द कन्भरसेसन – ५७
तपाईंहरू टिकटक वा इन्स्टाग्राम चलाउनुहुन्छ भने यी दाजुबहिनीलाई पक्कै चिन्नुहुन्छ होला!
कुनै न कुनै दिन त तपाईंको टाइमलाइनमा यी दाजुबहिनीले अपलोड गरेका भिडिओ पक्कै आयो नै होला!
उनीहरू कहिले आफ्ना ग्राहकलाई रोमाञ्चक खेल खेलाइरहेका हुन्छन्, कहिले आकर्षक उपहार बाँडिरहेका हुन्छन्।
सामाजिक सञ्जाल प्रयोग गरेर जुत्तादेखि कपडा बेच्दै आएका र पाटनमा भव्य क्याफे चलाइरहेका यी जेन-जी दाजुबहिनीको व्यावसायिक सफलताको कथा धेरैका लागि प्रेरणादायी छ।
हामी कुरा गर्दैछौं — २८ वर्षीय सुरज रञ्जितकार र उनकी बहिनी २५ वर्षीया वर्षा रञ्जितकार।
सडकबाट उठेका र आफ्नै बुताले बनेका उनीहरू गर्वसाथ भन्छन्, 'हामी सेल्फ–मेड हौं।'
सेतोपाटी कन्भरसेसनको आजको एपिसोडमा उनीहरूले आफ्नो संघर्षका दिनदेखि सफलतासम्मका घटनाक्रम विस्तार लगाएका छन्।
सुरज र वर्षाको नागबेली यात्रा रोमाञ्चक छ। उनीहरूको भोगाइले मनमा गाँठो पार्छ। उनीहरूले गरेका संघर्ष सुन्दा मन भरिएर आउँछ।
उनीहरूको विशेषता के भने, आफ्ना ती भोगाइ र संघर्ष पनि हाँसी हाँसी सुनाउँछन्।
मान्छे दुइटा परिस्थितिमा खुलेर हाँस्छ रे — एकदमै खुसी हुँदा, वा एकदमै धेरै चोट पर्दा।
सुरज, र खासगरी उनकी बहिनी वर्षा यो कुराकानीभरि जसरी हाँसेकी छन्, त्यसका पछाडि यी दुवै कारण हुन सक्छ। उनी एकदमै धेरै चोटबाट गुज्रेकी छन् र त्यो चोटले दिएको पीडा भुलेर आजको सफलतालाई खुसी खुसी अँगालेकी छन्।
उनीहरूको कुराकानीबाट के थाहा हुन्छ भने, यी दाजुबहिनीको दिमागमा सानैदेखि पैसा कमाउने धुन सवार थियो।
वर्षा पहिलोपटक काम खोज्न जाँदा जम्मा ८ वर्षकी थिइन्।
सानी बच्ची काम माग्न आएको देखेर पसल सञ्चालकले भनेछन्, 'ठूलो मान्छेलाई लिएर आऊ है नानू।'
वर्षा घर फर्किन् र आफ्ना ११ वर्षीय दाजु सुरजलाई लिएर गइन्।
दाजु र बहिनीको यो सहयात्रा त्यही बेलाबाट सुरू भएको हो।
त्यति सानो उमेरमा पनि पैसा कमाउने रनाहा कसरी जन्मियो होला? सुरज र वर्षाको जिन्दगीमा त्यस्तो के भएको थियो, जसले उनीहरूलाई सानैमा पैसा चिनायो? सेतोपाटी कन्भरसेसनमा उनीहरूले यसको कारण खुलाएका छन्।
पैसा कमाउने धुन सवार भएपछि उनीहरूले के–के मात्र गरेनन्!
सुरजले ११ वर्ष उमेरमै काँधमा रक्सी बोकेर बेच्न हिँडे। वर्षाले फुटपाथमा पानीपुरी बेचिन्, ससेज बेचिन्, म:म बेचिन्। दुवै दाजुबहिनीले मंगलबजारदेखि लगनखेलसम्म थर्मसमा बोकेर कफी पनि बेचे।
कफी बेच्दै हिँड्दा मंगलबजारको एउटा पसलमा भएको घटना सुरजको स्मरणमा आज पनि ताजा छ।
पसलका बिक्रेता आफ्नो सानो बच्चालाई होमवर्क सिकाउँदै थिए। बच्चा साह्रै चकचके थियो। होमवर्क गर्न आनाकानी गर्दै थियो। त्यही बेला थर्मसमा कफी बेच्न आएको सुरजलाई देखेर ती बिक्रेताले आफ्नो बच्चालाई भनेछन्, 'राम्ररी पढ् है, नभए तँ पनि यो केटा जस्तै कफी बेच्दै हिँड्नुपर्ला।'
यो भनाइले सुरजको मुटुमै हान्यो।
'त्यो पसल अहिले पनि उस्तै छ,' सुरजले वर्षासँगको कुराकानीमा भने, 'तर म चाहन्छु, उनको छोरा मजस्तै बनून्!'
त्यो घटना सम्झँदै सुरजले भने, 'आफूलाई नचिनेका मान्छेको त कुरै छाडौं, चिनेका मान्छेले थर्ससमा कफी बेचेको देखेर मुख बिगार्दा चाहिँ साह्रै चित्त दुख्थ्यो।'
ती मान्छेहरू सहानुभूति देखाउँदै सुरजलाई सोध्थे, 'यस्तो काम किन गरेको?'
उनको जबाफ हुन्थ्यो, 'यही गरेर महिनाको लाख कमाउन सकिन्छ भने किन नगर्ने?'
यस्ता स्मरण अनेक छन् सुरज र वर्षाको जिन्दगीमा।
उनीहरू सानो सानो काम गर्दा पनि ठूलो ठूलो योजना बुन्थे। सुरजको दिमागमा त व्यापारको आइडियाबाहेक अरू केही घुम्थेन। आइडियाको खेस्रा कोरेर उनले थुप्रै डायरी भरेका छन्। ती आइडियामध्ये कति सुरूमै फ्लप खाए, कति केही समय चलेर फासफुस भए।
त्यसैमध्ये सन् २०१७ मा चार लाख लगानी गरेर जावलाखेलमा खोलेको 'ओपाज् क्याफे' उनीहरूको व्यावसायिक यात्राको 'टर्निङ प्वाइन्ट' हो।
यो क्याफे खोल्न इष्टमित्र र नातेदारका घर घर चहार्दै पैसा माग्न हिँडेको स्मरण रोचक छ। पैसा नभएर क्याफे बन्द गर्नुपरेको क्षण मर्मस्पर्शी छ। एकपछि अर्को स्टोर बन्द गर्दै हिँड्दा त्यहाँको भित्ता र फर्निचरलाई वर्षाले अँगालो हाल्दै रोएको घटनाले त भावुकै बनाउँछ।
आफ्नो व्यवसाय उँभो लगाउन ग्राहक आकर्षित गर्ने अनेक आइडिया ल्याउन सिपालु छन् यी दाजुबहिनी।
जति बेला उनीहरू ३० हजार रूपैयाँको 'सेकेन्ड ह्यान्ड' स्कुटर चढ्थे, त्यति बेला आफ्ना ग्राहकलाई भर्खर शोरूमबाट किनेर ल्याएको 'ब्रान्ड न्यू' स्कुटर उपहार दिएका थिए। त्यो पनि एक जनालाई होइन, तीन–तीन जनालाई।
यस्ता अनेक आइडियाले ग्राहकको मन जित्न सफल भएको उनीहरू बताउँछन्।
कतिसम्म भने, एकचोटि उनीहरूले टिकटकमा जुत्ताको विज्ञापन गरे र किन्न चाहने ग्राहकलाई बिहान ७ बजेको समय तोके। भोलिपल्ट बिहान ७ बजे उनको स्टोर बाहिर ग्राहकको भिड लाग्यो। दिउँसो ११ बजेसम्म दुई सय जोर जुत्ता बिक्यो।
यसरी आफ्नो मिहिनेत र आइडियाको बलमा एकपछि अर्को इँटा थपेका सुरज र वर्षाले आज दुइटा सफल ब्रान्ड चलाइरहेका छन् — ओपाज् क्याफे र टोम्याटो।
टोम्याटोबाट उनीहरू लुगा र जुत्ताको कारोबार गर्छन्। सन् २०२४ मा यो स्टोर खोलेको चार दिनमै हजार जोर जुत्ता बिक्री भएको थियो।
अहिले उनीहरूले टोम्याटोको एउटा शाखा बालाजुको ल्होत्से मलमा खोलेका छन्। जेन–जी आन्दोलन क्रममा ल्होत्से मल तोडफोड र आगजनी हुँदा उनीहरूको पनि ५० लाख रूपैयाँ बराबरका सामान क्षति भएको सुरज बताउँछन्।
व्यवसायीहरूको एउटा गुण हुन्छ — खराबभन्दा खराब अवस्थाले पनि उनीहरूलाई कमजोर बनाउँदैन। फेरि शून्यबाट सुरू गर्न उनीहरू तयार हुन्छन्।
सुरज र वर्षा पनि ल्होत्से मलमा भएको क्षति उकास्न फेरि शून्यबाट सुरू गर्न तयार छन्।
सुरज र वर्षाले सेतोपाटीको यो भिडिओ कन्भरसेसनमा जीवनका यस्ता थुप्रै रोचक किस्सा, अनुभव र सिकाइहरू बाँडेका छन् —