नेपालमा नागरिक समाज अस्तित्वमा छैन। दलतन्त्रले नागरिक समाज मास्यो वा नागरिक समाज सबल नभएर दलतन्त्र हावी भयो, यसै भन्न गाह्रो छ।
नागरिक समाजका नाममा आज जो मानिस सक्रिय छन् ती कुनै न कुनै रूपमा कुनै न कुनै दलका कार्यकर्ता, शुभेच्छुक वा ती दलबाट संरक्षित मानिस हुन्। आफूलाई वास्तविक रूपमा स्वतन्त्र राख्न चाहने सीमित मानिस समग्र वातावरणको प्रदूषणबाट विरक्तिएका छन्। र, मौन छन्।
नागरिक समाज अस्तित्वमा नहुनु दुःखद कुरा हो। तर नागरिक समाज नै आवश्यक छैन भनेर दलतन्त्रले आम विचार प्रवर्द्धन गर्नु झन् दुःखद कुरा हो।
नेपालमा दोस्रो प्रवृत्ति व्यापक र गाढा छ। विगतमा राजनीतिक दलहरूले विभिन्न मुद्दामा आवाज उठाउने सञ्चार माध्यम र सर्वसाधारण नागरिकलाई बदनाम गर्न कार्यकर्ता परिचालित गरेका छन्। यसबाट मूलधारे मिडियाको तेज घटेको छ।
सर्वसाधारण मानिस युट्युब, इन्स्टाग्राम र टिकटकका प्रायोजित हल्लालाई भरपर्दो सूचना र विचारको स्रोत मानिरहेका छन्। विवेक भएका र 'झन्झटमा फस्न नचाहने' मानिसहरू नागरिक आन्दोलनबाट टाढिएका छन्।
यसको परिणाम आज प्रस्ट देखिँदैछ।
दलतन्त्रको दलदलमा फसेको देशमा भ्रष्टाचार र कुशासनले जरा गाढ्यो। केपी ओली, शेरबहादुर देउवा, पुप्षकमल दाहाल 'प्रचण्ड 'र तिनका आसेपासेले सत्ता आफ्नो चंगुलमा राख्न सबै सीमा नाघेर अराजनीतिक र अनैतिक काम गरिरहे।
उनीहरूलाई प्रश्न गर्नेको आवाज कमजोर भयो। नागरिक समाजले उनीहरूले संरक्षण गरेको राजनीतिक 'कार्टेलिङ' माथि प्रश्न उठाउन सकेन। जसले प्रश्न उठायो, ऊसलाई विदेशीको दलालको पगरी भिराइयो।
सेवा प्रवाहको अवस्था दिनानुदिन खराब हुँदा र भ्रष्टाचारले सीमा नाघ्दा दलका टाउकेहरूले सशक्त विरोध र आलोचनाको सामना गर्नुपरेन। किनकी उनीहरूले टिकटक, युट्युa, इन्स्टाग्राम वा एक्समा आफ्नो किल्ला मजबुत बनाएका थिए।
जब सोसल मिडियामा उनीहरूको किल्ला धर्मरायो, त्यसपछि उनीहरू तर्सिए। जेनजी असन्तुष्टि सतहमा आउन सुरू भएपछि दलतन्त्रको होस उड्न थालेको थियो। जब असन्तुष्टि उत्कर्षमा पुग्यो, त्यसलाई दबाउन दलतन्त्रले सकेसम्म बल प्रयोग गर्यो, तर असफल भयो।
नेपाल अहिले जेनजी विद्रोहले जन्माएको संक्रमण र त्यसपछि तयार पारिएको रोडम्यापमा चलिरहेको छ। यो संक्रमणकालमा आज केही प्रश्न फेरि सान्दर्भिक बनेका छन् — के दलतन्त्रले नागरिकका विचार निस्तेज गर्न र आफ्नो पक्षमा विचार निर्माण गर्न विगतमा प्रयोग गरेको रणनीतिको अन्त भएको छ? के नागरिकहरू आफ्ना विचार अभिव्यक्त गर्न स्वतन्त्र छन्? के राजनीतिक दलहरूले सोसल मिडिया प्रयोग गरेर विचार निर्माण गर्ने प्रवृत्तिको अन्त भएको छ?
मलाई लाग्छ — जेनजी आन्दोलनपछि दल र नेताका नाम फेरिएका छन् तर प्रवृत्ति फेरिएको छैन।
केही वर्षअघिको कुरा हो।
नजिक आएको निर्वाचनमा मतदातालाई झुक्क्याउन केपी ओली र प्रचण्डले आफ्ना दुई दल एक भएको अनि जुगजुगसम्म एक रहने घोषणा गरे। घोषणाको केही सातापछि भएको निर्वाचनमा उनीहरूका पक्षमा मत यसरी झर्यो, जसरी जित्नेका लोटरी मेसिनबाट सिक्काहरू झर्छन्।
विशाल बहुमतका साथ सत्तामा ओली पुगे। त्यसपछि उनले परिचालित गरेका मानिसहरू सोसल मिडियामा भन्न थाले — अब नेपाल हाम्रा बाले बनाइदिनुहुन्छ। देश विकासको गतिले यस्तो रफ्तार लिनेछ, केही वर्षमा सबै रङरूप बदलिनेछ। बाको नेपालमा कुनै कुराको अभाव हुने छैन, केही कुराको व्यवधान हुने छैन। त्यसैले, सर्वज्ञानी र सर्वव्यापी बाको नियत र क्षमतामाथि कसैले प्रश्न उठाउन पर्दैन र प्रश्न उठाउन पाइँदैन!
मिलेका पार्टी केही महिनापछि फुटे। रङ लगाएर चितुवा बनाएको बाख्रोको जिउमा कसैले पानी खन्याइदिएझैं बाको क्षमता र नियत पनि प्रस्ट हुँदै गए। तर सत्तामा बा थिए। उनको नेतृत्व भ्रष्टाचार र कुशासनका लागि मलिलो माटो बन्यो।
बीचमा केही आरोह–अवरोह आए तर बाको नेतृत्व जेनजी आन्दोलन चर्किँदासम्म चलिरह्यो। नेपालका दुःख बढ्दै गए र झन् जटिल बन्दै गए।
आज नेपाल त्यस्तै प्रवृत्तिको अर्को चक्रमा फसेको छ।
पात्र फरक देखिएका छन् तर आम मानसिकता फेरिएको छैन।
बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने एक ठाउँमा उभिएका छन्। बालेन शाहले देश बनाउने चर्चा यति बेला उत्कर्षमा छ। त्यसैले, निर्वाचन सम्पन्न नहुँदै बालेन शाह प्रधानमन्त्री हुने सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।
राजनीति सत्ता स्वार्थमा केन्द्रित खेल हो। बालेन, कुलमान र रवि मिल्नु अस्वाभाविक होइन। जेनजी विद्रोहले आमूल परिवर्तनका लागि गजबको अवसर नेपाललाई दिएको छ। यस्तो अवसर उपयोग गर्ने प्रयास गर्नु राम्रो कुरा हो। उनीहरूको आजको मिलन वा भविष्यमा हुन सक्ने (नहुन पनि सक्छ) द्वन्द्व पनि आफैमा ठूलो समस्या होइन। राजनीतिक दल र नेताहरूको मत नमिल्नु र उनीहरू फाट्नु, छुट्टिनु स्वाभाविक कुरा हुन्।
नेपालको समस्या राजनीतिक नेतृत्वलाई कसरी बुझिएको छ, बुझ्नुपर्छ भन्नेमा छ। देश बन्ने कसरी र बनाउने कसले भन्ने बुझाइमा छ। देश के हो र त्यसमा आम मानिसको स्थान र हैसियत के हो भन्ने बुझाइमा छ। यसलाई नफेरी राजनीति र देशलाई फेर्न सम्भव छैन।
बालेन, कुलमान वा रविले बनाइदिने देशमा हामी आम सर्वसाधारणको भूमिका समृद्ध देशको नागरिक भएको मजा लुट्ने मात्र हो कि देश 'बनाउने' क्रममा वा बनाउनःगरिने यावत निर्णय प्रक्रियामा सक्रिय सहभागी हुने पनि हो?
यो प्रश्नको जबाफमा देश बनाउन तम्सिएकाहरू जति प्रस्ट बन्न सक्छन्, नेपालको भविष्यको बाटो त्यति नै सहज र सरल हुनेछ।
आज जसरी बालेन शाह, कुलमान, रवि आदि व्यक्तिहरूको 'दबङ' सार्वजनिक छवि बनिरहेका छन् वा बनाइँदैछ, त्यसले अन्ततः देशलाई धकेल्ने भनेको निराशा र द्वन्द्वको अर्को चक्रमा हो।
देश बनाउने व्यक्तिले होइन। जेनजी आन्दोलनपछि उदाएका राजनीतिक व्यक्तिहरूले केपी ओलीको असफलताबाट कुनै पाठ सिक्न सकेको देखिएन।
पुरानो र नयाँ राजनीति गर्ने शैलीको दोस्रो पक्ष समृद्धिको सपनासँग जोडिएको छ।
नेपालका प्रशस्त सम्भावना छन्। राजनीतिक नेतृत्वले इमानदार प्रयास गर्ने हो भने आम मानिसको जीवनस्तरमा क्रमिक सुधार ल्याउन नसकिने होइन। संविधानले दिएको विकेन्द्रीकरणको संरचनामार्फत् राज्यको भूमिका थप सशक्त बनाउन सकिन्छ। सार्वजनिक सेवाका मूल क्षेत्रमा आमूल सुधारका कार्यक्रममार्फत् शिक्षा, स्वास्थ्यजस्ता सेवाको प्रभावकारिता बढाउन सकिन्छ। विद्यमान भ्रष्ट र अकर्मण्य कर्मचारीतन्त्रलाई व्यावसायिक बनाउन सकिन्छ। रोजगारी बढाउन सकिन्छ। समुदायको सार्थक सहभागितामा वातावरणीय विनाश र प्रदूषण कम गर्न सकिन्छ।
यी सम्भावनालाई सही रूपमा उपयोग गर्ने लक्ष्यमा जेनजीपछि स्थापित नेतृत्व कतिको प्रभावकारी होला त?
एक पटक इतिहासतिर फर्कौं।
नयाँ संविधानपछि जब आम निर्वाचनको समय आयो, त्यसपछि राजनीतिक पार्टीले बनाउने घोषणा–पत्रहरूमा एउटा गजबको प्रवृत्ति देखियो।
ती घोषणा–पत्रमा समेटिएका मूल भाव यस्ता थिए — नेपालका सबै खाले द्वन्द्व समाप्त भएका छन्। समावेशिता र न्यायका मुद्दाको निरूपण भएको छ। निर्णय प्रक्रियामा आम जनताको सहभागिता प्रदेश र स्थानीय तहको निर्माणबाट स्वतः सम्बोधन भएको छ। अब नेपाललाई चाहिने बुलेट रेल, पानी जहाज, उँचो राष्ट्रिय झन्डा, निजगढ र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आदि गौरवका योजना मात्र हुन्।
केपी ओली शक्तिशाली प्रधानमन्त्री भएका बेला उनको नेतृत्वशैलीको अर्को पक्ष पनि कम रोचक छैन।
जब उनी प्रधानमन्त्रीको आसनमा विराजमान थिए, त्यस बेला उनलाई आफ्ना पदीय जिम्मेवारीप्रति वास्ता थिएन। उनले समग्र समय अरूको आलोचना गर्नमा र आफ्ना विरोधीलाई 'थला पार्न' मा खर्च गरे। प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई गाली गर्न बचेको समय राजनीतिक दलभित्र आफ्नो आलोचना गर्न अरू नेतालाई ठेगान लगाउनमा बित्यो। नक्कली पार्टी एकतापछि पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ठेगान लगाउने अर्को ठूलो जिम्मेवारीले पनि उनलाई व्यस्त राख्यो।
केपी ओलीका विगतका दुई कार्यकाल उनका गलत कार्यशैली र गलत प्राथमिकताका भद्दा उदाहरण हुन्। उनले स्वीकार गरे पनि, नगरे पनि जेनजी आन्दोलनबाट उनी अपदस्थ हुनुमा यी सबैको योगदान छ।
तर मलाई लाग्छ, जेनजी आन्दोलनपछि उदाएको नेतृत्वले केही समय दिएर यो मानसिकतालाई मूल्यांकन गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरेको छैन।
शाही निरंकशता विरूद्धको ०६२–६३ को आन्दोलनमा कवि अर्जुन पराजुलीको एउटा कविता निकै लोकप्रिय भएको थियो।
त्यसको एउटा टुक्रा यस्तो थियो –
पर्दा फरक झ्याल उही,
स्याल फरक र्याल उही।
कवि अर्जुन पराजुलीको कविताको शीर्षक थियो — सत्र साल भाग–२।
उक्त कविता ज्ञानेन्द्र शाहले माघ १९ मा सुरू गरेको शाही निरंकुशता, उनका बुबा महेन्द्रले २०१७ साल पुस १ गते सुरू गरेको पञ्चायती निरंकुशताको शृंखला भएको कुराको सटिक अभिव्यक्ति थियो।
पराजुलीको कविता आज पनि उत्तिकै सान्दर्भिक किन छ भने, पात्र र दल फेरिए पनि नयाँ संविधान जारी भएपछि दलतन्त्रले स्थापना गरेका विषाक्त चिन्तन र अभ्यास फेरिने छाँट देखिएको छैन।
रवि, बालेन र कुलमानका विकसित नेपालका सपना र केपी ओलीका सपनामा फरक हुन्छ कि हुँदैन, उनीहरूको नेतृत्व शैली फरक हुन्छ कि हुँदैन — यी महत्त्वपूर्ण प्रश्न हुन्।
यदि फरक हुँदैन भने तिनै गएगुज्रेका हावादारी सपनामा समग्र देशले अर्को दुःखद चक्कर किन काट्ने? प्रतिशोध र प्रतिक्रियाको राजनीति फेरि किन दोहोर्याउने?
यो महत्त्वपूर्ण प्रश्न हो।
यदि फरक हुँदैन भने तिनै गएगुज्रेका हावादारी सपनामा समग्र देशको अर्को दुःखद चक्कर किन काट्ने?
यदि झ्याल उही हो र र्याल उही हो भने, हामी घुमिफिरी खाडलमा पुग्ने बाटोमा फेरि एकपटक किन हिँड्ने?
कांग्रेस, एमाले वा माओवादीलाई इतिहासले कमसे कम केही समयका लागि किनारमा थन्क्याएको छ। यस पटकको निर्वाचनले उनीहरूलाई फेरि सत्तासुख दिलाउले सम्भावना देखिँदैन। त्यसैले, सर्वसाधारणका यावत प्रश्न अब नयाँ नेपालका लागि राजनीति गर्नेहरूप्रति सोझिनुपर्छ।
एक पटक फेरि नागरिक समाजबारे सुरूको प्रसंगतिर लागौं।
'हामी नयाँ हौं र अब नेपालको मुहार फेर्छौं' भन्नेहरूको उत्साह यति बेला उत्कर्षमा छ। जेनजी विद्रोहको आधारमा राजनीतिक शक्ति र सत्ता हातमा लिन उद्यत मानिसहरूको यस्तो उत्साह सुखद कुरा हो। यसले आम मानिसमा देशको भविष्यप्रति आशा जगाएको छ।
तर नयाँ राजनीति गर्छु भन्ने मानिसहरूको राजनीतिमा देखिएका विसंगतिहरूमा आवाज उठाउने कसले?
यस्ता राजनीतिक खेलाडीहरूलाई प्रश्न गर्ने कसले?
भत्किएको, मासिएको र अस्तव्यस्त नागरिक समाजलाई सक्रिय र जीवन्त बनाउने कसले?