जापान आफैँमा उज्यालो सहर, सूर्योदयको देश। जहाँ सहरहरू रातभर जागा हुन्छन्, झिलीमिली हुन्छन्। यो देख्दा लाग्छ, यहाँ हरेक दिन दीपावली मनाइन्छ। रेलहरू समयसँगै दौडिन्छन्। सडकहरूमा अव्यवस्थित ट्राफिक देखिँदैन। तर मानिसहरू नियममा बाँधिएका मोतीझैँ अनुशासनको मूर्त रूप बनेर हिँडिरहेका हुन्छन्। यसो हेर्दा लाग्छ यो देश सफलता, शिष्टता र सम्पन्नताको प्रतीक हो।
यहाँको सहरले मानिसलाई अनुशासन, मेहनत र समयप्रतिको जिम्मेवारीको महाभारत देखाउँदै सभ्य नागरिक बन्न सिकाउँछ। यहाँको विकास, समृद्धि, सुशासन, मेहनत, अनुशासन, इमानदारी र सफा सुग्घर संस्कार हुन्। यो देशले थुप्रैका सपना र सम्भावनालाई शान्त ढङ्गले आकार दिने प्रेरणा प्रदान गर्छ। तर यति विशाल सम्भावना र सुसंस्कारको सहरमा पनि कोही यदाकदा पात्रहरू चामल केलाउँदा भेटिएका बियाँजस्तै परिधिभन्दा बाहिर गएर अमर्यादित बनेर निस्कँदा रहेछन्।
बालापनको स्वाद जिब्रोमै बाँकी रहँदै खाडीमा होमिएका ती अनुहारहरू जसले जवानीको रस रित्तिँदासम्म पनि ऋणका खपिल्टाहरू पुरेर देश फिर्न सकेनन्, किन? यसरी उसलाई यही प्रश्नले निरन्तर पछाइरह्यो र बारम्बार दिलको द्वारमा ढकढकाइरह्यो। श्रीमान् परदेश लागेको एक दशक बितिसक्दा पनि घर फर्किने कुनै सङ्केत नदेखेपछि अन्ततः मस्तिष्कभरि असंख्य चिन्ताको भारी बोकेर, उदासीन मुडमा मायाको उडान भरेर छाया जापानमा अवतरण गरी।
१० वर्षपछि श्रीमान् भेट्ने कुराले उसको मनमा अनौठो काउकुती लगाइरह्यो। आशा, डर र विरोधाभास मिसिएको एउटा संवेदना अन्ततः आभाषसँग भेट भयो। शब्दहरू मौन भए, आँखा भरिए। केही क्षण दुवैजना एक अर्काको अङ्गालोमा हराए। अश्रुधाराले वर्षौँदेखि थामिएको पीडा छिनमै बगाइदियो।
यसैगरी दिन महिनाहरू बित्दै गए। ओसाकाको सुन्दर शान्त चिसो बिहानी, रेलको छकछक आवाजले सहर ब्युँझिसकेको थियो। मानिसहरू हातमा बेन्तो ब्याग, काँधमा कामको ब्याग भिरेर कोही अफिस भेटाउन, कोही स्कुल भेटाउन हतारहतार हिँडिरहेका थिए। त्यही भीडहरूको बीचमा छाया पनि हिँडिरहेकी थिई। उसको आँखामा केही उदासीनता, केही भ्रम र केही खोजको प्रतिबिम्ब प्रष्ट देखिन्थ्यो।
छायाको श्रीमान् आभाषको आफ्नै नेपाली रेस्टुरेन्ट थियो। आभाष त्यही रेस्टुरेन्ट सम्हालिरहेको थियो। तर छाया बाहिर दुई वटा बिहान साँझ काम गर्थी। यसरी दुवैजना आफ्नो आफ्नो कामको थकान बोकेरै भए पनि प्रायः समयमै घर फर्किन्थे र सानो भलाकुसारीमै दिनभरिको बोझ बिसाउँथे। आभाषको मायामा छाया पुलकित देखिन्थी। तर पनि छायाको मन एक अनुत्तरित प्रश्नले घोतलीरहेको थियो। मनमनै सोच्थी, १० वर्ष नेपाल नफिरेको यिनको कुरोको चुरो त पक्कै केही हुनैपर्छ पत्ता लगाएरै छोड्छु।
यस्तै सोचमा डुब्दै एक दिन छाया अर्को काममा जाँदै थिई। तेन्नोजीको रेलस्टेसन मान्छेहरूको जमातले खचाखच थियो। आफ्नै गन्तव्य बोकेका अपरिचित अनगिन्ती अनुहारहरू थिए। सोही भीडमा एक जना नेपाली केटी उससँग नमज्जाले ठोक्की। फरक्क फर्केर सुमिमासेन (मलाई माफ गर्नुहोस्) भन्दै छायाको मुखमा पुरुलुक्क हेरी। छायाले पनि अचम्मित हुँदै ‘ह! आभा?’ भनी। त्यसपछि आभाले पनि छायालाई चिनी।
आभा छायाकी बच्चै बेलादेखिकी मिल्ने साथी थिई। त्यसैले आभा आश्चर्यचकित हुँदै उत्सुकताले भरिएको प्रश्नको झरी झारी- ‘छाया, तँ यहाँ कसरी?’
छायाले भनी, ‘म जापान आएको ६ महिना नाघिसक्यो।’
आभाले भनी, ‘तेरो बिदा कुन दिन हुन्छ? भन् हामी दिनभरि बसेर कुरा गरौँला।’
आभाले यति भनेपश्चात् छायाले पनि हुन्छ भनी मोकुयोबी (बिहीबार) १० बजे तेन्नोजी पार्क भेट्ने वाचा गरी।
बिहीबार बिहानै सोही समय, सोही ठाउँमा छाया गई। ऊ पुग्दा आभा पहिल्यै आएर पार्कको कुर्सीमा मौन बसिरहेकी थिई। भेट्ने बित्तिकै दुवैजना अङ्गालो हालेर केहीबेर अडिए। त्यसपछि एकछिन शून्यताले बोल्यो, शब्दभन्दा भारी सन्नाटा छायो। आभा छायाको दुःख र उसको सम्बन्धमा चलेको सिरेठो सम्झेर छायाको काँध नै भिज्ने गरी बेस्सरी रोई र भन्न थाली, ‘तँ कुन कुन परिबन्धनमा परी सब छोडेर बालबच्चा लाखापाखा लगाएर आइस्, म यो सबै तेरो मौनतामा पनि पढ्न सक्छु छाया। तँलाई आभाषले गरेको तेरो सोझोपनको दोहन म राम्ररी बुझ्न सक्छु। अब म बताउँछु तलाई यो सहरमा सारा घटेका चित्र विचित्रका कहानी। त्यस्तै कहानीबाट अछुत नरहेको आभाषको पनि छुपेको कहानी।’
त्यसपछि ‘हुन्छ, भन्न म सुन्छु’ भनी छायाले पनि मुन्टो हल्लाई।
अनि आभाले सारा कहानीको यसरी बेलिबिस्तार लगाउन लागी।
‘हेर छाया, हामी सगरमाथाको देशमा जन्मिएर सूर्योदयको देशमा छिरेपछिका दुःख त कति सह्यौँ कति जुन शब्दमा वर्णन गर्दा अपुग हुन्छ। यहाँ यहीँ दुःखमै प्रेम, विश्वास र परिवार सबै यिनै ठुला बिल्डिङमा हराउँदा रहेछन्। अभाव अभावमा परेका भोका रित्ता पेटहरू भर्न, आमाका उद्रेका चोली टाल्न, बाबाका फाटेका कछाड फेर्न र सन्तानका दुई थुँगा सपना सजाउन हरेक नेपाली परदेश आउँछन्। तर हेर्न छाया यति धेरै जिम्मेवारीको बोझिलो भारी टाउकोमा हुँदाहुँदै पनि फ्याट्ट फालेर आफ्नो स्वार्थ पूरा गर्न अनैतिक सम्बन्धको जालो बुन्न व्यस्त हुँदा रहेछन् कोही। नेपालमा हुँदा श्रीमान्ले श्रीमतीलाई, श्रीमतीले श्रीमान्लाई ‘तिमी त मेरो प्राण हौ, तिमी त मेरो सास हौ, तिमी त मेरो सारा ब्रह्माण्ड हौ नी माया’ भन्दै एक अर्कालाई एक सेकेन्ड छोड्न नसक्ने महिला पुरुष पनि यहाँ आएर अनैतिक सम्बन्धको दलदलमा चुरुलुम्बै डुबुल्की मार्दा रहेछन्। यसरी छाया आजकल कति धेरैका सम्बन्धमा चिसो सिरेठो चलेको छ। थुप्रै नेपालीका बिस्तारै सेलाउँदै गएका सम्बन्धका अथाह मौन कथाहरू छन्।’
यसरी आभाले सुनाउँदै गर्दा छाया केही बोलिन, चुपचाप सुनिरही र एक लामो सुस्केरा छोडी।
आभा भन्न थाली, ‘करिब २ वर्ष अगाडि यही ओसाकामा घटेको सत्य घटना हो। अन्दाजी ४०/४५ वर्ष उमेरका एक विवाहित पुरुष र एक विवाहित महिला अनैतिक सम्बन्धमा फसे। दुवैका आफ्नै परिवार र बालबच्चा थिए। तर उनीहरू एक अर्काबिनाको जीवन असम्भव ठान्ने सम्म पुगेका थिए। प्रेमको चुली बिस्तारै सुली बन्यो। हरेक हप्ता भेटघाट, होटल र पार्कमा बितेका दिनरात, गोप्य साटासाट यी यस्ता कुराले सहरभर हावा मात्र चलेन सहर पुरै जुरुक्कै उचाल्यो। ती दुवैजनाको (महिला नाइट ड्युटीको बहानामा, पुरुष पार्टीको नाममा) पुरै झुटको आडमा सम्बन्ध चलिरहेको थियो। अन्ततः आचक्लीले पुरुषको अस्वाभाविक व्यवहार सहन नसकी उसकी श्रीमती नेपाल फर्किइन्। बिदाइको बेला आँसु झार्दै भनिन्- ‘तिमीले हाम्रो विश्वासको मन्जिल भत्कायौ, प्रेममय फूलैफूलको बगैँचामा काँडा रोप्यौ। मलाई यो सब असह्य भयो, अब म सहन नसक्ने भएँ।’ तर श्रीमान् मौन रह्यो एक शब्द पनि बोलेन। केही समयपछि, एक रात उसले ती महिलालाई आफ्नो रेस्टुरेन्टमा बोलायो। समयमै स्टाफ घर पठायो। सटर बन्द गर्यो। सुनसान हलमा मधुरो बत्ती बाल्यो, दुई गिलास वाइन टेबलमा राख्यो! त्यो रात तिनीहरू त्यहीँ बिताए। भोलिपल्ट बिहान घर नफर्किएको र फोन नउठेपछि छोराछोरी खोज्दै रेस्टुरेन्ट पुगे। भित्र महिला र पुरुष दुवै भुइँमा लडेका थिए। प्रहरी आउँदा पुरुषको मृत्यु भइसकेको थियो, महिला बेहोस अवस्थामा थिइन्।
यसरी अनैतिक सम्बन्धको परिणामले एउटा सानो परिवारका सुनौला सपना प्रेमपूर्वक बाँडिन नपाउँदै चकनाचुर भए। उता श्रीमती नेपाल फर्किइन्, यता श्रीमान्ले मृत्युवरण गरे। विडम्बना! त्यो परिवारका सन्तानको काँधमा यसभन्दा भारी दुःख अरू के हुन सक्ला र?’ यति भन्दै आभा एकछिन बोल्न सकिन।
फेरि केही क्षणको मौनतापछि आभा बोल्न थाली। उसको स्वर थाकेको थियो तर शब्दहरू गह्रौँ थिए। बीचमै छायाले आभातिर एउटा प्रश्न तेर्स्याई, ‘आभा, डिपेन्डेन्ट कुक भिजामा आएकाहरूको मात्र यस्तो घटना हो कि अन्यको पनि उस्तै कथा छ?’
फेरि आभा भन्न थाली, ‘छाया, यस्ता कथा एउटा मात्र होइनन्। उज्याला सहरका भित्रभित्रै अँध्यारा कोठामा यस्ता नियतिहरू पलाइरहेका छन्। परदेशले पेट त भरिदिन्छ तर मन र सम्बन्धलाई खाली बनाइदिन्छ। जब जिम्मेवारीभन्दा स्वार्थ भारी हुन्छ, प्रेम अपराध बन्छ अनि विश्वास लासमा बदलिन्छ।
सुन्न छाया अर्को घटना पनि, अस्ति भर्खर एक नेपाली विद्यार्थी भिसामा आएका केटा जापानी केटीसँग होटलमा गएका रहेछन्। अर्को बिहान केटाको मृत्युको खबर आयो। ती युवक ४/५ वर्ष अघिदेखि जापानी युवतीसँग प्रेममा रहेछन्। हरेक हप्ताको शनिबार आइतबार होटल बस्न जाने रहेछन्। तर त्यो अस्तिको होटल बसाइ उसको लागि अन्तिम बन्यो। अन्त्यमा उसले प्रेमको बदला प्रेम पाएन, उल्टै मृत्यु उपहार पायो।’
यो सुनेपश्चात् छाया केही बोलिन। टोलाइरही। उसका आँखामा प्रश्न मात्र थिएन, एउटा त्रासपूर्ण डर पनि थियो। ऊ सोच्न थाली, कतै यो सहरले सबैलाई यही अन्त्यतिर त तान्दैन?
अनि लामो सुस्केरा काढ्दै छायाले भनी, ‘आभा, यहाँ त नेपालीका कति घिनलाग्दा र डरलाग्दा कर्तुत पनि लुकेका रहेछन्।’
त्यसपछि आभा हल्का मुस्काई तर गम्भीर स्वरमा भन्न थाली, ‘हो छाया, यही सहरमा सिधासाधा मान्छेहरू पनि छन् र यही सहरमा सम्बन्ध भत्काउने मानसिकता बोकेकाहरू पनि। तर हाम्रो जीवन दिनचर्या त्यस्तो छैन।’
आभा निरन्तर बोलिरही, ‘हाम्रो त श्रीमान् बिहानै काममा जानुहुन्छ, म पनि सँगै निस्कन्छु। एक अर्काको समय हामीलाई थाहा छ। काम सकिनासाथ कल गर्छौँ, रेल चढ्दा खबर गर्छौँ। बिदामा सँगै हाँस्छौँ, क्याफे र पार्कमा घण्टौँ बिताउँछौँ। यसरी श्रीमान्-श्रीमती पनि जीवनका रमाइला कथामा सँगै बाँच्न सक्छन्।’
क्षणभरमै रोकिएर आभाले फेरि भनी, ‘तर छाया, यति रमाइलो श्रीमान्-श्रीमतीको सुन्दर संसार हुँदाहुँदै पनि किन मानिस अनैतिक सम्बन्धमा ठोकिन्छन् है? त्यसैले यही सहरमा यदाकदा कहिलेकाहीँ ती परिवार भत्काउने अपराधी मानसिकता पनि जन्मन्छन् जसले गर्दा आजभोलि सोझासाझा श्रीमान्-श्रीमतीको मनमा पनि शङ्काको घण्टी बज्न थालेको छ।’
त्यसपछि एकछिन आभाले घटघटी एक बोतल पोकारी पानी पिई र भन्न थाली, ‘अब आभाष नेपाल नजानुको कारण बल्ल म बताउँछु सुन्। अहिले त त्यो बाटोमा आभाष छैन, सायद सुध्रियो होला। तैपनि म तँलाई सारा कहानी बताउँछु ताकि अब उसलाई जीवनमा दुबारा यस्तो गल्ती गर्ने वातावरण नमिलोस्। तँ नेपाल भएको समयमा तेरो र सन्तानको खातिर आभाषलाई कति सम्झायौ, ऊ कोही अन्य केटीको प्रेममा फसेको कुरा पत्ता लगाएपश्चात्। तर हामी थाक्यौँ छाया, उसले बुझेन। उसको प्रेमजालको अगाडि हाम्रो सुझाव डेग चलेन। तँ छोराछोरी पढाउन भन्दै नेपाल। तँ उता सम्बन्धको विश्वासमा अडिग रहेर पतिव्रता धर्म जोगाउँदै उसैलाई सम्झिँदै परिवार सम्हालेर बसिस्। यो वर्ष श्रीमान् आउला अर्को वर्ष श्रीमान् आउला भन्दै बाटो कुरेर बसिस्। कयौँ रहर चाहनालाई दबाएर राखिस्। जवानी रहँदासम्म श्रीमान्को न्यानो अङ्गालोमा बाँधिनबाट वञ्चित बनिस्। तर छाया, यहाँ तेरो श्रीमान् परस्त्रीसँग दशकौँ बितायो। कहिले लभ होटलमा त्यो केटीलाई लगेर आफ्ना इच्छा चाहना पूरा गर्यो। त्यो स्त्रीलाई खेलौना सम्झी जवानीको कुस्ती उसैसँग खेल्यो। कहिले फेरिस ह्वील चढाएर रात्रिकालीन दृश्य देखाउँदै रोमान्स गर्यो। कहिले दोतोन्बोरीको झलमली बत्ती बलेको देखाउँदै पुतली बत्तीमा झुमिएझैँ उसैसँग झुम्यो घुम्यो। कहिले नाम्बा पार्कको रुफटप पार्कको गार्डेनमा लग्यो, उसका हातहरू चुम्यो। कहिले ओसाका क्यासल पार्क लग्यो कहिले उमेदा पार्क। यसरी आभाषले जहाँ-जहाँ लग्यो त्यहाँ कोही न कोही नेपालीले देखेकै हुन्थे र मलाई सुटुक्क रिपोर्ट गर्थे। मलाई लाग्छ छाया, ओसाकाका कुन पार्क र सहरका होटल होलान् र ती युवती र आभाषले रात दिन नबिताएका?’
छाया फेरि लामो स्वास तान्दै सोधी, ‘हैन, त्यो युवतीको श्रीमान् थिएन र आभा?’
आभाले फेरि भनी, ‘छाया, त्यो युवतीको पनि त श्रीमान् थियो। उसले हरेक महिना ३ लाख तलब माग्थ्यो। श्रीमती तीन काम गर्छु भन्थी बिहान साँझ र रात। श्रीमान् गर्व गर्थ्यो, मेरी श्रीमतीले दुःख गरेरै भए पनि मलाई तीन लाख दिन्छे भनेर। तर उसलाई थाहा थिएन, तीमध्ये एउटा काम अनैतिक सम्बन्ध थियो। यसरी हेर्न छाया, यौवनसँगै पैसा सक्यो आभाषको एक दशक। त्यसैले परदेशको एक्लोपन मेट्न कोही कुलतमा फस्छ, कोही गलत सम्बन्धमा नजिकिँदा सकिन्छ। सुरुमा यहाँ कोही त छ मेरो मन बुझ्ने भनेर साथीबाट सम्बन्ध सुरु हुन्छ तर त्यो सम्बन्ध कतिबेला भावनामा बदलिन्छ पत्तै हुँदैन।’
आभाको यति कुरा सुनिसकेपश्चात् छायाको स्वर एकाएक भारी भयो। अनि भन्न थाली, ‘आभा, म प्रेम खोज्दै भौँतारिएँ तर मेरो प्रेम त पहिल्यै कसैको पोल्टामा पोसिरहेको रहेछ। अब मेरो जीवनमा एक्लोपन, थकान र सम्बन्धको असन्तुलन बाहेक के नै बाँकी रह्यो र? परदेशमा बाँच्न कठिन रहेनछ तर सम्बन्ध जोगाउन बडो कठिन रहेछ। उज्याला सडकभन्दा पनि अँध्यारा कोठामा छुपेका छपक्कै छापामार गर्ने खालका सम्बन्ध रहेछन्।’
छायाका यी निराशाजनक निस्किएका शब्द सुनेर आभाले उसलाई सम्झाउन थाली, ‘धेरै पिर नगर छाया। सम्बन्धमा कहिलेकाहीँ सम्झौता गर्न जान्नुपर्छ। तिमीहरूका दुई सन्तान छन्। विगतलाई बोकेर होइन, भविष्यलाई सोचेर हिँड। आगो र पानी बनेर एकअर्कालाई निभाउन सिक। घृणाको बगैँचामा प्रेमका फूल रोप। एक पटक माफ गरेर प्रेमको नयाँ डोरीबाट विवाहको पहिलो हप्ताजस्तै। छाया, म तिमीहरूको सम्बन्धमा फेरि उज्यालो बिहानी देख्न चाहन्छु, साथीको वचनलाई मनन गर्दै दिलको दृढ निर्णयलाई आत्मसात् गर्दै अगाडि बढ्नू।’
यति भनेर आभा घरतिर लागी।
त्यसपछि छाया आँखा रसाउँदै, मन भारी पार्दै तर मनको कुनामा सानो आशा बोकेर घरतिर लागी। फेरि ओसाकाको सहर व्यस्त छ। पुनः छायाको मनमा नयाँ होस छ। सूर्य ढल्दैछ। आकाश सुनौलो छ। त्यही सुनौलोपनमा छाया र आभाषको नौलो प्रेमको जस्तो रङ मिसिएको छ। यसरी अहिले फेरि भन्दैछन्- परदेशले हामीलाई भत्कायो तर पुनः बनाउने साहस पनि दियो। अब हाम्रो सम्बन्ध कहिल्यै टुट्दैन बरु दिगो हुन्छ।
आभाष भन्छ, ‘जहाँ दूरी, थकाइ, मौनता र एक्लोपनले म र तिमी बीचको प्रेम टुट्दै थियो, म गलत थिएँ तर तिमी बल बनेर आयौ छाया। अब मबाट जिन्दगीको अन्तिम पलसम्म दुबारा गल्ती हुने छैन, मलाई माफ गर छाया। मलाई विश्वास छ छाया अब हामी हाम्रो सम्बन्धमा विश्वास, समय, संवाद र प्रेम जगाउनेछौँ।’
यसरी आभाले सम्झाएर पठाएको रात छाया र आभाष अबेर रातसम्म कुरा गरे, कसरी परदेशले पराई बनायो भनेर सम्झिए। केही बेर रोए, हाँसे, प्रेम बाँडे र पुनः बलियो सम्बन्धको गाँठो कसेर प्रेमिल जोडी बनेर बसे।
यसरी थाहा नै नपाई थुप्रै श्रीमान्-श्रीमतीका सम्बन्धमा चिसो सिरेठो चल्ने रहेछ। त्यो सिरेठो शब्दहीन मौन बनी घरको भित्तामा डरलाग्दो त्रासपूर्ण अदृश्य कम्पन जन्माउन पुग्दो रहेछ। जसकारण कसैका घरहरू ढल्ने, कसैका घरमा चिरा-चिरा परी दरार आउने रहेछन्। यसरी जीवनमा धेरैलाई कहिले पैसा, कहिले समय त कहिले सम्बन्धले कठोर परीक्षा दिने रहेछन्। तापनि धैर्यलाई आधार, संवादलाई पुल र विश्वासलाई भर्याङ बनाएर जो उभिन्छन् उनीहरू पुनः सम्बन्धको स्वर्गमा बाँच्न सक्ने हुँदा रहेछन्। चिरिएका भित्ताहरूलाई प्रेमको पुटिङले पुनः पुर्न सक्ने हुँदा रहेछन्।