बगाए नर–नारी, सम्पत्ति सारा,
आँखाअगाडि डुबे परिवार, बन्न सकिएन सहारा
फुल्न नपाउँदै कोपिलाहरू अस्ताए
दूधेबालक समेत निष्ठुरी भेलले बगाए
हृदय टुटेका छन्, मन फाटेका छन्
कसरी हेरूँ म यी दर्दनाक नजारा?
सँगै रहेका मेरो साथी हराइरहेको छ
म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!
रहेछ यो जीवन माटोको खेलौना झैँ
पलमै ढल्ने रहेछ यो पापी तन पनि
किन राख्नु मनमा व्यर्थ वैमनस्य नै?
काम लाग्दो रहेनछ कमाएको धन पनि
कालको नियम त यहाँ अटल रहेछ
नउम्रिँदैका बीउहरू पनि बाढीले बगाइरहेको छ
सँगै रहेका मेरो साथी हराइरहेको छ
म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!
नदीको किनारमा लासै–लास देख्छु
क्षणभरमै धनजनको महानाश देख्छु
सोध्छु अन्तर्मनलाई-के यही हो जीवनको सत्य?
के मानिसको हातमा केही पनि छैन?
जब सपना, रहर र चाहना अधुरै छोडेर
एकाएक रोकिएका सास देख्छु
सेकेन्डभरमै उजाडिएको संसार देख्छु
अनि सोच्न बाध्य हुन्छु
केका लागि घमन्ड?
केका लागि ईर्ष्या?
केका लागि लोभ र पाप?
बाँचेकाहरूको आँखामा मृत्युको त्रास देख्छु
निभेका दियाहरूको अन्तिम प्रकाश देख्छु
सबै कराइरहेछन्, विरही गीत गाउँदै
र फेरि एउटै प्रश्न मेरो अन्तर्मनमा गुन्जिरहन्छ
म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!