द कन्भरसेसन–५६
सिद्धार्थ गौतम जब गौतम बुद्ध बने, उनी सारा जगतका भए।
तर जबसम्म उनी सिद्धार्थ गौतम थिए, उनी कपिलवस्तुको तिलौराकोटका थिए।
यो त्यही भूमि हो, जहाँ शाक्य गणराज्यका राजकुमार सिद्धार्थ गौतमले ज्ञानको खोजीमा घरबार छाडेर हिँड्नुअघि जिन्दगीका २९ वर्ष बिताए।
यही माटोमा उनको बाल्यकाल बित्यो। यहीँका खेत–खलिहान, वनजंगल र नदीखोलामा रम्दै किशोर वय बित्यो।
उनले यहीँको पानी पिए। यही हावामा सास फेरे।
र, सायद घाउ–चोटपटक लाग्दा यहीँको माटो आफ्नो जीउमा दले।
यो तत्कालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोटको कथा हो, जहाँ आजभन्दा २५ सय वर्षअघि गुल्जार रहेको बुद्धकालीन नगर–राज्यका प्रशस्त अवशेष देख्न सकिन्छ।
सेतोपाटी कन्भरसेसनको यो शृंखलामा हामी तपाईंहरूलाई तत्कालीन शाक्य गणराज्यको राजधानीमा भिडिओ टूर गराउँदै छौं।
त्यस क्रममा लुम्बिनी विकास कोषको कपिलवस्तु शाखा प्रमुख माधव आचार्यले यहाँ फेला परेका अवशेष र त्यससँग जोडिएको इतिहास वर्णन गरेका छन्।
यो नगर राज्यको स्वरूप कस्तो थियो, घरहरू कस्ता थिए, आबादी कति थियो, सिद्धार्थ गौतम हुर्केको दरबार कस्तो थियो, उनले हिँडेका बाटा कस्ता थिए — बुद्धको जीवनसँग जोडिएका यस्ता विभिन्न ऐतिहासिक विषय हामीले यो कुराकानीमा समेटेका छौं।
पटक पटक गरिएका उत्खननमा तिलौराकोटभित्र प्राचीन इँटा र ढुंगाले बनेका दरबारका तीनवटा भग्नावशेष भेटिएका छन्।
ती भग्नावशेष र अन्य पुरातात्त्विक वस्तुका आधारमा सिद्धार्थ गौतमको जन्म हुनुभन्दा ३०० वर्षअघि नै तिलौराकोटमा मानव सभ्यता र पौराणिक सहर रहेको पुष्टि भएको थियो।
यहाँ जमिनको सतहबाट सबभन्दा तल बुद्धकालीन संरचना छन्। त्यो काठ, टायल र खरहरूबाट बनेको पाइन्छ। त्यसमाथि मौर्यकालीन इँटाका संरचना छन् भने त्योभन्दा माथि सुङकालीन र त्यसमाथि कुषाणकालीन इँटा फेला परेका छन्।
रोचक कुरा के भने, विभिन्न समयकालका ती अवेशष एकअर्कामाथि खप्टिएर बसेका छन्। यसले बुद्धकालमा बनेको संरचनामाथि त्यही स्वरूपमा नयाँ निर्माण हुँदै आएको पुष्टि गर्छ।
पुरातत्त्व विभागले २५ सय वर्ष पुराना ती अवशेषलाई घाम–पानीले बिगार्न नसकोस् र चोरी नहोस् भनेर काठका आधुनिक फलेकले छोपेको छ।
तपाईं तिलौराकोटमा काठको फलेकमाथि हिँड्दै गर्दा के सोच्नुस् भने, यो त्यही बाटो हो जहाँ सिद्धार्थ गौतम २५ सय वर्षअघि हिँडेका थिए।
तपाईं त्यहाँ दरबार क्षेत्रका विभिन्न खण्ड देख्नुहुन्छ। ती खण्डहरू हेर्दै गर्दा सोच्नुस् – यो त्यही दरबारको अवशेष हो, जहाँ सिद्धार्थ गौतमले २९ वर्ष बिताएका थिए।
यहाँ केही पोखरी पनि छन्। ती पोखरीको पानी छुँदा सोच्नुस् – यही पानीमा कुनै बेला सिद्धार्थ गौतमले डुबुल्की मारेका थिए।
यहाँ एउटा द्वार पनि छ। त्यो कुनै चानचुने द्वार होइन। त्यहीँबाट सिद्धार्थ गौतम घरबार छाडेर ज्ञानको खोजीमा हिँडेका थिए।
सबभन्दा ठूलो कुरा त, यी सबै अवशेषलाई बुद्धको जीवनसँग जोड्ने वैज्ञानिक प्रमाणहरू नै उपलब्ध छन्।
नेपालको पुरातत्त्व विभाग, युनेस्को र बेलायतको डुर्हाम विश्वविद्यालयका पुरातत्त्वविद् डा. रोबिन कनिंघम नेतृत्वको टोलीले लामो समय उत्खनन् गरेर ती वैज्ञानिक प्रमाण जुटाएका हुन्।
उनीहरूले तिनै प्रमाणका आधारमा शाक्य गणराज्यको राजधानी यही ठाउँमा रहेको र सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष यहीँ बिताएको पुष्टि गरेका छन्।

वैज्ञानिक प्रमाणका बाबजुद यो ठाउँ युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छैन।
नेपालले यसै वर्ष पनि उत्खनन क्रममा फेला परेका पुरातात्त्विक वस्तुको वैज्ञानिक अनुसन्धानका आधारमा तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रतिवेदन पेस गरेको थियो।
युनेस्कोको मूल्यांकन टिमले तिलौराकोटमै आएर पटक पटक अध्ययन र मूल्यांकन पनि गरिसकेको थियो। तर दुई महिनाअघि फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको ४७औं बैठकले नेपालको प्रस्ताव अस्वीकृत गर्यो।
गौतम बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्ने संसारले उनको जीवनको २९ वर्ष तिलौराकोटमा बितेको स्वीकार गरेन।
यसले केही प्रश्न खडा गर्छ — युनेस्कोले आफ्नै आँखाअगाडि गरिएको उत्खनन् र वैज्ञानिक अनुसन्धानका नतिजा आफैले कसरी अस्वीकृत गर्यो?
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने नेपालको प्रयासमा के चुक रह्यो?
के नेपालको असफलतामा भूराजनीतिक कारण जिम्मेवार छ?
कि हामीले पर्याप्त प्रमाण नै जुटाउन सकेनौं?
यो कन्भरसेसनमा हामीले यस्ता विभिन्न विषयमा चर्चा गरेका छौं।
पुरातत्त्व अध्येता माधव आचार्यले नेपालको प्रस्ताव असफल हुनुका कारण मात्र केलाएका छैनन्, यहाँ फेला परेका एक–एक अवशेषको मिहिन विश्लेषण गर्दै तत्कालीन शाक्य गणराज्यको स्मृति ताजा बनाइदिएका छन्।
आउनुहोस्, माधव आचार्यसँग तिलौराकोटमा रहेका बुद्धकालीन संरचनाका अवशेषको भिडिओ टूर गरौं, सेतोपाटी कन्भरसेसनमा –

