शिवको घर ठुलो पिपलको बोट भएको चौताराबाट पाँच मिनेट उत्तरतिर उकालो लागेपछि देखिन्थ्यो। पहाडको भिरालो जमिनमा काठ र ढुंगाले बनेको पुरानो सेतो घर, आँगनमा तुलसीको मठ, छेउमा दुई वटा गाई बाँध्ने गोठ र त्यसभन्दा तल सानो तरकारी बारी— त्यही थियो शिवको घर संसार। बिहान घाम पूर्वको डाँडाबाट बिस्तारै झुल्कन्थे, पिपलका पातहरू हल्लिन्थे र शिव लट्ठी टेक्दै आँगनमा घुम्न निस्किन्थे।
गाउँका मान्छेहरू चौतारामा भेला हुँदा उनको घरतिर हेरेर ‘हेर, वैद्य बाको घरबाट धुवा निस्किसक्यो, पक्कै पनि उनको भान्सामा केही पाक्दै हुनुपर्छ’ भन्थे। किनकि उनका घरका सदस्यहरू अरू गाउँलेहरूभन्दा पहिल्यै उठ्ने गरेका थिए।
शिवका चार छोरा र तीन छोरी थिए। जेठा छोरा अमिट, माहिला छोरा हरि, साइला छोरा मोहन र कान्छा छोरा रमण। उनका चारै जना छोराहरू देशमा रोजगारीको अवसर नपाएर विदेश पुगेका थिए। अमिट नेदरल्यान्ड पुगेका थिए र आफ्नो ज्यानको माया मारेर त्यहाँ १८ चक्के ट्रक कुदाउँथे। रातभरि निद्रा नलागी हिउँ परेको बाटोमा ट्रक चलाउँदा कहिलेकाहीँ उनलाई लाग्थ्यो— बाबु खेत जोत्दै हुनुहुन्छ होला कि? आमाले दिनरात मेरो सम्झना गर्दै बस्दै हुनुहुन्छ होला कि? भनी सोचिरहन्थे।
हरि क्यानडामा एउटा पसलमा क्यासियर थिए, चिसो हावामा बिहान सबेरै काममा जाँदा उनका हात कठ्याङ्ग्रिन्थे, स्वर्गजस्तो हुन्छ भनेर उनी क्यानडा छिरेका भए पनि उनको दिनचर्या सहज थिएन। मोहन अमेरिका पुगेर ग्यास स्टेसनमा काम गर्थे, राति अबेरसम्म काम गर्दा निद्रा लागे पनि आँखामा पानी छर्केर आफ्नो काममा टिकिरहन्थे। रमण दुबईमा सेक्युरिटी गार्ड थिए, मरुभूमिको तातो हावामा घण्टौँ उभिँदा उनका खुट्टा पोल्थ्यो, बिदेसिनु बाध्यता हो भन्ने राम्ररी बुझेका उनी आफ्नो कर्म नै खोटी भएको महसुस गर्थे।
चारै जना छोराहरू बिदेसिनु रहर थिएन, त्यो त देशमा रोजगारी नभएकाले नै बिदेसिनु परेको हो भनी चित्त बुझाउँथे। तर विदेशमा पनि गरिखान धेरै सकस व्यहोर्नु परेको भन्दै उनीहरू फोनमा आमाबुबासँग गुनासो गर्थे।
शिव भन्थे, ‘फर्केर आऊ बाबुहरू, दुःख यहाँ पनि छ तर म तिम्रो अनुहार हेरेर बाँचुँला।’
उनीहरू भन्थे, ‘यहाँ जति दुःख भए पनि नेपाल फर्केर के गर्ने? गरिखाने ठाउँ छैन, बेरोजगार बसेर पापी पेट पाल्न सकिन्न बुबा, यो वास्तविकता त हजुरलाई थाहा छँदै छ।’
शिवका छोरीहरू पनि बिदेसिएका थिए। जेठी कुमारी ताइवान, माइली मीरा भियतनाम र कान्छी म्यानमार पुगेका थिए। सुरुमा उच्च शिक्षा पढ्न भनेर गएका उनीहरू अहिले उतै घरजम गरेर बसेका थिए। छोराछोरीहरूसँग कहिलेकाहीँ भिडियो कल हुँदा शिव मुस्कुराउँथे तर फोन राखेपछि आँगनको खाली कुर्सीतिर हेरेर लामो सास फेर्थे र निराश हुन्थे।
शिव आफैँ संघर्षको सन्तान थिए। २००७ सालको जनआन्दोलनमा उनले आफ्ना बुवा गंगाराम गुमाएका थिए। २००८ सालमा इलाम जिल्लाको जीतपुरमा रहेको झ्याउ पोखरीको छेउमा आफ्ना बुबा बितेको आठ महिनापछि शिवको जन्म भएको थियो। आमाले बुवाको वीरताको कथा सुनाउँदा उनलाई दन्त्यकथा जस्तो लाग्थ्यो। समय बित्दै गयो, अहिले आमाको स्वर्गारोहण भएको पनि दस वर्ष भइसक्यो। उनले सहोदर दाजु गोविन्दलाई २०४७ सालको जनआन्दोलनमा गुमाए। गोविन्दका छोरा राज २०८२ सालको आन्दोलनमा गोली लागेर मरे। बिरामी आमालाई औषधी लिन जाँदा कन्चटमा गोली लागेको खबर सुन्दा शिव घण्टौँ मौन बसेका थिए, उनको मौनताले पनि राजलाई फर्काएर ल्याउन भने सकेन। त्यस दिनदेखि उनले राजनीति भन्ने शब्द उच्चारण गर्न पनि छोडेका थिए।
विदेशबाट कहिले आइफोन १७ प्रो म्याक्स त कहिले सामसुङ २५ अल्ट्रा, कहिले ठुलो टेलिभिजन जस्ता सामान आउँथे। गाउँलेहरू टाढादेखि टिभी हेर्न आउँथे तर शिव त्यतिमा खासै रमाउँदैनथे। ‘मान्छे आउँदा घर उज्यालो हुन्छ, गाउँलेहरूले एकछिन त घर रमाइलो बनाउँछन् नि तर सामान आउँदा त्यो रमाइलो छैन’ भन्थे।
शिव आयुर्वेदिक उपचारका ज्ञाता पनि थिए। मधुमेह, ग्यास्ट्रिक, हाड जोर्नी दुखाइ जस्ता रोगका लागि गाउँलेहरू उनकै भर पर्ने गर्थे र उनलाई वैद्य बा मान्थे। उनको घरमा धेरै किसिमका ओखतीहरू हुन्थे। उनी निमका पात उमालेर सेलाएपछि त्यही पानीमा लामो समय खुट्टा चोब्न सिकाउँथे। उनी जिब्रोमा तीतो पन नआएसम्म खुट्टा चोबेर बस्नुपर्छ भन्थे। महिनौँसम्म त्यसो गर्दा धेरैको मधुमेह निको भएको थियो। गाउँका बुढाबुढी, किसान, महिलाहरू उनको घरमा लाइन लाग्थे। उनले कहिल्यै पैसा लिँदैनथे। ‘मेरो ओखतीले तपाईंहरूको मधुमेह ठिक भयो भने पुग्छ’ भन्थे।
हिजो बेलुका ठिक सात बजे उच्च रक्तचापका कारण शिवको मृत्यु भएको खबर फेसबुकमार्फत सार्वजनिक भयो। त्यो खबरले गाउँमा सन्नाटा छायो। चौतारामा मान्छेहरू भेला भए तर कसैले ठुलो स्वरमा बोलेनन्। ‘अब हाम्रो औषधि कसले गर्ने?’ भन्ने प्रश्न सबैको आँखामा थियो। उनका चारै छोरा र तीनै छोरी उनको मृत्युमा आउन सकेनन्। कसैको भिसा समस्या, कसैको टिकट नपाएको, कसैको कामबाट बिदा पाउन नसक्ने कारण आयो। अन्ततः उनका भाइ हरिले शिवको दाहसंस्कार गरे र तेह्र दिनको किरिया पनि उनैले पूरा गरे।
तेह्रौँ दिन सकिएपछि चौतारामा बसिरहेका वृद्धहरूले बिस्तारै ‘छोराछोरी हुनु र नहुनुमा के फरक रहेछ र, आखिर आफ्नै बाबुको अन्तिम यात्रामा आउन नसकेपछि छोराछोरी भएर पनि के काम र छ र?’ भनी गुनासो पोख्न थाले।
चौतारोमा भएको पिपलका पातहरू हल्लिए, साँझको हावा बग्यो, शिवको घरको ढोका गाउँलेहरूका उपचारका लागि बन्द भयो तर आँगनमा उनको लट्ठी टेकेर हिँडेको दृश्य भने गाउँलेहरूको सम्झनामा लामो समयसम्म ताजा रहिरह्यो।