धैर्य नै सबै कठिनाइ पार गर्ने मुख्य साधन हो।
जीवन सधैँ सबैको कहिल्यै सिधा बाटोमा हिँड्दैन, कहिले काँडा त कहिले अँध्यारो सुरुङ पार गर्नुपर्छ। यस्तै कठिन यात्राबिच जन्मिएको एउटा संघर्षशील नारीको कथा हो यो, जसको जीवनले पीडा, धैर्य, संघर्ष र आत्मबलको गहिरो अर्थ सिकाएको छ।
धेरै वर्ष पहिलेको कुरा हो, एउटा सामान्य परिवारमा चन्द्रकोट गाउँमा जन्मिएकी एक बालिका जसलाई सबैले सानी भनेर बोलाउँथे। गाउँबाट टाढा विद्यालय भएकै कारण सानी शिक्षाको उज्यालो मार्गबाट वञ्चित भइन्। फलस्वरूप सानी बाल्यकालमै जीवनका कठोर मोडसँग जुध्न बाध्य भइन्।
पढ्ने, लेख्ने र मनोरञ्जन गर्ने सपना सपनामा नै सीमित रह्यो। करिब ११/१२ वर्षको कलिलो उमेरमै उनको विवाह भयो। बाल्यकालको मुस्कान, उत्साह विवाहको जिम्मेवारीले ओझेल पार्यो। सानो उमेरमै सानी पराई घरको संसारमा प्रवेश गरिन्, जहाँ नयाँ सम्बन्ध, नयाँ जिम्मेवारी र अनगिन्ती सुन्दर सपनाका चुनौतीहरूले उनलाई घेरे। जब सानी छोरीबाट बुहारी बनिन्।
समयसँगै उनले आफ्नो घरपरिवारलाई सम्हाल्दै जीवनलाई अगाडि बढाइन्। लगभग २० वर्षको उमेरमा उनी एक छोरा र एक छोरीकी आमा बनिन्। जीवन केही समय सामान्य र सुखद हुँदै बित्यो। घरमा बालबालिकाको हाँसो गुन्जिन थाल्यो, दिनहरू झिसमिसेको गाईबस्तुको धन्दा, मेलापातसँगै मिठो परिश्रम र सन्तोषका साथ बित्न थाले। उनको जीवनले एउटा स्थिर गति पाएको जस्तो भएको थियो।
तर समय सधैँ एकनास रहँदैन। उनका पति केही कमाइ गर्न, राम्रो भविष्यको आशामा विदेशतर्फ लागे। सुरुका केही वर्षहरू आशा र प्रतीक्षामै बिते। तर समयसँगै उनीहरूको सम्बन्धमा दूरी बढ्दै गयो। न खबर न साथ सहयोग नै थियो।
एकदिन सबै आशा र विश्वास चकनाचुर पार्दै उनका पति विदेशबाट नै दोस्रो विवाह गरेर घर फर्किए। घरमा भएकी रमझम गरी भित्रिएकी सानीमाथि बज्रिएको बज्रपात असह्य भयो। जीवनको सहारा आफ्नो मुटु समान पति नै अर्काको भएपछि उनी एक्ली भइन्।
सासू-ससुरा लगायत सपरिवारबाट अपहेलित हुन थालेकी सानी अन्ततोगत्वा एक धरो कपडा पनि नलिई छोराछोरी च्यापेर आँगनको डिलमा उभिएर अमुक आँखाले घरको आँगनदेखि धुरीसम्म हेरेर अश्रुधारा बहाउँदै बारीको डिलैडिल चन्द्रकोट गाउँ छोडेर गन्तव्य विहीन यात्राको पाइला चालिन्। न त्यहाँ नौ डाँडा पारिका माइती कोही थिए न कोही छिमेकी वा घर-परिवार।
उनको पाइला रोक्ने कोही थिएन। कारण भरखर विदेशबाट धन कमाएर फर्किएको ती सानीको पति उसको आमाबा, दाजुभाइ, छिमेकी, सबैको आड लिएर यी दृश्यले गौरवान्वित अनुभूत गरिरहेको थियो। घरबाट उनका साना बच्चाहरूलाई पहिलेदेखि नै बिस्तारै अलग अर्थात् पराइ जस्तै व्यवहार हुन थालेकोले अन्ततः उनी छोराछोरी च्यापेर घर छोड्न बाध्य भइन्। सडक र संघर्षको यात्रामा उत्रिन्।
सानीका लागि त्यो पल पति र कर्मघरसँग केवल एउटा सम्बन्धको अन्त्य थिएन, यो त ती नारीको जीवनमा महाभूकम्प थियो। महाभूकम्प बिछोडले उनी एक्लै भइनन्, उनीसँग दुई साना बालबालिका र अनगिन्ती प्रश्नहरू मात्र थिए। समाज चुप थियो, केहीले हेरे, केहीले सुने तर कसैले नारीमाथिको अत्याचार र पीडा बुझेनन्, बोलेनन्। सानी केवल परिवारसँग भाँचिएकी थिइन्, टाढा भएकी थिइन् तर दुःख संघर्षसँग अविचलित भइनन्, टुटिनन्, डगमगाइनन्।
सडक र संघर्षको यात्रामा शिक्षाको कमी, आड भरोसा माया ममता, सहाराको अभाव र आर्थिक संकटले उनलाई झन् कठोर जीवनतर्फ धकेल्यो। तर उनी निराश भइनन्, हार मानिनन्। निरक्षर भए पनि बालबच्चाको मायाले बाँच्न बचाउन सिकिन्। बिहानदेखि साँझसम्म मेहनत गरेर जीवन चलाउन थालिन्।
कहिले सानोतिनो काम, कहिले मजदुरी, कहिले अरूका घरमा काम गरेर उनले आफ्ना सन्तानलाई हुर्काउन थालिन्। पसिना र आँसु मिसिएको उनको जीवनले बच्चाहरूलाई कुनै न कुनै रूपमा शिक्षा र उज्ज्वल भविष्य दिने प्रयास गरिरह्यो।
दुःखका दिनहरू कष्टकर थिए, तर उनले धैर्य गुमाइनन्। समाजले कहिले औँला उठायो, कहिले बेवास्ता गर्यो, कहिले लखेट्ने प्रयास गरे तर उनले आफ्ना सन्तानको अनुहार हेरेर पीडा सहेर बाँचिन्। समय बिस्तारै फेरियो। उनका छोराछोरी पनि ठुला भए, संघर्ष गर्दै स्वदेशमा जागिर खाने अवसर पाए। आमाको दुःखले भरिएको न्यानो काखमा हुर्किएका छोराछोरीले आमाको दुखेको मनमा मलम लगाउँदै उज्यालो रेखा निर्माण गर्न थाले।
सधैँ ती संस्कारी सन्तान स्वदेशमा आमाकै छत्रछायामा रहे। ममतामयी आमाको जीवन केही सहज बन्न थाल्यो। सुकिलोमुकिलो लत्ताकपडा र हात मुख जोर्न सहजता महसुस गर्न थालेकी ती सानीको समयको अँध्यारा घुम्तीका केही घाउहरू पुरिए जस्तो देखिए पनि ती सानीको हृदयभित्रको फलामे काँडाले घोचे झैँ पीडा अझै मौन थिए।
आफन्तहरू फेरि नजिकिन थाले, लोलोपोतो लाउन थाले तर उनले धेरै कुरा बोलिनन्। उनी चुपचाप सबै स्विकार्न थालिन् किनकि जीवनले उनलाई सिकाइसकेको थियो, दुःख पीडाको र सुखको मानिस कस्तो हुन्छ भनेर त्यसैले चुपचाप बस्नु नै उपयुक्त मानेर घरपरिवार र आफन्तको साथमा मौन रहिन्। आज उनी विगतलाई सम्झिन्छिन्, आँसु लुकाएर मुस्कुराउँछिन्। सामीप्यमा आउनेलाई भगवान् ठान्छिन्।
उनको जीवनले एउटा गहिरो सन्देश दिन्छ। सानी कमजोर होइनन्, सहनशीलताकी प्रतीक हुन्, परिस्थितिले बलियो बनाउने अस्त्र हुन्। नारीहरू टुट्छन् तर हराउँदैनन्। उनीहरू रोकिन्छन्, तर समाप्त हुँदैनन्।
यो कथा केवल एक सानीको होइन, समाजमा संघर्ष गरिरहेका हजारौँ नारीहरूको प्रतिनिधि कथा हो, जसले पीडामै पनि जीवनको अर्थ, जिम्मेवारी खोजिरहेकी हुन्छिन्।
‘संघर्षले टुटाउँदैन, बरु अझ बलियो बनाउँछ।’