देश अहिले
कुर्सीहरूको खेतीमा हराभरा छ
तर खेतहरू भने
मल नपाएर
आफ्नै पसिनाले बाली सिँचिरहेका छन्।
सरकार भन्छ
‘हामी विकास गर्दैछौँ।’
सायद त्यसैले होला
सडकका खाल्डाहरूलाई
ताल बनाइँदै छ
र जनताको धैर्यलाई
पुलझैँ तन्काइँदै छ।
सुकुम्वासीहरू
नदी किनारका ढुंगाजस्ता भएका छन्,
हरेक वर्ष
आश्वासनको भेल आउँछ,
छुन्छ,
र फर्केर जान्छ
घर चाहिँ भने
नक्सामै मात्रै बन्छ।
किसानका हात
माटोसँग विवाह गरेका हात हुन्
तर मल खोज्दै
उनीहरू लाइनमा उभिँदा
देशको राजनीति
फूलको माला गन्न व्यस्त हुन्छ।
धान रोप्ने बेला
गोदामहरू मानौँ
मरुभूमिका कुवा भएका छन्
देखिन्छन्
तर पानी दिँदैनन्।
अस्पतालका ढोकाहरूमा
स्वास्थ्य बिमाका कार्डहरू
अब पुराना प्रेमपत्र झैँ भएका छन्
देखाउन त मिल्छ
तर काम लाग्दैनन्।
रोगीको शरीरभन्दा बढी
उसको खल्ती जाँचिन्छ
नेताहरू भने
माइकलाई बाँसुरीझैँ बजाएर
‘समृद्धि’ गाइरहेका छन्
जबकि जनता
महँगीको आगोमा
मकैका दानाझैँ पड्किरहेका छन्।
संसद् अहिले
शब्दहरूको सर्कस बनेको छ
जहाँ
ताली धेरै बज्छ
तर समाधान
जादुगरको खरायोभन्दा खत्तम
कहिल्यै टोपीबाट निस्कँदैन।
देश त अझ
आशाको टुकी बोकेर हिँडिरहेको छ
तर हावा भने
यति राजनीतिक भएको छ कि
अब
दियोभन्दा बढी
धुवाँ देखिन थालेको छ।
व्यवस्थापिकाको अग्लो कुर्सी भन्छ
आऊ-आऊ नेपाल आऊ
फर्की आऊ
तर जागिर माग्दा
सरकारी कार्यालय भन्छ
अहिले त मिल्दैन है पछि आऊ।