घरमा हामी दुई बुढाबुढी मात्र छौँ। घर यति सुनसान छ कि कहिलेकाहीँ आफ्नै सासको आवाज पनि ठुलो लाग्छ। यही घर बिस वर्षअघि कति गुलजार थियो, कति जीवन्त र रमाइलोक! अहिले भने घर, बाटोघाटो, वन-पाखा सबै सुनसान लाग्छन्। बाटोमा हिँड्दा दुई छोरालाई अघिपछि लगाएर टुकुटुकु हिँडाएको दिन सम्झना आउँछ। त्यति बेला गाउँका वन-पाखा पनि रमाइला लाग्थे। अहिले भने सबै उराठिलो। मन रमाइलो भए संसार रमाइलो लाग्दो रहेछ, मन उदास भयो भने सबै कुरा सुनसान लाग्दो रहेछ।
हाम्रो लाम्सु गाउँ पनि पहिले जस्तो कहाँ रह्यो र! तेह्र परिवार बस्ने गाउँ अहिले घटेर आठ परिवारमा झरेको छ। पाँच वटा घरमा मुसाको राज्य चलेको छ। एक समय त्यस्ता खाली घरहरूमा डम्फु र मादल बज्थे, झ्याउरेका भाका गुन्जन्थे। अहिले त युवायुवती सबै बिदेसिएका छन्। कसले गाओस् झ्याउरे, कसले बजाओस् मादल र डम्फु? बलको काम गर्ने कोही छैन गाउँमा। बिरामी पर्दा पानी खुवाउने र अस्पताल लैजाने मान्छे पनि पाइँदैन। खेतबारी जंगलले ढाकिसकेको छ। पहिला बाँदर देख्न टाढाका गाउँ बिरौनी र टुनिवेट जानुपर्थ्यो, अहिले त घरभित्रै पसेर मकैका झोतेला लिएर हिँड्छन्। बारीका फलफूल पनि मानिसले खान पाउँदैन, बाँदरकै भागजस्तो भएको छ।
दुई छोरा मध्ये जेठो अमेरिका गएको अठार वर्ष भइसकेछ। श्रीमती र छोराछोरीलाई पनि उतै लगेर बसोबास गरेको छ। घर बनाएको छु भन्छ तर त्यो घर कस्तो होला— मैले त देख्न पाएकै छैन, केवल कल्पनामा मात्र। नातिनातिनाले पनि हामीलाई राम्ररी चिन्दैनन्। कहिलेकाहीँ इन्टरनेट लागेको बेला भिडियो कल हुन्छ। तर ऊ ‘म व्यस्त छु’ भन्दै मोबाइल श्रीमती वा छोराछोरीलाई थमाइदिन्छ। मनभरि थुप्रिएका कुरा सुनाउने रहर हुन्छ, तर सुनाउन पाइँदैन। नाति–नातिनासँग कुरा गर्न खोज्दा उनीहरूले मेरा कुरा बुझ्दैनन्, मैले उनीहरूको भाषा बुझ्दिनँ। नेपाली शब्द खोज्दा खोज्दै उनीहरूले बोल्न खोजेको कुरा नै बिर्सिन्छन्।
कान्छो छोरा अस्ट्रेलिया गएको पनि पन्ध्र वर्ष भयो। उतै नर्सिङ पढेकी केटीसँग विवाह गरेको रे। बुहारीले बूढाबूढीको हेरचाह गर्ने जागिर पाएकी छे, भन्छ। उता बुहारीले विदेशी बूढाबूढीको सेवा गर्छे, यता हामी बिरामी पर्दा पानी दिने मान्छे पनि छैन। कहिलेकाहीँ भिडियो कल उठाएर यता सन्चै छौँ भन्यो र ‘त्यता सन्चै छ?’ भनेर सोधिदियो भने पनि मन खुसी हुन्छ। ऊ गाउँ नफर्केको पनि पाँच वर्ष हुन लाग्यो।
त्यति बेला त सबैले कति भाग्यमानी भनिरहेका थिए— ‘दुई-दुई वटा छोरा छन्।’ अरूका छोरीहरूले बाबुआमालाई गर्ने स्याहार–सुसार देख्दा मनभित्र कता-कता चसक्क दुख्छ। घिउर दिदीको छोरी अमेरिका छे। उसले दिदी-भिनाजुलाई अमेरिका बोलाएर तीन महिना राखेर घुमाएर पठाई। हामीलाई भने अहिलेसम्म कुनै छोराले बोलाएको छैन। बरु बुहारीहरू सुत्केरी हुँदा बुहारीका आमाबाबुहरूलाई बोलाइए, महिनौँ उतै राखेर घुमाएर पठाइए।
धुल्लुकी फुपूलाई छोरी मात्र हुँदा गाउँलेहरूले ‘भाग्य नभएकी’ भन्दै दया देखाउँथे। तर आज हेर्दा त उनी नै सबैभन्दा भाग्यमानी देखिन्छिन्। छोरी–ज्वाइँहरू आलोपालो गरेर घरमा आउँछन्, सेवा गर्छन्। कहिले काठमाडौँ, कहिले पोखरा, कहिले भारतका तीर्थ— छोरीहरूले उनलाई धेरै ठाउँ घुमाइसके।
उमेर पनि सत्तरी नाघिसक्यो। पोखरा पुगेर डाक्टरलाई देखाउँदा बुढालाई रक्तचाप, सुगर र प्रोस्टेटको समस्या छ भने। बिहान हिँड्नुस्, औषधि नियमित खानुस् भनेर धेरै औषधि लेखिदिएका छन्। तर बुढा कति बेला बाटोमै लड्ने हुन् भन्ने डर लाग्छ। एक दिन हिँड्दै गर्दा बाटोमै पल्टिएछन्। पल्लाघरे जेठीले देखेर उठाइन्। उनले नदेखेको भए के हुन्थ्यो, सोच्न पनि डर लाग्छ।
कहिलेकाहीँ मनमा एउटै प्रश्न गुन्जिरहन्छ— ‘त्यो छोरी जन्मन पाएकी भए आज हाम्रो जीवन कस्तो हुन्थ्यो होला?’ अरूका छोरीहरू ‘आमा’ भन्दै पटक पटक आउँदा गर्भमै मारिएकी मेरी छोरीको यादले मन चिरिन्छ। पहिलो पटक गर्भवती हुँदा डाक्टरकहाँ जाँच गराउन गएका थियौँ। गर्भमा छोरी रहेको थाहा भयो। बुढाले गम्भीर स्वरमा भने— ‘पहिलो सन्तान छोरा हुनुपर्छ, छोरी त पछि पनि हुन्छे।’ पढेलेखेका उनका कुरा कसरी नमानूँ? अन्ततः त्यो नजन्मिएकी छोरीलाई गर्भमै बिदा गरियो।
एक दिन बेलुकी काम सकेर ओछ्यानमा के पल्टिएँ। बुढा निदाइसकेका थिए। म पनि दोलाइ ओढेर सुत्न खोजेँ। आँखा लागेछ कि लागेन, म एक अनौठो सपनामा हराएँ छु।
पोखराको क्लिनिकमा भ्रूणमै मारिएकी छोरी जन्मिएकी देखेँ। उसको नाम क्रान्ति राखिएको रहेछ। उसलाई हात समाएर हिँड्न सिकाएको, ऊ आफै टुकुटुकु हिँडेको, विद्यालयमा भर्ना गरिदिएको सबै देखेँ। पढाइ, खेल, नाच, गीत— जहाँ गए पनि ऊ सधैँ अगाडि। पुरस्कार ल्याएर हामीलाई खुसी बनाउने।
हेर्दाहेर्दै एसएलसी पास गरेर क्याम्पस पढ्न पोखरा गएकी। हामी बिरामी पर्दा अस्पताल लैजाने, औषधि ल्याइदिने, सबै काम सम्हाल्ने।
ऊ पढाइमा झनै अब्बल भइछे। पछि सामाजिक कार्यकर्ता बनेर गाउँ–गाउँ महिलाको हक अधिकारका लागि काम गर्न थालिछे। गएको चुनावमा संसद् जितेकी रहिछे। त्यो खबर सुन्दा मेरो छाती गर्वले फुलेको देखेँ।
विजय समारोहमा सबैले उसलाई अबिर लगाइदिएका थिए। क्रान्तिले मञ्चबाट जोडदार भाषण गरिरहेकी थिई—
‘म आज समाजसँग मात्र होइन, आफ्नै बाबुआमासँग पनि प्रश्न गर्न चाहन्छु। म जन्मन नपाएकी छोरी हुँ। गर्भमै छोरी मार्ने अपराध गर्नेहरूलाई कानुनले कठोर सजाय दिनुपर्छ, जेलमा कोच्नु पर्छ।’
यति भन्दै गर्दा म झल्याँस्स ब्युँझिएँ। मन डरले थरथर काँपिरहेको थियो। शरीर पसिनाले भिजेको थियो। आफैलाई ठुलो अपराधी जस्तो लाग्यो। बुढा खोकेर फेरि निदाइसकेका थिए। उठाएर सुनाऊँ कि जस्तो लाग्यो, तर उठाउन सकिनँ।
जगको पानी गिलासमा खन्याएर एकै सासमा पिएँ। त्यस रात निद्रा भागेको मात्र होइन, पुराना सम्झनाहरू पनि मनमा बिस्तारै जाग्न थाले।