तिमीले भुल्यौँ, पाठशालामा नानीका कथा र ठुलो वर्णमालाका सचित्र कथाहरू मार्फत म पहिलो पटक तिमीलाई संसारको ढोका खोल्न आएको थिएँ। ती अक्षरका चिनारी मात्र थिएनन्, तिमीलाई ज्ञान र विवेकको यात्रा गराउन खोलिएका सुन्दर ढोका थिए। तिम्रो भविष्य सुन्दर बनाउन रचिएका सचित्र कथा थिए।
तिमी कति भोलभाला भर्जिन थियौँ। ती अक्षर–चित्रमा तिमी कति रमाउँदै खुसीका महाभारत र सगरमाथा चढेका थियौ। ती सचित्र वर्णन कथा, गीत, कविता मात्र थिएनन्, तिम्रा हृदय जित्ने झङ्कार थिए, संसार बुझाउने शक्ति थिए, आचरण सिकाउने सूत्र थिए। ती स्मृतिहरू तिम्रा मनमुटुमा ताजै होलान्। प्रथम यादहरू चाहेर पनि भुल्न सकिँदैन।
अक्षरले दिएको आनन्द कल्पना गर्न सक्छौ? म त्यो अजस्र आनन्दको स्रोत भएर आएको थिएँ। तिमी अहिले जहाँ छौ मैले तिमीलाई सचित्र कथा र ठुलो वर्णमाला मार्फत हालेको जगको परिणाम हो। तिमी अहिले बरालिएका छौ, मलाई बेवास्ता गरिरहेका छौ। तिम्रो समय कसैले चोरेको छ, तिमी आफैमा रगमगिएर हराएका छौ। पढ्न सक्ने सामर्थ्यमा छौ।
अहिले मलाई पढ्न आमाको सहारा र गुरु–गुरुमाको उपाय पर्खन पर्दैन। आफ्नै क्षमता भुलेर आफैलाई बेवास्ता किन गरिरहेका छौ म बुझ्न सक्दिन। तिमी पढ। म संसार, अझ पर ब्रह्माण्ड र त्यसभन्दा पर आकाशगङ्गा लिएर उपस्थित छु। ज्ञान, विचार, रहस्य, दर्शनहरू उभाऊ। सिर्जना, निर्माण र व्यवसाय गर। सुसंस्कृत व्यवहार गर सर्वश्रेष्ठता सिघ गर–तिमी प्राणी श्रेष्ठ मानिस हौ। तिम्रो जस्तो जीवन अरू प्राणीले पाएको भए के के गर्थे होलान्, कल्पना गर। भएको चिजप्रति तिमी हेलाँ गर्दैछौ। ममा सङ्ग्रहित हर चिज तिम्रा सन्तोषका सिर्जना हुन्। सिर्जना सामर्थ्य राख्ने सिर्जना।
अक्षरको आविष्कार हुन अघि ज्ञानलाई संरक्षण गर्ने ठुलै समस्या थियो। सङ्केत र चित्रहरूले मलाई सकी नसकी जोहो गरे, स्मृति र श्रुतिले थोरबहुत तिमीसम्म पुर्याएथे। छापाखानाको आविष्कारले छरिएको म पुस्तकमा आएँ। म तिमीलाई सफल, खुसी र प्रतिष्ठित बनाउन थाले। आत्मसम्मान ठुलो शक्ति र विवेक ठुलो आचरण हो भन्दै व्यक्तिगत ज्ञान र संस्थागत अनुशासन बाँड्न थाले।
मलाई थाहा थियो ज्ञान उपयोगी हुन प्रयोगमा आउनु पर्छ। पुस्तकमा सुषुप्त रहन चाहिनँ, अथाह ज्ञान र अमूल्य शक्ति किताबमा थुनिदा सभ्यतामाथि बिर्को लाग्छ भनी भौँतारिएँ। तिमीले नपल्टाएसम्म मेरो भौँतराइको के अर्थ? बडेमानका पुस्तकालय खुले; ज्ञानको अनुष्ठानमा ज्ञान लिन भने भुलिँदै गयो।
उता ज्ञानको अभावमा तिमी हुने नहुने गरिरहेका छौ। तिम्रो खुसी हराएको छ, शान्ति बिथोलिएको छ। सधैँ हतारिएको छौ तर समय त्यत्तिकै खेर गइरहेको छ। शान्तिका सूचकहरू मभित्र त्यत्तिकै छन्, तिमी भने शान्तिको अभावका बेचैन छौ। अधीर छौ। उत्साह, आनन्द र सफलता दिन म तड्पिरहेको छु। तिमी आलस्य, बेआनन्द र अलमलमा रहँदा म आफै दुखी छु। त्यसैले भनिरहेको छु तिमी मलाई पल्टाइदेओ, पढिदेऊ। केही भए पनि तिमीलाई ज्ञान, खुसी र उत्साह भर्न सकूँ।
म थुनिदा तिमी तिमी बेचैन भएका हौ। पुस्तकालय, दराज र सिरानीमा राखेर माया त केही गरेका छौ; तर उपयोग गर्न भने भुल्दै छौ। मलाई पल्टाऊ, पढ र सके जति लेऊ। अरूलाई पनि बाँड। पढेर, बाँडेर बढ्दै जाने कुरा ज्ञान मात्र हो। तिमी मुक्त भएर मबाट यो लिन सक्छौ। उपयोग गर, उपयोगिता बढाउ। तिमी अलमलिएकोमा म आफै बेचैन छु। म सिर्फ तिम्रा लागि हुँ। तिमीले नपढे मेरो केही अर्थ रहँदैन।
एक पटक म तिर म भएर पनि सोच। मलाई तिम्रा अग्रजले सिर्जना गरेका हुन्। उनीहरू पछिल्ला पुस्ताहरू नवसिर्जना, सभ्यता र खुसीमा हुन् भनेर मभित्र ज्ञानका पोयाहरू पस्केका हुन्। मलाई तिमीहरूले नपढ्दा आफ्ना अग्रजहरूलाई त बेवास्ता गरेकै छौ नै म पनि मृतप्रायः भएँ। ममा भएका ज्ञानहरू बाँडिएन। मलाई पढिएको भए ज्ञानको संस्कारमा विश्वले, तिमीजस्ता पाठकले कति सिर्जना गर्ने थियौँ। ममा थुप्रिएको ज्ञानलाई पढेर जीवन दिने तिमी पाठक हौँ।
हेर्ने नभए सुन्दरताको के अर्थ? पढ्ने नभए ज्ञानको के अर्थ? ज्ञान उभाउन तिमी मभित्र पस, ज्ञानको आकाशगंगामा डुबुल्की मार। त्यो ब्रम्हशक्ति, आत्मशक्ति अनन्त ऊर्जालाई उपयोग गर। मलाई थाहा छ, तिमी ज्ञान, आनन्द, सुख, खुसी, वैभव प्रतिष्ठा, शान्ति, प्रेम, साथी, सहयोग के केको लालसामा तड्पिरहेका छौ, आफ्नै सम्भावनालाई कुँज्याइरहेका छौ।
किताब बन्द गरेर आफूप्रति, युग र समाजप्रति तिमीले जिम्मेवारी पूरा गरिरहेका छैनौ। कि तिमीलाई राम्रो चाहिँदैन? सबै राम्रा चिजहरू मभित्र थुनिएका छन्, सुषुप्त छन्। त्यसैले तिमी सुषुप्त छौ, बेचैन छौ। उज्यालो सम्भावनामा अन्धकारमा रुमलिएका छौ।
मेरो त अनुरोध मात्र हो। तिमी छटपटिएकोले गरेको माया। मलाई पल्टाऊ, मेरो हृदयलाई स्पर्श गर्दे आफ्नो हृदयमा पुग। एक्लो छौ, एक्लो आन्तरिक यात्री बनाएर म तिमीलाई ब्रह्माण्डीय रहस्य खोलिदिन्छु। प्रकाश दिएर प्रकाशित गरिदिन्छु, चहक दिन्छु। उजेलाउँछु। निखार्छु। र स्वप्निल–स्वर्णिम संसारमा पुर्याउँछु। शक्ति दिन्छु, साहस दिन्छु, स्वाद दिन्छु, साथ दिन्छु, जाँगर दिन्छु। त्यसपछि तिमी मभन्दा गुनिला पुस्तक र सभ्यताका लागि आविष्कारको रचना गर्ने छौ।
तिमी सुतुरमुर्ग बन्दा म आफै दिक्दार छु। पाठशालामा गुरुले पटक पटक ‘काक चेष्टा बको ध्यान स्वान निद्रा तथैबच, अल्पहारी गृहत्यागी विद्यार्थी पञ्च लक्षण’ भनेको भुल्यौँ? तिमीमा त कागको चेष्टा, बकुल्लाको ध्यान, कुकुरको निद्रा, सिंहको साहस, चिलको निसाना र समय झैँ नथाक्ने स्वभाव हुनुपर्छ भनेर अनुरोध गरेको हुँ। पुराना किताब नयाँ विचारको ढोका हो, तिमीभित्रको सम्भावना उघार्ने शक्ति हो। तिम्रो सम्भावना कुजिनु हुन्न। म त सम्भावना उघार्ने चाबी मात्र हुँ।
बुझेको छु, तिमीलाई पढ्न दिक्क लाग्छ, मलाई किन्न पैसा लाग्छ। मेरा गह्रुंगा गाथा भएका ओझिला पाना पल्टाउने समय पनि अब छैन होला। तिमी ई–रिडर बन, मलाई ई–पुस्तक किन्डल, गुगल–ग्याजेटमा पल्टाउन सक्छौ। त्यही नै संसारका दृश्यहरू, महान् विचार, ग्राफिक कथा र शब्दयात्रामा रमाउन सक्छौ। समय छैन भने पूरै नपढ, हाइलाइट गरिएका अंशहरू पढ्न सक्छौँ, ई–मसी स्क्रिन र एर्गोनोटिक पृष्ठ बटनहरू पल्टाउन सक्छौ। फगत यति अनुरोध छ तिमी पढ।
यात्रामा पढ, फुर्सदमा पढ, शब्दमा पढ, सुनेर पढ, हेरेर पढ। आफैलाई निखार, उजेलाऊ। नपढ्नु मलाई थुन्नु होइन, बुद्धि विवेक बिर्को लगाउनु हो, आफ्नै अवसर थुन्नु हो, दृष्टि र दर्शन थुन्नु हो। योभन्दा बढी समय र गतिलाई छेक्नु हो। यो अमूल्य जीवनमा अक्षरको आस्वाद गरेर ज्ञानको निखार पढ, विचारको सिर्जना गर र संसारलाई आफ्नो बनाऊ। ज्ञान र जानकारी संसार आफ्नो बनाउने आधार हुन्।
विचेत नबस, शताब्दीका अवसरबाट अछुतो नबस। तिम्रै रुचि अनुसारको स्वाद पस्कन म भौतिक पुस्तकमा मात्र होइन, स्पर्श गर्ने पुस्तक, संवेदना सुँघ्ने पुस्तक, शब्द सुन्ने पुस्तकमा पनि उपलब्ध छु। अब तिमीलाई भाषा र बिम्बको अवरोधमा रोकिनु पर्दैन; तिम्रै भाषामा त्यतिखेरै अनुवादित छु, गतिशील छु। मात्र तिमीले चाहे हुन्छ।
म तिमीलाई सत्य दिन्छु। सामर्थ्य दिन्छु। विश्वास दिन्छु। आत्मविश्वास दिन्छु। दह्रिलो ढाडस दिन्छु। स्पष्ट गन्तव्य दिन्छु। ईर्ष्या र आरिस भने मेटिदिन्छु। दम्भ र अहङ्कारको जरा उखेल्छु। खुसी र सन्तोष दिन्छु। एकान्तमा रमाउन र माया गर्न सिकाउँछु, तिमी निरस र यान्त्रिक पनि भएका छौ। तिमीलाई यही चाहिएको छ, म दिन्छु। फगत तिमी मलाई पढिदेऊ।