सुन्दर र ज्योतिको पहिलो मायाको निशानी भएर मेरो नाम सुज्योत्सना राखिएको रहेछ। उज्यालोको सन्देश बोकेर जन्मिएको एउटा नाम जसले आफैँमा सबै आशाको प्रतिबिम्ब समेटेको छ। मैले यो संसारमा आँखा खोल्दा त्यो नामले जस्तो उज्यालो घरको वातावरणमा कतै पनि थिएन। सबैभन्दा पहिलेको स्मृति नै भित्री आँगनको त्यो गहिरो मौन हो जसमा हरेक श्वासले पीडाको बोझ ओइलाएको थियो।
हजुरबुबा मुकुन्दले आफ्नो जीवनको अन्तिमसम्म कठोर काम गर्दै बिताउनुभयो। हरेक पाइलामा पसिना बगेको थियो र दुवै हात, खुट्टा र दिमागले मेहनत गरेको थियो। हजुरआमा, बुबा र आमा वर्षौँदेखि चुपचाप आँसु बगाइरहनु भएको रहेछ। ती आँसुहरूमा निराशा, अपूर्ण इच्छा र गहिरो पीडा लुकेको थिए।
मेरो बाबु सुन्दरको मौनता एउटा गहिरो पीडा हो। उहाँको मौनतामा धेरै कुरा लुकेका छन्। जीवनका चुनौती र चिन्ता उहाँका शब्दलाई रोकिदिएको जस्तो लाग्छ। मेरो आमा ज्योतिले जीवनमा अन्धकार र उज्यालोको निरन्तर संघर्ष गर्नु भयो। मेरो आमा आफ्नो अस्तित्व देखाउन र आफ्नै पहिचान खोज्न चाहनुहुन्थ्यो जस्तो लाग्छ। तर बारम्बार अन्धकारले बाटो रोक्थ्यो। उ हाँले कहिल्यै हार नमानी हरेक दिन, हरेक अनुभवमा टिकिरहन सक्नुभयो।
यो मेरो परिवार भित्रको पीडा मात्र नभएर जीवनको संघर्ष, धैर्य र आशा हो। हरेक पसिना, हरेक आँसु र हरेक मौनताले यसलाई बुनेको छ। जीवनका कठिनाइबिच पनि साहस, माया र मानवता जीवित रहिरहन्छ।
यी सबै भावनाहरू, यी सबै रहस्यहरू त्यो घरका हावा-पानीमा आपसमा मिसिएका थिए। हरेक कोठाको भित्ताले, हरेक ढोकाको चौखटले, हरेक सानो सामानले पनि आफ्नै मौन भाषामा ती कथाहरू सुनाइरहेका थिए, जसलाई संवेदनशील मनले मात्र सुन्न सक्थ्यो। सुरुमा घर उज्यालोले भरिएको थियो जसरी नवजात शिशुको कोमल छालामा जीवनको सम्भावनाले झलझली गर्दै चम्किरहेको हुन्थ्यो। तर समयसँगै त्यो उज्यालो अज्ञात कारणले धुवाँमा विलीन हुन थाल्यो र प्रत्येक कुनामा मौनताको साना-साना छायाहरू पस्न थाले।
घरभित्रका सामान्य क्षणहरू पनि एक प्रकारको मौन युद्धमा परिणत भइसकेका थिए। बुवाको कडा मिहिनेत गरेर घामले डढेको अनुहार र आमाको दबाइएका शब्दहरूले झगडाको रूप धारण गरेका थिए जसको आवाज कहिल्यै कानसम्म पुग्दैनथ्यो तर हरेक मनभित्र गहिरो, अदृश्य घाउको सिर्जना गरिरहन्थ्यो।
यी सबैको बिचमा मेरो अर्थात् सुज्योत्सनाको जीवन बढ्दै गयो एउटा नाम जसले उज्यालोको वाचा गरेको थियो, तर वरिपरि फैलिएको वातावरणले बारम्बार अन्धकारको निम्तो दिइरहन्थ्यो। यही विरोधाभासले मेरो भित्री संसारलाई गहिरो रूपमा घेर्यो, जहाँ आशा र पीडाको स्वर एकसाथ गुन्जिन्थ्यो। मेरो मन कहिल्यै नथाक्ने गरी सधैँ उज्यालोतर्फ दौडिरहन्थ्यो तर यथार्थको कठोरताले पटक-पटक त्यसलाई थिच्थ्यो। हरेक क्षणले मलाई सोच्न विवश बनाउँथ्यो र संवेदनशील भावनाहरूको भार आफै भित्रै थुप्रिँदै जान्थ्यो। घरमा सामान्य कुरामा पनि बुवा-आमा बिचको ठासठुस र त्यसपछि मौनता निरन्तर चलिरहन्थ्यो। त्यो मौन युद्धको आवाज सुनिने थिएन तर हरेक मनमा गहिरो घाउको सृष्टि गरिरहेको थियो।
समय सँगसँगै मेरो उमेर र जीवन दुवै बढ्दै गयो। उज्यालोको वाचा बोकेको मेरो नाम थियो तर वरिपरिको वातावरणले सधैँ अन्धकारलाई नै निम्त्याइरहेको थियो। यही विरोधाभासले गर्दा मेरो व्यक्तित्वलाई फरक आकार दियो। एकातर्फ आशाको निरन्तर खोजी, अर्कोतर्फ यथार्थको कठोर अनुभूति जस्ता मिश्रित अनुभवहरूले मलाई अझ संवेदनशील, अझ विचारशील र अन्ततः अझ मजबुत बनायो।
म सानो हुँदा घरमा धेरै कुरा हुँदैनथ्यो। आमा कम बोल्थिन् भने बुबा त झन् थकाइले काँपिएको स्वरमा अलिकति मात्र बोलेको सुन्ने गर्थे। कहिलेकाहीँ मेरो बालमनले हावालाई सोध्थ्यो, हावा त कहिले चिसो कहिले न्यानो चलिरहेको हुन्छ तर यहाँ यति मौनता किन छ? र मेरो छाती किन यति भारी महसुस हुन्छ?
मेरो बुबा सुन्दर मेरा लागि ‘सफल इन्जिनियर’ वा ‘कडा परिश्रम गर्ने मान्छे’ मात्र नभएर थकित मुस्कान लुकाएर हरेक रात घर फर्कने र मौन कवि जस्तै मेरा कपाल सुमसुम्याउँदै
नबोलेका शब्दहरूमा पनि सुरक्षित भविष्यको सपना देखिरहने व्यक्ति हुनुहुन्छ। बुबाले कहिल्यै धेरै माया गरेको छु भनेर खुला रूपमा भन्नुभएन। तर म ती शब्द उहाँका आँखामा पढ्थेँ, राति बाह्र बजेसम्म काम गरेर आएको कागजका रातो रेखाहरूमा देख्थेँ उहाँ भन्नुहुन्थ्यो, ‘सन्तुलन सिक्नुपर्छ, छोरी। ’
तर उहाँ आफैँ सन्तुलन खोज्दै खोज्दै बिस्तारै थकित, अधुरो र मौन हुँदै जानुभएको थियो। मलाई बुबाको मुस्कान सधैँ रहस्यमय लाग्थ्यो किनकि त्यस मुस्कानभित्र धेरै कुरा लुकेका हुन्थे। कहिले आमाको बुझाइ र नबुझाइबाट आएको तिक्तता हुन्थ्यो। कहिले रातभर कार्यालयमा बिताएको पसिना हुन्थ्यो भने कहिले जिम्मेवारीको बोझले थिचिएर टुक्रिएको, ठुलो इन्जिनियर बन्ने सपनाको पीडा हुन्थ्यो। यी सबै कुरा उहाँको एउटै मुस्कानभित्र मिसिएका हुन्थे।
म आमा ज्योतिको स्वीकारोक्तिको दियालो ढिलो-ढिलो बल्दै गएको प्रत्यक्ष देख्दै हुर्किएँ। बुवा बाहिर काम गर्ने र आमा घरमै बस्ने तथा काम गर्ने भएकाले मैले धेरै समय आमा सँगै बिताउनु पर्थ्यो। त्यसैले मैले आमाको दुखाइ बुबाको भन्दा धेरै नजिकबाट देखेँ। आमाले धेरै कुरा ढिलो बुझ्नुभयो तर अन्ततः बुझ्नुभयो। यही सत्य म मनभरि गर्व र पीडाको मिश्रणसहित भन्छु किनकि त्यो बुझाइ सजिलो थिएन। त्यो बुझाइसम्म पुग्न उहाँले धेरै मौन सहनुभयो र धेरै आत्मालाई चुपचाप च्यातिन दिनुभयो।
आमाले कहिल्यै ठुलो स्वरमा आफ्नो पीडा सुनाउनुभएन। तर एक दिन हामीबिच रोएर भन्नुभएको एउटा वाक्य आजसम्म मेरो हृदयमा सुरक्षित छ। उहाँले भन्नुभयो कि ‘छोरी, बुझ्ने मानिस बन्नू किनकि मैले पहिले बुझिनँ र त्यसैले धेरै कुरा च्यातिए।’ त्यो वाक्यले मलाई भित्रसम्म हल्लायो। त्यस क्षण मैले महसुस गरेँ कि मेरी आमा कमजोर हुनुहुन्थेन। उहाँ लामो समयसम्म च्यातिँदै, भत्किँदै र आफैँबाट टाढा हुँदै अन्तमा आफैँ उठ्ने साहस जुटाउने नारी हुनुहुन्थ्यो।
आमाले आफ्नो अन्धकारलाई अस्वीकार गर्नुभएन। उहाँले त्यसलाई नाम दिनुभयो, स्वीकार गर्नुभयो र बाँचिरहने हिम्मत बनाउनुभयो। सायद त्यसैले मलाई उहाँको पीडा अझ गहिरो लाग्यो किनकि म सधैँ उहाँको छेउमै थिएँ। त्यो दिन मैले मनमनै कसम खाएँ कि म यो घरको मौनता फेरि दोहोरिन दिनेछैनँ। म बुझ्ने भाषा सिकेरै ठुलो हुनेछु ताकि माया ढिलो होइन, समयमै बुझियोस्।
म हजुरबुबा मुकुन्दलाई देख्दा त्यो घरका पसिनाको सुगन्ध महसुस गर्थेँ। उहाँको शरीर कमजोर थियो तर मन बलियो थियो। हरेक पटक उहाँको काखमा बस्दा उहाँ भन्नुहुन्थ्यो, ‘सुज्यो, एक दिन तैँले नै यो घर सम्हाल्नुपर्छ। हामीले सपनाको जग राख्यौँ, अब तैँले घरको उज्यालो बनाउनु छ।’
यी वाक्यहरूले मलाई जीवनभर पछ्याइरहे। हजुरबुबाको सपना पूरा गर्ने जिम्मेवारीसँगै आमाको आँसु र दुख पनि मेरो हृदयमा भारी भएर बस्यो। मलाई लाग्थ्यो कि यो घरको अधूरो उज्यालो मायाको साथै आमाले भोगेको पीडा, बुवाको मिहिनेत, भित्र-भित्र जल्नु परेको यथार्थ र हजुरबुवाको संघर्ष सबै बुझेर मात्र पूरा गर्न सकिन्छ।’
म ठुलो हुँदै जाँदा घरका भित्री भँगालाहरू बिस्तारै उज्यालोमा आउँदै गए। हाँसोभन्दा पहिला चिरा देखिन थाले र सन्तोषभन्दा पहिला चुप्पी। बुबा दिनभरको थकान बोकेर घर फर्किनुहुन्थ्यो र शब्दहरूभन्दा मौनलाई अँगालो हाल्नुहुन्थ्यो। आमा आफ्नै भावनाको भारी बोकेर बाँचिरहनुहुन्थ्यो, बोल्न खोज्दा पनि आँसुहरू शब्दभन्दा अगाडि आइपुग्थे। हजुरबुबा घरभित्रै बस्दा पनि सम्बन्धको दूरीले भित्र-भित्रै सबैभन्दा टाढा हुनुहुन्थ्यो।
बुबा र आमाबिचको संवाद प्रायः अधुरो वाक्यजस्तै हुन्थ्यो, जुन अन्ततः मौनतामा अनुवाद हुन्थ्यो। त्यो मौनता शान्त थिएन; त्यसले हरेक रात मेरो छातीमा भारी भएर बस्थ्यो। तर त्यसै मौनताले मलाई भङ्ग गरेन, बरु समयभन्दा पहिला परिपक्व बनायो जसको मूल्य म अझै तिर्दै छु।
अरू बच्चाहरू जस्तै म खेलमै हराउन सकिनँ। मेरो बाल्यकाल जिम्मेवारीले कसेको थियो र मेरो उमेरभन्दा ठुलो चिन्ताले मलाई घेरेको थियो। म खेल्ने उमेरमै बुझ्न थालेँ कि मानिसहरू एउटै छानामुनि बसेर पनि कति एक्ला हुन सक्छन् भन्ने कुरा। म घरको भारीपनसँगै हुर्किएँ, जहाँ हरेक सासले पनि पीडा बोकेको जस्तो लाग्थ्यो।
पर्खालका चिराबाट पस्ने हरेक छायाले मलाई बुढो बनायो। ती छायाहरू अँध्यारा मात्रा थिएनन्, ती अधुरा सपनाहरू, दबिएका इच्छा र कहिल्यै उच्चारण नभएका पीडाहरू समेत थिए। तिनैले मलाई चाँडै परिपक्व त बनाए तर त्यसैसँगै असाध्यै संवेदनशील पनि। आज म सानो आवाजमा पनि काँप्छु किनकि म बाल्यकालमै मौनताको आवाज सुनेर हुर्किएको मान्छे हुँ।
म कहिलेकाहीँ अचम्म मान्थेँ; म आखिर कसरी यस्तो मान्छे बनेँ भन्ने प्रश्नले धेरै पटक भित्रैसम्म हल्लाउँथ्यो तर अहिले आएर म बुझ्न थालेको छु कि म एक्लै बनेको अस्तित्व होइन, मभित्र तीन पुस्ताका टुक्रा मिसिएर बनेको स्वरूप हुँ। हजुरबुबाको जस्तो कठोर तर नझुक्ने दृढता मभित्र छ जसले पसिनालाई लाज होइन गर्व मान्न सिकायो र सपना देख्न मात्र होइन तिनलाई उभ्याउन नडराउन सिकायो। बुबाको जस्तो गम्भीर मौनता मभित्र बगिरहेको छ जसले कथा बाहिर सुनाउनुभन्दा मनभित्र थुपार्न रोज्छ, शब्दमा होइन कर्ममा भरोसा गर्न सिकाउँछ र धेरै पीडा बोलेर होइन सहेर बाँच्नुपर्छ भन्ने पाठ दिन्छ। आमाको जस्तो गहिरो संवेदनशीलता पनि मभित्रै बस्छ जसले रोएरै भए पनि उज्यालो खोजिरहन्छ; ढिलो सही तर बुझ्ने प्रयत्न कहिल्यै छोड्दैन। म यही सबैको मिश्रण हुँ; पसिनाको गन्ध, मौनताको भार र आँसुको नुनिलो स्वादबाट बनेको एक फरक किसिमको उज्यालो जुन चम्किनुभन्दा पहिला धेरै पटक जलेर आएको छ।
म सानैदेखि नै महसुस गर्थेँ कि मलाई चेतनशील भएर बाँच्नु छ किनकि मैले आफ्नै घरभित्र ‘बुझाइले कसरी सम्बन्ध चिरिन्छ’ भन्ने देखेको थिएँ। थकानले कसरी प्रेम ओझेलमा पर्छ र मौनताले कसरी परिवारलाई बिस्तारै च्यातेको जस्तो गरी खोक्रो बनाइदिन्छ भन्ने कुराको दृश्यहरू बोकेर हुर्किएँ। त्यसैले पढाइलाई मैले कुनै डिग्री हासिल गर्ने साधनका रूपमा होइन, घाउ निको पार्ने उपचारका रूपमा हेरेँ। म मनोविज्ञान पढ्न चाहन्थेँ किनकि मलाई थाहा थियो हाम्रो घरका तीन पुस्ताले समयमै मनोविज्ञान पाएको भए कति पीडा मौनतामै मर्नु पर्ने थिएन।
बुबाले सुरुमा हल्का हाँसोसहित सोध्नुभयो, ‘म्याडम बन्छेस् कि के हो?’
त्यो हाँसोभित्र लुकेको थकान म स्पष्ट देख्थेँ। म मुस्कुराएँ र शान्त स्वरमा भनेँ- ‘बाबा, म निद्रा हराएकाहरूलाई फेरि निद्रा फर्काउने मान्छे बन्छु।’
त्यो वाक्यपछि बुबा अचानक चुप लाग्नुभयो र पहिलो पटक मलाई छोरीको रूपमा होइन, एउटा सोचको रूपमा हेर्नुभयो। उहाँका आँखा गहिरा थिए, थाकेका थिए तर त्यही थकानभित्र एउटा उज्यालो चम्किएको थियो। त्यो उज्यालो गर्व थियो र त्यही क्षण मैले बुझेँ कि त्यो दिन मैले कुनै पद वा सफलता होइन, जीवनभर नटुट्ने सबैभन्दा ठुलो सम्पत्ति पाएको थिएँ।
मेरा हरेक पढाइका रातहरू किताबसँग बित्दैनथे। ती रातहरूमा म आमा-बुबाको जीवनका चिरा-चिरा सम्झिरहन्थेँ। आमाले आफैँमाथि विश्वास गर्न नसक्दा भोगेका चोटहरू, बुबाले कसैलाई नभनी एक्लै बोक्नुपरेको एकान्त र हजुरबुबाले घर उभ्याउने यात्रामा थाकेर पनि नदेखाएको थकान यी सबै मेरा पाठ्यपुस्तकभन्दा गहिरा र भारी थिए। मैले नोटबुकमा प्रश्नहरू लेखिरहन्थेँ। मानिसहरू किन यति धेरै पीडा चुपचाप बोकिरहन्छन् ,जीवन बुझ्ने भाषा किन कसैले सिकाउँदैन र एकअर्कालाई बुझ्न किन यति गाह्रो हुन्छ? म मनोविज्ञान पढ्दै जाँदा ती प्रश्नका उत्तरहरू भेट्टाउने आशामा अगाडि बढिरहेँ र जति पढ्थेँ उति लाग्थ्यो, अब केही बदलिन सक्छ कि भन्ने आशा पलाउँदै छ।
मेरो सपना आफ्नै भविष्य सुरक्षित गर्नु थिएन। म त्यो घरको लामो मौनता तोड्ने पहिलो मान्छे बन्न चाहन्थेँ। म बुबा-आमालाई पटक-पटक कुरा गर्न लगाउँथेँ। कहिलेकाहीँ असजिलो भए पनि मौनता तोड्न खोज्थेँ। आमाको काखमा टाउको राखेर उहाँलाई जीवन बुझ्न मद्दत गर्थेँ र बुबासँग न्यानो कुरा गर्दै उहाँका थकाइहरू बिस्तारै पगाल्ने प्रयास गर्थेँ।
समयसँगै घरको हावा फेरिन थाल्यो। एक दिन आमाले रुँदै भन्नुभयो– ‘सुज्यो, तिमी आएपछि यो घर साँच्चै उज्यालो भएको छ।’
त्यो सुन्दा मेरो मन काँप्यो र म हल्का मुस्कुराएँ। आमा, म त तपाईंहरूले दिएको बुझाइको उज्यालोबाट हुर्किएको छोरी हुँ। त्यो क्षण मेरो हृदयमा गहिरो गरी लेखियो। यस घरको इतिहासमा पहिलोपटक प्रेम डराएर होइन, खुलेर बोल्न थालेको थियो र म मनमनै सोचिरहेँ– अब यो उज्यालो कहाँसम्म पुग्ला भनेर।
अब म साँच्चै ठुलो भइसकेकी छु र यो ठुलो हुनु उमेरको कुरा मात्र रहेन, जिम्मेवारीको कुरा पनि बनिसकेको छ। म विश्वविद्यालयमा मनोविज्ञान पढ्दैछु तर कक्षा र किताबभन्दा बाहिरको जीवनले मलाई अझ धेरै सिकाइरहेको छ। म कहिलेकाहीँ सहरका कफी सपमा एक्लै बसेर मानिसहरूको अनुहार पढ्छु– कसैले कफी समातेको हात थरथराएको देख्छु, कसैको आँखामा थकान जमेको हुन्छ, कसैको हाँसो धेरै अभ्यासपछि आएको जस्तो लाग्छ र ती अनुहारहरूमा म आमाको डर, बुबाको थकान र हजुरबुबाको पसिनाको कथा देख्छु किनकि म ती सबै आफ्नै घरमा देखेर हुर्किएकी छु। त्यसैले अब म जीवनलाई ठुला शब्द र चम्किला उपलब्धिले होइन, सानो बुझाइ र गहिरो संवेदनाले नाप्न थालेकी छु।
म मानिसलाई सिधै गल्तीको कठघरामा उभ्याउँदिनँ। म पहिला सोध्न खोज्छु– ऊ त्यो गल्तीमा किन र कसरी पुग्यो भनेर। अनि यही बुझाइले मलाई अझ जिम्मेवार बनाइरहेको छ र म दिनदिनै स्पष्ट रूपमा महसुस गर्दैछु कि यो संसारमा सबैभन्दा गाह्रो कुरा न त धेरै पैसा कमाउनु हो, न त ठुलो नाम बनाउनु; सबैभन्दा कठिन कुरा भनेको एकअर्काको मनसम्म पुग्नु हो, एकअर्काको पीडा बुझ्नु हो र बुझिसकेपछि पनि धैर्यपूर्वक माया गर्न सक्नु हो। म यही सिक्दैछु, यही बोक्दै अगाडि बढ्दैछु र मलाई लाग्छ– अब मेरो यात्रा यहीँबाट साँच्चिकै सुरु भएको छ।
यो कुनै अन्त्य होइन, यो त मैले आफैँसँग गरेको कसमको सुरुआत हो। म मेरो नामको अर्थ बोकेर मेरो परिवारको उज्यालो फेरि निर्माण गर्ने वाचा गर्छु। म सुज्योत्सना हुँ– तीन पुस्ताले भोगेका छायाहरूबाट जन्मिएको तर अब एक नयाँ पुस्ताको उज्यालो बन्न खोजेकी छोरी। म ठूलो सपना मात्र देख्दिनँ। म साना तर गहिरा जिम्मेवारीहरू बोकेर अघि बढ्न चाहन्छु। म चाहन्छु हाम्रो घरमा संवाद कहिल्यै नटुटोस्, बुबा थाकेर चुप लाग्न नपरोस्, आमाले आफैँलाई कमजोर ठान्न नपरोस्, हजुरबुबाको पसिना विगतको कथा नबनोस्, बरु सम्मानको आधार बनोस् र मेरो आफ्नै भोलि डरले होइन, प्रेम र बुझाइले भरिएको होस्।
म यो घरलाई बस्ने ठाउँ होइन, जहाँ मन थाक्दा पनि सुरक्षित महसुस गर्न सकियोस्, त्यस्तो भावनात्मक आश्रय बनाउनेछु। म अब बुझ्छु, अन्धकार हटाउन सयौँ दियो चाहिँदैन; कहिलेकाहीँ एउटा सानो बुझाइ नै पर्याप्त उज्यालो हुन्छ र त्यही सानो तर शक्तिशाली बुझाइको दियालो म आज पनि बोकेर हिँडिरहेकी छु, भोलि पनि बोकिरहनेछु।
अब म ठूलो भइसकेकी छु तर मेरो यात्रा अझै सकिएको छैन। जीवनले मलाई अझ गहिरो पाठ सिकाउन बाँकी छ। विश्वविद्यालयमा मनोविज्ञान पढ्दै गर्दा मैले मात्र ज्ञान होइन, जिम्मेवारी पनि सिकेँ। भविष्यले मलाई चुनौती दिनेछ भन्ने थाहा छ तर म डराउँदिनँ।
मेरो प्रेमकथा सायद अचानक सुरु हुने छैन। म पहिले आफूलाई बुझ्नेछु अनि मात्र अरूलाई माया गर्न सिक्नेछु। प्रेम मेरो लागि भावना होइन, एक समझदारी र सहमति हो– जसमा दुईजना सँगसँगै बढ्न सकून्। त्यसैले मेरो सम्बन्धको यात्रा सावधानीपूर्वक र गहिरो बुझेपछि मात्र अघि बढ्नेछ।
करियर मेरो जीवनको अर्को ठुलो मोड हो। म मनोविज्ञानको क्षेत्रमा मात्र विशेषज्ञ बन्ने चाहन्नँ; म चाहन्छु कि समाजमा वास्तविक परिवर्तन ल्याउन सकूँ। थकित हृदयलाई शान्ति दिन, पीडित मनलाई राहत दिन र घर-परिवारको भावनात्मक चिरा भर्ने काममा योगदान गर्न चाहन्छु। भविष्यमा म थुप्रै कार्यक्रममा कार्यरत हुनेछु, मानिसहरूको मन बुझ्ने र उनीहरूको पीडालाई समाधान गर्ने प्रयास गर्नेछु।
मेरो परिवारको वृद्ध उमेरका दिनहरू मेरो जीवनको अर्को जिम्मेवारी हुनेछ। बुबा-आमा, हजुरबुबा-हजुरआमासँग बिताएका ती पलहरू मलाई सधैँ सम्झाइरहन्छन्। म उनीहरूको लागि छोरी मात्र नभई साथी, सल्लाहकार र सहारा बन्नेछु। मैले सानो मात्र होइन, नयाँ घर बनाउने योजना पनि बनाइसकेको छु– जहाँ प्रेम, संवाद र सुरक्षा पहिलो प्राथमिकता हुनेछ। त्यो घर घर होइन, एक आश्रय, उज्यालो र स्मृतिहरूको सङ्ग्रहालय हुनेछ।
म बुझ्छु– जीवनका मोड अप्रत्याशित हुन्छन्। प्रेम, करियर, परिवार– यी सबै एउटै धागोमा गाँसिएका छन्। तर मैले सिकिसकेको छु, धैर्य र समझदारीले यी सबैलाई सफल बनाउँछ। म सुज्योत्सना हुँ, तीन पुस्ताको छायाबाट जन्मिएको उज्यालो जसले आफूलाई मात्र होइन, आफ्ना प्रियहरूको जीवनलाई पनि उज्यालो बनाउने जिम्मेवारी बोकिरहेकी छु। र जीवनले जे लिएर आए पनि, म तयार छु।