राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो नेतृत्वमा जारी आन्दोलनप्रति केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। त्यस्ता समाचारले आन्दोलनलाई कमजोर देखाउने प्रयास भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न पनि राप्रपाले निर्देशन दिएको छ।
मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। बैठकले पछिल्लो समय आन्दोलनबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाइएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
'राप्रपा जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ र निरन्तर अग्रभागमा रहनेछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'कपोलकल्पित समाचारबाट कोही पनि भ्रममा नपर्न र सम्पूर्ण पार्टी पंक्तिलाई सामूहिक प्रतिवाद गर्न आह्वान गर्दछौं।'
पार्टीले भ्रम फैलाउने कार्यमा संलग्न देखिने कुनै पनि तहका नेता वा कार्यकर्तालाई कारबाही गरिने पनि बताएको छ।
त्यस्तै, दिवंगत राजा वीरेन्द्र र राजपरिवारको सम्झनामा जेठ १९ गते कमलादी मन्दिरमा आयोजना गरिएको श्रद्धाञ्जली र दीप प्रज्ज्वलन कार्यक्रममा अवरोध भएको घटनाप्रति पनि राप्रपाले विरोध जनाएको छ।
राप्रपाले नेकपा माओवादी केन्द्र निकट वाइसिएलले कार्यक्रम अवरूद्ध गर्ने प्रयास गरेको दाबी गरेको छ। राप्रपाले पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप समेत लगाएको छ।
आगामी दिनमा पनि यस्तै कार्य जारी राखे प्रतिवाद गर्ने चेतावनी पनि राप्रपाले दिएको छ।
'यस प्रकारका कार्यहरू जारी रहे आगामी दिनमा राप्रपाले सशक्त प्रतिवाद गर्नेछ,' राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
