छाप्रोमुनि कान्लामा सेताम्मे फुलेको इन्द्रकमलमा मुनाको आँखा पर्यो।
माझेका भाँडा पिँढीका चाक्ला ढुंगामा घोप्ट्याउँदै भाइलाई अह्राई, 'त्यो फूल टिपेर ल्याइदे न।'
दिदीको अह्रोट भुइँमा नखस्दै एक हातले प्यान्ट समात्दै मनोज कान्लातिर कुद्यो । 'दुइटा मात्रै टिप्नू है', मुना कराई। उसले त्यसै गर्यो।
फूल समात्दै भाइको गाला मायाले थप्थप्याई। दुई चुल्ठा बाटेको कपालमा दुवैतिर फूल सिउरिँदै ऐना हेरी।
'आज त म्यामले मलाई पनि कत्ति राम्री देखिएकी भन्नुहुन्छ होला,' सोचेर भित्रभित्रै मक्ख परी। निख्खर गोरी। दायाँपट्टि चिउँडोमा कालो कोठी। न पातली, न मोटी। उमेरले १४ पूरा गरी भर्खर १५ वर्ष टेकेकी भर्भराउँदी किशोरी मुना। गरिबीले छोपिएको उसको सुन्दरता नजिकबाट नियाल्नेलाई उसै पनि खुबै लोभलाग्दो छ।
बिहान ३ बजे नै उठेर इँटा पार्न खलोतिर निस्किनु मुनाका बाआमाको दैनिकी बनेको छ। आफूभन्दा तीन वर्ष कान्छो भाइ र ऊभन्दा पनि मुनिका तीन वर्षे जुम्ल्याहा भाइहरूको समेत रेखदेखको जिम्मेवारी मुनाकै कलिलो काँधमा छ। ती बालखहरू हेर्दै बिहानको भात तिहुन पकाएर घरमा आफूसहित भाइहरूले खाएपछि बाआमालाई राखिदिन्छे। भाइले कहिलेकाहीँ जुठाभाँडा माझेर सघाउँछ।
मुनाका बा हर्कवीर एक दशकअघि सिन्धुपाल्चोकबाट इलम खोज्दै काठमाडौं आइपुगेका थिए। दुई वर्ष जति असन इन्द्रचोकतिर भारी बोक्ने काम गरे। त्यसबाट महँगो सहरमा एक्लो ज्यान पाल्नै धौ-धौ परेपछि गाउँतिरकै एक दामलको सल्लाहमा भक्तपुरको इँटाभटामा मजदुरी गर्न आइपुगेका हुन्। त्यहाँ काम गर्दै जाँदा आफ्नी जहानलाई पनि ल्याएदेखि कमाइ बढ्ने रहेछ भन्ने बुझे।
गाउँमा तीन महिनालाई ढिँडो खान पुग्ने मकै र कोदो उब्जनी नहुने रूखो बारी कुरेर के बस्नु भन्ने सोचेर राममाया पनि भक्तपुर झरिन्। विद्यालय जाने उमेर पुगिसकेर पनि घरधन्दामा आमालाई सघाइरहेकी मुना भट्टाको काम पनि सघाउन सक्ने भइसकेकी थिइन्। गाउँबाट हिँड्दा राममायाले पिठ्यूँमा बोकेर ल्याएको ठूलो छोरो भर्खर ४ वर्ष लाग्दै थियो।
बाआमा काम गर्ने नजिकै एउटा बकैनाको रूख थियो। त्यसैको फेदमा दुई साना भाइहरूलाई अन्त कतै नजाऊन् भनी आमाका पुराना पटुकाले कम्मरमा बाँधिसकेर मुना छाप्रोमा फर्की। ढोका यसो ढप्क्याएर दिदीभाइ अलिकति उकालो लागेर तेर्सो बाटोमा उत्रिए। कठ्याङ्ग्रिँदो जाडोले दुवैका ओठ नीला देखिन्थे। चप्पल लगाएकाले हिलो र माटोले पैंताला चिरिएको प्रस्टै देखिन्थ्यो।
हिँड्दै गर्दा एउटा मोटरसाइकलले नजिकै आएर जोडसँग हर्न बजाइरह्यो। मुनाले विस्फारित नजरले त्यतातिर फर्केर हेरी। भट्टा साहुको छोरो रविन रहेछ। उसै पनि रविनको हाउभाउ मुनालाई पटक्कै मन पर्दैनथ्यो। ऊ भने कहिले फकाएजस्तो, कहिले खसालेजस्तो गरी मुनालाई के के भनेर जिस्क्याइरहन्थ्यो। मुना सधैं उसँग तर्किन खोज्थी। ऊ कसैले थाहा नपाए जस्तो गरी मुनासँग नजिकिन चाहन्थ्यो।
बच्चैदेखि कुनै कुराको कमी हुन नदिई हुर्काएको रविनको जिद्दी स्वभावबाट उसका बाआमा समेत आजित भइसकेका थिए। किशोरावस्थामै रक्सीको लतमा लागेको बाउआमाले ढिलो गरी थाहा पाएका थिए। छोरोमा धनको घमण्ड पनि उत्तिकै थियो। भक्तपुर बजारमै भाडा लाग्ने दुई ओटा त घर थिए भट्टा साहुका। बाउले कार पनि किनेका थिए। धेरै पढेर राम्रो जागिर खाइदिए हुन्थ्यो भन्ने उसका बाआमाको इच्छा थियो। तर उसले भने १२ कक्षाको परीक्षा नै पास गर्न नसकेपछि पढाइ छोड्यो। दिनभरि उस्तै खालका साथीहरू बटुलेर बाइकमा हुइँकिन्थ्यो र मध्यराति ह्वास्स रक्सी गनाउँदै घरभित्र पस्थ्यो। आक्कल झुक्कल इँटाभट्टा जाने क्रममा उसले मुनामाथि नजर गाडेको थियो।
मुनाको घरमा बोलाउने नाम लिँदै रविनले दयाभाव देखाएझैँ भन्यो, 'स्कुल पुग्न ढिला भएन फूलमति? बस म लगिदिन्छु।'
उसले यसो भन्दा मुना उसको मुखैमा नहेरी फटाफट हिँडिरही। भाइ मनोज चाहिँ दिदीले मान्दिए आफू पनि बीचमा बसेर बाइकमा स्कुल जानहुन्थ्यो भन्ने आशयले दिदीको मुखमा पुलुक्क हेर्यो। तर केही भन्न भने सकेन। त्यस दिन मुनाको उपेक्षाले आफ्नो अभिमानमा परेको चोट रविनको मनमा खिलझैँ गाडियो। 'कुकुरका छाउरालाई के घ्यू पच्थ्यो, देख्लिस्' भनी मनमनै मुर्मुरिँदै ठूलो आवाजका साथ बाइकको एक्सिलेटर बटारेर धुलो उडाउँदै ऊ हुइँकियो।
स्कुलको नियम कडा बन्दै गएको थियो।
'तिमीहरू १५ मिनेट गेटबाहिरै खडा होऊ' भित्रबाट एक जना शिक्षकको आदेश आयो।
अरू केही विद्यार्थीहरूसँगै मुनाका दिदीभाइ पनि केहीबेर बाहिरै उभिए। नियमअनुसार जुत्ता मोजा नलगाएकाले उनीहरूलाई गेटमै उभ्याइएको थियो। मन्जु म्यामले 'यिनीहरूले भइकन नलगाएका होइनन्, नभएर नलगाएका हुन्' भन्दै ती दिदीभाइको बचाउ गर्दै भित्र लगिन्।
'अब आइन्दा यिनीहरूलाई यस विषयमा सजाय नदिनू' मन्जु म्यामले त्यहाँ उपस्थित अरू शिक्षकहरूले पनि सुन्ने गरी भनिन्।
स्कुल कहिल्यै नदेखेका मुना र मनोजलाई मञ्जु म्यामकै करले तिनकी आमाले भर्ना गर्न ल्याएकी थिइन्।
'एकै ठाउँमा बस्न पाइने होइन। जता जता काम हुन्छ, त्यतै सरिरहनुपर्ने हुन्छ। बरू यिनीहरू पनि हाम्लाई काम सघाउँछन्' भन्दै मुनाका बाउले चाहिँ उनीहरूलाई स्कुल हाल्न पटक्कै मानेका थिएनन्।
उनको तीक्ष्ण दिमाग देखेकी मञ्जु म्यामको विशेष आग्रहमा मुनालाई एकैपटक ४ कक्षामा भर्ना गरिएको थियो। तै पनि सोही वर्ष उनले सबैलाई उछिनेर प्रथम भइन्। त्यसपछि पनि मुना कक्षामा कहिल्यै दोस्रो हुनु परेन। मनोजको पढाइ भने औषत थियो।
मुना अब तीन महिनापछि एसइई दिने भइन्। उनीप्रति घरपरिवार र विद्यालयको ठूलो आशा र भरोसा थियो। एक दिन उनी विद्यालयबाट घर फर्कंदै थिइन्। नियमित कक्षा सकिएपछि अतिरिक्त कक्षा पनि लिनुपर्ने भएकोले उनी घर फर्कने बेलामा झिसमिसे भइसक्थ्यो। अरू बेला सँगसँगै स्कुल जाने र फर्कने भाइ मुनाको अतिरिक्त कक्षाको समयमा अगाडि नै घर फर्किसक्थ्यो। साथीहरू अलि वरसम्म सँगै भए पनि उनको बसाइँ टाढा र एकान्त जस्तो ठाउँमा भएकोले आधाभन्दा बढी बाटो एक्लै हिँड्नुपर्थ्यो।
बाटोको एक ठाउँमा दिउँसै अँध्यारो हुने बाक्लो बाँसघारी हुँदै जानुपर्थ्यो। उनी बाँसघारीको ओरालो बाटोमा रहेको ढुंगे खुड्किलो आर्लेर खोल्सामा मात्र पुगेकी थिइन्।
बाँस झ्याङ्को छेकोबाट निस्केर कसैले उनलाई एक्कासि पछाडिबाट जोडले समायो र झाडीतिर तान्यो। उनी के गरौँ र कसो गरौँ भइन्। चिच्याउन मुख थुनिएको छ। भाग्न खोज्दा आफूभन्दा अजङ्गको बलियो नरभक्षीले हात र ज्यान अँठ्याएको छ। तुरून्तै उसले मुनालाई भुइँमा पछारिहाल्यो। त्यही बेला मुनाको दायाँ हात संयोगवश एउटा सानो तीखो ढुंगामा पर्यो।
खै कुन बल आएर हो उनले त्यो ढुंगो टिपेर जोडले त्यो मान्छेको टाउकोमा प्रहार गरिन्। उसले ऐँय्या भनेर रन्थनिँदै दुवै हातले टाउको समायो। त्यो स्वर सुनेपछि बल्ल मुनाले थाहा पाइन्, त्यो मान्छे त उही पूर्वपरिचित रविन रहेछ। त्यो थाहा पाएपछि मुनाको झन् होस् हवास् उड्यो। मुना जुरूक्क उठेर त्यहाँबाट यसरी कुदिन् कि उनले सायद दोस्रो स्वास आफ्नै घरको आँगनमा पुगेपछि मात्र फेरिन्।
त्यति बेला आमा घर आएर खाना बनाउन थालिसकेकी थिइन्। उनका बा अझै भट्टामा काम गर्दै थिए। छोरी आत्तिँदै घर आएको देखेपछि आमाले सोधिन्, 'के भयो? किन यसरी डराएकी ?' उनले बाटोको घटना सबै बेलिविस्तार लगाइन्। साथै, मञ्जु म्यामलाई यो सबै घटना सुनाउने बताइन्। 'त्यो पापीलाई झ्यालखाना नपुर्याई छोड्दिनँ। मञ्जु म्यामले मलाई यसमा पक्कै सहयोग गर्नुहोला नि!' मुनाको कुरा सुनेपछि राममाया एकछिन घोरिइन्।
अनि भनिन्, 'छोरी यो कुरा कतै हल्ला नगर। बालाई पनि नभन,' उनले प्रस्ट्याइन्, 'यही इँटाभट्टाको कामले हामी ६ जनाको पेट पालिएको छ। हामीले त्यसको विरूद्ध जाने बित्तिकै हाम्रो बाँच्ने आधार टुट्छ। आफ्नै छोरालाई जेल हाल्न खोज्नेलाई कसले काममा राख्छ र!' हामीले अन्त काम पाउँदैनौँ। गाउँमा फर्केर कसरी यो जीवन चलाउनु। त्यसैले हुन्देऊ छोरी। धन्न आफ्नो सतित्व बचाएर आइछौ। आइन्दा रात बिरात एक्लै नहिँड्नू। एक दिन तिमी आफै सक्षम हुनेछौ र त्यस्ता अपराधीलाई समात्नेछौं।'
राममायाले यो पनि भनेकी थिइन्, 'हामी गरिबलाई यस्तो मुद्दा मामिलामा साथ दिने पनि को हुन्छ र! ठूला बडासँग हामीले कहाँ लड्न सकिन्छ र! पहरामा कुइनोले हिर्काए पनि दुख्ने कुइनो नै हो!' आमाका यी कुरा मुनालाई पटक्कै चित्त बुझेको थिएन। त्यो रातभर उसको आँखा झिमिक्कै भएनन्। तै पनि आमाले भनेझैँ आफ्नो पारिवारिक स्थितिलाई विचार गरी र आमाको वचन शिरोपर गर्दै आफ्नो गहिरो पीडा छातीभित्रै दबाएर बस्ने निधो गरी।
कमजोर मानसिक अवस्थाकै बीच मुनाले एसइई दिई। उसको कक्षामा सबभन्दा बढी ३.९ जिपिए आएछ। एउटी गरिब र छाप्रोमा बसेर पढेकी मुनाले त्यति राम्रो नतिजा सहित एसइई उत्तीर्ण गरेकोमा सबैले प्रशंसा गरे। उसले सबैतिरबाट बधाई र स्याबासी पाई। सबै मिडियामा उनको प्रशंसा चुलियो। त्यो देखेपछि उनको घरमै प्लस टु पढाउने कलेजका प्रतिनिधिहरू आउन थाले। मुनालाई आफ्नो कलेजमा भर्ना हुन अनेक प्रलोभन देखाए। उसले तीमध्येको एउटा कलेज छानी र पूर्ण छात्रवृत्ति सहित कानून विषय लिएर पढी। हुन त उसलाई यस्तो मेधावी विद्यार्थीले विज्ञान विषय लिएर पढ्नुपर्छ भन्ने सुझाव र दबाब अनेकतिरबाट नआएको होइन तर आफू के बन्ने भन्ने लक्ष्यमा ऊ प्रस्ट थिई।
मुनाले १२ कक्षाको अन्तिम परीक्षा पनि उत्कृष्ट जिपिए सहित उत्तीर्ण गरी। काठमाडौंकै सरकारी कलेजमा प्रवेश परीक्षा पास गरी कानून विषयमा स्नातक तहमा भर्ना भई। पढ्दा पढ्दै उसले अलि अलि विद्यार्थी राजनीतिमा पनि चासो लिई। त्यही क्रममा आफूहरू जस्तै छात्राहरूको समस्याबारे छलफल गर्न थाली। विद्यार्थी छँदै यौन हिंसामा परेका धेरै महिलाहरूलाई ऊ र उसका साथीहरू मिलेर साथ र सहयोग दिए। जनचेतनामूलक अभियान चलाए र आवश्यक कानूनी बाटो देखाइदिए। महिला अधिकार तथा हिंसा एवं भेदभाव विरूद्धको कुनै पनि सामाजिक अभियान होस् वा सभा, गोष्ठी ऊ थाहा पाएसम्म र मिलेसम्म छुटाउँदैनथी।
अन्तत: उसले एकतिर अधिवक्ता बन्ने शैक्षिक योग्यता पूरा गरी। अर्कोतिर, महिलाका धेरै समस्याहरू तथा तिनको कारण र परिणामबारे धेरै व्यावहारिक ज्ञान हासिल गरी।
अधिवक्ताको इजाजत सम्बन्धी जाँच पास गरेको केही समयमै मुना सरकारी वकीलका रूपमा न्याय सेवामा प्रवेश गरी। जिल्ला अदालतमा उसको पदस्थापन भयो। आफ्नो क्षमताका कारण केही वर्षमै उसले न्याय क्षेत्रमा सबैलाई प्रभाव पारिसकेकी थिई। घरेलु हिंसा, छोडपत्र, बलात्कार, आदि महिला सम्बन्धी मुद्दा पहिले उसैको जिम्मामा आइपुग्थ्यो। उसलाई ती विषयमा बहस, वकालत गर्न भ्याइनभ्याइ हुन्थ्यो।
यसै बीचमा एक दिन मुनाको अफिसमा प्रहरीले एउटा मुद्दाको अनुसन्धान प्रतिवेदन लिएर दर्ता गराउन आयो। सो मुद्दा एक जना बालिकाको बलात्कारपछि जघन्य हत्या गरिएको सम्बन्धी थियो। मुनाले सम्पूर्ण घटना र त्यसको प्रकृति अध्ययन गरी। यो उसको पेशागत जीवनमा त्यस्तो घटना थियो, जुन यति वीभत्स र हृदयविदारक थियो कि प्रहरी प्रतिवेदनको हरेक पेज पल्टाउँदै जाँदा पढ्नेको मुटु चिरिन्थ्यो; मनमा आक्रोशको ज्वाला पैदा हुन्थ्यो। धेरै प्रकृतिका महिला हिंसा र बलात्कारका मुद्दाको वकालत गरिसकेकी मुनालाई पनि सो मुद्दाको प्रकृति हेर्दा आफूलाई सम्हाल्न निकै कठिन महसुस भइरहेको थियो।
पीडित बालिका ११ पुगेर १२ वर्ष लाग्दै रहिछिन्। अलि परको एउटा जङ्गलमा सो वारदात भएको थियो। प्रहरीको अनुसन्धानबाट पत्ता लागे अनुसार ती बालिकालाई विद्यालयबाट एक्लै घर फर्कंदै गरेको अवस्थामा सो एक व्यक्तिले म घर पुर्याइदिन्छु भनी फकाएर आफ्नो मोटरसाइकलमा बसाएछ। केहीबेर पश्चात् उसले आफ्नो एक दुर्व्यसनी साथीलाई पनि बोलाएर बाइकमा हालेछ। त्यसपश्चात् बालिकाको घरतर्फ नलागी बाइक जंगलतिर मोडेछ। बालिकाले यता होइन भन्दै रून खोज्दा पछाडि बस्नेले मुख थुनेर बोल्न दिएनछ। अनि ती दुई नरपिचासहरूले जङ्गलमा लगेर ती अबोध बालिकाको सर्वस्व लुटेछन्। त्यसपछि सो अपराध खुल्ने डरले वीभत्स हत्या गरेछन्। अझ अस्पतालको पोष्टमर्टम प्रतिवेदनले उजागर गरेको हत्याको प्रकृति हेर्दा त्यो कुनै त्रासदीपूर्ण चलचित्रको कहानीभन्दा कम थिएन। पछाडि बस्ने फरार भए पनि केही सोधी खोजी पश्चात् बाइकवालालाई पक्राउ गर्न प्रहरी सफल भएछ।
यो मुद्दाको प्रकृतिले अधिवक्ता मुनाको मथिंगल नराम्ररी हल्लाइदियो। उनलाई त्यो दिन खाना रुचेन। न त रातभर निद्रा नै पर्यो। त्यति बेला उनको एक मनले भन्यो, 'यो पेशा मैले किन रोजे हुँला। अन्य पेशामा लागेको भए यस्तो बेचैन र विचलित हुनुपर्ने अवस्था त आउने थिएन।'
यो मुद्दा आफूले नहेरी यसबाट पन्छिन पाए पनि मनमा अशान्ति बढ्न पाउँदैनथ्यो कि भन्ने पनि उनलाई नलागेको होइन। तर अर्को मनले भन्यो, 'मुना तँ यसरी डगमगाउन मिल्दैन। सम्झी त यो पेशा रोज्नुमा तेरो आफ्नो के कस्तो उद्देश्य र अठोट थियो !' त्यसपछि मुना त्यो मुद्दामा आफैँले बहस गर्ने निर्क्योल गरी मुद्दाको थप अध्ययनमा लागिन्।
प्रहरीको अनुसन्धान प्रतिवेदनमाथि उनलाई शंका थिएन। त्यसैले प्रतिवादीहरू नै वास्तविक अपराधी हुन् भन्नेमा उनी विश्वस्त जस्तै थिइन्। तैपनि अदालतद्वारा अन्तिम छिनोफानो नभइन्जेल आवश्यक प्रक्रिया पूरा गर्नै पर्दथ्यो। 'मुनाले केस समातिसकेपछि नजित्ने त कुरै छैन' भन्दै जिल्ला अदालतका उनका सहकर्मीहरू आपसमा कुरा गर्थे।
अदालतमा मुद्दा दर्ता गरेको दुई हप्तापछिलाई पहिलो पेसी तोकियो। पेसीको दिन अरूभन्दा अगाडि नै मुना अदालतमा उपस्थित भइन्। मुद्दाको अध्ययनकै क्रममा अभियुक्तप्रति उनमा यतिविघ्न घृणा उत्पन्न भइसकेको थियो कि भेट्ने वित्तिकै उसको अनुहारभरी थुक्न चाहन्थिन् मुना। इजलासमा बहस सुरू हुने बेलामा अभियुक्तलाई हतकडी सहित कठघरामा उपस्थित गराइयो। अभियुक्तका परिवारका अन्य सदस्य र आफन्तहरू पनि उपस्थित थिए।
एकछिन अघिसम्म अभियुक्त कस्तो होला भन्ने उनमा ठूलो कौतुहल थियो। जब मुनाले अभियुक्तको अनुहार आफ्नै अगाडि प्रस्टसँग देखिन् उनलाई भाउन्न भयो। त्यो कुनै अपरिचित अनुहार थिएन। प्रतिवादीको वास्तविक नाम ‘हरिकृष्ण’ लेखिएको भए पनि ऊ त्यही रविन थियो, जुन रक्तपिपासुको पञ्जाबाट करिब १० वर्षअघि उनी बालबाल बँचेकी थिइन्। र, ऊसँग साथ लागेर आउने रविनका बा अनि दिदी र भिनाजु थिए।
उनी रिस र डरले थर्थर काँपिन्। खाटा बसिसकेको १० वर्षअघिको त्यो घाउ एकाएक बल्झिएझैँ भयो। मुनाका आँखाबाट बरर्र आँसु झर्यो। त्यो अपराधीले पनि अगाडि कालो कोटमा उभिएकी मुनालाई तलदेखि माथिसम्म नियाल्यो। ऊसले नचिन्ने कुरै भएन। उसको बाउ र परिवारका अन्य सदस्यले भने मुनालाई चिनेनन्। कठघरामा छिर्दासम्म केही नभएझैँ ठाडोमुन्टो लाएर हिँडेको ऊ मुनालाई त्यो हुलियामा देखेपछि बल्ल निहुँरियो। त्यो दृश्य नियालिरहेका वरपरका मानिसहरू के भइरहेको छ भन्ने बुझ्न नसकी अक्क न वक्क परे।
मुनालाई एकतिर त्यो अपराधीसँगको जम्काभेटले असह्य बनाएको थियो। अर्कोतिर आफ्नो कलिलो शरीरमा समेत कुनै बेला दागा धर्ने अभियुक्तलाई आफ्नै प्रत्यक्ष संलग्नतामा कठोर सजाय दिलाउन पाउने भएँ भन्ने सम्झेर उनलाई एक किसिमले सान्त्वना मिल्यो। सँगसँगै उनका मनमा केही प्रश्नका ज्वारभाटा पनि उठे। उनलाई आफूले विगतमा गरेको गल्ती सम्झेर पश्चाताप पनि भयो।
'आखिर मलाई त्यति बेला बलात्कारको प्रयास गर्ने अपराधीलाई मैले किन उन्मुक्ति दिएँ। त्यतिबेलै उसलाई कानूनको कठघरामा उभ्याउन पाएको भए आज एक अबोध कोपिला यसरी निमोठिनुपर्ने त थिएन! दण्डहीनताका कारण उसमा यो हदसम्मको आपराधिक मनोवृत्ति झाङ्गिनुमा म पनि त कतै न कतै दोषी हुँ! उसका बाआमा समक्ष मात्र त्यो घटना पुर्याउन पाएको भए पनि छोराको बानी सुधार्न उतिबेलै केही उपाय खोज्थे कि? उसका अभिभावकहरूले आफ्नो छोरो यति ठूलो अपराधकर्ममा लागुन्जेल कहिल्यै थाहा पाएनन् कि, पाएर पनि बेवास्ता गरे होलान्? यसमा त्यो छोरोसँगै उसका अभिभावक पनि दोषी होइनन् र!'
***अस्तु***