साक्षी छ—
हामी चुप लागेर बसेका थिएनौँ।
२००७ मा
डर बोल्थ्यो,
भोक चुप लाग्थ्यो,
राणा हाँस्थे।
आमा रुन्थिन्,
छोराछोरी हराउँथे
र देशले पहिलो चोटि
आवाज निकालेको थियो
अनि रगतले लेखिएको थियो
स्वतन्त्रता।
२०६२/६३ मा
राजा थिए
तर जनताका आवाज थिएनन्।
सडकमा
नारा थियो,
अश्रु ग्यास थियो,
लास थियो।
सपना बोकेका
युवायुवती ढलेका थिए,
साथमा राजा ढले,
तर व्यवस्था उभिइरह्यो—
प्रश्नसहित।
गणतन्त्र आयो,
तर शान्ति आएन
नेपालीको घर-घरमा
न्यायले पाइला टेकेन।
२०८२ मा
हामीसँग
न राजा छ
न राणा
तर अन्याय
झन् स्पष्ट छ।
जेन्जीहरू भन्छन्
हामी चिच्याउँदैनौँ,
हामी प्रश्न गर्छौँ
हामी बन्दुक बोक्दैनौँ
हामी कागज र कलम बोक्छौँ।
देश सोध्छ—
‘तिमी को हौ?’
जेन्जीहरू भन्छन्-
हामी ‘भविष्य होइन,
वर्तमान हौँ।’
तीन आन्दोलन,
तीन पुस्ता,
तर घाउ उस्तै।
पिपलको रुखले सोध्छ—
‘कहिले सकिन्छ यो आन्दोलनको शृङ्खला?’
उत्तर अझै
अझै अवाक् छ
किनकि
जहाँ अन्याय बाँकी छ,
त्यहाँ आन्दोलन
जिउँदो रहिरहन्छ
घर-घरमा न्यायको घाम
नउदाउन्जेलसम्म
आन्दोलन चर्किरहने छ
किनकि
पीडाको चिच्याहट नै आन्दोलन हो।
प्रत्येक आन्दोलनको साक्षी
त्यही पिपलको बोट
भइरहेछ
भइरहने छ
इतिहास
पिपलको बोटले देखेको छ
पुस्तादेखि पुस्तौँसम्म पिपल बोट
आन्दोलनका कथाहरू सुनाइरहेछ
सुनाइरहने छ
बिना थकावट
बिना रोकावट।