मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ।
एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन्। त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ।
१७ सदस्यीय पदाधिकारीमा उमेरहद लागू हुँदा १२ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन्।
अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ। यद्यपि सचिवभन्दा मुनिकाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। सोहीअनुसार विधानको मस्यौदा तयार पारेर लाने तयारी भइरहेको छ।
अनेरास्ववियुको अध्यक्ष समिक बडालले पार्टीले निर्देशन दिइसकेको अवस्थामा ३२ वर्षे उमेरहद लागू हुने बताए। त्यहीअनुसार विधानको मस्यौदा बनाएर अधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने उनले जानकारी दिए।
‘पार्टीबाट निर्देशन र परिपत्रसमेत आइसकेकाले सोहीअनुसार विधान मस्यौदा तयार पारेर अधिवेशनमा लैजान्छौं,’ उनले भने।
उनकाअनुसार अधिवेशनमा आयोजकसमेत गरेर करिब १५ सय प्रतिनिधि हुनेछन्। प्रतिनिधि व्यवस्था उपसमितिको बैठक मंगलबार बस्दैछ। यसले प्रतिनिधिको संख्या यकिन गर्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ।
नेतृत्वले मुख नखोलिसकेकाले कसकसका बीचमा प्रतिस्पर्धा हुन्छ भनेर अहिले नै निर्क्यौल गर्न गाह्रो भएको एक प्रतिनिधिले जानकारी दिए।
अहिलेसम्मको परिस्थिति हेर्दा प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेल र धामीबीच प्रतिस्पर्धाको बलियो सम्भावना छ।
३२ वर्षे उमेरहद नलाग्दा महासचिव नरेश रोकाया अध्यक्षका बलिया आकांक्षी थिए। महाधिवेशनको हलले फैसला गर्नुअघि नै पार्टीले उमेरहदको प्रबन्ध राख्न निर्देशन दिइसकेकाले उनी बाहिरिने निश्चितै छ।
त्यस्तै चार उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट पनि उमेर हदका कारण बाहिरिँदैछन्।
मौजुदा कमिटीका अध्यक्ष, उपाध्यक्षहरूले ककसलाई समर्थन गर्छन् भनेर नखुलिसकेकाले प्रतिस्पर्धीको आकलन गर्न गाह्रो भएको एक पदाधिकारीले बताए।
सचिव प्रकाश पौडेलले आफूले तहगत कमिटी पार गर्दै आएको अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताए।
‘संगठनले दिएको सबै जिम्मेवारी पूरा गरेको छु। स्कुल कमिटीदेखि जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै गण्डकी प्रदेश अध्यक्ष बनेको थिएँ। त्यस्तै संगठनको केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै सचिव बनेको छु। यहाँसम्मको कामको मूल्यांकन गरेर प्रतिनिधिहरूले अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने ठानेको छु,’ उनले भने।
उनले केही दिनमा संगठनको २४ महिने कार्यकालको योजनासहित आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्ने र त्यसलाई प्रतिनिधिहरूको बीचबाट अनुमोदन गराउने तयारी रहेको उनले बताए।
सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन्।अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन्।
मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ।
‘तहगत कमिटी पार गर्दै खारिएर आएको छु। प्रतिनिधिहरूले अध्यक्षकै रूपमा हेर्न चाहेको बताइरहनुभएको छ, त्यसैले उत्साहित पनि छु,’ उनले भनिन्।
अर्का सचिव डा. सुजन कडरियाले विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो दिन नै आफूले उम्मेदवारी दिन लागेको बताए।
निजी र सार्वजनिक क्षेत्रले दुईथरी जनशक्ति उत्पादन गरिरहेको, वर्तमान शिक्षा प्रणालीमा निजी र सार्वजनिक क्षेत्रले पठाउने पाठ्यक्रममै भिन्नता रहेकाले यसैलाई एजेन्डा बनाएर मैदानमा प्रस्तुत हुने उनले बताए। उनी काठमाडौं विश्वविद्यालयबाट अनेरास्ववियुमा जोडिएका हुन्।
‘मैले शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु। नियमित विद्यार्थीले नै अनेरास्ववियुको नेतृत्व गर्ने निर्णय हुँदा मेरो दाबी बलियो र स्वभाविक पनि रहन्छ,’ उनले भने।
एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन्। पदाधिकारीको संख्या ९ मात्रै रहनेछ। सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ।