निजामती कर्मचारीहरूको सहुलियत उपचारका लागि भनेर सञ्चालन भएको हो निजामती कर्मचारी अस्पताल।
यो अस्पतालबाट राष्ट्रसेवकको रूपमा कहलिएका निजामती कर्मचारीका लागि मात्र सहुलियतको व्यवस्था छैन, उनीहरूका श्रीमान श्रीमती, दुई सन्तान २१ वर्षको उमेरसम्म अनि बावु र आमाको लागि समेत सहुलियतमा उपचार सेवा प्रदान गरिन्छ।
अफिसरभन्दा मुनिका पदका लागि ५० प्रतिशत (औषधि बाहेक) र सोभन्दा माथिल्लो कर्मचारीका लागि ४० प्रतिशतको सहुलियत भनेको राम्रो सुविधा हो।
रामप्रसाद आफू भने सरकारी कर्मचारी होइनन् तर उनका दाजु निजामती कर्मचारी छन् त्यो पनि अफिसर माथिका। पहिला ग्रामीण भेगमा हुर्किएको रामप्रसादको परिवार अहिले काठमाडौंमा बसाइँ सरेका छन्। जब ८० वर्षीया रामप्रसादकी आमा बिरामी हुन्छिन् तब उनलाई चेकजाँचको लागि अफिसरको कर्मचारी कार्ड बोकेर त्यहीँ सहुलियत पाउने अस्पतालमा उपचारका लागि विगत ३ महिनादेखि धाइरहेका छन् रामप्रसाद।
उनका दाजु निजामती कर्मचारी, देशको सेवा गर्दा आमालाई उपचारमा लिएर आउने समय नभएका कारण दाजुको कर्मचारीको कार्ड बोकेर आमालाई चेकजाँचका लागि रामप्रसाद अघि सरेका हुन्।
रामप्रसादको आमालाई यो उमेरमा पाठेघरको समस्या छ। बिहान ४.०० बजेको लामो लाइनमा अफिसरको कर्मचारी कार्ड बोकेर बल्ल तल्ल नाम लेखाउने पालो आएका रामप्रसादलाई थाहा थिएन कि एक दिनमा जम्मा १० जनाको चेक हुँदो रहेछ।
लामो लाइनमा बसेपछि पालो आउने समयमा उनलाई भनियो- आजको कोटा सकियो, अर्को दिन आउनुहोला।
अज गज्जब त के रहेछ भने उनले आमाको रोगको लागि चेक गर्नुपर्ने डाक्टरको हप्तामा दुई दिन मात्र ड्युटी पर्दो रहेछ। भोलि नै पनि आउनु पाइएन अब यो हप्ताको अर्का एकदिन त्यसैगरी लाइनमा बस्नुपर्ने भयो।
भाग्यबस त्यसैगरी बिहानैदेखि अर्को बिहान लाइन बसेका रामप्रसादको पालो आयो त्यो पनि १० जना भित्र। यहाँ नाम लेखाउन पालो आउनु र १० जनाको कोटाभित्र पर्नु भनेको ठूलो भाग्य रहेछ। लाइन बस्दासम्म मुटुको गति बिरामीको भन्दा बेसी बढ्दो रहेछ। यसरी पालो पाएपछि ती वृद्ध आमालाई साथमा लिएर १० बजे नै अस्पतालमा उपस्थित भए।
उनको कोठा नम्बर पुग्ने गल्ली, कुर्सी सबै ठाउँमा मान्छेको भीड नै भीड थियो। ती वृद्ध आमालाई हातमा समातेर ठेलमठेल गर्दै उनी आफ्नो सम्बन्धित कोठाको ढोकामा पुगे। रूखो आवाजमा ढोकामा नअडिनुस् पर जानुस् पर भन्दै धक्का दिँदै ढोकामा बसेका कर्मचारीले पर सार्न खोजे। त्यो खचाखचमा कहाँ सर्ने सम्भव नै थिएन।
यसरी खचाखच भीडमा ती बुढीआमालाई हातमा पकडेर एकछिन त्यही ढोका अगाडि उभिए। भित्रबाट कोही निस्किएपछि भित्र जाने आशामा। वृद्धवृद्धाको लागि यहाँ भने लाइनमा बस्नुपर्ने रहेनछ। जब भित्रबाट कोही निस्कियो एक अधबैसे महिला ती वृद्धालाई देखे नदेखेजस्तो गरी भित्र छिरिहालिन्। पछिपछि रामप्रसाद आमालाई डोराउँदै भित्र त छिरे तर डाक्टरले निरिह बन्दै ती अधबैसे महिलालाई देखाउँदै उहाँहरू आएर बसी हाल्नुभयो तपाईंहरू बाहिर जानुस् उहाँहरू पछि आउनुहोला भन्न बाध्य भए। रामप्रसाद फेरि वृद्ध आमालाई डोराउँदै बाहिर आए।
नेपाल सरकारले ऐन, नियम नै बनाएर विभिन्न सार्वजनिक स्थानमा वृद्धवृद्धालाई विशेष सुविधा दिएको छ। तर भावना विहीन बन्दै गएको व्यक्ति र समाजमा त्यस्ता कानुन नै मजाक बनेका थुप्रै उदाहरण पाइन्छन्। सार्वजनिक सवारीमा महिला, वृद्ध भनी सिट छुट्याइएको हुन्छ तर महिला सिटमा एक तन्नेरी युवती बस्छिन् र त्यहाँ जब कोही वृद्ध महिला बस्न खोज्छिन् ती तन्नेरी महिलाले उनलाई देखिन्छ कि भनी टाउको नउठाई बसेर यात्रा गर्छिन्। त्यसैले कतिपय विषयमा ऐन, कानुन र नियमभन्दा पनि मानवता, भावना र नैतिकता भएको मानव समाजको निर्माण गर्नुपर्ने आवश्यकता रहेछ।
माथिको ती वृद्धालाई देखे नदेखेझैं गरी खुसुक्क ढोकाबाट भित्र छिर्ने पात्र पनि त्यही भावना, नैतिकता र मानवता मरेको अहिलेको मानिसको एक उदाहरण थियो।
यसरी बल्ल बल्ल पालो आयो। चेक गराए फेरि त्यहाँबाट अर्का डाक्टरलाई चेक गर्ने भनी अह्राएर रामप्रसादलाई पठाइयो। उता डाक्टरले अर्का डाक्टरलाई चेक गर्न भनेपछि उनी सरासर एक हातमा हस्पिटलको कार्ड र अर्का हातमा आमालाई डोर्याउँदै त्यतातर्फ लाग्दछन्। कार्ड इन्ट्री गर्ने ठाउँमा बसेकी एक स्टाफले कार्ड हेर्छिन् र भन्छिन्- खोई यहाँ चेक गर्ने टिकट लिनु भएको रहेनछ। हुँदैन टिकट लिएर आउनु।
रामप्रसादले उताबाट डाक्टरले पठाउनु भएको हो सानो कुरा सोध्नु छ एकपटक डा.साहेवलाई भेट्न दिन अनुरोध गर्दछन्। निकैबेर त्यहाँ भएको वार्तालाप उताबाट चेक गर्नुपर्ने डा.ले सुनिरहेका हुन्छन्। तर कुनै प्रतिक्रिया दिँदैनन्।
रामप्रसादले एकपटक म डा.साहेवलाई अनुरोध गर्छु त्यहाँ जान दिनुस् यी वृद्ध आमालाई लिएर कतिपटक अस्पताल धाइरहनु भनेपछि ती कार्ड हेर्ने स्टाफले रामप्रसादलाई डा. भएको ठाउँमा जान दिन्छिन्।
अघिदेखि वार्तालाप सुनिरहेका डा.को छेउमा मात्र रामप्रसाद के पुगेका थिए, डा.साहेबले कार्ड पनि नहेरी टिकट नलिई हुँदैन भन्ने जबाफ दिए।
फेरि रामप्रसादले सानो सल्लाह मात्र हो आमाको धेरै समय लाग्दैन एकपटक हेरिदिन के आग्रह गरेका थिए कर्कस आवाजमा ती डा.साहेवले रामप्रसादलाई भने- यहाँ सबैलाई सानो सल्लाह नै दिने हो। मैले सल्लाह लिएको नै पैसा लिने हो जानुस् टिकट लिएर आउनुस्।
यति डा. साहेबको कुरा सुनेपछि रामप्रसादले कुनै प्रतिक्रिया दिएनन् र आमालाई डोर्याउँदै बाहिर ल्याएर त्यही उभिन लगाई टिकट लिन काउन्टरमा जान्छन्। टिकट लिन काउन्टरमा पुगेको आजको कोटा सकियो अब दिउँसो २ बजे फेरि टिकट खुल्छ त्यतिबेला टिकट लिनुहोला भन्ने जबाफ पाउँछन्।
२ बजेको टिकट पनि कोटा सकिन्छ कि भनेर त्यहाँ बसेका गार्डलाई राम्रोसँग सोध्दछन् फेरि २ बजेको टिकट पनि कोटा सकिन्छ कि भन्नुस् टिकट काट्न कति बजे आइपुगौं। गार्डले कोटा सकिँदैन २ बजे आउनुस् भनेर फर्काउँछन्।
बिहान १० बजेदेखि वृद्धाआमालाई भीडभाडमा घिसार्दै हिँडेका रामप्रसादलाई अब २ बजेसम्म कुर्नुपर्ने भयो। आमाको उपचार गर्न गएका रामप्रसाद यही पाराले आफै पनि बिरामी पर्ने सम्भावना देखियो ती एक रोगले थलिएकी आमालाई यो अस्पतालको थिचाइले अरू कुन कुन रोग निम्ताउने हो भन्ने चिन्ता पनि उनलाई थियो। त्यही अस्पतालको कुर्सीमा कुर्दा कुर्दा दुई बज्यो रामप्रसाद टिकट काउन्टरमा पुगे तर अचम्म टिकट काउन्टरमा लामो लाइन थिएन। रामप्रसादले टिकट लिन जब आफूसँग भएको हस्पिटलको कार्ड अघि बढाए भित्रबाट आवाज आयो- यो कार्ड चल्दैन नयाँ कार्ड बनाउनु पर्दछ। टिकट काट्न रु ७००.०० लाग्दछ भने तa उनी अचम्ममा परे।
उनले सोचेका थिए बिहान टिकटको रु १०० थियो अहिले पनि त्यही नै होला तर होइन रहेछ त्यो पनि ठिक छ त्यहाँ २ बजे टिकट शुल्क ७००.०० भनि कतै टाँसिनु पर्दथ्यो त्यो पनि कतै टाँसिएको थिएन। ती गार्डलाई पटक पटक २ बजेको टिकटको पनि कोटा सकिन्छ कि भनेर सोध्दा तिनले पनि भनिदिनु पर्थ्यो। महँगो टिकटमा कुनै कोटा हुँदैन भनेर तर यसरी सरकारले दिएको सुविधा पाउनको लागि गएकी नेपाल सरकारको उच्च पदस्थ कर्मचारीको वृद्ध आमाको उपचारका लागि छलकपट गरी बिहानको सस्तो टिकटमा कोटा निर्धारण गरी त्यही अस्पताल र त्यही कुर्सीमा बसेर महंगो टिकटमा जति पनि बिरामी हेर्ने ती डा.साहेवलाई रामप्रसादले सोध्न चाहन्थे यी वृद्ध नागरिकलाई चेकअपको लागि केको कोटा, केको टिकट अनि के को लाइन तर बिडम्वना त्यो सोध्ने हैसियत सहितको नेपाली नागरिक रामप्रसाद थिएनन्।
७०० को टिकट काटेपछि पहिला सल्लाह दिएको समेत पैसा लिने डा.साहेवकोमा आमालाई डोराउँदै गए रामप्रसाद। बिहानको चिडचिडापन उनमा अहिले थिएन। यता उता घुमेजसो गरी यो महंगो टिकट कति जनाले काटेछन् भनी दर्ता रजिष्टरमा आँखा घुमाउँदै उनले आमाको प्रेसर नापे अनि त्यही नयाँ महंगो कार्डमा पहिलाको नै औषधि निरन्तर गर्ने भन्नी लेखेर अर्को दुई हप्तापछि आउनु भने।
रामप्रसादले सोधिहाले फेरि आउँदा यही महंगो टिकट काटौं कि अर्कोमा टिकट काट्दा हुन्छ डा.साहेव? डा.साहेवले मुस्कुराउँदै भने- जुनमा भए पनि हुन्छ सायद मनमनमा भने होलान् सस्तो टिकट त हाम्रो कोटाले भ्याउनु पर्यो नि सजिलै जति पनि पाउने त यही महंगो टिकट नै हो।
रामप्रसाद र उनकी आमाले भोगेको यो प्रतिनिधि घटना मात्र हो।
प्रश्न त के हो भने त्यही अस्पतालमा, त्यही कुर्सीमा सस्तो टिकटमा कोटा निर्धारण गरेर महंगो टिकट त्यो पनि जानकारी नदिइकन छल गरी टिकट काट्न बाध्य बनाउने निजामती अस्पतालको यो नियम नेपाल सरकारको हो? हो भने सर्वसाधारणले जानकारी पाउनेगरी सूचना किन टाँसिएन र यदि सरकारको नियममा यो पर्दैन भने अस्पताल जस्तो ठाउँमा दिनदहाडै नागरिकलाई लुट्ने यो नियम किन चलिरहेको छ? यसको जबाफ लिन सक्ने न त हामीसँग त्यो नागरिक समाज छ न त त्यस्तो ल्याकत राख्ने नेपाल सरकार नै।
देशभक्त निजामती कर्मचारीको परिवारलाई दिइएको सुविधामा समेत गोलमटोल गरेर लुट्ने व्यवस्थाका विरूद्धमा आवाज उठाउने आखिर कसले। अकुत सम्पत्ति कमाउने ठाउँमा भएको कर्मचारीले सायद त्यहाँ उपचार नै गराउँदैन अनि जो निरीह कर्मचारी छन् तिनले जस्तो ढिलासुस्त र अव्यवस्थित कर्मचारीतन्त्र छ त्यही ढिलासुस्ती र लम्वातान अल्झाउने, बल्झाउने निजामती कर्मचारी अस्पतालको व्यवस्थापनमा आफ्नो छायाँ देखेर चित्त बुझाएका होलान् तर रामप्रसाद आफू स्वयं निजामती कर्मचारी नभएका कारण त्यहाँ एक देशभक्त कर्मचारीलाई जन्म दिने ८० वर्षीय आमालाई उपचारमा गरिएको त्यो व्यवहार, डा.साहेवको त्यो बोली र साना साना कुरामा अड्काउने र झर्कने प्रक्रिया उनलाई पाच्य भएन।
यदि निजामती कर्मचारीको परिवारलाई सुविधा दिने हो भने सम्मान सहितको सुविधा दिने व्यवस्थापन गरिनु जरूरी छ होइन भने देशभक्त कर्मचारीको कार्ड बोकेर गरिने यो दुर्व्यवहार भन्दा यो सुविधा नै कटौती गरिदिए हुन्छ।
निजामती कर्मचारीले पाएको सुविधा कुनै भिख, दया र मायाले दिएको सुविधा होइन, यो उसले नेपाल सरकारबाट पाएको अधिकार हो। निजामती कर्मचारी र उसको परिवारको सम्मान सहितको सुविधाको व्यवस्था गरी उपचारको सुविधा दिएको बहानामा उसलाई अपमानित गर्ने यो घृणित व्यवस्थापकिय प्रक्रियामा सुधार गरौं।
रामप्रसादले आमाको अपरेसनको लागि राम्रो डा.को खोजी गर्ने क्रममा निजामती अस्पतालमा आमालाई पुर्याएका थिए। रामप्रसादले थपे माथि उल्लेख गरिएका बेथितिहरूका अलावा जसले रामप्रसादकी आमाको अपरेसन गरे ती डा. साहेवहरुको व्यवहार निकै नै राम्रो थियो। कतिपय त्यहाँ भएका अन्य स्टाफहरू पनि निकै मिजासिला, सहयोग गर्ने र रामप्रसादकी वृद्ध आमामा आफ्नै आमा हजुरआमा देखि उपचारको प्रक्रियामा सहयोग गर्नेहरू पनि थिए।
तर सबै कुरा सिस्टममा नभएपछि ती राम्रो गर्ने पात्रहरू पनि समग्र अस्पतालको बेथितिमा विलिन हुँदा रहेछन्।
आमाको उपचारको क्रममा ज-जसले नराम्रो व्यवहार गर्नुभयो उहाँहरूले धेरै कुरा सिकाउनु भयो। देशको ऐना देखाउन मद्धत गर्नुभयो र जसले राम्रो व्यवहार गर्नुभयो, सहयोग गर्नुभयो। उहाँहरूले आफ्नो राम्रो परिचय सहित भावनात्मक सम्बन्ध स्थापना गर्नुभयो। त्यसैले निजामती कर्मचारी अस्पतालका सबैलाई हार्दिक धन्यवाद रामप्रसादले भने।
अहिले सरकार बदलिएको छ, देशमा कयौं समस्याहरू छन् जसले गर्दा यी सानातिना विषयमा सरकारको ध्यान नजान पनि सक्छ तर नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने यी र यस्ता विषयहरूमा समाधान गरिदिने हो भने मात्र आम जनताले बदलिएको सरकारको महसुस गर्नेछन्।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कम्तीमा व्यापारको जालो विस्तारै भत्काउन सके सरकारको ठूलो उपलब्धि हुनेछ।