गरिबलाई जमिन चाहिन्छ—
बाँच्नका लागि।
त्यो उसको आवश्यकता हुन्छ—
कमजोर भए पनि चार वटा भित्ता होस्,
चुहिने भए पनि एउटा छानो होस्।
थोरै भए पनि जहाँ उसको एकान्त होस्,
जहाँ उसको संसार होस्,
आरामको सास फेर्ने आधार होस्।
धनीलाई पनि जमिन चाहिन्छ—
तर बाँच्नका लागि होइन,
यस्तो लालचका लागि जसको कुनै सीमा हुँदैन,
यस्तो तुलनाका लागि जसको कुनै नियम हुँदैन।
जसको जड जमिनसँग होइन,
अहंकारसँग जोडिएको हुन्छ।
धनीलाई जमिन मात्रै होइन,
धेरै जमिनहरू चाहिन्छ।
तर कति चाहिन्छ, उसैलाई थाहा हुँदैन।
तर कम्तीमा पनि उसलाई
आफ्ना छिमेकीभन्दा, आफ्ना आफन्तभन्दा,
आफ्ना चिने-जानेका भन्दा,
अलिकति बढी चाहिन्छ!
जमिन उही, माटो उही,
धरती उही—
तर गरिबको कुरा धनीले बुझ्दैन,
धनीको कुरा गरिबले।
अनि माटो?
माटो त झन् अझै लाटो हुन्छ—
न सुन्छ, न बोल्छ।
गरिबको आक्रोशसँग उसलाई मतलब हुँदैन,
धनीको अहंकारलाई उसले महत्त्व दिँदैन,
ऊ दुवैलाई चिन्दैन।
अन्त्यमा—
गरिब पनि त्यहीँ जमिनमा,
कहिल्यै नभएझैँ
सदाका लागि हराउँछ।
धनी पनि त्यहीँ,
शून्यमा शून्य झैँ
अतृप्तिमै बिलाउँछ।
वर्षौँदेखि यस्तै रमिता चलिरहेछ,
टोल्स्टोय अझै टोलाइरहेका छन्,
अनि पुरानै प्रश्न दोहोर्याइरहेछन्:
‘एक मानिसलाई
बाँच्नका लागि
वास्तवमा कति जमिन चाहिन्छ?’