आज फेरि देश रोएको छ,
धरतीको छाती चिरिएको छ
अ!
त्यो उर्लिँदो भेलभित्र
केवल पानी मात्र छैन,
त्यहाँ कसैको सपना बगिरहेको छ,
कसैको घर बगिरहेको छ,
कसैको पसिना बगिरहेको छ
र कसैको सिंगो जीवन बगिरहेको छ।
हिजोसम्म जहाँ
बालबालिकाको हाँसो गुन्जिन्थ्यो,
आज त्यहीँ माटोको थुप्रो छ
हिजोसम्म जहाँ
खेल्ने चौतारी थियो,
आज त्यहाँ सन्नाटाको घेरा बसेको छ।
ए दैव!
तिमीले केवल घर मात्र ढालेका होइनौ,
तिमीले त धेरैको आश्रय ढालेका छौ
कुनै आमाको आँखामा हेर—
सायद त्यहाँ
हराएको सन्तानको तस्बिर होला।
कुनै बाबाको मौनता बुझ—
सायद त्यहाँ
टुटेको परिवारको कथा होला।
कुनै बालकको अनुहार हेर—
सायद उसले सोधिरहेको होला—
‘मेरो घर कहाँ गयो’
‘मेरो किताब कहाँ गयो’
‘मेरी आमा कहाँ हुनुहुन्छ’
म फेरि कहिले
विद्यालय जान पाउँछु
प्रकृति!
तिमीले सयौँ दिन
प्रश्न गरेका थियौ मानवलाई।
मानव!
तिमीले मलाई
कति सहन लगाउँछौ
हो,
सायद त्यसैको जवाफ फर्काएका हौला।
तर तिम्रा यी जवाफमा
हजारौँ सपना टुटेका छन्,
हजारौँ आँखाका आँसु झरेका छन्,
हजारौँ परिवारका कथा
अधुरा बनेका छन्।
तिम्रो स्वप्निल क्रीडास्थलमा
आज आँसुका छालहरू खेलिरहेका छन्,
तर अब कहिल्यै फर्किने छैनन्
ती हाँसोहरू,
ती आवाजहरू,
जसले हिजोसम्म
तिम्रो साक्षी बन्दै
यी बस्तीहरूलाई जीवन्त बनाएका थिए।