जीवनको अत्यन्त महत्त्वपूर्ण समय हुँदो रहेछ बालक अवस्था। प्राकृतिक नियमसँग लड्दै यौवन अवस्थामा पुग्दा लाग्यो कि त्यो अझ महत्त्वपूर्ण रहेछ जहाँ मन, शरीर र दिमाग अत्यन्त तेजसँग चलिरहेको हुन्छ, मानौँ कि मनको हुटहुटी समुद्री आँधी जस्तो, शरीरको शक्ति एउटै सिंगै पहाड फुटाइदिम् झैँ र दिमागले विश्व नै पछाडि छाडिदिन्छु।
जीवनको भागदौडमा जिन्दगीको आधारभूत आवश्यकता पूरा गर्ने त्यो हुटहुटी, शक्ति र त्यो आत्मबललाई साथै राखी जिन्दगीलाई सहज र प्रगति गर्ने आशामा कहीँ कतै कामको खोजीमा लाग्दै गर्दा एक जना दाइले मलाई रोजगारीको अवसर दिनु भयो र मैले काम गर्न सुरु गरेँ।
यौवन अवस्थाको सुरुवातदेखि नै रोजगारी गर्ने निर्णयले मेरो जिन्दगीलाई अत्यन्त फलदायी रहँदै गयो। जसले गर्दा मैले अध्ययन एवं धैर्यता जस्ता जिन्दगीका महत्त्वपूर्ण कुराहरू सिक्ने मैका पाएँ। त्यही जिन्दगीको भागदौडमा मेरो जीवनमा मेरी उनीको प्रवेश भयो।
मेरी उनी हेर्दा अत्यन्त राम्री, जीउडाल सर्लक्क मिलेको; आँखा, कान, नाक, दाँत सबै मिलेको। उनलाई देखेपछि लाग्यो कि सायद अप्सरा यस्तै हुन्छन् होला। हामी फरक-फरक विषयको अध्ययन गर्ने भएता पनि काम गर्ने ठाउँ एउटै थियो। कामको सिलसिलामा नै मैले उनीसँग नजिक हुने मौका पाएँ।
जस्तो उनको अनुहार थियो, त्यस्तै राम्रो उनको बेली र व्यवहार थियो। मलाई मेरी उनीप्रति अझै बढी आकर्षित गर्दै थियो। प्राकृतिक नियम नै त हो महिलाका लागि पुरुष र पुरुषका लागि महिला। थाहा छैन उनी मसँग प्राकृतिक नियमको कारणले हो वा दैविक शक्ति, मेरी उनी मात्र नभई अब उनको म पनि हुँदै गएको हामी दुवै मनमा आभास भयो। काम गर्ने एउटै ठाउँ भएर पनि होला एकले अर्कोलाई सहयोग गर्दा गर्दै माया बसेछ।
मैले कल्पना समेत गरेको थिइनँ कि मलाई पनि माया हुन्छ। सुन्ने गरेको थिएँ, यो संस्कार नै मायामा चलेको हुन्छ। जीवनको त्यो समयमा आएर त्यो कुरा बुझ्दै र रमाउँदै थिएँ म। मायाका विभिन्न रूप हुँदो रहेछ। बुबा-आमाको माया, दाइभाइको माया, दिदी-बहिनीको माया र मेरो उनीको माया। माया अर्थ एउटै भए पनि त्यो आभास फरक-फरक हुने रहेछ। विद्यालयको कक्षा कोठामा त्यो ४५ मिनेट मलाई ४ घण्टा झैँ लाग्थ्यो तर उनीसँगको त्यो समय कम लाग्न थाल्यो, मेरो दिमाग र मनमा समयभन्दा महत्त्वपूर्ण मैले मेरी उनीलाई सम्झिएर होला। उनले गरेको कचकचमै रमाउन थालेको म माया के हो भन्दै बुझ्दै गइरहेको थिएँ।
हामीले मायाको आभास साटासाट गर्दै आफ्नो उच्च तहको अध्ययन पूरा गर्न विदेश जाने निर्णय गर्यौँ। यसका लागि सबैचन्दा ठुलो परीक्षा हाम्रो सम्बन्ध आफ्नो-आफ्नो परिवारलाई भन्नु थियो। छोराछोरीको माया त कसलाई हुँदैन थियो होला र! मेरो परिवारबाट हुन्छ भन्ने कुरा गर्नुभयो। अब हाम्रो सम्बन्ध उनी र म मात्र नभई श्रीमान्-श्रीमतीको हुने कुरा भयो जसमा हामी मात्र एक नभई दुई परिवार एक हुने कुरा हो।
उनको बुबा-आमा संयुक्त राज्य अमेरिकामा बस्ने गर्नु भएकोले उहाँहरूलाई हामी जाने पक्का भएपछि मात्र भन्ने निर्णय गर्दै विदेश जाने प्रक्रिया सुरु गर्न लाग्यौँ। विदेश जान दिनुपर्ने परीक्षाका लागि तयारी कक्षा लिँदै परीक्षा दिने तयारी अवस्थामा पुगेका हामी सदैव बिहानीको कक्षामा सहभागी हुन्थ्यौँ।
त्यही क्रममा एक दिन हामी सँगै कन्सल्टेन्सीमा थियौँ। उनको बुबाको फोन आयो र भन्नुभयो- ‘नानी, हामीसँगै बस्ने, हाम्रो दुखसुखमा साथ दिने मेरो अत्यन्त मिल्ने साथीको छोरा र तिम्रो विवाहको कुरा पक्का गरिदियौँ, तिमी तिम्रो उच्च तहको अध्ययन अब हामीसँग यही आएर गर्नुपर्छ।’
यति भनेर उहाँले कल राखिदिनु भयो। हामी दुवै जना छाँगाबाट खसेझैँ भयौँ। हामी एकले अर्कालाई हेर्न बाहेक केही बोल्न सकेनौँ।
बाबु-आमाको माया नै त हो, अब हामीले उनको बुबा-आमालाई हामी यसरी जिन्दगीको नयाँ पाटो सुरुवात गर्ने निर्णय गरेको कुरा भन्यौँ। तर समय ढिलो भइसकेको रहिछ। हामीले धेरै सम्झाउँदा सम्झाउँदै पनि मान्नु भएन।
त्यो समय मलाई लाग्यो कि मेरो माया उनको बुबा-आमाको मायाको अगाडि हार खायो। जहाँ हामी छुट्टिनु या भावविह्वल गर्नु बाहेक केही थिएन। न हामी हाम्रो मायालाई त्याग्न सक्छौँ न हाम्रो बुबाआमाको विश्वास तोड्न सक्छौँ। यस द्वन्द्वमा हामीले बाबुआमालाई अझै बढी समय लगाई सम्झाउने निर्णय गर्यौँ। त्यो बाहेक हामीसँग केही विकल्प पनि थिएन।
समय बित्दै गयो, धेरै सम्झाउन कोसिस गरियो। सायद हामी दुवै जनाले आफूले गर्न सक्ने सम्पूर्ण कुराबाट उनको बाबुआमालाई सम्झाइयो तर पनि सकिएन। यौवन अवस्थाबाट जवान अवस्थामा प्रवेश गरेसँगै अब हामीले आफै केही निर्णय लिनु पर्दछ भन्ने निष्कर्षमा पुग्दा मेरो उनीको त्यही केटासँग विवाहको खबर उताबाट सुनियो। त्यो खबरले म निःशब्द भएँ।
लाग्यो सायद मैले सुनेको कुरा गलत हो। तर होइन रहिछ। मेरो उनीको विवाहको समय मिति नै तय गर्दिनु भएको रहिछ। मनमा धेरै कुरा खेल्दै आयो। लाग्यो कि माया भन्ने कुरा क्षणिक हुँदो रहेछ। मनमा धेरै कुरा खोलाउँदै मैले उनलाई सम्झाउँदै अब हामी कहिले भेट्ने छैनौँ भनी मनमा ठुलो पीडाका साथ उनीबाट टाढा भएँ।
भनिन्छ नि, भाग्यमा जे छ त्यति र त्यही पाउने हो। मेरो भाग्यमा उनी अरूकै हुनु लेखेको रहिछ। भगवान् प्रति कम आस्था राख्ने म आजकाल भगवानलाई सम्झिँदै सधैँजसो एउटै प्रार्थना गरिरहेको हुन्छु कि भाग्यले जे जसो हामीबिच गरे पनि मेरो उनीको खुसी सधैँ हिजोको जस्तो नै रहोस्। सायद उनलाई पनि मेरो याद आउँदा मन दुख्छ होला। त्यसैले मेरी उनी मेरो हुन नसक्नु भन्दा पनि ठुलो कुरा मेरो उनीको खुसी हो। उनी जहाँ छिन स्वास्थ्य अनि खुसी राखिदिनुस् भनी माग्दछु।
आज उनी मबाट टाढा भएको पनि एक वर्ष बितिसकेछ। आज पनि उनले मलाई त्यति नै माया गर्छिन् होला लाग्छ। नत्र किन मलाई हामी टाढा भएको एक वर्ष बित्दा पनि हिजो जस्तै लागेको छ। सुनेको छु उनी संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा बसोबास गर्दै आएकी छिन् रे। त्यति टाढा भए पनि किन लाग्छ कि उनी यही कतै छिन मसँगै? हाम्रो सम्बन्ध टाढा भएको हो, हाम्रो माया होइन। त्यही कारण उनको म र मेरो उनी सायद मायामा मात्र सीमित रह्यो, सम्बन्धमा रहेन।