विदेशतिर ड्रेस कोड निकै चल्छ। केही महिना अगाडि अमेरिकी राष्ट्रपति भवनमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पको भेटमा कोट नलगाएको भन्ने प्रसंग उठेको थियो।
बच्चालाई टाई, जुत्ता, कार्ड र ड्रेसको पिरलो छ। विद्यालयलाई एकरूपता, नाम, ब्रान्ड, पहिचान, परिचय चाहिएको छ। आखिर जे होस्, सबैलाई सबैको कुरा ठिक लाग्छ। भनिन्छ नि ‘आफ्ना कुरा कुरा, अर्कोको कुरा माकुरा।’
विद्यालयलाई जुन कुराले सताएको छ; अभिभावक, विद्यार्थी, समाज, राष्ट्र र कर्मचारीलाई अर्को कुराले सताएको हुन्छ। सबैलाई ’आफ्नो व्यथा पो व्यथा, अरूको व्यथा के व्यथा’ भनेझैँ छ।
‘बाबा! बाबा! अबदेखि स्कुलमा टाई लाउन पर्दैन, गर्मीभर नलगाए हुन्छ रे।’
अजीव लाग्यो। कहिले सरले टाई नलगाएर गाली गर्नुभयो भन्ने छोराले आज टाई नै लगाउन नपर्ने कुरा ल्यायो। अचम्म लाग्यो पनि तर कुरा अझै बुझ्न सकिनँ। ‘हुन त वैद्यले दिएको पनि त्यही, बिरामीले मागेको पनि त्यही’ जस्तो लाग्यो।
पूरा कुरा नबुझी टिप्पणी के गर्ने? फेरि म को हो? त्यस्तो महान् शिक्षाविद्हरूलाई टिप्पणी गर्ने नाथे अभिभावक! बेला बलामा स्कुलहरूले तपाईंको बच्चा लैजाँदा हुन्छ भनेको वचन अभिभावकहरूले गुनासो गरेको बारम्बार सुनेको छु।
गरिबहरू सोच्न सक्दैनन्, धनीले वास्ता गर्दैनन् र मध्यम वर्गीयलाई चासो हुन्छ तर फुर्सद हुँदैन भन्ने पढेको थिएँ। साँच्चै हो क्यारे यो कुरा।
बच्चालाई पढाइभन्दा पनि तनाव बढी छ; मोजा, जुत्ता, टाई, ट्र्याक, सर्ट, पेन्ट, स्कर्ट आदिको। यसैले कतिपय उच्च माविले खुला छाडेका छन्। कतिपय बच्चा त त्यो स्कुल कलेज राम्रो लाग्यो, ड्रेस मन परेन, फुटबल ग्राउन्ड छैन, बास्केटबल कोर्ट छैन, स्विमिङ पुल छैन भनेर कुरा गरेको अभिभावक र बच्चाको छलफल सुनेको छु।
हामीले सुन्दा अंग्रेजी नजान्नेले टाई लगाउन मिल्दैन भनिन्थ्यो। आजकल सबैतिर टाई नै टाई छ। ज्ञानबाहेक सबै कुरा स्कुलमै छाडेर आए हुन्थ्यो जस्तो लाग्छ किनकि आज टाई खोज्देऊ बाबा, भोलि मोजा कहाँ छ बाबा, पर्सि ब्याच हरायो बाबा, सरले मार्नु हुन्छ। बरु सबै स्कुलमा राखे त ढुक्क हुन्थ्यो। तर किताब त होला, ड्रेस कपडा त कहाँ राख्नु? आफै मनमनै सोच्छु, म के मूर्ख भएको भनेर।
स्कुललाई पनि पिरलो धेरै छ। यता मिलाओस् कि उता जिल्ला शिक्षा, नगरपालिका, वार्ड, जनप्रतिनिधि, आफन्त दलका मान्छे, सर मिसका आफन्ती, छिमेकी, सरकार, कर स्टेशनरी, पब्लिसर आदि हजार मुख आँ गरेर बसेका छन्।
स्कुलले पनि मनग्यै लगानी गरेको छ, उठाउन पर्यो। कि त सरकारले यतिका लगानी नगर्, धेरै पैसा उठाउन पाउन्नौ भन्न पर्यो। त्यो दम छैन, चुनाव जित्न छ। उता स्कुललाई चटारो छ मिलाउन।
स्कुल भनेपछि गुठी हो। हाम्रो संवैधानिक हक भनेको छ जो कोही पनि आउँछन्, भर्ना माग्छन्, उता छात्रवृत्तिको बबाल छँदै छ। कतिले समयमा शुल्क तिर्दैनन्। के गर्ने, मास्टरलाई तलब समयमा दिनुपर्छ।
मास्टर पाउन पनि चौपट्ट छ। सबै विदेश जान खुट्टा उचालेर बसेका छन्। जान्नी चम्कन्छन्, नजान्नी गम्कन्छन् जस्तो छ। जति तलब दिए पनि पुग्दैन। भाउ बेसाहा अचाक्ली छ, नियन्त्रणमा छैन। यो स्कुलको व्यवसाय पनि लफडा छ।
एकातिर ‘बिदा दिए हामी काममा जान्छौँ, कसले बच्चा हेर्छ? तपाईंहरूलाई त्यही बच्चा हेर्न त त्यतिका पैसा तिरेको’ भन्छन्। कोही यसो समय चाडपर्वमा त बिदा दिनु नि। खाली पढाइ भनेको छ, पियाएको छ, घोटाएको छ सुगा रटाएको छ। व्यवहारिक ज्ञान छैन भन्ने अर्को थरी छन्।
एकथरी आउँछन्, ‘पिटेर सुधार्नुस्, कडा गर्नुस्’ भन्छन्। अर्को थरी ‘हामीले कति दुःख गरेर पाएका छोराछोरी त्यो मास्टरले पिट्नलाई हो? पैसा तिरेर पिट्न पठाएको हो र?’ भन्छन्। ‘हामीले एक थप्पड नलगाएका हाम्रा सन्तानलाई पिट्ने मास्टर कुन हो? म ठिक पार्छु’ भन्न समेत भ्याउँछन्।
‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम‘जस्तो छ। जे गरे पनि सिकायत त आउँछ नै। आखिर फरक जात, वर्ग, सोच, भूगोल, सम्प्रदाय, देश, धर्म, भेसभुसा र परम्पराबाट आएकोले एकै किसिमको सोच त नहुने नै भयो।
कोही आउँछन् ‘होमवर्क पुगेन, केटाकेटी खेलेर सताए’ भन्छन्। अर्को आउँछ ‘कति धेरै होमवर्क, मोबाइलमा गेम खेल्ने टिभी हेर्न समय खोइ? पढेर मात्र पुग्छ! अरू जान्न परेन’ भन्छन्।
कोही झोला गह्रौँ भयो भन्छन्, कोही अतिरिक्त किताब पनि पढाउन पर्यो भन्छन्, कोही खेलाउन पर्यो भन्छन्। जे गरे पनि सुख छैन स्कुललाई। सिकायत त आउँछ नै धेरथोर। बच्चालाई मूलतः सानातिना कुराको चिन्ता बढी छ पढाइको भन्दा पनि। बाबुआमालाई पढाइको चिन्ता छ, जिपिए चाहिएको छ, अब्बल बनाउन छ। स्कुललाई बग्रेल्ती बच्चाहरूलाई सम्हालेर राख्नु छ।
आखिर प्राथमिकता के हो? अभिभावक र विद्यालयको सरकारको कुरा एक छिन छाडौँ। विद्यालय भन्छ, मैले मेहनत गरेको छु, परिश्रम फल पाउनु पर्छ। अभिभावक भन्छन्, यो शिक्षा अधिकार हो। संविधानले दिएको भन्छ। लेखेर मात्र पनि हुँदैन। देखेर मात्र पनि हुँदैन। सबै पक्षमा नैतिक र विवेक पलाउनु पर्छ। लगानीको प्रतिफल अभिभावक र विद्यालय दुवैले पाउनु पर्छ।