आकाशबाट हतार-हतारमा झरेको असिना पानीले पोखरालाई रुझाइरह्यो।
‘यसरी पानी पर्दा गाउँमा त माटोको वासना हररर गर्दे नाकैमा आइपुग्छ छोरी,’ छोरीलाई आफू हुर्किएको बेलाको कथा सुनाउँदै थिएँ। त्यही सिलसिलामा जोडेर बताएँ।
‘ए त्यो कुरा त मैले हजुरको फेसबुकमा पनि पढेकी थिएँ। त्यो तोरकिन भन्ने किताब लेख्ने अंकलको स्ट्याटसमा यस्तै लेखेको थियो,’ छोरीले क्षितिज समर्पणको स्ट्याटस सम्झँदै मलाई बताई। उसको मुखबाट सुनेर मैले पनि बल्ल सम्झिएँ।
‘अनि हजुरले कस्तो सुकुमेल हालेको दूध चियाजस्तो लेखाइ भनेर कमेन्ट पनि गर्नुभएको थियो नि बाबा,’ उनको स्ट्याटसमा मैले के कमेन्ट गरेको थिएँ त्यो समेत सम्झेकी रहिछ, दुरुस्तै बताई।
शनिवारको दिन। छोरीको स्कुलको बिदा। म पनि केही दिनदेखि जागिरबाट बिदा लिएर छोरीसँगै खेल्दै बसेको छु। एक महिनाको मेरो बिदा छोरीसँग खेल्दै रमाउँदै गर्दा एकै निमेषमा सकिएला जस्तो लाग्न थालेको छ।
बाहिर झरी परिरहेकै थियो। छतको अगाडिको भागमा ट्याक्क-ट्याक्क गर्दै असिना बज्रिरहेको भित्रै सुनिँदै थियो।
त्यही बेला सुकुमेलको वासना बोकेर सिसाको कप भान्साकोठाबाट लुसुक्क हाम्रा अगाडि आइपुगेर थपक्क बस्यो।
कपबाट उड्दै गरेको बाफ र नाकैमा ठोकिन आएको वासनाले मलाई फेरि गाउँले माटो सम्झायो। हातैभरि सिमलका राता फूल र नाकैभरि माटोको वासना बोकेर खेलिन्थ्यो। गाउँमा कतै पुरानो माटे घर भत्काएर नयाँ घर बनाउन लागेको ठाउँ रहेछ भने त हामी झनै रमाउँथ्यौँ। ती पुराना घर भत्काएको ठाउँबाट निस्केको माटे वासनाले लट्ठै बनाउँथ्यो।
‘झरी र दूध चिया त हजुरको फेवरेट हो नि बाबा। आज त दुइटै कुरा पाउनुभयो है,’ हातमा खेलाउँदै गरेको रुबिस्कक्यूबमा रंग मिलाउँदै मलाई जिस्काई।
म केही बोल्नै भ्याएको थिइन, आफैँले थपी– ‘एक्जाम सकिएपछि म घर जान्छु। अनि तोरकिन लेख्ने अंकलको स्ट्याटसजस्तै मैले पनि माटो बसाएको सुँघ्छु है बाबा।’
उसले साँचेको मिति आउन अझै लगभग पन्ध्र दिन बाँकी छ। त्यति बेलासम्म त गाउँको माटोको त्यो वासना हराइसक्छ कि! नयाँ-नयाँ झरीमा पो माटोमुनि लुकेर बसेको वासना हावामा मिसिन निस्कन्छ। असारे फूलजस्तै वासना बोकेर गाउँभरि हावासँगै लट्ठिएर बहन्छ। मनमनै सोच्छु। तर उसलाई केही भन्दिनँ।
‘तर के बाबा, यो पोखरामा किन त्यसरी माटो बसाउन्न? यहाँको माटोमा बसाउन नदिने कुरा राख्या छ र?’ उसको बालशुलभ जान्ने रहरको प्रश्नले मलाई हिर्काउँछ।
उसको प्रश्नको ठेट उत्तर मसँग थिएन। केही नबोली जवाफ कुरेका उसका ती आँखाको प्रतीक्षालाई हेरिरहेँ मात्र।
पोखरालाई कर्मथलो बनाएर बस्न लागेको पनि एक दशक पूरा भएछ। त्यो बेला यहाँ आउँदा पोखरा अहिलेजस्तो थिएन। म बसेको यो ठाउँको वरपर अलि धेरै खुला बारी थिए। त्यहाँ तरकारी खेती हुन्थ्यो। साँझमा बारीबाट तरकारी बोकेका डोकाको लस्कर निस्कन्थ्यो। चोक-चोकमा पुगेपछि डोकाका तरकारीको अंशबन्डा हुन्थ्यो। सँगै डोको चढेर यात्रा सुरु गरेका थरीथरीका तरकारी भिन्दाभिन्दै भान्सासम्मको यात्राका लागि छुट्टिन्थे। कहिल्यै भेट नहुने गरी तिनीहरूको वियोग हुन्थ्यो।
अचेल ती बारीमा घर फलेका छन्, जो कहिल्यै यात्रा गर्दैनन्। अलिअलि बचेको बारीमा तरकारी त छन्, तर तिनका जीउबाट पहिलेजस्तो अर्गानिक वासना आउँदैन। साग तरकारीमा गोबरको हिलाको डोब देखिँदैन। सहर सफा थियो। दिनभरि झरी परेर रोकिएपछि पानी कहाँ हरायो भनेर खोज्नुपर्थ्यो। मूल सडक र भित्री गल्ली गल्लीमा भर्खरै कुचो लगाएजस्तो सर्लक्कको सफा देखिन्थ्यो। हावामा कपूरको वासना सुँघ्न पाइन्थ्यो। चन्दनबारीबाट झरेको जस्तो सुगन्धित बतासले बहेली खेल्थ्यो।
अचेल मान्छे अलि भरिभराउ भएका छन्। सडक चौडा त छन् तर साँघुरा जस्ता लाग्छन्। कहिलेकाहीँ त हावा पनि छानेर नाकभित्र तान्नुपर्छ। विद्यार्थी बोकेका पहेँला भ्यान र बसहरू भित्री बस्तीसम्मै पुगेका देखिन्छन्। कहिलेकाहीँ फोहोर मलाई भन्ने लेखेका हरिया गाडी पनि देखिन्छन्। तर आक्कलझुक्कल मात्रै। अचेल त तिनै हरिया गाडी नदेखेको पनि कति भइसक्यो। यसो सम्झने कोसिस गर्छु, महिना दिनभन्दा कति हो कति धेरै भइसकेछ।
हामी सानो छँदा गाउँमा आइसक्रिम, बरफ बेच्न आएकाहरूले प्वाँ-प्वाँ पार्दै हर्न बजाउँदै आउँथे। त्यो आवाज सुनेपछि स्कुलको टिफिन टाइममा हामी बरफ किन्न पिपलको फेदमा पुग्थ्यौँ। गोजीबाट दुई रुपियाँको पहेँलो सिक्का निकाल्थ्यौँ। त्यही सिक्कासँग रातो, सेतो बरफ साट्थ्यौँ।
अचेल न त मेरा गाउँमा त्यसरी प्वाँ-प्वाँ पार्दै कोही बरफ बेच्न जान्छ। न त सहरको यो बस्तीमा प्वाँ-प्वाँ पार्दै हरियो गाडी आउँछ।
बरफ र प्वाँ-प्वाँले मलाई नोस्टाल्जिक बनायो।
हातमा बाफ उडाउँदै गरेको कप समाएर टोलाएछु। उसैले बाबा! बाबा!! भनेर बोलाई। बल्ल ब्युँझिएजस्तो भयो।
‘स्कुलमा टिचरले भन्नुभएको, नेपालको सबैभन्दा सफा सहर धरान हो रे। त्यसपछि पोखरा हो रे नि,’ अचानकै सफा सहरको कथा सम्झी, मलाई सुनाई।
‘हो त। पोखरा कति सुन्दर छ। सफा पनि छ नि,’ उसलाई स्कुलमा पढाएको कुरालाई अन्यथा भन्न मनले मानेन। उसको त्यो कुरामा सहमति जनाएँ।
‘अनि सफा सहर भएको भए किन बाटैभरि फोहोरका थुप्रा देखिन्छन् त?’ उसले बल्ल प्रश्नको झापड हानी। सायद यही सोध्नलाई पृष्ठभूमि बनाएकी थिई यतिन्जेल।
प्रश्न सोधेर उसकी मामुतिर फर्की। अनि मतिर।
उसका मामु–बाबा हामीले एकअर्काका आँखा जुधायौँ मात्र। उसलाई दिने केही उत्तर पाइएन।
‘बाबा अचेल सफाइ गाडी किन नआउने हो र? गाडीको आन्दोलन चलेको हो र? कि सफाइ गाडीका सबै जना भोट हाल्न गएर अझै अफिस नफर्केका हुन्?’ उसैले आफूले मनमा उब्जाएका विकल्पहरू बोली।
हामीले हरियो गाडीको प्वाँ-प्वाँ आवाज सुन्यौँ भने फोहोर गाडी आयो भनेर सँगालेका फोहोरका पोको लिएर तल गेटबाहिर कुर्थ्यौँ। टोलैभरि फोहोर आयो भनेर जम्मा हुन्थ्यौँ। उसको भने भाषा फरक थियो– त्यो गाडी त सफाइ गाडी हो के बाबा-मामु।
उसको त्यो सफाइ गाडी देख्न नपाएको पनि महिनौँ भएको छ। उसको भाषाको त्यो सफाइ गाडी आफैँ फोहोर भएर धोइपखाली गर्न गयो कि? कुनै तीर्थव्रतमा निस्क्यो कि? केही मेसो छैन। गाडीमा चढाइदिनुपर्ने कुराको थुप्रो बोरैभरि छ।
तर उसको प्रश्नको कुनै जवाफ छैन।
फेरि दिउँसोको कुरा निकाल्न लागी, ‘बाबा! नेपाल त उल्टोपाल्टोको दुनियाँ हो कि के हो?’ उसले हातको रेबिस्कक्यूब बटार्दै कसैलाई नहेरी सोधी।
‘किन छोरी?’ उसकी मामुको प्रश्न हो यो।
‘अनि कि, त्यहाँ सभागृहभन्दा माथिको चोकमा फोहोर फाल्न निषेध भनेर लेखेको बोर्ड थियो। त्यसैको फेदमा फेरि फोहोरको कति ठुलो थुप्रो थियो नि त। फोहोर फाल्न नपाइने भनेर लेखेको ठाउँमा त्यति धेरै फोहोर फालेपछि भएन त उल्टोपाल्टो दुनियाँ?’ दिउँसो स्कुटरमा बजार घुम्दै गर्दा उसले देखेका फोहोरका धेरै थुप्रामध्ये त्यो थुप्रोले उसलाई अलि बढी छोएको थियो क्यारे। उसलाई पोखरा भनेकै सिंगो नेपाल हो भन्ने लागेछ, उल्टोपाल्टोको दोष पूरै देशलाई दिई।
सभागृहभन्दा केही माथि महानगरको आठ नम्बर वडा कार्यालय छ। त्यही वडा कार्यालयको गेटसँगै उभिएको एउटा खम्बा छ। त्यही खम्बामा झुन्डिएको छ, एउटा फ्लेक्स बोर्ड। जसमा लेखिएको छ– फोहोर पाल्न निषेध गरिएको छ। यदि कसैले फोहोर फालेको पाइएमा एक हजार देखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।
त्यही बोर्ड र बोर्डको मुनि फोहोरको थुप्रो देखेर उसले मलाई स्कुटर रोक्न लगाएकी थिई।
‘यहाँको फोटो खिचौँ है बाबा!’ स्कुटर रोकेपछि उसले मेरो मोबाइल मागी। अनि आफैँले फोटो खिची।
मोबाइल फिर्ता दिई। स्कुटरमा चढी।
‘अब यो उल्टोपाल्टो दुनियाँको कथा लेख्न पर्छ है बाबा! आज रातिको हजुरको काम त्यही हो नि,’ उसले मलाई काम दिँदै भनी। सँगै मेरो रुटिनको काममा समेत आजका लागि रातो बत्ती बल्ने स्विच दबाइदिई।
यस्तो उल्टोपाल्टो दुनियाँको उसको सवाल यो पहिलो थिएन। पहिले पनि यस्ता प्रश्नको लहरोले हिर्काउँदै आएकी नै थिई।
रुबिस्कक्यूब चलाउँदै उसले मलाई कथा लेख्न फेरि सम्झाई। कथा कसरी लेख्ने भनेर पनि उसैले सिकाइ।
बाबु छोरीको यो वार्तालाप थाहै नदिई उसकी मामुको मोबाइलमा सुरक्षित भएछ। छोरीको आग्रहअनुसार उल्टोपाल्टो दुनियाँको कथा लेख्ने कुरामा म राजी भएपछि बल्ल त्यो पोल खुल्यो।
... र साँझ, उसैको आग्रहमा त्यो भिडियो फेसबुकमा स्ट्याटससहित अपलोड गरिदिएँ। कमेन्टमा उसकी स्कुलकी शिक्षकले उसलाई यस्तै उल्टोपाल्टो दुनियाँको कविता लेख्न अनुरोध गर्नुभएको कुरा पढेर उसले जिब्रो काढी।
‘ह्या यस्तो जान्या भए त भिडियो राख्नु भन्ने थिएन नि! कस्तो झ्याउ लाग्यो बाई,’ उसले कविता लेख्न पर्छ भन्ने बुझेर अल्छी मानी।
बाहिर मसिनो पानी परिरहेकै थियो। उसकै उल्टोपाल्टो दुनियाँको कथा लेख्न भनेर ल्यापटप अन गरेँ।
‘बाबा! त्यो सभागृहको वडाको अफिसको सिसिक्यामेरा बिग्रेको होला है!’
मैले ल्यापटप अन गरेपछि ऊ भने मलाई डिस्टर्ब होला कि भनेर सिरक खोल्दै बिस्तारामा गई। सिरक ओढ्दाओढ्दै फेरि सोधी।
मैले किन भन्ने भाषाले उसलाई हेरिरहेँ।
‘नत्र किन त्यहाँ फोहोर फालेकाहरूलाई देखेर कारबाही नगरेको त?’ उसले प्रश्न गरी। तर यो प्रश्नको जवाफ सायद त्यो वडा कार्यालय र महानगरपालिकासँग नै छैन होला।
‘लेख्नू लेख्नू। भोलि बिहान सात बजे म उठ्दा कथा सुनाउन पर्छ नि,’ यति भन्दै ऊ कोल्टो फेरी।
म भने छोरीको त्यही कुरालाई नाइँ भन्न नसकेर यो कथा लेख्न बसेको छु– पोखराको फोहोर र उल्टोपाल्टो दुनियाँको प्रश्न।