मैले कहिल्यै त्यसरी सोचिनँ होला। जस्तो कि मासु खानु, नखानुले पनि जिन्दगीमा यति फरक पर्छ भनेर। बिहेअघि म मासुको स्वादसँग धेरै नै अभ्यस्त भइसकेकाले पनि होला त्योभन्दा बाहेकको खाने चिजले मोहनी लाउन भने सकेन।
मेरी श्रीमती र मेरो मागी बिहे भएको हो। बिहेका खोजकर्ताहरूले जुराइदिएका थिए उनलाई। बिहे अघिको भेटमा चिया गफ गर्न कुनै होटलमा हामी पुगेका थियौं। त्यहाँ मैले चिकेन म:म माग्दा उनले भेज आइटम मगाएकी थिइन्। मैले अड्काल काट्न पनि सकिनँ कि उनी कट्टर भेज हुन् भन्ने कुरा। बिहेअघि मासु खान्छ्यौ कि नाइँ? भनेर सोध्ने कुरा पनि त भएन।
बिहे पछिको पार्टीमा समेत उनले मासुको आइटम लिन मानिनन्।
मैले सोचेँ- ‘पेट गडबड भएर होला वा बिहेको थकानले अरूचि भएर होला।’ तर कुरा त अर्कै रैछ। बिहे भएको एक महिनासम्म विभिन्न आफन्तका पाहुना लाग्न गइयो। सबैकोमा मासुका परिकार थिए। चिकेन फ्राइ र साधेको, मटनको झोलदेखि माछासम्म। मैले थपीथपी खाँदा उनले भने नाक खुम्चाइ राखिन्। भो खान मन छैन भनिराखिन्।
कुरा के रैछ भनेर बुझ्दै जाँदा एक दिन श्रीमान श्रीमतीको सुत्नुअघि गफ चल्यो। त्यस क्रममा थाहा भयो उनी त भेज रैछिन्। शुद्ध शाकाहारी। नखाने मात्र होइन मासुलाई नपकाउने पनि। मासु चलाएका भाडाले छोएको पनि नखाने। मासु काटेका चुलेसीले काटेका तरकारी पनि नखाने। भाडा छुट्टै चाहिने। यावत कुरा थाहा पाएपछि म निकै सुनसान भएँ। के भनौं? के नभनौं? जस्तो नि लाग्यो। घरमा सबैले मासु खाने, उनले मात्र नखाने कसरी पो सम्हाल्ने होला? भन्ने पीर चिन्ताले सतायो।
एकदिनको कुरा हो घरमा बहिनी ज्वाइँ पाहुना लाग्न आउने भए। मेरो अफिसमा बेलुकैसम्म मिटिङ थियो। समयमा नै आउन भ्याइनँ। सोचेँ- ‘सबै पकाएर तयार भाको होला खाने बेलामा त जसरी नि पुग्छु।’ तर परिस्थिति अर्कै बनेको रहेछ। जसोतसो आमाले पसलबाट मासु ल्याउनुभएछ तर पकाउने मान्छे नहुँदा भोजन कार्य चाहिँ भेज हुने भएछ। म नै गएर पकाउँदा बहिनी ज्वाइँलाई फर्किनको हतार। त्यसैले मासु नखुवाइकन पठाइयो भनम् न।
त्यस्तै एकदिन ठूलो बाको छोरा भाइ आएको थियो घरमा। धेरैपछि अमेरिकाबाट आएको। मिठो मसिनो खुवाउने सबैको रहर थियो। भाउजूको हातले पकाएको खान मन लाग्या छ भन्न थाल्यो। भाइलाई भाउजुले मासु खानु पनि हुन्न, पकाउनु पनि हुन्न भनेर सम्झाउन मात्र एक घन्टा लाग्यो।त्यसपछि ठिकै छ बाहिरबाटै अर्डर गरौं भन्न थाल्यो। अनि हामीले त्यसै गर्यौं।
तीजताका दिदीहरू घर आउँछन्। ल सबै मिलेर दर पकाऔं त नि भन्दा मेरी श्रीमती सामेल हुन मिल्दैन। दिदीहरू माइतमा आएर पनि आफै पकाएर खान पर्यो जसरी व्यंग्य गर्छन्। ल! म आफै पकाइदिन्छु भन्दा छोरीचेली हुँदाहुँदै भाइलाई काम लाउन त भएन भनेर ठिक्क पार्छन्। मासु खानु नखानु उसको अधिकार हो, यसमा अरूले अत्याचार गर्न मिल्दैन भनेर सम्झाउँदा सम्झाउँदै तीजको दिन पनि त्यसै बित्छ।
श्रीमती र म एकदिन छिमेकीको छोराको जन्मदिनको पार्टीमा गयौं। त्यहाँ फेरि संयोग के रहेछ भने खाने कुराको नाममा पुलाउ र मासु मात्र पाकेको रहेछ। अब पुलाउ निस्तै खाने कुरा पनि त भएन। अनि आखिर घर गएर पकाएरै खान पर्ने भएपछि हामी दुवैले त्यहाँ खाना खान इन्कार गर्यौं। अलि सन्चो छैन भनेर केक मात्र यसो चाखेर निस्कियौं। श्रीमतीलाई एक्लै पनि त पार्न भएन। अनि घर आएर घिरौलामा झोल हालेर भात खायौं।
‘अहिंसा भन्ने चिज श्रद्धामा गएर अडिन्छ। पशु पन्छीप्रति माया ममता देखाउनु श्रेष्ठता पनि हो। निर्बल पशुहरूको संरक्षक स्वयं मानिस नै हुनुपर्ने पनि हो। किनकि यहाँ काटमारका नाममा हुने खिचातानीले जीवनको दिव्य ध्येय प्राप्त हुन सक्दैन।’-श्रीमतीका यस्ता कुरामा म विश्वास र समर्थन दुवै गर्छु। तर जब भात खाने बेला हुन्छ मासुको स्वाद पाउन पाए एक दुई गास थपिन्थ्यो कि झैं लाग्छ। कतै भोजभतेरमा जाँदा मासु नहुँदा परिकारमा, मन नै खिन्न भएर आउँछ। व्यर्थै आइएछ कि जस्तो पनि हुन्छ। श्रीमतीका कुरा सुन्दा छोडौं छोडौं नलाग्ने पनि होइन तर छोडिहाले फेरि खान मन लाग्दा के बहाना गर्ने? भन्ने चिजले सताउँछ।
घरमा मासु ल्याएको दिन उनले छुट्टै आफूलाई तरकारी पकाएर खान्छिन्। हामी अरू भने मासु टोकिरहेका हुन्छौं। हड्डीहरू कहीँकतै फाल्दा पनि घिन मान्छिन्। हामी आफैलाई पनि साह्रै नमज्जा लाग्छ। कि सबैले खाने कि सबैले नखाने हुन पाए नि हुन्थ्यो जस्तो नि लाग्छ।
खाटमा एउटै सिरानी हालेर सुत्ने श्रीमान श्रीमती समेत खाने बेलामा छुट्टिन परेको विडम्बना छ। पुरूष मात्र खाली रोलमोडल बन्नुपर्छ भन्ने छैन मेरी श्रीमती मेरा लागि रोलमोडल जस्तै हुन्। मलाई थाहा छ जननीको हृदयमा मृदुल भावना बस्दछ र मेरी श्रीमती एउटी जननी हुन्। उनलाई हिंसा मन नपर्नुका मनोवैज्ञानिक बहस म यहाँ धेरै गर्न चाहन्नँ। उनको हृदयमा स-प्रेम छ र मुहारमा ईश्वरको उज्यालो छ। यति चाहिँ स्पष्ट भन्न सक्छु।
कहिलेकाहीँ बाहिर रेष्टुरेन्टतिर खान जाँदा पनि संग्राम मच्चिन्छ जस्तो हुन्छ। जे चिज मगाउँदा पनि कतै मासुसँग छोइएको वा मिसिएको छ कि भन्ने शंकामा श्रीमती डर मानिरहेकी हुन्छिन्। सुस्तरी स्वास फेर्छु अनि बरू घरै गएर खाउला भनेर फकाउँछु। हुन त लोभ, मोह, क्रोध पनि सबै हिंसाहरू हुन् जस्तो लाग्छ। सम्झाउन खोज्छु श्रीमतीलाई ‘मासु खान सुरू गर्ने कि? पछि स्वास्थ्य समेत प्रतिकूल बन्न सक्छ त्यतिबेला तंग्रिन पनि चाहिन सक्छ’ भन्छु। तर अहँ! श्रीमतीले मान्दै मान्दिनन्। बरू उल्टै हिंसाको उपहास गर्दै स्वस्थ हुन मासु नै जरूरी छैन भनेर तर्क गर्छिन्।
यसरी नै अघि बढिराछ वैवाहिक सम्बन्ध हाम्रो, जहाँ मासु खाने र नखानेबीच टसमटस नहुने सहमति जुर्या छ। न म नै पापको भण्डार रहेछ यो मासु भन्ने चिज भनेर मासुको स्वाद भुल्न सक्छु न त श्रीमती अरूले खान्छन् म मात्र के असझिलो बन्दिने भनेर मासु खान थाल्छिन्। एकअर्का प्रति कृतज्ञ हुने जमाना नै रहेन आखिर।