मत माग्नुअघि ऐना त हेरेर आऊ
माइक समात्दै देश हल्लाउनेहरू त कति छन् कति
एक दिन पनि काम गरेर
जनताको विश्वास जितेर देखाऊ!
भाषणमा त देश स्वर्ग भइसक्यो
सडक कागजमै चिल्लो
अस्पताल भाषणमै अत्याधुनिक
विकास त तिमीहरूको मुखबाट
२४ घण्टा बगिरहेको छ!
परिवर्तन आयो रे!
कसको आयो?
तिमीहरूको गाडी फेरियो
घर ठुला भए
जनताको जिन्दगी चाहिँ
किन सधैँ ‘आउँदैछ’ मै अड्कियो?
भ्रष्टाचार छैन रे!
त्यो त भाषणमा मात्रै हो
फाइल चल्दा हात किन काँप्दैन?
तलबले नपुग्ने जीवनशैली
कुन पाठ्यपुस्तकले पढायो?
युवायुवती विदेश गए
रहेर के गर्ने थियो रे!
यहाँ अवसर प्रशस्त छ रे!
हो, छ—
नेताको झोला बोक्नेका लागि!
स्वदेशमै रोजगारी बनाउँछु भन्छौ
पहिले समिति
पछि उपसमिति
अन्त्यमा ‘अर्को सरकार’!
योजना त पूरा हुन्छ
काम चाहिँ कहिल्यै हुँदैन!
बलात्कार रोक्छु भन्छौ मञ्चमा कराएर
कानुन चाहिँ किन सधैँ
दोषीको खल्तीमा भेटिन्छ?
आक्रोश भाषणमा
न्याय चाहिँ किन फाइलभित्र मर्छ?
अब नाटक बन्द गर
जनता मूर्ख होइनन्
हामीले धेरै पटक
तिमीहरूको झुटो अभिनय हेरिसक्यौँ
अब मत होइन
पहिले परिणाम देऊ।
नत्र चुनावमा हैन
इतिहासमा असफल भएर
नाम लेखिनेछ।