रति घृणा जाग्थ्यो,
कहिले आफन्तहरू 'बिचरा' भन्दै सहानुभूतिको नाटक गरेर नजिकिँदा झन् अपमान महसुस हुन्थ्यो।
किनकि यदि त्यो दिन
उनी निःसन्तान अपरिचितको ढोकासम्म पुग्नुअघि
ती आफन्तहरूले साँच्चिकै जिम्मेवारी लिएका भए,
यदि आमाले एक पटक मात्र हात थामिदिएकी भए,
यदि बुबाले पितृत्वको आँट देखाएका भए
आज उसलाई कसैको दयाको पात्र बन्नु पर्ने थिएन।
त्यो 'बिचरा' भन्ने शब्द
माया होइन,
समयमै नदेखाइएको जिम्मेवारीको ढाकछोप मात्र थियो। उसलाई दया होइन,
त्यो बेला एउटा साथ चाहिएको थियो—
एक हात,
एक आवाज,
'तिमी एक्लो छैनौ' भन्ने एउटा वाक्य मात्र।
तर त्यो बेला सबै मौन रहे।
आज,समयले घाउ पुरै चिरिसकेपछि
सहानुभूति देखाउनु
उसका लागि घाउमा नुन छर्किनु सरह भयो। किनकि केही सम्बन्धहरू
समयमै निभाइएनन् भने
पछि देखाइने माया
माया हुँदैन—
त्यो ढिलो आएको पछुतो मात्र।
उनीलाई आफ्नो दाइ कहाँ छ, कस्तो छ थाहा छैन।
कससँग छ, कस्तो जीवन बाँचिरहेको छ त्यसको पनि कुनै खबर छैन। बुबा कहिलेकाहीँ एक–दुई पटक अनुहार देखाउन आउँथे
तर भेट्ने रहर कहिल्यै जागेन।
किनकि त्यो भेटमा अपनत्वभन्दा
औपचारिकता मात्रै हुन्थ्यो।
दाइको बारेमा सोध्दा
बुबाबाट कहिल्यै भरपर्दो उत्तर आएन।
जस्तो लाग्थ्यो—
उहाँ आफैँ पनि त्यो सम्बन्धबाट भागिरहनु भएको छ। दाइलाई सम्पर्क गर्न खोज्दा झन् पीडादायी अनुभव गर्थिन्। मौनता र बेवास्ता नै उहाँको जवाफ बन्थ्यो।
उनी अब दोष खोज्न छोडिन्।
न आमा, न बुबा, न दाइ, न आफन्त—
सबैप्रति केवल मौन स्वीकारोक्ति बाँकी छ।
जिन्दगीले उनलाई एउटा कुरा सिकायो—
सबै प्रश्नको उत्तर अरूले दिँदैन।
कहिलेकाहीँ उत्तर समयसँगै
मनभित्रै जन्मिन्छ।
आज उनी बलियो बनिसकिन्, निर्णय लिन सिकिसकिन्।
आफ्नो जीवन आफैँ चलाउन सक्छिन्।
तर त्यो बलियोपन
सुरक्षित बाल्यकालको उपज होइन—
अभाव र पीडामा बाँचेर बनेको कवच हो।
कहिलेकाहीँ उनी सोच्छिन्—
यदि भविष्यमा कोही आउँछ भने
उसले केवल मेरो हाँसो मात्र होइन,
मेरो मौन, मेरो पीडा पनि बुझोस्।
मेरो सफलता मात्र होइन,
मेरो यात्रा, मेरो संघर्ष पनि स्विकारोस्।
उनी चाहन्छिन्—
त्यो मानिसले
उनीलाई 'बिचरा' भनेर होइन,
'तिमी पर्याप्त छौ' भनेर हेरोस्।
कुनै दया होइन,
कुनै सहानुभूति होइन—
बस् सँगै उभिने एउटा साथ आइदेला त्यस्तो कि आफ्नै बुबा जस्तो पर्ला अन्योल पर्थिन्।
यदि कोही नआए पनि
उनी टुट्दिनन्।
किनभने जसले यति धेरै एक्लोपन र पीडा पार गरिन्, उनी आफैँ आफ्नो सबैभन्दा बलियो साथी बनिसकेकी छिन्।
यो हो उनको वास्तविक स्वरबिना,
आँसुबिना
तर गहिरो शान्ति र आत्मसम्मानसहित।