हाम्रा ‘बा’ हिजोआज शान्त छन्। खासै बोल्दैनन्, एकोहोरो टोलाइरहन्छन्। अनुहार मरीच जस्तै चाउरी परेको छ, तालु खुइलिएको छ। भएका टाउकोका रौँ, दारी, कपाल पनि फुलेर हिउँ जस्तै सेताम्मै भएका छन्। अगाडिका दाँत झरेको छन्। साह्रो चिज केही खान सक्दैनन्।
आज बा शान्त देखिन्छन् तर उनको मन भने शान्त हुन सकेको छैन। मनमा केही गर्ने हुटहुटी छ। हुन पनि उनले उमेरमा नगरेको सायद केही नहोला तर आज समयले उनलाई एक्लो बनाएको छ। मानिस जति जति बुढो हुँदै गयो त्यति परिवार, समाजबाट एक्लो हुँदै जाने रहेछ।
२०२१ सालमा अर्घाखाँचीको विकट गाउँमा गरिब परिवारको पाँच भाइ सात दिदी बहिनी मध्ये साइँलो छोराको रूपमा जन्मिएका बाले धेरै लेखपढ गर्न पाएनन्। ठुलो परिवार, बिहान साँझ खान पनि धौधौ जस्तै थियो। जसले गर्दा सानो उमेरमा नै दुख के हो, संघर्ष के हो भन्ने थाहा पाए।
हाम्रा ‘बा’ कुनै राष्ट्र सेवक कर्मचारी पनि होइनन्, न त उनी नेता हुन्। उनी त केबल गरिब साधारण परिवार जन्मिएका हुन् जसको यो देशमा केही चल्दैन। तर हाम्रो परिवारको लागि सबै उनै हुन्। हाम्रो लागि सबै चल्छ; उनी नै नेता हुन्, उनी नै हिरो हुन्।
हिरो हुन फिल्म नै खेल्नु पर्छ भन्ने रहेनछ। हाम्रो लागि बाले धेरै फिल्म खेलिसकेका छन्। सायद खेल्न बाँकी त्यस्तो कुनै फिल्म छ जस्तो लाग्दैन। उनी त्यसैले जीवनमा सबै भोगेर होला फिल्म हेर्न जान मन गर्दैनन्। फिल्ममा भएको सबै आफ्नै जीवनमा भोगेर त होला।
सानै उमेरमा बिहे भयो। त्यसपछि बा’का संघर्ष थप चुलिँदै गए, दुःख बढ्दै गए। ठुलो परिवार, सासू बुहारीको सधैँ झगडा। बा’भन्दा पनि उनकी आमा झनै क्रूर शासक। आफ्नी आमाका कुरा सुनेर बा’ले मेरो आमालाई कयौँ पटक यातना दिए रे। आमाले बा’को यातना पनि सहिन्, आफ्नो श्रीमानको यातना सहेर बसिन्। कुनै दिन यी छोराछोरी ठुला हुनेछन् भन्दै बसिन्।
हाम्रो परिवारलाई दश वर्ष जनयुद्धले प्रत्यक्ष असर गर्यो। कहिले राज्य सत्ताबाट त कहिले त्यति बेलाको माओवादीबाट हामी पटक पटक पीडित भयौँ। त्यति बेलाको माओवादीले २०५८ द्वन्द्वमा नजिकैको प्रहरी चौकी आक्रमण गरे। त्यसको असर हामीलाई प्रत्यक्ष गर्यो। हाम्रो लाखौँको धनमाल क्षति हुन पुग्यो। शाही सरकारले हाम्रो बा लगायतलाई गिरफ्तार गरी लगेर एक महिनासम्म चरम यातना दिए। त्यसबाट बा’लाई मस्तिष्कमा गम्भीर चोट पुगेको रहेछ। बाको दिमाग विक्षिप्त हुन गई बिस्तारै मानसिक रोग बढ्दै गएको परिवारले थाहा पाएनौँ जसले गर्दा समयमा उपचार हुन सकेन। हामी लाई यो विषयमा ज्ञान पनि नहुँदा, बा’लाई सम्झाउने बुझाउने मान्छे नहुँदा रोग बढ्दै गयो। गाउँ समाजमा हल्ला चल्न थालेछ, हरि पागल भयो भनेर. गाइँगुइँ गर्दै त्यो समाचार यसरी फैलियो कि हामीलाई बा’लाई नियन्त्रण लिन गाह्रो भइसकेको थियो।
बा’लाई सम्झाउने बुझाउने घरमा कोही थिएन। हामी सानै थियौँ। बिचरी आमा के गरून्, निरीह थिइन्। यसरी अब गाउँमा बस्ने अवस्था रहेन। घरको सम्पत्ति एकपछि अर्को गर्दै सकिँदै गयो अनि हामीले गाउँघर छोड्ने निर्णय गर्यौँ। बा’लाई उतै सहर लगेर उपचार गर्ने निर्णय गर्यौँ।
वैशाख भए पनि पहाडमा केही शीतल थियो, स्वच्छ हावाले बाहिर शीतल दिन्थ्यो तर मनमा भने गर्मी चढेको थियो। घर छोड्ने निर्णय आफैँमा गाह्रो। जन्मिएको ठाउँ, त्यो वातावरण फेरि यहाँ आउन सकिएला या नसकिएला मन बेचैन भएको थियो।
घरको मूल ढोका लगाएर हामी अगाडि हिँड्दै गर्दा आमाले घरलाई ढोगिन्, आँखाबाट आँसु बरर झारिन्। आमा रोएको देखेर हामी सबै रोयौँ तर बा भने रोएको देखिनँ। बालाई केही भन्न सकिनँ। आमा नरोउन् पनि कसरी? खुन पसिना बगाएर यतिका वर्ष बसेको घर कसरी भुल्न सकिन्छ? फेरि यस्तै घर बनाउन सकिएला नसकिएला। कहाँ गएर खुला आकाशमुनि बस्नु पर्ने हो त्यो थाहा छैन। सायद त्यसैको चोटले धेरै बेरसम्म आमा रोइरहिन्।
डाँडा नकाटुन्जेल आमाले एकोहोरो घर हेरिरहिन्।
‘आमा, एक दिन यो आफ्नै शरीर त छोडेर जानु पर्छ धेरै चिन्ता गर्ने होइन। फेरि बा’लाई ठिक भयो भने आउँला नि हाम्रै घर। सधैँ यस्तै दुख मात्र त नहोला नि’ भन्दै आमालाई सम्झाउँदै अगाडि लाग्यौँ
मनमा धेरै कुरा खेलाउँदै हामी घनघोर सहरमा आइपुग्यौँ पहाडको चिसो मौसम छाडेर एकै पटक आगोको रापले जस्तै पोल्यो। हामी अतालियौँ तर बा’लाई खासै फरक परेन। धेरै पटक आउने जाने गरेको हुँदा उनलाई बानी परेको हुनु पर्छ।
मैले बा’लाई सोधेँ, ‘बा, यहाँ यति धेरै गर्मी किन भएको हो?’
बा’ले सहरमा दुई वटा घाम लाग्छ भनिदिए। म ट्वाल्ल परेर आकाशमाथि हेरिरहेँ। घाम एउटै छ, बा’ले ठट्टा गरेका होलान् लाग्यो।
बा लामो समयदेखि बिमारी भएका कारण कमजोर भइसकेका थिए। उनलाई उपचारको लागि चाँजोपाँजो मिलायौँ। बा’को उपचार चल्दै थियो।
अहिले बा’को हातमा केही छैन। उनको हात खाली छ, सबै सम्पत्ति हामीले कब्जा गर्यौँ। कब्जा गर्नुको एउटै कारण छ, बाको हातमा सत्ता रहँदासम्म हामीले धेरै सम्पत्ति गुमाइसकेका थियौँ। त्यसैले पनि हामी छिट भन्दा छिटो उनको हातबाट सत्ता खोस्न चाहन्थ्यौँ। जब बा’को हातबाट सत्ता गुम्यो। त्यसपछि उनको उत्तराधिकारीको रूपमा घरको म जेठो भएको नाताले मैले सम्पूर्ण अधिकारको जिम्मेवारी लिने निर्णय गरियो।
बा’को हिजोको साम्राज्य ढलेको छ। उनको हातबाट सत्ता खोसिएको छ। जसरी ज्ञानेन्द्र वीर विक्रम शाहदेवले आफ्नै कारण आफ्नो शासन सत्ता छोड्नु पर्यो, त्यसरी नै बा’ले पनि सबै गुमाउन पुगे।
कुनै समय बा शक्तिशाली थिए। घर समाजमा उनले भनेको चल्थ्यो। त्यति बेला आमा निरीह थिइन्। बा’ले जे भने त्यही मान्थिन्। कहिलेकाहीँ आमाले हामी छोराछोरीलाई सँगै राखेर हिजो बा’ले गरेका यातना दुःख सुनाउँथिन् र आँखाभरि आँसु खसाल्थिन्। मैले त्यति बेला सोचेको थिएँ, हाम्रा बा क्रूर शासक रहेछन्।
उमेर छँदा आमाले बा’बाट कुनै माया पाइनन् रे। माया कस्तो हुन्छ अनुभूति नहुँदै बुढेसकाल लागेछ।
आखिर बा कसरी क्रूर हुन पुगे?
त्यति बेला बा’लाई कसले बिगारिरहेको थियो?
के बा’लाई आफ्नो श्रीमती परिवारप्रति माया थिएन होला त?
कि पुरुष जाति सबै यस्तै हुन्छन्?
यस्तै प्रश्न मनमा खेलिरह्यो तर बा’लाई सोध्ने हिम्मत गर्न सकिन्
बा’को उपचार चल्दै थियो। बिस्तारै उनलाई निको हुँदै गयो। औषधी सधैँ खाइरहनु पर्ने। बा’ले बेलाबेला भन्ने गर्छन्, ‘अझै मेरो उमेर छ, केही गर्न सक्छु। यहाँ ८० वर्षकाले देश हाँकेका छन्, म त बल्ल साठी वर्षको भएँ।’
हो बा, तिमी बुढो भएका होइनौ। तिमीलाई रोग नै त्यस्तै लाग्यो, चाँडै रोगी बनायो। अब हामी ठुलो भयौँ। हामीले जिम्मेवारी लिन सक्छौँ। तिम्रो हातमा शासन सत्ता नभए पनि तिमीलाई सम्मानपूर्वक राख्ने छौँ। तिमीलाई हाम्रो घरको राज्यबाट मिल्ने र हामीले सक्ने जति सुविधा दिने छौँ। समय समयमा तीर्थ व्रत लैजाने छौँ। किमार्थ दुःख नमान्नू। यो संसारको रित हो यो, सबै छोडेर एक दिन जानु नै पर्छ।
बा’को शासन सत्ता चलाउन थालेको केही वर्ष भयो। तिमीले त्यतिका वर्ष कसरी चलायौ होला, मैल आज बुझ्दै छु। दसैँमा हामीलाई नयाँ लुगा किनिदिएर तिमी सधैँ त्यही पुरानो च्यातिएको लगाउँथ्यौ।
बा, तिमीले नयाँ कपडा किन नकिनेको भन्दा पोहोर सालको नै छ भनेर टारिदिन्थ्यौ। आज बुझ्दै छु बा, यो घर परिवार चलाउन त्यति सजिलो रहेनछ। तर तिमीले त्यतिका वर्ष कसरी चलायौ? म त तिस वर्ष नपुग्दै आत्तिएको छु।
तिमीले खालि खुटा हिँडेर हामीलाई चप्पल किनिदियौँ। आज ती पैताला कति दुखे हुन्। म घर भित्रै खाली खुट्टा हिँड्न नसक्ने तिमी वर्षौँ कसरी चप्पल बिनै हिँड्न सक्यौ?
बा! तिमी कहिल्यै रोएको देखिनँ। के तिम्रो आँसु आउँदैन थियो र? के तिम्रो मन दुख्दैन थियो होला र?
हो, मलाई थाहा छ यो समाज छोरा मान्छे रुनु हुँदैन भन्छ। छोरा मान्छे अरूका अगाडि रुँदैन तर कोठा थुनेर नरोएको छोरा हुँदैन भन्ने कुरा मै आफूले बुझेँ। बा, म कयौँ पटक कोठाभित्र रोएको छु। तर बाहिर आउँदा परिवार, समाजसँग हाँस्नु परेको छ। सायद बालाई पनि यस्तै भएको होला।
बा! जुन शासन सत्ता तिमीले चलाएका थियौ, त्यही शासन सत्ता मैले चलाएको छु। जिम्मेवारीको भारी बोकेर दौडिरहेको छु। कति सफलता मिल्ने छ र कति असफलता हुनेछ त्यो समयले बताउँदै जाला। त्यो भने हेर्न बाँकी छ। त्यति बेलासम्म बा, तिमी साथमा रहनू। त्यति बेलामा मैले मेरा दुख तिमीलाई सुनाउने छु।