नेपालको एक दुर्गम पहाडी जिल्लामा रहेको सरकारी कार्यालय बाहिरबाट हेर्दा साधारण देखिन्थ्यो। मुख्य ढोका भव्य देखिए पनि कार्यालय परिसरभित्र छिर्दा दृश्य त्यसको ठीक उल्टो थियो। ठूलो कम्पाउण्ड तारजालीले घेरेको तर त्यसलाई सम्हाल्न गाह्रो परेको स्पष्ट देखिन्थ्यो।
कतै सफा र व्यवस्थित भाग थियो भने कतै झाडीले ढाकिएका कुनाहरू पनि थिए। नजिकै निर्माणाधीन कार्यालय भवनले भविष्यको विस्तारको संकेत दिइरहेको थियो। त्यसको छेउछाउमा कार्यालय सहयोगीहरूको बासस्थान थियो साधारण टहरोमा बनेको, आवश्यकता मात्र पूरा गर्ने खालको। त्यही लाइनमा सहायक कर्मचारीहरूको अर्को बासस्थान पनि थियो, थोरै पुरानो र झनै संकुचित।
अलि पर पक्की संरचनामा कार्यालय प्रमुखको निवास र कार्यालय दुवै रहेको भवन देखिन्थ्यो जसले अन्य संरचनाभन्दा फरक औपचारिकता र स्थायित्व झल्काउँथ्यो। त्यसको छेउमा शाखा प्रमुखको निवास रहेको अर्को कच्ची भवन थियो, शान्त तर केही एक्लोपन बोकेको जस्तो। त्यसभन्दा अलि पर एउटा छुट्टै टहरोमा शाखा प्रमुखको कार्यालय राखिएको थियो; साधारण र सानो संरचना तर दिनभरको प्रशासनिक गतिविधिले भरिएको हुन्थ्यो। सम्पूर्ण परिसर ठूलो भए पनि व्यवस्थापन असमान देखिन्थ्यो; कुनै भाग अत्यन्त व्यवस्थित त कुनै भाग उपेक्षित थिए।
यो सबै बीचमा भवनहरू, टहराहरू र खुला ठाउँहरूले एउटा साझा कथा भनिरहेका थिए जहाँ औपचारिकता, असमानता र दैनिक प्रशासनिक जीवन एकै ठाउँमा मिसिएर चलिरहेको थियो। त्यहाँ काम गर्थे नियमको भाषामा बाँधिएका मानिसहरू तर भित्रभित्रै आफ्नै स्वार्थ र सम्बन्धको खेलमा अल्झिएका पात्रहरू।
कार्यालय प्रमुख थिए गोविन्द भट्टराई। बाहिरबाट हेर्दा शान्त, संयमी र धेरै नबोल्ने व्यक्ति। तर परिस्थिति बिग्रिएपछि उनी बोल्ने एक वाक्यले बैठकको हावा नै बदलिन्थ्यो। उनले अनुशासनलाई कठोर रूपमा लिने गर्थे तर पढ्न खोज्ने र मेहनत गर्नेलाई सधैँ अवसर दिनुपर्छ भन्ने सोच राख्थे।
लेखा शाखाको जिम्मेवारीमा थिए— वासुदेव कार्की। हिसाब–किताबमा उनी प्रायः अल्झिन्थे। कहिले फाइल छुट्थ्यो, कहिले मिलाउनुपर्ने विवरण गडबड हुन्थ्यो। तर व्यवहारमा सन्तुलित थिए। कसैसँग सिधै झगडा नगर्ने, सबैसँग हाँसेर बोल्ने उनको बानीले धेरै विवादहरू चुपचाप थामिएका थिए।
तीन जना शाखा प्रमुखहरू थिए
जगत चौधरी,
प्रकाश पौडेल,
र शंकर नेपाली।
सहायक स्तरका पुराना कर्मचारीहरूमा ज्योति, नरेश, मदन र प्रशान्त थिए। त्यसैबीच नयाँ नियुक्ति भएर कार्यालयमा आउने तयारीमा थियो— निर्मल।
निर्मल, लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट छनोट भएर पहिलोपटक सरकारी सेवामा आएको थियो। कार्यालयमा हाजिर हुनुअघि नै उसले कार्यालयको वेबसाइट हेरेको थियो। कार्यालय संरचना, जिम्मेवारी, शाखा विभाजन, कर्मचारीहरूको भूमिका सबै बुझ्ने प्रयास गरेको थियो। उत्साह उसमा धेरै थियो।
एक साँझ उसले पुरानो कर्मचारी नरेशलाई फोन गरेर कार्यालयको वातावरण कस्तो छ र काम सिक्न कत्तिको सहज हुन्छ भनेर सोध्यो। फोनको अर्को छेउ केही क्षण मौन रह्यो, त्यसपछि नरेशले स्पष्ट जवाफ नदिई आधा कुरा मात्र बोल्दै ‘यहाँ सबै कुरा देखेजस्तो हुँदैन भाइ, मान्छे चिन्न समय लाग्छ’ भनेर सामान्य तर अर्थपूर्ण जस्तो लाग्ने कुरा मात्र भन्यो। तर त्यसपछि नरेशले त्यो फोनकललाई गलत ढंगले व्याख्या गर्दै कार्यालयभरि फैलायो कि नयाँ केटोले सबै कर्मचारीलाई फोन गरेर जानकारी लिन खोजिरहेको छ र ऊ धेरै बुझ्ने बन्न खोजेको जस्तो देखिन्छ।
निर्मल, सबैलाई ‘जी’ भनेर बोल्थ्यो। उसले कोलाई ‘सर’ भन्नुपर्छ र कोलाई ‘जी’ भनेर सम्बोधन गर्नुपर्छ भन्ने औपचारिक संस्कार अझै पूर्ण रूपमा आत्मसात् गरेको थिएन। आफूभन्दा सिनियर कर्मचारीहरूलाई पनि उसले सहज रूपमा ‘जी’ भनेरै सम्बोधन गर्थ्यो, मानौँ त्यो नै सबैभन्दा सुरक्षित र सम्मानजनक शब्द हो। तर कार्यालयको संरचनामा त्यस्तो सानो गल्ती पनि धेरैले तुरुन्तै नोटिस गर्ने कुरा थियो। कोही वरिष्ठलाई ‘जी’ भन्नु यहाँको चलनअनुसार अनौपचारिक वा अपरिचित जस्तो लाग्थ्यो किनकि पदअनुसारको सम्बोधनले नै सम्बन्धको दूरी र सम्मानको स्तर निर्धारण गर्ने वातावरण थियो। निर्मल भने यी सूक्ष्म सामाजिक कोडहरूबारे अझै स्पष्ट थिएन।
प्रकाश पौडेलको स्वभाव नै नयाँ कर्मचारीलाई सुरुदेखि नै सहज महसुस गराउने खालको थियो। उनी बोल्दा कटाक्ष होइन, प्रोत्साहन मिसाउँथे। आफैंले सरकारी सेवाको सुरुवाती दिनमा भोगेको असहजता उनलाई अझै राम्ररी सम्झना थियो। कागजका फाइल, अनौपचारिक नियम र अनुभवले बनाउने अदृश्य पदसोपान— यी सबै कुरा उनले आफ्नै आँखाले भोगेका र देखेका थिए।
त्यसैले उनी नयाँ आउनेहरूलाई सकेसम्म सहज वातावरण दिन प्रयास गर्थे। अघिल्लो वर्ष नियुक्त भएर आएका प्रशान्तलाई पनि उनले सुरुका दिनमा धेरै सहयोग गरेका थिए। कहिले फाइल कसरी अघि बढ्छ भनेर बुझाइदिन्थे, कहिले कुन शाखासँग कसरी समन्वय गर्ने भनेर व्यवहारिक तरिकाले सिकाइदिन्थे।
निर्मलको प्रकाशसँग पहिलो भेट केन्द्रीय कार्यालयमा भएको थियो। त्यहाँ कार्यरत कमल शर्माले उनीहरूको चिनजान गराइदिएका थिए। त्यो समय निर्मल, केन्द्रीय कार्यालयअन्तर्गत हाजिर भएको थियो। तर त्यहाँ रहेका धेरै कर्मचारीहरू माथिल्लो तहको लोक सेवा तयारीमा व्यस्त थिए। पढाइको दबाब, पोस्टिङको अनिश्चितता र भविष्यको चिन्ताले वातावरण सधैँ तनावपूर्ण हुन्थ्यो।
एकदिन निर्मलले संकोचपूर्वक प्रकाशसँग भन्यो— ‘सर... म पनि माथिल्लो पोस्टको तयारी गर्न चाहन्छु। परीक्षा नसकुञ्जेल अलि सहज वातावरण पाइए हुन्थ्यो।’ प्रकाशले धेरै सोचेनन्।
‘अहिले पढाइमा ध्यान देऊ। परीक्षा सकेपछि नियमित काम सम्हालिहाल्छौ।’
निर्मल, अचम्ममा पर्यो। सरकारी कार्यालयमा कसैले यति सजिलै सहयोग गर्ला भन्ने उसले सोचेको थिएन। प्रकाशले उसलाई कार्यालय प्रमुख गोविन्द भट्टराईसमक्ष लगे। गोविन्द भट्टराईले चश्मा खोलेर टेबलमा राखे र गम्भीर स्वरमा भने— ‘सरकारी सेवा हाजिरी गरेर तलब खाने ठाउँ होइन। तर पढ्न चाहनेलाई रोकिनु पनि हुँदैन। परीक्षा देऊ। त्यसपछि जिम्मेवारीबाट भाग्ने छुट हुँदैन।’
त्यो क्षण पनि निर्मललाई पूर्ण विश्वास लागेन। किनभने उसले सुनेका अधिकांश कथा सरकारी कार्यालयभित्रको राजनीति, तानातान र असहयोगका थिए। तर समयसँगै उसका सोचहरू फेरिन थाले। पढाइ विस्तारै छुट्दै गयो। लोक सेवाको तयारी ओझेलमा पर्न थाल्यो। अन्ततः उसले रमाना लिएर दुर्गम जिल्लाकै कार्यालयमा हाजिर हुन पुग्यो। कार्यालय पुगेपछि धेरै दिन उसलाई खाली राखिएन। प्रकाशकै पहलमा एक इलाकाको जिम्मेवारी उसलाई दिइयो। साथमा पठाइयो— नरेशलाई।
‘एक्लै गाह्रो हुन्छ,’ प्रकाशले भनेका थिए, ‘पहिले क्षेत्र बुझ। प्रक्रिया बुझ। हतार गरेर निर्णय नगर।’
तर निर्मलले त्यो सुझावको गहिराइ बुझेन। कार्यालयले उसको कामका लागि नयाँ मोटरसाइकलसमेत किनेको थियो। नयाँ उत्साहमा ऊ फिल्डतिर निस्कियो। नरेश भने भित्रभित्रै अर्कै खेल खेलिरहेको थियो। ऊ आफैँ जिम्मेवारी लिन चाहँदैनथ्यो। काम परे अरूलाई अघि सार्थ्यो। शाखा प्रमुखले काम लगाउँदा ‘अर्को शाखाले बोलाइसकेको छ’ भनेर टार्ने उसको पुरानो बानी थियो। कार्यालयभित्र धेरैलाई थाहा थियो— सजिलो ठाउँमा बसेको नरेशलाई त्यहाँ पठाइनु कुनै संयोग थिएन। तर निर्मलले त्यो संकेत बुझेन।
फिल्डमा पुगेपछि नरेशले विस्तारै उसको सोच बदल्न थाल्यो।
‘तिमी धेरै सोझो छौ।’
‘यहाँ नियम मान्ने मान्छे नै पेलिन्छ।’
‘माथिका सबै आफ्नै फाइदा हेर्छन्।’
दैनिक सुनिरहँदा ती वाक्यहरू निर्मलको मनभित्र जरा गाड्न थाले।
कामहरू बिग्रिन थाले। रिपोर्ट ढिलो आउन थाले। स्थानीय तहबाट गुनासा बढ्न थाले। फाइलहरू अपूर्ण हुन थाले। अन्ततः प्रकाशले लिखित स्पष्टीकरण नै माग्नुपर्यो। केही दिनपछि उनी आफैँ निरीक्षणमा पुगे। फाइल पल्टाउँदै उनले गहिरो स्वरमा भने— ‘निर्मल, तिमी परीक्षणकालमा छौ। गलत बाटोमा गयौ भने जागिर नै जोखिममा पर्न सक्छ। नरेश पुरानो कर्मचारी हो। उसले धेरै कुरा झेलिसकेको छ। तर तिमीले अहिले गरेको गल्ती भविष्यभरि पछ्याउन सक्छ।’
प्रकाशले त्यो कुरा चेतावनीका रूपमा भनेका थिए। नरेश त्यो समय बिदामा घर गएको थियो तर निर्मलले हुबहु सबै कुरा नरेशलाई लगाइदियो। नरेशले त्यसलाई अर्को रूप दियो। ‘हेर्यौ? तिम्रो जागिर खाने धम्की दिइरहेको छ।’
निर्मलको मनमा शंका उम्रियो। त्यही क्षणबाट उसले प्रकाशलाई सहयोगीभन्दा नियन्त्रण गर्न खोज्ने मान्छेजस्तै देख्न थाल्यो। गलत संगतले मान्छेलाई आफूले सोचेभन्दा धेरै तल पुर्याउँछ भन्ने कुरा उसले बुझेन। प्रकाशले नियम, प्रक्रिया र जिम्मेवारीको कुरा गरेका थिए। तर नरेशले त्यही कुरालाई व्यक्तिगत अपमानको रूपमा उसलाई बुझाइदियो।
केही दिनपछि पुनः त्यही क्षेत्रमा फिल्ड अनुगमनका लागि शंकर नेपाली पुगे। शंकर बाहिरबाट सिधा र स्पष्ट बोल्ने स्वभावका देखिन्थे तर भित्रभित्रै असन्तुष्टि बोकेका थिए। आफूले अपेक्षा गरेको सुविधा र अवसर नपाएको गुनासो उनको मनमा थियो। त्यसैले उनी प्रकाशप्रति खासै सकारात्मक थिएनन्।
नरेशले यही कमजोरी चाँडै बुझ्यो। ऊ शंकरको वरिपरि घुम्न थाल्यो। जहाँ प्रभाव जमाउनुपर्ने हो, त्यहीँ चाप्लुसी गर्ने उसको कला जाग्यो। अवसर पाउनासाथ उसले प्रकाशको कुरा निकाल्यो। ‘त्यो मान्छे त धेरै बदलिसकेको छ,’ नरेशले कुरा कोट्यायो।
‘सरहरूसँग (शंकरलाई सम्बोधन गर्दै) पनि उसको व्यवहारप्रति असन्तुष्टि बढेको सुनिन्छ। सबैलाई दबाएर राख्न खोज्छ। कसैको कुरा सुन्नै चाहँदैन।’
शंकर केही नबोली सुनिरहे। नरेशले भने आफ्ना शब्दहरू अझ सावधानीपूर्वक छर्दै गयो मानौँ प्रकाशप्रतिका अविश्वासलाई थप बलियो बनाउने प्रयास गरिरहेको हो। त्यसैबीच त्यही रात ११:४५ बजे कार्यालयको व्हाट्सएप समूहमा सन्देश आयो— ‘कार्यालयको अनुशासन र केही गतिविधिबारे छलफल गर्न बैठक बस्नु अपरिहार्य भएकोले बैठक बसी छलफल गरौँ।’ सन्देश पठाउने थिए— शंकर नेपाली।
त्यो बेला प्रकाश स्वास्थ्य परीक्षणका लागि काठमाडौंमा थिए। उनको अनुपस्थितिलाई अवसर ठानेर शंकर र नरेशले निर्मलमाथि विभिन्न भ्रम र आशंका फैलाउन थाले। शंकर आफैंभित्रको असन्तुष्टि बोकेर बसेको थियो र प्रकाश कार्यालयमा नभएको बेला प्रहार गर्न सजिलो हुन्छ भन्ने सोचमा देखिन्थ्यो।
यदि वास्तवमै कार्यालयमा दबाब र असहजता व्यापक भएको भए अन्य सहायक कर्मचारीहरू पनि त्यसमा सहमत भएर बोल्ने थिए। तर अरू कसैले त्यस्तो कुनै असन्तुष्टि व्यक्त गरेनन्। त्यसैले शंकर र नरेशले फैलाएको कुरा वास्तविक अवस्थाभन्दा बढी व्यक्तिगत असन्तुष्टि र भ्रम सिर्जना गर्ने प्रयास जस्तो देखिन्थ्यो। नरेशलाई लाग्थ्यो कि प्रकाशका कारण आफूलाई दबाइयो। शंकरलाई लाग्थ्यो कि आफूले पाउनुपर्ने सुविधा रोकियो। निर्मल भने अन्योल र भ्रमको बीचमा थियो। तीनै जनाको असन्तोष फरक थियो तर लक्ष्य एउटै बन्दै गइरहेको थियो।
निर्धारित मितिमा बैठक बस्यो। ठूलो टेबल वरिपरि सबै कर्मचारी बसे। पूर्वयोजना अनुसार शंकर केही बोले कि साथीहरूको गुनासो छ भनेर। अनि कसको के गुनासो छ भन्दा निर्मल, सुरुदेखि नै प्रकाशमाथि प्रश्न उठाउन थाले।
‘किन त्यस्तो बोलियो?’
‘अर्काको जागिर खाने कुरा किन गरियो?’
ती प्रश्नहरू वास्तवमा निर्मलका थिए। तर शब्दहरू कसैले सिकाइदिएको जस्तो लाग्थ्यो। नरेश चुपचाप बसेको थियो। उसको अनुहारमा अनौठो सन्तुष्टि देखिन्थ्यो।
शंकर बीचबीचमा आफूलाई अलग देखाउन खोज्दै बोलिरहे— ‘मैले त वातावरण मिलाउन खोजेको हुँ सर...’ कोठाभित्र असामान्य शान्ति थियो। कसैले ठूलो स्वरमा केही बोलिरहेको थिएन तर सबैको मनभित्र अनेक कुरा चलिरहेका थिए।
प्रकाश त्यतिबेला कार्यालयमा थिएनन्। उनी नभएको समयमा शंकर, नरेश र निर्मलले परिस्थिति आफ्नो पक्षमा मोड्ने प्रयास गरेका थिए। कुरा घुमाइयो, अर्थ फेरियो र एउटा शान्त मान्छेलाई गलत देखाउने खेल सुरु भयो। कार्यालयका धेरै कर्मचारीहरू मौन थिए। कसैले खुलेर प्रकाशको पक्षमा बोल्ने आँट गरेन।
जगतले पनि सुरुमा उनीहरूकै कुरा सही ठानेको थियो। उसलाई लाग्थ्यो कि शायद प्रकाश साँच्चै कठोर छन्, घमण्डी छन् वा सबैभन्दा अलग बस्ने मान्छे हुन्। तर समयसँगै उसले एउटा कुरा बुझ्न थाल्यो कि प्रकाशले कहिल्यै कसैको बारेमा नराम्रो बोलेनन्। उनी आफ्नो काम गर्थे, शान्त बस्थे र अपमानलाई पनि मौनताभित्र लुकाएर सहन्थे। त्यो मौनताभित्र पीडा थियो तर घृणा थिएन।
एकदिन कार्यालय प्रमुख गोविन्द भट्टराईले सबैलाई हेर्दै गम्भीर स्वरमा भने, ‘कार्यालय राजनीति गर्ने ठाउँ होइन। यहाँ अरूलाई बिगारेर आफू राम्रो देखिन खोज्ने संस्कार सबैभन्दा खतरनाक कुरा हो।’ त्यो वाक्यले कोठाभित्र गहिरो मौनता छायो।
कसैले केही बोलेन किनकि धेरैलाई भित्रभित्रै सत्य थाहा भइसकेको थियो। विश्वासलाई कमजोरी ठान्नेहरू विस्तारै आफ्नै व्यवहारको भारले थिचिन थालेका थिए। मानिसहरू बुझ्न थाले कि शान्त मान्छे सधैं कमजोर हुँदैन। कहिलेकाहीँ धेरै चोट खाएर पनि नबिग्रिने मान्छे नै सबैभन्दा बलियो हुन्छ।
जगतको मनमा विस्तारै अपराधबोध पलाउन थाल्यो। उसले सम्झिन थाल्यो कि जब सबै जना कुरा बनाइरहेका थिए त्यतिबेला प्रकाश भने चुपचाप आफ्नै बाटो हिँडिरहेका थिए। उनले कसैलाई दोष दिएनन्, कसैको अगाडि रोएर सफाइ पनि दिएनन्। सायद उनलाई थाहा थियो कि समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। केही सत्यहरू तुरुन्त प्रमाणित हुँदैनन्, तर समयले एकदिन आफैं उजागर गरिदिन्छ। मानिसले केही समयका लागि झूटलाई जितेजस्तो देखाउन सक्छ तर भित्र पाप बोकेर धेरै टाढासम्म हिँड्न सक्दैन। किनकि अन्ततः मानिसको व्यवहारभन्दा ठूलो उसको अन्तरात्मा हुन्छ र त्यो अन्तरात्माको आवाजबाट कोही भाग्न सक्दैन।
केही समयपछि प्रकाश कार्यालय फर्किए। वातावरण पहिलेभन्दा फरक भइसकेको थियो। धेरै आँखाहरू उनीतिर हेर्थे तर त्यो नजरमा पहिलेको जस्तो शंका थिएन। उनी शान्त भएर आफ्नो कुर्सीमा बसे। लामो बहस गरेनन्, कसैलाई दोष दिएनन्। यत्ति मात्र भने— ‘लोक सेवा परीक्षा पास गर्नु ठूलो कुरा होइन। मान्छे भएर टिकिरहनु धेरै कठिन कुरा हो।’
त्यो वाक्य सुनेपछि कोठाभित्र फेरि मौनता फैलियो। किनकि त्यहाँ उपस्थित धेरै मानिसहरूले आफूलाई आफैंसँग तुलना गरिरहेका थिए। पद, शक्ति, पहुँच र चलाखीले केही समयका लागि मानिसलाई माथि देखाउन सक्छ तर अन्तिममा टिक्ने कुरा चरित्र नै हो भन्ने कुरा सबैले महसुस गरिरहेका थिए।
केही समयपछि कार्यालयका कर्मचारीहरू सरुवा भएर गए र नयाँ कर्मचारीहरू आए। तर निर्मलको सरुवा भएन किनकि त्यो कार्यालयमा सबैभन्दा पछाडि आएको व्यक्ति ऊ नै थियो।
समयसँगै कार्यालयको वातावरण विस्तारै बदलिन थाल्यो। केही सम्बन्धहरू टाढिँदै गए, केही अनुहारहरू मौन बने र केही मानिसहरूले पहिलो पटक आफ्नै प्रतिबिम्बलाई इमानदारीका साथ हेर्ने साहस गरे।
निर्मल पनि विस्तारै एक्लिँदै गयो। सायद उसले पहिलो पटक बुझ्यो— अरूलाई तल झारेर आफू माथि उठ्न खोज्ने मानिस अन्ततः सबैभन्दा धेरै आफ्नै नजरमा झर्छ।
कार्यालयका पुराना फाइलहरू अझै त्यहीँ थिए, धूलो पनि उस्तै थियो तर मानिसहरूको सोच बदलिन थालेको थियो।
एकदिन एक जना नयाँ कर्मचारीले उसलाई सोध्यो, ‘दाइ, यहाँको वातावरण कस्तो छ?’
निर्मल केही क्षण मौन रह्यो। झ्यालबाट छिरेको घाम धूलोका कणहरूमा फैलिएको थियो। उसले टाढातिर हेर्दै हल्का मुस्कुरायो र बिस्तारै भन्यो, ‘यहाँ काम सिक्नुभन्दा पहिले मान्छे चिन्न सिक्नुपर्छ। किनकि सत्यको गति ढिलो हुन सक्छ तर अन्तिममा पुग्ने ठाउँ उसैले भेट्छ।’
झ्यालबाहिर हल्का हावा चलिरहेको थियो। भित्र गहिरो निस्तब्धता थियो। तर त्यो निस्तब्धताभित्र एउटा सत्य अझै जीवित थियो— सत्य कहिल्यै चिच्याएर जित्दैन तर अन्तिममा हार्दैन पनि।