कर्मकल्चर
त्यसो त पुरानाहरू पनि मिलेकै राम्रो। नयाँहरू त झन् मिलेकै राम्रो!
अस्तिताक कुलमान घिसिङले मेयर बालेन शाहसँगको तस्वीर साझा गर्दै 'देश बनाउन' मिल्न खोजिएको सन्देश दिएका थिए। धेरै लाइक्स बटुले। रवि लामिछाने पुर्पक्ष–कारावासमै हुँदा भएको कुरा हो त्यो।
रवि लामिछाने धरौटीमा छुटेपछि लाइक्स बटुल्ने बिँडो थाम्नु परिहाल्यो। उनी पनि बालेनसँगै देखिँदै अहिले देश–देशावरमा रहेका नेपालीजनलाई आशा देखाउँदै छन्।
हामी नित्य नयाँपन खोजिरहेका हुन्छौं। नयाँलाई बढी माया गर्छौं, किनभने हामी नयाँबाट आशा गर्छौं। पुरानाबाट बन्ने भए बनिसक्थ्यो भन्ने सोच्छौं। नयाँले बनाऊलान् नि भन्ठान्छौं। उपाय पनि त छैन!
हामी पुरानाभन्दा नयाँलाई आफ्नो ठान्छौं। पुरानालाई ओली, देउवा, दाहाल भन्छौं। नयाँलाई बालेन, रवि, कुलमान, हर्क — पहिलो नामै काटेर प्रेम दर्शाउँछौं। पुराना टाढा, नयाँहरू नजिक!
हिजोआज हामीलाई चाहिने नेतृत्व चिटिक्क परेको हुनुपर्छ। कोही पनि त्यसै नेता बन्न सक्दैन।
हेर्नुहोस् न, नयाँ जति प्रायः सबै हाम्रा मोबाइलका पर्दामा कति सुहाउने छन्। हाम्रा एपहरू यिनकै लागि डिजाइन गरिएझैं लाग्छ।
कोही चिटिक्क जेल लगाएको जुल्फी कपाल, कोही दाह्री, कोही चौडा छाती, कोही पर्दाका नायकझैं डाइलग मार्न सक्ने, कोही खुला धाराको स्वतन्त्र पानी प्रवाहझैं नरोकिने, कोही चुइँक्क नबोली सटिक स्टाटसबाटै काम फत्ते गर्न सक्ने! कोही एक हातमा ढुंगा र अर्कोमा माइक बोकेर पसिना तरतरी चुहाउँदै श्रम संस्कृतिको प्रचार गर्छन्!
पुरानाले कहिल्यै सिन्का पनि नभाँचेजस्तो देखेका जनताले नयाँपन भेट्नु कुन नौलो कुरा भयो र!
पुराना त पुरानै भइहाले। कोही बोल्नुपर्दा निहुँ खोजेजस्तो गर्ने, कोही टुटी बन्द गरे पनि धारा बन्द नभएझैं बोलेको बोल्यै गर्ने, कोही पहिला के बोलेको हो बिर्सेर नयैँ कुरा बोलिदिने। उनीहरूको बोलीको वचन नलाग्ने मात्र होइन, वजन पनि लाग्न छाडेको हो।
कति जना भन्छन् — नयासँग सिद्धान्त छैन, पुरानासँग थियो।
तर त्यसो भन्नेहरू नै पुरानाको सिद्धान्त अनुसार व्यवहार भएन भन्ने स्वीकार गर्छन्।
त्यसैले सिद्धान्तको औचित्य पुष्टि गर्न कहिलेसम्म मत दिइरहने भन्ने तर्कको दाम्लो बलियो बुनिएको छ।
नयाँहरूसँग सिद्धान्तभन्दा शुद्धताको आश गर्न सकिन्छ भन्नेहरू धेरै छन्। कसरी भन्ने चित्त बुझाउने आधार छैन। तर नयाले पुरानाको असफलताबाट पक्कै सिक्लान्। त्यो पनि कसरी भन्ने आश्वस्त गर्ने आधार छैन। तैपनि, गर्लान् भन्ने आश गर्नुपर्ने हुन्छ। आशा नहुनु जत्तिको दुःख जिन्दगीमा केही हुँदैन। त्यसैले आश राखिराख्नु आवश्यक छ।
नयाँहरू मिल्न खोजेर देशमा अझ राम्रो सन्देश भने निर्वाचनको पक्षमा वातावरण बनाउनु भएको छ। नयाँहरूको यो ठूलो योगदान हो।
जेनजी आन्दोलनपछि नयाँ युवाको प्रतिनिधित्व गर्ने एउटा निर्वाचन शक्ति बन्नु भनेको निर्वाचनतर्फ जनमत बनाउनु हो। यसले मतदातामा उत्साह पैदा गर्छ। निर्वाचनप्रति देशभर उत्सुकताको मात्रा बढ्छ।
पुरानाहरू पनि नयाँ ढंगले ध्रुवीकृत हुन हातगोडा चलमलाउन थालेका छन्। नयाँहरू मिल्न सक्छन् भने पुरानाहरू मिल्न नखोज्ने त कुरै भएन। अहिले त पुरानाहरू मिलेर प्रतिनिधिसभा पुनर्स्थापना भन्न खोज्दैछन्। नयाँहरू मिल्नासाथ त्यसरी पुनर्स्थापना माग्नेहरू जनतामा जान डराएको गाल पर्ने पक्का छ।
त्यसैले नयाँहरू मिल्नु भनेको पुरानाको राजनीति असान्दर्भिक बनाउनु हो। रणनीति पनि त नयाँले नयाँ तरिकाबाटै गर्लान् नि!
पहिला नयाँ भनिएकाले पुरानासँग मिलेर गृह मन्त्रालयमा सम्झौता गर्यो भनेर आलोचना गरिएको थियो। यसपटक नयाँ–नयाँ मात्र मिल्ने होइन, पुराना–पुराना पनि मिल्ने खालको मनोविज्ञान बन्दै गएको छ। मिल्ने भन्ने मनोविज्ञान खासमा निर्वाचनको माहोलका लागि मात्र होइन, पुरानाको रणनीति असफल बनाउन पनि हो।
निर्वाचन त लागिसकेको छ। प्रचारकहरू तम्सिसकेका छन्। रवि र बालेन भेटेको तस्वीर हालेर 'सिंहदरबार जलाउने जोडी' लेख्ने प्रचारकहरू पुराना दलका हुन् भनेर सजिलै अनुमान गर्न सकिन्छ। ओली (केपी) र देउवा (शेरबहादुर) भेटेको तस्वीर हालेर 'देश लुट्ने जोडी' लेख्ने प्रचारकहरू नयाँ दलका हुन् भन्न के गाह्रो!
नयाँको परिभाषा के हो भनेर सोध्नेहरू नयाँ सुरू हुने साइत कहिले थियो भन्नेमा ध्यान दिन्छन्।
के नयाँ, के पुराना भनेर जिब्रो लेप्र्याउनेहरू नयाँ को शुद्ध छ भन्छन्।
विवाद नभएको को छ भनेर सोध्दा, जो बढी विवादले घेरिएको छ, उही बढी भाइरल हुन्छ। विवादले भ्युज बढाउने भएपछि भ्युजकै आधारमा चल्नेहरूले विवाद प्रवर्द्धनलाई प्राथमिकता दिइहाल्छन्।
दलहरू पहिला नयाँ नै हुन्छन्। नेतृत्वको हाइहाइ हुन थालेपछि संगठनलाई कज्याइरहन चाहन्छन्। त्यसो गर्दा केही समयपछि आफ्नाविरूद्ध कुनै पनि चुनौती सहन सक्दैनन्। नयाँपन स्वीकार गर्ने गुन्जायसै रहँदैन। पुरानाबाट नयाँपन नआउने भएपछि नयाँपनका लागि नयाँकै खोजी भइहाल्छ।
निर्वाचनमा जहिल्यै नयाँ मतदाता निर्णायक हुन्छन्।
नयाँ को हो भन्ने प्रश्न नीतिबाट बन्नुपर्ने भए पनि नेताबाटै बन्ने वातावरण हामी देख्दैछौं।
ठिकै छ, नीति सोध्दै गरौं। नेता को हो भन्ने प्रश्न आदर्श र आचरणबाट जाँचिनुपर्ने भए पनि हामी भ्युजको भाइरल व्यवस्थामा बाँचिरहेकाले प्रश्नहरू जारी राखौं।
प्रश्न गर्नेलाई गाली आउँछ भनेर आत्तिनु हुँदैन। प्रश्न बरू नयाँ–नयाँ गरौं। नयाँ प्रश्न नभए तरिका नयाँ गरौं। कि कसो?
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle