राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गरेकी छन्।
राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन्।
राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमत्री एवं रक्षा मन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
उनीसँगै सांसदहरू पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी पनि सो कार्यक्रममा सहभागी हुने छन्। त्यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका अधिकारी पनि राष्ट्रपतिको पोल्याण्ड भ्रमण टोलीमा सहभागी छन् ।
उनी पोल्याण्डको कातोबीचमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी हुनेछिन्।
कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी भएपछि सोमबार राष्ट्रपतिले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिले आइतबार नै जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ।
त्यसैगरी सोमबार साँझ उनी पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यतालिका छ। मंगलबार राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति डुडासँगै कातोबीचमा दुईपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ।
राष्ट्रपति भण्डारी मंसिर २० गते बिहिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
उपराष्ट्रपतिलाई जिम्मेवारी
राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।
राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।