प्रिय प्रकृति,
यो कविता
तिमीलाई फर्काउन लेखिएको होइन
न त प्रश्नको भारी बोकेर आएको हो
यो त केवल
मनको कुनामा थन्किएर बसेका
केही शब्दहरूलाई
हावामा शान्त छोड्ने साहस हो।
हामी भेटियौँ—
सामाजिक सञ्जालको भीडमा
जहाँ शब्दहरू सजिलै नजिकिन्छन्
र मनहरू बिस्तारै खुल्छन्
त्यति बेला
म स्थायी सेवामा थिएँ
तिमी खरिदारको सपनालाई
मनको काखमा राखेर
डर र आशाबिच हिँडिरहेकी थियौ ।
सहयोग माग्यौ
मैले तिमीलाई
पुस्तक दिएँ
नोट्स दिएँ
अनुभव दिएँ
विश्वास दिएँ
ज्ञानका सूत्रहरू सम्झाएँ।
तर त्यससँगै
मैले समय दिएँ
धैर्य दिएँ
र अनजानमै
मनको एउटा सुरक्षित कुनो पनि।
जब तिमीले खरिदारको लिखित परीक्षा पास गर्यो
तिमीमा र ममा खुसीले सीमा नाघ्यो।
कम्प्युटर र अन्तर्वार्ताको लागि
तिम्रा औँलाहरू किबोर्डमा अनकनाइरहँदा
तिमीलाई 'कम्प्युटर' को गति मात्र सिकाएको थिइनँ
मैले त तिम्रो 'कन्फिडेन्स' को
'प्रोसेसिङ' सुधार्ने प्रयास गरेको थिएँ
हरेक कमान्ड र हरेक फर्मुलासँगै—
म तिम्रो भित्रको डरलाई 'डिलिट' गरेर
एउटा सफल भविष्य 'सेभ' गर्न तल्लीन थिएँ
अन्तर्वार्ताको अघिल्लो त्यो छटपटी र डरको रात
मैले तिमीलाई केवल प्रश्नको उत्तर दिएको थिइनँ
आफ्नो अनुभवको 'एन्टिभाइरस' दिएर
तिम्रो अस्थिर मनलाई 'स्क्यान' गरी शान्त बनाएको थिएँ
तिमी बोलेकी थियौ—
‘डर लागिरहेको छ।’
र म भने
तिमीलाई डरभन्दा बलियो बनाउने शब्द खोजिरहेको थिएँ।
जब खरिदारको सिफारिस सूचि आयो
सफलताको 'तिलक' तिम्रो निधारमा सानदार देखियो
म एउटा 'निस्पृह' साधक झैँ टाढैबाट मुस्कुराएँ
लाग्यो नोबेल पुरस्कार नै जित्यौ
म मौन खुसी थिएँ।
त्यो खुसी
आफ्नै मान्छे सफल भएको
सन्तोषजस्तै थियो।
तर त्यसपछि खै किन?
मौनता आयो।
पहिले शब्दहरू घटे
पछि भावहरू
र अन्ततः
सम्बन्ध स्वयं
छायाजस्तै फिक्का हुन थाल्यो।
जब तिमीले सफलताको ‘इस्केप भेलोसिटी’ प्राप्त गर्यौ
तिमीले मेरो 'गुरुत्वाकर्षण' बाट मुक्त हुने निर्णय लियौ
हिजोसम्म मेरो सानो शब्दले तिम्रो अनुहारमा चमक ल्याउँथ्यो
आज मेरो उपस्थिति तिम्रो लागि 'डार्क म्याटर' जस्तै अदृश्य र बोझिलो भयो।
तिमीले भन्यौ—
‘मेरो चासो लिन पर्दैन।’
त्यो वाक्य
चर्को थिएन
तर गहिरो थियो।
त्यो वाक्यले
मलाई दुखाएन
मलाई बुझायो।
सायद
म तिम्रो लागि
एउटा पुल मात्र थिएँ—
नदी पार गर्नुपर्ने बेलासम्म आवश्यक
तर पार भएपछि
फर्केर हेर्नु नपर्ने।
र म?
म त पुल भएर पनि
खुसी थिएँ
किनकि तिमी सुरक्षित किनारमा पुगेकी थियौ।
म जान्दछु,
सबै सहकार्य प्रेम हुँदैन
सबै नजिकपन
सधैँ साथ बन्न सक्दैन
कहिलेकाहीँ मानिसहरू
उद्देश्यका लागि भेटिन्छन्
र नियतिले
त्यतिमै बिदाइ लेखिदिएको हुन्छ।
आज
म तिमीप्रति
न रिस बोकेको छु
न अपेक्षा
म त केवल
यति स्वीकार गर्छु—
मैले तिमीलाई
इमानदारीले सहयोग गरेँ
र त्यो नै
मेरो सबैभन्दा ठुलो सन्तोष हो।
र मलाई तिमीसँग कुनै गुनासो छैन
किनकि प्रेममा गरिएको त्यागको कुनै 'लेजर' हुँदैन
तिमी सफल भयौ, मेरो साधना पूरा भयो
तिमीले मलाई आफ्नो जीवनबाट 'रिजेक्ट' गर्यौ
तर तिम्रो सफलताको इतिहासले मलाई सधैँ 'सेलेक्ट' गरिरहनेछ।
र म?
म केही होइन,
म त
तिम्रो सफलताको कथामा
सधैँ बाँकी रहने
एउटा सुवास मात्र हुँ।
अलबिदा प्रकृति!
तिम्रो गन्तव्य सुन्दर होस्
मेरो त्याग सफल रहोस्
सधैँ तिम्रो भलो चाहने
-भोलाराम।
(लेखक हाल नेपालको निजामती सेवामा सल्यान जिल्लामा कार्यरत छन्।)