बयलवास, सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहँदै आएको छ।
अहिलेको जस्तो बयलवास त्यो बेला थिएन। आजभन्दा पचास–पचपन्न वर्ष पहिले खपडाले छाएका दुईतले घर मुस्किलले पाँच–छवटा मात्र थिए। बाँकी खर र माटोका झुप्राहरू बाटोका दुवैतिर लस्करै थिए।
बाटोदेखि पूर्वतिर पशुहरूको बजार लाग्थ्यो। दक्षिण–पूर्वमा प्रहरी थाना थियो र उत्तर–पश्चिमतिर जनकपुर चुरोट कारखानाको भव्य गोदाम थियो।
बजारबाट झण्डै दुई किलोमिटर उत्तरतिर नारायण हाईस्कुल थियो।
हाईस्कुल खपडाले छाएका र खरले बारिएका दुई वटा लामा घरहरू थिए। दुईमध्ये एउटामा शिक्षक आवास, छात्रावास र होस्टेल थियो भने अर्कोमा कक्षाकोठाहरू थिए।
मैले यो स्कुलमा २०२६ र २०२७ साल गरी दुई वर्ष पढेँ।
पहिलो वर्ष बयलवासबाट एक कोस दक्षिण रहेको खड्काटोलमा, जहाँ मेरी ठाइली दिदीको घर थियो, त्यहीँ बसेर स्कुल धाएँ। दोस्रो वर्ष स्कुलकै छात्रावासमा बसेर पढेँ।
खड्काटोलमा मेरो साथी हरिहर भट्टराई थियो। ऊ अति स्वाभिमानी र मिलनसार थियो।
हुन त अर्को कृष्ण घिमिरे पनि थियो, तर ऊ हामीसँग त्यति बोल्न रुचाउँदैनथ्यो। त्यसो त उसको साइकल पनि थियो। ऊ साइकल चढेर स्कुल जान्थ्यो।
म चाहिँ दिदीले साढे आठ बजेतिर खाना तयार गरिदिनुहुन्थ्यो। खाना खाएर किताब–कापी मिलाउँदा र लुगा लगाउँदा नौ बज्थ्यो। नौ बजेपछि हरिहर पनि आइपुग्थ्यो। दुवै मिलेर स्कुल जान पूरा एक घण्टा दौडिनुपर्थ्यो।
मभन्दा हरिहर अलि बढी दौडिन्थ्यो। ऊ तीन–चार मिनेट अगाडि नै पुग्थ्यो। क्लासमा मास्टर छिरिसकेपछि पुगियो भने एक छडी खानुपर्थ्यो। तर हामी दुवैले यस्तो छडी खानुपरेको थिएन।
वैशाख र जेठ दुई महिना बिहानको पढाइ हुन्थ्यो। बिहान छ बजे स्कुल लाग्थ्यो। त्यसका लागि पाँच बजेदेखि नै कुद्नुपर्थ्यो। बाह्र बजे स्कुल छुट्टी हुन्थ्यो। बाह्र बजेको टन्टलापुर घाममा भोको पेट लिएर डेढ कोस यात्रा गर्नु निकै गाह्रो हुन्थ्यो। लखतरान भएर दुई–अढाई बजेतिर खड्काटोल पुगिन्थ्यो।
दिदीसँग सधैँ पैसा हुँदैनथ्यो। दिदीको आम्दानीको स्रोत भनेको परेवा बिक्री थियो। परेवा बेचेको बेला भने खाजा खानू भनेर आठ आना पैसा दिनुहुन्थ्यो।
बजारको पुछारमा एउटा खाजा पसल थियो। हरिहर र म दुवैले चार–चार आनाको चिउरा र चना खान्थ्यौँ।
खाजा खाएको दिन हामीलाई घर जान हतार हुँदैनथ्यो। पक्की बाँधबाट आएको खोल्सोजस्तो नहर बाटोमै पर्थ्यो। त्यसैमा दुई घण्टा डुबेर मात्र घर जान्थ्यौँ।
हाम्रो कक्षामा पैंतालीस जना केटा र एउटी केटी थिइन्। केटीको नाम कल्याणी थियो। उनका लागि अलग्गै डेस्क–बेन्चको व्यवस्था गरिएको थियो।
केटी एउटी मात्र भए पनि उनको उपस्थितिले केटाहरूमा नयाँ उमङ्ग छाउँथ्यो। सबै केटाहरू उनीसँग बोल्न पाउने आशाले केही न केही बहाना बनाउँथे। उनी अलि छुच्ची स्वभावकी र मनमा लागेको कुरा प्याच्च भनिहाल्ने खालकी थिइन्।
उनलाई अरू कुराभन्दा पनि ‘हिन्दी साहित्य’ पुस्तक पढ्नु परेको कुरा पटक्कै चित्त बुझेको थिएन। हिन्दी पढाउने शिक्षकसँग उनी सधैँ यस्तै प्रश्न गरिरहन्थिन्।
उनी भन्थिन्, ‘हाम्रो देश नेपाल हो भने हामीले ‘हमारा देश भारत महान है’ भनेर किन पढ्नुपर्छ?’
वास्तवमा हिन्दी साहित्यको पुस्तकमा ‘हमारा देश भारत महान है’ भन्ने पाठ थियो। त्यसैगरी महात्मा गान्धी, जवाहरलाल नेहरू, रवीन्द्रनाथ ठाकुर तथा भारतीय स्वतन्त्रता सङ्ग्रामसम्बन्धी लेखहरू पनि समावेश थिए।
हिन्दी साहित्य पढ्न अरू विद्यार्थीलाई पनि मन थिएन, तर उनीहरू बोल्न सक्दैनथे।
त्यो बेला स्कुलमा दुई पटक टिफिन हुन्थ्यो। पहिलो साढे बाह्र बजेदेखि एक बजेसम्म र दोस्रो दुई बजेदेखि साढे दुई बजेसम्म।
दुवै टिफिनमा बजारबाट एकजना व्यापारी झिल्ली, मुरही, चना, चिउरा, कचरी, निम्की, पापड आदि बेच्न ल्याउँथे।
धेरैजसो विद्यार्थी त्यतैतिर लाग्थे। हरिहर र म भने अरूहरूसँग लुडो, रिङ र क्यारमबोर्ड खेल्थ्यौँ।
आज दिदीले दिएको एक मोहोर हामीसँग थियो। त्यसैले खाजा पसलको बेन्चमा बसेर खाजाको अर्डर गर्यौँ। खाजा खाएर हामी बाह्र बजेको प्रचण्ड गर्मीसँग पौठेजोरी खेल्दै दक्षिणतर्फ लाग्यौँ।
दिदीको घरमा बा आउनुभएको रहेछ। त्यो दिन उहाँ त्यहीँ बस्नुभयो र भोलिपल्ट फर्किनुभयो।
दिदीले खाजाको कुरा बासँग गर्नुभएको रहेछ क्यारे। बा गएपछि दिदीले दिनहुँ आठ आना पैसा दिन थाल्नुभयो।
पैसा पाउन थालेपछि हाम्रो जीवनशैली नै फेरियो। हामी अब दिनहुँ खाजा पसलमा बसेर खाजा अर्डर गरेर खान थाल्यौँ।
हरिहरले पनि कहिलेकाहीँ पैसा ल्याउँथ्यो। त्यो बेला हामी तीस पैसामा एक–एक कप चिया पनि खान्थ्यौँ।
हाम्रो स्कुलमा सरस्वती पूजाको रौनक सुरु भइसकेको थियो।
पन्ध्र दिनअघिदेखि नै विलियम शेक्सपियरको ‘भेनिसका व्यापारी’ नाटकको रिहर्सल भइरहेको थियो। सरस्वती पूजाको दुई दिनअघिदेखि ग्रामोफोनबाट हिन्दी गीतहरू बजिरहेका थिए। बुनिया, जेरी, पुरी आदि प्रसादका सामग्री तयार भइरहेका थिए।
प्रसाद बनाउने कार्यमा कल्याणीको सक्रियता उल्लेख्य थियो। तर कल्याणीलाई हिन्दी गीत र विदेशी नाटक मन परेको रहेनछ। उनी कक्षामा र माथिल्ला कक्षाका केटीहरूसँग यसबारे बहस गरिरहेकी थिइन्।
हामी हिन्दी गीत त सुन्थ्यौँ, तर नाटकको रिहर्सल हेर्न हामीलाई फुर्सद थिएन।
स्कुल छुट्टी हुनेबित्तिकै डेढ कोस दौडिनुपर्थ्यो।
आज हामी खाजा खाँदै गर्दा खड्काटोल नजिकैको कन्तलाल पनि आइपुग्यो। उसले पनि खाजाको अर्डर गरेर खान थाल्यो।
खाजा खाइसकेपछि उसले मतिर हेरेर भन्यो, ‘साइकलमा जान्छौ मसँग?’
मलाई पहिलेदेखि नै यो नाङ्लाजत्रा पाङ्ग्रा भएको दुईपाङ्ग्रे गाडी निकै अनौठो लागेको थियो। हिँड्दा आफैँ हिँड्ने र उभिँदा टेको लगाउनुपर्ने। यसमा चढ्दा कस्तो हुँदो हो भन्ने जिज्ञासा पनि थियो। त्यसैले मैले तुरुन्तै, ‘जान्छु,’ भनिहालेँ।
उसले मलाई पछाडि बसाएर साइकल कुदायो। कस्तो मजा! वास्तवमा साइकलको पछाडि बसेर यात्रा गर्नु साँच्चिकै रोमाञ्चकारी हुँदो रहेछ। तर बाटोभरि मलाई हरिहरलाई एक्लै छाडेर आफू साइकलमा आएकोमा ग्लानि र पश्चात्ताप भइरह्यो।
म खड्काटोल पुग्नेबित्तिकै हरिहरको घर गएँ। ऊ आइपुगेको थिएन। करिब बीस मिनेट पर्खेपछि आइपुग्यो।
साइकल मुख्य बाटो हुँदै आउनुपर्थ्यो, त्यसैले अलि घुमाउरो पर्थ्यो। पैदल हिँड्ने गोरेटो भने सोझो थियो। फेरि साइकललाई उछिन्ने जोसमा हरिहर अरू दिनभन्दा बढी दौडिएछ पनि। त्यसैले अरू दिनभन्दा अलि चाँडै आइपुगेको रहेछ।
मलाई देख्नेबित्तिकै उसले सोध्यो, ‘कस्तो लाग्यो त साइकल चढ्न?’
मैले भनेँ, ‘साइकल चढ्न त रमाइलो लाग्यो, तर तिमीलाई छोडेर आउँदा चाहिँ त्यति रमाइलो लागेन।’
हरिहरले मेरो पछिल्लो वाक्यलाई खासै महत्त्व दिएन।
उसले सहज भावले भन्यो, ‘म पनि दुई–तीन पटक साइकल चढेको छु नि! एकपटक यही कन्तलालले चढाएको थियो। रामबिलासको साइकलमा पनि चढेको छु म त।’
उसको स्वरमा गर्व मिसिएको थियो।
सधैँको साथीलाई छोडेर आफू साइकलमा गएकोमा साथी रिसायो होला भन्ने लागेको थियो, तर त्यस्तो भएन। मनमा सन्तोष मात्र होइन, उसको उदार विचारप्रति कृतज्ञता पनि जाग्यो। साथै मनमनै उसलाई छोडेर फेरि कहिल्यै साइकलमा नजाने प्रण पनि गरेँ।
दिनहरू बित्दै गए। आजदेखि हाम्रो स्कुलमा वार्षिक परीक्षा सुरु भयो।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा थियो। एउटा बेन्चमा तीन जना विद्यार्थी बस्ने गरी सिट–प्लानिङ गरिएको थियो। म बस्ने बेन्चको एक छेउमा कल्याणी, बीचमा म र अर्को छेउमा रामबिलास परेछौँ।
दुवै विद्यार्थी मभन्दा जान्ने भएकाले केही सहयोग पाइएला भन्ने आशा थियो।
अङ्ग्रेजीमा म निकै कमजोर थिएँ। कतिपय प्रश्न त बुझ्नै सक्दिनथेँ। प्रश्नपत्र हेरेँ। गाईको विषयमा निबन्ध लेख्नुपर्ने रहेछ। कनिकुथी निबन्ध लेखेँ। अर्को सारांश लेख्ने प्रश्न थियो। बाँकी व्याकरणका प्रश्नहरू थिए।
अरू प्रश्न कहाँबाट लेख्ने, के लेख्ने, केही मेलोमेसो पाइएन।
यो कुरा कल्याणीले थाहा पाइछिन् क्यारे। उनले बिस्तारै सोधिन्, ‘के भयो? केही पनि लेखेको छैनौ त!’
मैले टाउको कन्याउँदै भनेँ, ‘यो आठ नम्बरको प्रश्नबाहेक केही लेख्न सकिनँ।’
उनले आफ्नो उत्तरपुस्तिका मतिर सार्दै भनिन्, ‘चाँडो–चाँडो लेख।’
मैले सकेसम्म सारेँ। त्यसपछि उनले थप उत्तरपुस्तिका मागिन् र आफ्नो मूल उत्तरपुस्तिका नै केही बेरका लागि मलाई दिइन्। मैले पनि खुइखुइ सार्न थालेँ।
भोलिपल्ट गणितको परीक्षा थियो। गणितमा हामी तीनै जना पोख्त थियौँ। कसैले कसैको सहयोग माग्नुपरेन।
तेस्रो दिन विज्ञानको परीक्षा पनि सहजै भयो।
हिन्दी, पञ्चायत र संस्कृत भने अलि झुर विषय थिए। ती विषयमा हामीले एकअर्कालाई सहयोग गर्दै परीक्षा दियौँ।
परीक्षामा कल्याणीले गरेको सहयोगका कारण मैले उनीमा आफ्नी कान्छी दिदीको प्रतिमूर्ति देख्न थालेँ। मेरी कान्छी दिदीले पनि मलाई एक कक्षादेखि पाँच कक्षासम्म यसैगरी सहयोग गरेर पास गराउँदै लैजानुभएको थियो।
एक दिन मैले उनलाई भनेँ, ‘तिमीले अङ्ग्रेजीमा गरेको सहयोग जीवनभर बिर्सने छैन।’
उनले हाँस्दै भनिन्, ‘एउटै क्लासको साथी भएपछि, एकअर्कालाई सहयोग त गरिहालिन्छ नि। अरू विषयमा मैले पनि त तिमीसँग सहयोग लिएकी छु।’
त्यसपछि फेरि सोधिन्, ‘सीता तिम्री दिदी होइनन्? किन पढ्न छाडेकी?’
मैले भनेँ, ‘सीता दिदी एकदेखि पाँच कक्षासम्म सधैँ प्रथम हुनुहुन्थ्यो। पाँच कक्षामा त स्कुल प्रथम नै हुनुभएको थियो। बा–आमाको हामी दुवैलाई पढाउने इच्छा थियो, तर उहाँले भने पढ्न पाउनुभएन।’
कल्याणी केहीबेर मौन भइन्। सायद उनले आफ्नै जीवनबारे सोचिरहेकी थिइन्।
उनलाई पनि पाँच कक्षा पास गरेपछि छिमेकी र नातागोताले अब पढाउन नहुने सल्लाह दिएका थिए। एक वर्ष त्यसै अलमलिएर बितेको थियो। पछि उनका मामाले आएर उनलाई छ कक्षामा भर्ना गराइदिएका थिए।
एकछिनपछि उनले दृढ स्वरमा भनिन्, ‘म त जसरी पनि पढ्छु। संघर्ष गरेर भए पनि पढ्छु। विद्रोह नै गर्नुपरे पनि पछि पर्दिनँ।’
उनको स्वरमा असाधारण आत्मविश्वास झल्किरहेको थियो।
केहीबेरपछि मैले भनेँ, ‘अबदेखि म तिमीलाई दिदी भन्छु है!’
उनले हाँस्दै भनिन्, ‘धत्! कतै एउटै कक्षामा पढ्नेहरू दिदी–भाइ हुन्छन् र? हामी त सबै साथी हौँ नि।’
एकछिन रोकिएर फेरि सोधिन्, ‘तिमी कति वर्षका भयौ?’
मैले आफ्नो जन्ममिति बताएँ।
त्यसपछि उनी मुस्कुराउँदै भनिन्, ‘ए, म त साँच्चै दिदी नै रहेछु। तिमी मेरो भाइसँगकै उमेरका रहेछौ। सात कक्षामा पढ्ने केशव मेरो भाइ हो नि।’
मैले खुसी हुँदै भनेँ, ‘अब त दिदी भन्न पाइयो त!’
उनले फेरि हाँस्दै भनिन्, ‘हुन्छ, हुन्छ। जे भन्न मन लाग्छ त्यही भन।’
यति भन्दै उनी हिँडिन्।
परीक्षा सकिएपछि पन्ध्र दिन स्कुल बिदा भयो। म घर गएँ।
गाउँभरि छ कक्षामा पढ्ने कोही थिएन। त्यसैले मेरो बारेमा गाउँमा निकै चर्चा चल्यो।
दाजु वार्ड सदस्य हुनुहुन्थ्यो। घरमा मानिसहरूको जमघट भइरहन्थ्यो। भूमिसुधार लागू भएपछि त झन् घरमा मानिसहरूको चहलपहल बढेको भनेर आमाले भन्नुहुन्थ्यो।
गाउँमा एउटा धर्मभकारी स्थापना गरिएको थियो। मंसिरमा धान पाकेपछि प्रत्येक परिवारले निश्चित परिमाणमा धर्मभकारीमा धान जम्मा गर्नुपर्थ्यो। त्यसलाई ‘बचत’ भनिन्थ्यो।
फागुनदेखि कात्तिकसम्म आवश्यक परेमा त्यही धान सापटी लिन पाइन्थ्यो। अर्को वर्ष सापटी लिएको धान र नयाँ बचत दुवै फिर्ता गर्नुपर्ने व्यवस्था थियो।
बचत लिन आउनेले दुई वटा कागज लेख्नुपर्थ्यो।
पहिलो, बचत पाऊँ भन्ने निवेदन र दोस्रो, अमुक मितिमा तिर्छु भन्ने कबुलियतनामा।
यी दुवै कागज लेख्ने जिम्मेवारी मैले पाएँ। यसबापत प्रत्येक व्यक्तिबाट एक रुपैयाँ पाउने भएँ।
पहिलो दिन हिसाब गर्दा झण्डै चार रुपैयाँ मेरो गोजीमा जम्मा भएछ। पैसा त अरू पनि हुन्थ्यो, दुई जनासँग पैसा नलिनू भनेर दाजुले भन्नुभएको थियो। उनीहरूबाट पैसा लिइनँ। बाँकीमध्ये दुई जनाले एक–एक मोहोर मात्र दिए।
जे भए पनि जीवनमा पहिलोपटक यति धेरै रुपैयाँले मेरो गोजी भारी भएको थियो। म त फुरुङ्ग परेर भुइँमा न भाँडोमा भएको थिएँ।
बेलुकीपख म दौडिँदै एक किलोमिटर टाढाको चौतारा गाउँको पसलमा गएँ। त्यहाँबाट अलिकति मिश्री, एउटा रातो साबुन र एउटा काइँयो किनेर ल्याएँ।
मिश्री सानैदेखि खाएको थिएँ तर अरूले दिएको मिश्री र आफ्नै कमाइले किनेको मिश्रीको स्वादमा आकाश–जमिनको फरक हुँदो रहेछ।
मैले घरमा रहेका दाजुका छोराछोरीहरूलाई पनि मिश्री बाँडेँ।
अरूसँग मागेर खानुभन्दा अरूलाई दिएर खाँदा छुट्टै आनन्द आउँदो रहेछ।
यसरी नै बिदाका दिनहरू बित्दै गए। अन्ततः स्कुल जाने दिन पनि आयो। मलाई लिएर बा फेरि सर्लाही जानुभयो। अबदेखि ठाइली दिदीको घरबाट स्कुल जान दौडिनु नपर्ने भयो। मलाई स्कुलको छात्रावासमा बस्ने व्यवस्था मिलाएर बा घर फर्किनुभयो।
छात्रावासमा खाना खाने घण्टी बजेपछि सबैले थाल र लोटामा पानी लिएर लाइनमा बस्नुपर्थ्यो। भान्सेले एक–एक अञ्जुली भात हाल्थ्यो। अर्कोले दाल नामको खोर्सानीले झानेको झोल दिन्थ्यो र तेस्रोले तरकारी बाँड्थ्यो।
मलाई भने त्यो भात अत्यन्त अनौठो लाग्यो। यति मोटो चामलको भात पनि हुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ। फेरि भातको बास्ना पनि कस्तो कस्तो नमिठो थियो।
भातका दाना एकअर्कामा टाँसिएका थिएनन्। दाल र भातको सम्बन्ध पनि राम्रो थिएन। जति मुछ्न खोजे पनि दाल एकातिर र भात अर्कोतिर हुन्थ्यो।
भात खाँदा च्युइङगम चबाएझैँ मर्याङमर्याङ चपाउनुपर्थ्यो। तरकारी र भातको सम्बन्ध भने केही राम्रो जस्तो लाग्यो। खाने मान्छेले निकै प्रयास गर्यो भने तरकारी र भात मिल्न सक्थे कि जस्तो लाग्यो।
दिउँसो मैले माधव दाइसँग छात्रावासको खानाबारे जिज्ञासा राखेँ।
माधव दाइ कक्षा नौका प्रथम विद्यार्थी हुनुहुन्थ्यो। मलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइदिनेदेखि आवश्यक सबै काममा उहाँले सहयोग गर्नुभएको थियो। उहाँले मलाई आफ्नै भाइसरह माया गर्नुहुन्थ्यो।
मेरो जिज्ञासा सुनेर उहाँ मुस्कुराउँदै भन्नुभयो, ‘होइन, तिमीले उसिना चामलको भात कहिल्यै खाएको रहेनछौ।’
मैले भनेँ, ‘खान त परै जाओस्, मैले त उसिना चामल भन्ने नै सुनेको थिइनँ। कस्तो हुन्छ उसिना चामल फल्ने धानको बोट?’
उहाँ हाँस्दै भन्नुभयो, ‘उसिना चामल फल्ने धान हुँदैन। जुनसुकै धानलाई उसिनेर, सुकाएर अनि कुटेर चामल बनाइन्छ, त्यसलाई उसिना चामल भनिन्छ।’
धानलाई उसिन्ने, सुकाउने र कुट्ने झन्झट गरेर स्वादिलो चामललाई यस्तो जर्खरिएको चामल किन बनाइन्छ होला भन्ने प्रश्न मेरो मनमा खेलिरह्यो। तर दाइलाई केही भन्न सकिनँ।
भोलिपल्ट नतिजा प्रकाशित हुने दिन थियो। आजैदेखि विद्यार्थीहरू नुहाउने, लुगा धुने र आफूलाई सफासुग्घर बनाउने काममा व्यस्त थिएँ।
भोलिपल्ट स्कुलको परिसर सफा र आकर्षक बनाइएको थियो। एकातिर शिक्षकहरूका लागि लस्करै कुर्सी राखिएका थिए भने अर्कोतिर विद्यार्थीहरू बस्ने व्यवस्था गरिएको थियो।
त्यो बेला विद्यार्थीहरू तीन प्रकारले उत्तीर्ण हुन्थे। पहिलो, डिभिजन ल्याएर पास हुने; जसमा प्रथम, द्वितीय र तृतीय श्रेणी हुन्थ्यो। दोस्रो, सबै विषयमा पास भए पनि डिभिजन नआउनेहरू। तेस्रो, केही विषय लागे पनि माथिल्लो कक्षामा बढुवा हुनेहरू, जसलाई ‘प्रमोटेड पास’ भनिन्थ्यो।
डिभिजन ल्याउनेहरूलाई मञ्चमा बोलाएर माला लगाइन्थ्यो भने अरूले आफ्नो नाम घोषणा भएपछि उभिनुपर्थ्यो।
कक्षा छको नतिजाबाट कार्यक्रम सुरु भयो।
मुसाफिर सरले उद्घोष गर्नुभयो, ‘अब कक्षा छको नतिजा घोषणा गरिन्छ।’
त्यसपछि उहाँले कक्षा दशकी प्रभा बस्नेतलाई मञ्चमा बोलाउनुभयो।
प्रभा मञ्चमा आएपछि मुसाफिर सरले भन्नुभयो, ‘कक्षा छमा प्रथम हुने छात्रा, विद्यालय प्रथम—कल्याणी कुमारी मैनाली।’
तर कल्याणी मञ्चमा आइन्।
दोस्रो पटक नाम बोलाइयो।
तेस्रो पटक पनि।
तर उनी कतै देखिइनन्।
विद्यालयकै प्रथम छात्रा, जसले भविष्यका ठूला सपना देखेकी थिइन्, उनी अचानक विद्यालयबाट हराएकी थिइन्।
त्यो बेला पुरुष शिक्षकले छात्रालाई माला लगाउनु उचित मानिँदैनथ्यो। त्यसैले कल्याणीलाई माला लगाउन प्रभालाई बोलाइएको रहेछ। तर कल्याणी दुई–तीन पटक नाम बोलाउँदा पनि मञ्चमा नआएपछि अन्ततः प्रभा आफ्नो स्थानमा फर्किन्।
त्यसपछि दोस्रो हुने विद्यार्थीको नाम घोषणा गरियो— कन्तलाल चौधरी।
तेस्रो— हरिहर भट्टराई।
चौथो— रामबिलास राउत।
यसरी पाँचौँ र छैटौँको नाम घोषणा गरिसकेपछि मेरो नाम आयो।
म ‘सब्जेक्टली पास’ भएको रहेछु।
म सब्जेक्टली पास हुनुमा कल्याणीको ठूलो योगदान थियो। तर आज उनी विद्यालय प्रथम भएको खुसी मनाउन स्वयं उपस्थित थिइनन्। मलाई अत्यन्त नरमाइलो लाग्यो।
नतिजा आएको भोलिपल्टदेखि कक्षा सुरु भयो, तर कल्याणी कक्षामा आइन्।
एकातिर हरिहरसँगको पुरानो निकटता छुटेको थियो। ऊसँग बिताएका दिनहरू सम्झिँदा मन उदास हुन्थ्यो। स्कुलबाट फर्कँदा बाटोमा पर्ने जंगलमा ऊ रुख चढेर कुसुम, जामुन, पुरुनी टिप्थ्यो। थाकलको गानो फुटाएर भित्रको गुदी खान पनि उसैले सिकाएको थियो। साथै खड्काटोलमा हामी अनेक खेल पनि खेल्थ्यौँ। छात्रावासमा बस्न थालेपछि त्यो सबै छुटेको थियो।
अर्कोतिर कल्याणीको अनुपस्थितिले झन् मन खाली–खाली बनाइदियो। त्यसमाथि बिहान–बेलुका घण्टी बज्नेबित्तिकै थाल र लोटा बोकेर लाइनमा बस्नुपर्ने, मुसुरोको झोलजस्तो सुपसँग उसिना चामलको भात मुछेर खानुपर्ने। जीवन एकाएक निकै नीरस लाग्न थालेको थियो। तर यस्तो अवस्था धेरै दिन टिकेन।
बिस्तारै म सबै कुरामा अभ्यस्त हुँदै गएँ। छात्रावासको खाना पनि खान सक्ने भएँ। हरिहरसँगको गहिरो मित्रता पनि सामान्य हुँदै गयो। तर कल्याणीको सम्झना भने सजिलै मेटिएन। सायद मैले उनलाई दिदीकै प्रतीकका रूपमा हेरेको थिएँ। त्यो दृष्टि आँखाले देखेको भन्दा पनि हृदयले अनुभूत गरेको रहेछ।
आँखाले देखेको कुरा चाँडै बिर्सन सकिन्छ, तर हृदयले देखेको कुरा बिर्सन सजिलो भएन।
मैले उनलाई धेरै वर्षसम्म सम्झिरहेँ।
मेरो जीवनमा दिदीहरूको ठूलो महत्त्व छ। म डेढ वर्षको हुँदा बा–आमा तीर्थयात्रामा जाँदा माइली दिदीले एक वर्षसम्म दूध खुवाउनुभयो। छ वर्षको भएपछि साहिली दिदीको घरमा बसेर पढेँ। त्यसबेला कान्छी दिदीको राम्रो साथ, सहयोग र निर्देशन पाएको थिएँ। त्यसपछि ठाइली दिदीको घरमा बसेर पढेँ।
सायद यही कारणले कसैले मलाई माया र सहयोग गर्यो भने म उसलाई दिदीकै रूपमा हेर्न थाल्ने भएछु।
कल्याणीले मलाई कसरी हेरेकी थिइन्, त्यो त मलाई थाहा भएन। तर मैले भने आफ्नै दिदीहरूबाट पाएको जस्तै सहयोग उनीबाट पनि पाएको थिएँ।
म प्रायः हरेक शुक्रबार दिदीको घर जान्थेँ र आइतबार हरिहरसँग दौडिँदै स्कुल आउँथेँ।
यसका दुई फाइदा थिए। पहिलो, हरिहरसँग कुद्न पाइन्थ्यो। दोस्रो, शुक्रबारदेखि आइतबारसम्म उसिना नगरेको चामलको भात खान पाइन्थ्यो। यी दुवै कुरा उत्तिकै रमाइला थिए।
सात कक्षाको परीक्षा पनि सकियो। पहिलेजस्तै पन्ध्र दिनको बिदा भयो। म आफ्नो सामान मिलाएर दिदीको घरतर्फ लागेँ।
त्यो दिन शनिबार थियो। बयलवासमा हटिया लागेको थियो। म हतार–हतार हिँडिरहेको थिएँ। अचानक कसैले बोलाएजस्तो लाग्यो। फर्केर हेरेँ। कल्याणी रहिछिन्।
उनी होटलको बेन्चमा बसेर मलाई बोलाइरहेकी रहिछिन्। म पनि उनी बसेको ठाउँमा गएँ।
उनी निकै बदलिएकी थिइन्। दुब्ली–पतली शरीर भएकी कल्याणीलाई चिन्नै गाह्रो परेको थियो। अनुहारको पुरानो चमक हराइसकेको थियो। कोपिलामै ओइलाएको फूलझैँ देखिन्थिन्।
उनको विवाह भइसकेको स्पष्ट देखिन्थ्यो। गलामा पोते, हातमा चुरा, नाकमा नथी र खुट्टामा पाउजु लगाएकी थिइन्। उनी उमेरले भन्दा बुढी देखिएकी थिइन्।
उनले परीक्षा, साथीहरू र शिक्षकहरूबारे धेरै कुरा सोधिन्। अन्त्यमा भावुक हुँदै भनिन्, ‘के गर्नु, मलाई पनि पढ्न मन थियो। तर पढ्न पाइएन। तिमीले भने राम्रोसँग पढ्नू। आफ्नो भविष्य बिग्रन नदिनू।’
उनको गला अवरुद्ध भयो। उनले कसैले नदेख्ने गरी आँसु पुछिन्।
उनको अवस्था देखेर मेरा आँखा पनि रसाए।
त्यत्तिकैमा एउटा अधबैँसे पुरुष आएर उनीसँगै टाँसिएर बस्यो।
कल्याणी अलिकति पर सर्दै भनिन्, ‘यी मेरा छ कक्षाका साथी हुन्। हामी सँगै पढेका।’
त्यसपछि उनले ती पुरुषतर्फ देखाउँदै भनिन्, ‘उहाँ मेरा श्रीमान्।’
उसले मतिर एकपटक हेर्यो, तर केही बोलेन। मैले नमस्कार गरेँ, तर उसले त्यसको पनि वास्ता गरेन।
कल्याणी उठ्ने तयारी गरिरहेकी थिइन्। उनका काँधमा दुई वटा झोला थिए। उनी बिस्तारै उठिन्। बाहिर निस्कँदै गर्दा उनी मेरो नजिक आइन् र निकै मधुरो स्वरमा भनिन्, ‘म गएँ है, भाइ।’
मैले केही भन्न सकिनँ।
म टोलाएर उभिरहेँ। भीडभित्र उनको आकृति बिस्तारै हराउँदै गयो। त्यो दिनपछि मैले कल्याणीलाई फेरि कहिल्यै देखिनँ।
तर परीक्षा हलमा उत्तरपुस्तिका मतिर सार्दै ‘चाँडो लेख’ भनेको उनको स्वर र दुईपट्टि झोला भिरेर ‘म गएँ है भाइ’ भनेको आज पनि कहिलेकाहीँ कानमा गुञ्जिरहन्छ। त्यति बेला र म एकाएक अतीतको विद्यार्थी जीवनमा पुग्छु र कल्याणीको बारेमा अनेकौँ राम्रा–नराम्रा कल्पनामा हराउँछु।