आकाशको छानो हेर्दै एक पाखालाई आफ्नो बिस्तरा बनाई पल्टिरहेको मंगले सोच्दै छ- 'मेरो आधा जीवन त यसै बाख्रा चराउँदै यही सल्लिपाखामै बिती गयो। मलाई आफ्नै सन्तान मानी काखमा च्याप्ने यो पाखोले कति समय काट्यो थाहा छैन। तर मसँगका बिस वर्ष काटिसक्यो। मेरो यो थाप्लोमा हिउँदै जमेर बसेका यी दुःख र मेरा आँसु कति सम्हाल्यो होला आजसम्म? मैले गिन्ती गरेको छैन।'
मंगले आफ्नै पुर्पुरोमा तेर्सिएका ती धारिला समयलाई सधैँ सम्झिरहन्छ यसरी नै। मंगलेका यी दुःख पुरानै हुन्। झाँक्री बा'ले भाग्य सँगसँगै उसलाई ठगिरहने रित पनि पुरानै हो। बा बिमार हुँदा उधारो लिएको पचास रुपियाँको सौकार बाजेका कचकच, हरेक साँझका ती नमिठा वचन पनि पुरानै छन्। ब्याज समेत तिर्न नसकेको मंगले के सावा तिर्थ्यो? भर्खरै जन्मेकी दुधे बालकलाई दूध लाउन सकेको छैन। न सकेको छ दम लागेका बा'को उपचार गर्न। न सकेको छ आफ्नी फूलझैँ ओइलाएकी श्रीमतीका आँखामा खुसी भर्न।
मंगले आफ्नै पोल्टोमा परेका दुःख उसिनेर सक्दैन। ऊ जति नै दुःखले पिल्सिएको भए पनि सबैको अघि हाँसिरहने मान्छे हो। साँझ पग्लेर जसरी सुन्दर बिहान बन्छ त्यसै गरी मेरा चानामा परेका यी दुःख एक दिन कसो नपग्लिएर जालान् र भनी ऊ बारबार आफैँलाई सम्झाइरहन्छ। यसै साँझ पर्छ। बाख्रा सँगसँगै आफ्ना ती हत्या भएका हरेक एक-एक सपनाका आत्माहरूलाई बटुल्दै ऊ घरतर्फ हानिन्छ।
'मंगले! ओइ मंगले!' पल्ला घरे धौली काकीले खोक्दै बोलाउँछिन्।
'हजुर काकी,' मंगलेकी स्वास्नी बाहिर आई।
'लौ छोरीको लागि मैले एक माना दूध ल्याइदिएको छु, यो राख। अस्ति भर्खर गाई ब्याएको छ,' धौली काकीले छिमेकी हुनुको धर्म निभाइन्।
'हैन, मंगले कता गयो? बोल्दैन त बुहारी!'
'काकी, उहाँ त ससुराबा बोकी अस्पताल बाइगए बिहानै सुर्कोट बजार। हिजो दम बढिकन ज्यादा भएको छियो। मेरा छातीउनका गहना पनि झोला हाली दिए उपचार अराउन।'
' काइँली तेरा छातीउनका दुःख पनि कहिले नबिसिने भए बाबै! क्यार्छेस् गरिबी ए आफैँ बेचिकन पनि बाँच्दो पड्न्या रहिछ।'
भित्र च्याँ-च्याँ गर्दै बच्ची रुँदै थिई।
'काकी, मन्जिला रुँदै छे म जान्छु अहिले। '
'हुन्छ काइँली, मेरो पनि तल रक्सेका घर पुग्नु पड्न्याछ, म पनि जान्छु।'
काइँली खुसी भई भित्र छिरी। आफ्नी छोरी पिठिउँमा बाँधी दूध बसाल्न लागी ऊ। केही छिनपछि भर्ते सौकार ब्याज माग्न भनी आयो।
'ए मंगले! कहाँ मरेको छस्? बाहिर आइज ह्या। आज हेर्छु कसरी पैसा नदिँदो रहिछस् तैँले!' भर्ते सौकार रिसको झोकमा खुट्टाले भुइँ माड्दै बोल्दै थियो, 'ए काइँली! किन बोल्दैनौ ए तिमोरु? मर्यौ कि जिम्दै छौ?'
लात्तीले ढुङ्गा हिर्काउँदै घाँटीका नशा तन्कार जोर जोरले बोलिरहेको थ्यो भर्ते। साथमा एक्लै नआएर सँगसँगै दुई जना पनि चाकडी गर्ने मान्छेहरू बोकी आएको थियो ऊ आज। आजसम्म यसरी उसले कहिल्यै यस्तो गरेको थिएन। तर आज खै के एकतमासको हुरी चल्यो, ऊ रन्केर कराउँदै थियो।
'हजुर सौकार बा!' काइँलीले कौसीमा आएर घरमा कोही छ भन्ने सन्देश दिई।
'काँ गयो मंगले? किन बोल्दैछैन त्यो? ऋण लिएपछि तिर्न पर्दैन तिमोरुले?' भर्ते रिसको आगोले दन्किँदै बोलिरहेको थियो।
'सौकार बा! उहाँ त ससुरा लिई बिहानै उपचार अराउन भनी सुर्कोट बजार हिँडेका हुन्,' काइँली नरम भई बोलिरहेकी थिई।
'ए! अर्काका पैसा खाएर भाग्ने त्यो, पख् मैले जानेको छु त्यसको, आउन देऊ!' उ यत्ति भनी जुँगा मडार्दै आँखा फुलाएर मंगलेको आँगन छोडेर हिँड्यो।
काइँली भित्र मन्जिलालाई दूध ख्वाउन भनी गई। एकछिन काखमा पल्टाएर आफ्नी छोरीका आँखामा हेरी। उसले दुःख बिसाउने, भुलाउने भनेकै अचेल मन्जिलालाई हेरेरै हो। ती आफ्नी छोरीका ओसिला आँखा हेरेर उसले गोलोक भेट्टाउँछे। दिनभरका थकान भुल्छे। एक स्त्रीको जिम्मेवारी परिवारका लागि पुरुषभन्दा बढी हुन्छ। स्त्री एक सुन्दर कल्पना हो ईश्वरको। यदि ईश्वरले, प्रकृतिले केही सुन्दर चिज यो धर्तीमा सिर्जना गरेको भने त्यो स्त्री हो। रसाएको यो धर्ती, यो चमचमाएको आकाश, यी सुन्दर नदी, बग्दै गरेका झरना भन्दा बढी केही यो दुनियाँमा महत्त्वपूर्ण छ भने त्यो स्त्री हो।
दिनहरू बित्दै गइरहेका थिए। करिब दुई सातापछि मंगले आफ्ना बा लिएर घर पुग्यो। घर आउँदा एक चौथो सदस्य पनि लिएर आएको थियो। मंगलेले मङ्गल डाँडाबाट पचहत्तर रुपैयाँमा गाई किनेर ल्याएको थियो। सँगसँगै आफ्ना बा'को पनि उपचार गरेर आएको थियो। आज ऊ अहिलेसम्मका बाँचेका दिनहरूमा सबैभन्दा बढ्ता खुसी थियो।
'काइँली! ए काइँली! बाहिर पानी लिएर निस्के,' मंगलेले गाईलाई एक आँगनको रुखमा बाँध्दै काइँलीलाई बोलायो।
काइँली एक लोटा पानी लिएर बाहिर निस्की। उसले मंगलेले गाईलाई रुखमा बाँध्दै देखी।
'हाम्रो घराँ गाई?' उसले प्रश्न गरी।
'आउँदा बाटाँ भेटाको,' मंगलेले ठट्टा गर्दै भन्यो।
'ह्या के जिस्किँदा छौ तमी पन' काइँलीले नाक खुम्च्याउँदै पानी लिएर ससुरालाई दिई।
'बा कस्तो छ अहिले हजुरलाई? डक्टरले के भन्यो?' काइँलीले भुइँमा बस्दै सोधी।
'ठिक हुन्छ अरे' झुसे सार्कीले मात्र त्यत्ति भन्न सक्यो। ऊ घटघट पानी पिइरहेको थियो। पानी पिउँदा उसको रुद्रघण्टी पनि त्यस्तै सलबलाई रहेको थियो। उमेरको दोसाँधमा पुगिसकेको झुसे दमले ग्रस्त थियो। उसको जीवनको सीमारेखा दमले कोरेको थियो। मंगले र आफ्नी बुहारीको मुख हेरेर बाँचिरहेको थियो ऊ। चालिस वर्षको हुँदा उसकी स्वास्नीको स्वर्गवास भइसकेको थियो। स्वास्नी मरे देखिन् उसले वसन्तमा पनि बाँकी जीवन सुक्खा भएर बितायो।
नाम्चा गाउँमा उसको खुब ख्याति थियो। पछि पहिरोले घर सँगसँगै श्रीमती गुमायो। गाई गोरुले भरिएको गोठ गुमायो। कसरी कसरी आफू र मंगले मात्र बचे त्यो दिन। आफू कमजोर हुँदै गएपछि बिस्तारै बिस्तारै झुसेले आफ्नो ख्याति पनि गुमायो। अहिले आफ्नै जीवन पनि भारी लागेको छ उसलाई। समयले मान्छेलाई उचाल्ने कम पछार्ने ज्यादा रहेछ भनी ऊ बारबार सोचिरहन्छ।
काइँलीले छातीबाट खुसाएर दिएका गहनाबाट बा'को उपचार गरी बचेको पैसाले गाई किनी ल्याएको पनि दुई साता भइसकेको थियो। गहुँ, बचेको कोदो बेचेर मंगलेले एकाउन्न रुपियाँको आम्दानी गरेको थियो आज। त्यै पैसाले आफ्नी श्रीमतीका गहना पनि फर्काउने सोच बनाएको थियो।
आजको दिन ऊ धेरै खुसी थियो। सूर्य नदीमा डुब्नै लाएको थियो। आकाशले घुम्टो ओढिसकेको थियो। जूनले आफ्नो चमक धर्तीमा पोख्दै थियो। दुई आसेपासे साथमा लिएर भर्ते सौकार मंगलेको घरको बाटो आइरहेको थियो। मंगले आँगनमा बनाएको ढुङ्गाको कुर्सीमा बसेको थियो। काइँली गाइलाई घाँस हाल्दै थिई। झुसे सार्की डोरीको खाटमा त्यही पल्टिरहेको थियो।
'मंगले, तैँले सावाँ नतिरेको वर्षौँ भइसक्यो भन्ने भुलिस् कि क्या हो? ब्याज पनि वर्षमा आधा मात्र बुझाउँछस्। तिमोरुले मेरो सावाँ, ब्याज कहिले चुक्ता गर्छौ हँ?' भर्ते सौकारले जुँघा मडार्दै हुक्काको गुडगुड आवाजसँगै धुवाँ आकाशतर्फ हुत्त्याएर भन्यो।
'सौकार बा, बिस्तारै मु तिरिहाल्न्या हुँ। भर्खरै बा'को पनि उपचार अराएर ल्याएँ, गाई किनी ल्याएँ। पैसा भएको पन सक्किगयो,' मंगलेले नरम स्वरमा पैसा छैन भन्ने जानकारी दियो।
सौकारले आँखा फुलाउँदै आँखा फाट्ने डरले आँखामा पोखिन लाएको रिस पनि सोहोरेर कण्ठ तिर फर्कायो।
'ए केटाहरू गाई फुकालेर हिँड' भर्ते सौकारले रिसले चुर भएर आफूसँग आएका चाकरहरूलाई गाई फुकाल्न आदेश दियो। चाकडी गर्नेहरूले काइँलीका हातमा भएको घाँस खोसेर फ्याँक्दै गाई फुकालेर डोर्याउन लागे। मंगले र काइँली केही बोल्न सकेनन्, टुलुटुलु हेरि मात्र रहे गाई जाँदै गरेको। झुसेले आँखाका ढकनीबाट खसेका ती ताता आँसुका ढिका दौराले पुछ्दै, रुँदै गरेको मुखलाई मंगलेबाट दक्षिणर्फ फर्कायो।
बिहान मिरमिरे उज्यालो भइरहेको थियो। चराहरूको चिरबिर आवाजसँगै उठेर काइँली आफ्नो दैनिक घरायसी काममा लागी। गाउँ मस्त निद्रामै सुतिरहेकै थियो। शान्त, सुन्दर वातावरण, स्वच्छ हावाको प्रवाहले शरीरमा अझ बल थप्दै थियो।
'काइँली! ए काइँली' मंगलेले डराएकोझैँ गरेको आवाजले जोर जोरले आफ्नी श्रीमतीलाई बोलायो। काइँली हत्तपत्त गरेर सारीको सप्को कम्मरमा बाँध्दै अगेनो छोडेर भित्र गई।
'काइँली, बा बोल्दैनन् त किन हो?' मंगलेले निन्याउरो मुख लाएर भन्यो।
'ह्या हल्लाउनु न क्या भएको होला र? हिजोसम्म त मस्तै थिए। खै!' काइँलीले झुसेलाई उठाउन खोजी तर ऊ उठेन।
ऊ अब डराई। हात समातेर नाडी छामी, नाडी पनि नचलेको थाहा पाई। झुसेको हात अचानक काइँलीको हातबाट छुट्यो र खाटमा बजारियो। काइँली चिच्च्याउन थाली- 'बा! बा! बोल्नुस् बा! हाम्लाई एक्लै छोडेर नजानुस्! हामी कसका आडमा बाँच्छम् अब!'
मंगलेले टाउका माथि छानो खसे जस्तो मान्यो। ऊ भुइँमा थचक्क थचारियो। घरको छानो घुम्न थाल्यो। धर्ती रिङ्न थाल्यो। मन्जिला पनि च्याँ-च्याँ गर्दै उठी। एकैछिनमा सबै गाउँलेले थाह पाए। घरको आँगन भरियो केही समयमै। 'रोगभन्दा बढ्ता झुसे शोकले मरेको हो' भनी सबैले काने खुसी गर्दै थिए।
एकैछिनपछि गाउँलेहरूले हरिया बाँस काटेर ल्याए। तल्ला घरे रक्सेले बाँस तेर्स्याउन थाल्यो। कात्राहरू तयार पारियो लास बेर्न। केही छिनमा झुसे सार्कीलाई मृत्यु शय्यामा तेर्साइयो। मनसाराम पण्डितले शङ्ख फुक्यो। ऊ भन्दै थियो- लासलाई धेरै बेर घरमा राख्नु हुँदैन।
मानिसहरू जिउँदो हुँदासम्म घरका तला बढाउँदै जान्छन् तर अन्तिममा ऊ आफैँ मरे उसलाई एक मिनेट पनि त्यहाँ राखिँदैन। उसले जिउँदो रहुन्जेलसम्म बनाएका ती तलाहरूमा आफ्नो लास समेत केही समय टिकाउन ठाउँ पाउँदैन। मनुष्यको यो मेहनत, यो जाल, यी कुच्चिएका समयहरूमा गरेका इमानदारीका पलहरू सबै व्यर्थ भई जाँदा रहेछन्।
मंगले र तीन जना अरू गाउँलेले लास आँगनबाट उठाए। मनसारामले शङ्ख फुक्यो। शङ्खको आवाज आकाशसम्म ठोकिएर भुइँमा समेत पोखियो। कोही रोइरहेका थिए त कोही जबरजस्ती पनि आँसु निकालिरहेका थिए। काइँलीले सारीको सप्को मुखमा हाली। आफ्नी छोरी काखी लाएर ऊ रोइरहेकी थिई। रोएर पनि उसका आँखाबाट आँसु खसिरहेका थिएनन्। सायद आँखाका मूल पनि रित्ती गए होलान् काइँलीका।
लास आँगन छोडेर निस्कियो तमौ नदी तिर। एकै छिनमा पर खेतको डिलमा पुगे मलामीहरू। काइँली निधारमा हात तेर्स्याएर हेरिरहेकी थिई। डिलबाट मलामीहरू झर्दै थिए बिस्तारै बिस्तारै। उनीहरू एकैछिनमा डिल छोडेर धर्ती भित्र छिरे। तमौ नदी आफ्नै सुरमा मस्त निदाएर बगिरहेको थियो। मंगलेले आफ्ना बा'का खुट्टा धोयो। कपाल मुण्डन गर्यो। लास चितामा चढ्यो। मंगलेले हात कपाउँदै कपाउँदै लास माथि आगो झोस्यो। एकैछिनमा दनदनी आगो बल्यो र लास धुवाँ बन्यो। झुसे सार्की त्यही धुवाँ थियो सायद। माथि-माथि आकाश जाने बाटो तर्फ हुइँकियो। एकैछिनमा बादल बन्यो र त्यसपछि माथि आकाशमा कुनै स्थान लिई बिलाइ गयो आकाश सङ्गै।
असारको महिना थियो। सबैका खेतमा धान रोपिँदै थियो। वन, पाखा चारैतिर हरियाली देखिन्थे। मंगले काइँली लिएर रोपाइँ गर्न बिउ उखेल्न जाने सुरमा थिई। काइँली गाउँमा सबैको पर्ममा गएकीले आज बेर्नामा सबै गाउँले जम्मा थिए बिउ उखेल्नका लागि। मंगले काइँली र मन्जिला लिएर खेततर्फ गयो बिउ उखेल्न भनी। सबै सुरमा सुर मिलाएर गीत गाइरहेका थिए। वातावरण नाचिरहेको थियो बिउँ उखेल्नेहरूको गीतमा।
साँझको झिसमिसे उज्यालो पूर्व नै सबै गाउँलेहरू आ-आफ्नो घरतर्फ हिँडे। करिब तीन दिनपछि सबै बिउ उखेलेर सकियो। भोलि मंगले रोपाइँ गर्ने तयारीमा थियो पानी परे। आकाशकै भर बसेर सबैले रोपाइँ गरिरहेका थिए। एकाबिहानै मुसलधारे पानी पर्यो। आकाश गर्जिरहेको थियो। आकाशले साथ दिएको थियो त्यो दिन। मंगले हरुवाको घरतिर हुइँकियो गोरु खेतमा ल्याउन भनी निम्तो दिन। काइँली सबै रोपारहरूलाई बोलाउन डाँको छोड्न थाली निधारमा हात तेर्स्याएर। सबै गाउँलेहरू केही छिनमै खेतमा भरिए। गोरु दौडिन थाले खेतमा।
रोपारहरू बिउँ धर्तीको छातीमा रोप्दै थिए। मंगलेको खेत सबै कोदालेहरू र रोपारहरूको गीतले गुन्जियो। मंगले थाकेर एकछिन आलीमा बस्यो। ऊ भर्खरै बितेका आफ्ना बा'लाई सम्झिन थाल्यो। पोहोर साल आफ्ना बा'सँगै खेतमा रोपाइँ गरेको सम्झियो। उसका आँखा टिलपिलाए। आँखाका आँसु त्यही हिलोले लतपत भएको हातले पुछ्यो। उसले गालाबाट बगेर छातीसम्म पुगेका आँसुका ढिकालाई आलिङ्गन गर्यो र कोदालो समाती फेरि कोदालेहरूलाई साथ दिन गयो। करिब दुई दिनपछि रोपाइँ गरेर सकियो। काइँली र ऊ ढुक्क भएका थिए रोपाइँ सकेर।
महिना बित्दै गयो। असोजको महिनालाई समातेर धान काट चुट पनि सकियो। मंगले फागुन, चैत्रमा बेचे बढी नाफा हुन्छ भनेर धान जम्मा गरेर भकारी, डाला भर्थ्यो। ऊ गहुँ, कोदो पनि यसै गरी बेच्थ्यो। एक दिन मंगले तमौ नदी किनारको ढुङ्गामा बसिरहेको थियो। उसले बाख्राहरू आफू पछाडिको काँसे भिरमा छोडेर आएको थियो। आफू तल नदी किनारको ढुङ्गामा मस्त बसेर घाम ताप्दै थियो। शान्त र गहिरो तमौ नदी निदाएझैँ गरी बग्दै थियो।
ऊ मस्त आँखा बन्द गरी नदीको पिठिउँलाई चुमेर आएको हावाको सुगन्ध चाख्दै थियो। एक्कासि पछाडिबाट मंगलेलाई कसैले लात्ताले बजाएर हान्यो पिठिउँमा। ऊ तमौ नदीमा उल्टो परेर खस्यो। उसले झर्दा खेरी त्यही गाई फुकाल्ने भर्ते सौकारका दुई चाकरहरू देख्यो। गाई लगेको एक महिना नपुग्दै गाई बिरामी भएर मरेकोले ऊ चुर थियो। उसले सात महिनापछि त्यसको बदला लिन योजना बनाएको थियो।
नदीमा मंगले पानी खाँदै छटपट गर्दै थियो बालुवाको माछाझैँ। चाकरहरू डराए। उनीहरूलाई थाहा थिएन त्यो लात्तीको जोरले मंगले नदीमा पछारिनेछ भनेर। बचाऊँ भने उनीहरू आफैँलाई पौडी खेल्न आउँदैन थियो। दुवैले कुलेलम ठोके चप्पल हातमा समातेर त्यहाँबाट।
मंगले पानी खादै उफ्रिँदै थियो। पौडी खेल्न हात चलाउँदै थियो। उसको बलले काम गरेन। नदीले आफ्नो अङ्गालोबाट फुत्काएन उसलाई। उसले जति उम्किने कोसिस गरेर पनि उम्किन सकेन। एकैछिनमा उसले हात पाउ छोड्यो। ऊ कागजझैँ पानीमा उत्रियो। तमौ नदीले बहाउँदै बहाउँदै आफैँसँग लिएर गयो। नदी आफू जहाँसम्म पुग्यो मंगलेलाई पनि त्यही पुर्यायो। नदीले साथ छोडेन कुनै हालतमा पनि। ऊ किनार लाग्दा पनि नदीले तानेर आफैँसँग ल्याउँथ्यो। नदीले मित्रता निभायो आफ्नो।
साँझ पर्न आँटेको थियो। काइँली मंगलेको बाटो हेर्दै बसिरहेकी थिई मन्जिलालाई पिठिउँमा बाँधेर। बाख्राहरू दौडिँदै आइरहेका थिए घरतर्फ। तर मंगले आएन आफ्नो घरको बाटो। किन आउँथ्यो? ऊ त अब यो धर्ती बाहेक सबैको भइसकेको थियो।
मंगलेको बाटो हेरेको धेरै बेर भइसकेको थियो। उसको मनमा चिसो पस्न थाल्यो अब। ऊ गाउँमा गुहार माग्न थाली। सबै गाउँलेहरू राका बालेर तमौ नदी तिर दौडिए मंगले खोज्न। तल-तलसम्म खोजे कतै भेटिएन। सबैले जोर-जोरले डाँको हाली मंगलेलाई बोलाउँदै थिए। तल एक किनारमा हरुवाले केही देख्यो बलेको राँकोको मधुरो प्रकाशमा। उसले त्यो समात्यो। नदीले चिठी स्वरूप मंगलेको फाटेको टोपी छोडेको रहेछ।
उसले सबैलाई बोलायो र भन्यो- 'यो टोपी मंगलेको हो जस्तो लायाको छ मुइलाई त, गाउँ ल्याऊँ।' सबैले एकर्काका मुख हेरे। सबैले जानेकै थिए मंगलेले लाउने त्यो झुत्रे टोपी। गाउँलेहरू सबैले होमा हो मिलाए। प्रमाण स्वरूप टोपी लिएर हरुवा र गाउँलेहरू सबै काइँलीको घरतर्फ हानिए।
सनसनी गाउँमा खबर फैलियो। रक्सेले काइँलीलाई एक-एक शब्द फुटाइ-फुटाइ सबै कुरा भन्यो। मंगले नदीमा बगेर मर्यो भन्ने खबर थाहा पाएपछि काइँली भुइँमा बसेर छातीमा मुड्की बजार्दै रुन थाली। ऊ सँगसँगै उसकी छोरी मन्जिला पनि रुँदै थिई। गाउँलेहरूले पनि आँसु चुहाए। एकैछिन वातावरण शोकमा डुब्यो।
लास भेटिएको भए सायद अन्तिम पल्ट मंगलेलाई आफ्ना छातीमा टाँसेर रुन्थी होला काइँली। उसले मंगलेको सट्टा मंगलेको टोपीलाई छातीमा च्यापी। एकैछिन त्यो टोपी मुसारिरही। आँसु टोपीमा तप्प-तप्प गरी झर्दै थिए गालालाई छोडेर। केही छिनपछि सबै गाउँले आ-आफ्ना घर गए नरुने सल्लाह दिँदै। धौली काकी र रक्सेकी श्रीमती काइँली सँगै बसे सहारा दिन। धौली काकी आफ्नो श्रीमान् मारिनुको कथा सुनाउँदै त्यो समयमा आफू कसरी मजबुत भएर बसेको भन्ने कुरा सिकाउँदै थिइन्। रात पनि बित्यो। काइँली बाहेक सबै निदाएका थिए।
बिहान भाले र चराहरूको सट्टा कुकुरहरू बासे त्यो दिन। काइँली आँगनको ढुङ्गामा बसी। धौली काकी र रक्सेकी श्रीमती पछि आउने सल्लाह दिई बिदा मागेर आफ्ना आफ्ना घर गए। मन्जिला भने मस्त निदाएकै थिई। काइँलीका मनमा अनेकौँ कुराहरू खेलिरहेका थिए। ऊ मंगलेको फाटेको टोपी समाती तमौ नदीतर्फ हिँडी।
आधा घण्टामा ऊ नदी किनारमा पुगी। उसले आफ्नो अगि मंगलेलाई बगाउने शान्त नदीलाई देखी। एकछिन भक्कानो छोडेर रोई। 'मेरा दुःख पनि बगाइ लैजा ए तमौ!' काइँलीले आँसु पुछ्दै रुँदै भनी।
नदीको नजिक पुगेर कम्मरमा सिउरेको मंगलेको टोपी निकाली। एक पटक त्यो टोपीलाई चुमी र नदीमा हुत्त्याइदिई। उसले मंगलेसँगै यो टोपी पनि पुर्याइदिनु भनेर नदीको कानमा खुसुक्क भनी। त्यही किनार छेउको बालुवामा एकछिन थचक्क बसी। मेरो कुरा उनीसम्म पुगाइदिनु भनेर काइँली गालामा नाग सर्पको झैँ आफ्नो बायाँ हातको फणा बनाएर भन्न थाली नदीलाई-
'तमी नदीसँगै त बहिगयौ प्यारा। बहेर समुद्रमा पनि मिसियौ हौला। त्यहाँबाट बाफ बनेर उड्नू र आकाशसम्म पुग्नू। आकाशले जब-जब गर्जेर बिजुली बाल्नेछ मु सम्झिनेछु हजुर चम्किनु भयो भनिकन। अनि मु याद अर्नेछु हजुरसित बिताएका ती न्याना दिनहरूलाई र हजुर र मेरो प्रेमले फुलेकी मन्जिलालाई।'