यो संसार मभन्दा फरक छ
अत्यन्त फरक।
यहाँ
नतमस्तक हुनेहरूको भीड छ
सिंहासनको छायामा,
सम्पत्तिको चमकमा,
प्रभुत्वको झिलिमिलीमा।
तर म?
म त ती महलहरूका झ्यालभित्र
रातभर निदाउन नसकेका आँखाहरूको
थकान पढेर फर्किएको मान्छे हुँ।
यहाँ मानिसहरू
क्षणिक चर्चाको आगोमा
आफ्नो अस्तित्व सेकिरहेका छन्।
नामको तापले
नश्वरतालाई जित्न खोजिरहेका छन्।
तर म,
भाइरलताको त्यो ज्वारभाटा
धेरै अघि पार गरिसकेको
किनाराको एकान्तमा बसेको
यात्री हुँ।
यहाँ
कूटनीतिक मौनतालाई
बुद्धिमत्ताको उपाधि दिइन्छ।
म सत्यलाई
उसकै नग्न स्वरूपमा सम्बोधन गर्छु
किनकि
चिप्ला बाटाहरूले
मलाई कहिल्यै गन्तव्यसम्म पुर्याएनन्।
म त
काँडाहरूको विश्वविद्यालयबाट
हिँड्न सिकेको मान्छे हुँ।
यो संसार
आफ्ना समर्पणहरूलाई
सुनौलो साङ्लो सम्झन्छ।
म भने
त्यही साङ्लो चुँडाएर
क्षितिजको पर्खाल नाघ्न खोजेको
उडान हुँ।
म प्रतिशोधी होइन
तर प्रतिध्वनि अवश्य हुँ
जसले जस्तो स्वर फ्याँक्छ,
म त्यसैको प्रतिगुञ्जन फर्काउन जान्दछु।
जसले प्रेम रोप्छ,
म वन फर्काउँछु।
जसले घाउ दिन्छ,
म उसलाई ऐना देखाउँछु।
फरक यत्ति मात्र हो,
संसार
अँध्यारोभित्र खेल खेल्छ
म उज्यालोमै
खेलका नियमहरू लेखिदिन्छु।
आज मलाई
कसैको मान्छे भनिन्छ
हिजो अर्कैको भनिन्थ्यो
भोलि फेरि कुनै नयाँ नामसँग जोडिनेछु।
तर यी सबै आरोपहरूको धुलोभन्दा पर
म आफ्नै यात्राको
सहयात्री हुँ
न म कसैको सम्पत्ति हुँ,
न कसैको परियोजना
म त केवल
आफ्नै आत्माको नागरिक हुँ।
मलाई
न राज्य चाहिएको छ,
न पुरस्कार
न प्रशंसाको सिंहासन,
न शक्तिको मुकुट।
किनकि
जसलाई केही प्राप्त गर्नु छैन
उसलाई केही गुम्ने भय पनि हुँदैन।
धेरैले शक्ति खोजिरहेका छन्
धेरै धनको मरुभूमिमा
तृष्णाका इनारहरू खनिरहेका छन्
धेरै प्रेमको भिख मागिरहेका छन्।
तर उनीहरूलाई के थाहा
भाइरल शब्द
जन्मनु अघि नै
म त्यसको श्मशानमा
एक्लै उभिएर फर्किएको मान्छे हुँ।
शक्तिशाली भनिएकाहरूका
दरबारभित्रको रिक्तता देखेको छु
धनाढ्य भनिएकाहरूका
मुस्कानभित्र लुकेको अभाव पढेको छु।
त्यसैले
सत्ताले मलाई प्रभावित गर्दैन
सम्पत्तिले मलाई आकर्षित गर्दैन
प्रभुत्वले मलाई झुकाउन सक्दैन।
यदि केहीले
मेरो आत्मालाई छुन सक्छ भने
त्यो केवल
निष्कलुष सद्भाव हो
निर्मल प्रेम हो
मानवीय आत्मीयता हो।
बाँकी सबै त
हावामा उड्ने धुलो हो
क्षणिक
अस्थायी
विलुप्त हुने नियतिको बोझ बोकेको।
किनकि
म बन्धन भन्दा बाहिरको मान्छे हुँ
म फकिर हुँ
म यात्री हुँ
म निस्फिक्री छु।
र संसारले
मेरो बारेमा के सोच्यो
त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा
म आफ्नो आत्मासँग
कसरी उभिएको छु भन्ने हो।
किनकि अन्ततः
जब भीडहरू हराउँछन्
जब नामहरू मेटिन्छन्
जब प्रशंसाका प्रतिध्वनिहरू पनि
समयको गर्तमा विलीन हुन्छन्
त्यस बेला पनि
म आफूसँगै बाँकी रहनेछु।
र सम्भवतः
मानिसले जीवनभर खोज्ने
सबैभन्दा ठुलो स्वतन्त्रता
त्यही हो।