एकीकरण अघि थिए दुई भिन्नै किल्ला
अर्घा, खाचि मिली बने अर्घाखाँची जिल्ला
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ
अर्घाखाँची मेरो जिल्ला, मेरो प्यारो गाउँ।
पहाडले घेरिएको छ नि कति राम्रो
सन्धिखर्क बजार पर्छ, सदरमुकाम हाम्रो
धौलागिरि मुस्कुराउँछ, उत्तरको पाखामा
रक्षा गर्दै औपा माईले राखेकी काखमा।
राष्ट्रमा नै अब्बल एउटा बनेको छ चित्र
गुम्ली, प्युठान, दाङ कपिलवस्तु, यो जिल्लाका मित्र
टोल-टोलमा मोटरबाटो सफा साक्षर जिल्ला
यस्तो स्वर्गीय आनन्द, अन्त कहाँ मिल्ला?
वरिपरि अग्ला पहाड आउँछन् पाखाभरि
शित्खोला र बागी खोला छाउँछन् आँखाभरि
शीतल बतास चलिरहने चुनढुङ्गा को खानी
सुपाभन्दा थोरै पर सुन्दर नरपानी।
ठाडा गए डमरु ताल आँखा त्यही टोलाउँछ
हिल-स्टेसन खाँची कोटले सबैलाई बोलाउँछ
स्वर्ग पुगे जस्तै लाग्छ आफैलाई आफू
नन्दनभन्दा रमणीय घोडा पुच्छर टापु।
खनाल वंशीहरूको उत्पत्ति भएको ठाउँ
मालारानी खन पर्छ म जन्मेको गाउँ
मालारानी दर्शन गरे हुन्छ इच्छा सिद्ध
यही पाइन्छन् धेरै प्रजातिका गिद्ध।
दर्शन गरी अर्घा भगवती पुण्य कमाउन
मसुरपाटा गए चल्छ मनै रमाउन
हाँसो खुसी साट्न होस् या पोख्न मनको बह
एकैपल्ट गए पुग्छ स्याङ्ल्याङको दह।
तिलकुवाको झरना सधैँ बग्छ कल-कल
दुर्गाफाट र मथुराको फाँट समथल
छत्रदेवको दर्शन गरे चाहना पूरा हुन्छ
रक गार्डेनको सुन्दरताले सबैको मन छुन्छ।
विविध जाति धर्म अनि संस्कृतको धनी
अनेकतामा एकताको उदाहरण बनी
लाखे नाच, भैरव नाच, सराय नाच हाम्रो
कर्खा ख्याली सोरठीको भाका झनै राम्रो।
धान, मकै, कोदो, गहुँ उब्जदछन् बाली
सुन्तला र कफी खेती नयाँ यात्रा थाली
कृषि पशु वनजङ्गल र पर्यटनको खानी
आउने सबलाई स्वागत गरे यो जिल्लाको बानी।
यही धर्तीमा जङ्गबहादुर पहिलो पाइला टेके
पाणिनीले यही बसी व्याकरण लेखे
पृथ्वीनारायण शाहलाई शिक्षा तालिम दिइन्
नरभुपालकी रानी चन्द्रप्रभा, खाचिकोटकै थिइन्।
जन्मठाउँ झैँ आफ्नोपन अन्त कहाँ मिल्ला
आफैमा छ स्वर्गसरि अर्घाखाँची जिल्ला
विकासका कार्यले अघि बढ्दै बढ्दै
विशिष्टता हासिल गरोस्, चुलीहरू चढ्दै।