प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न आग्रह गरेका छन्।
आइतबार बिहान प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरूले पद जाने भयो भनेर अहिले प्रधानमन्त्री लगालग काँपिरहेको सपना देखिरहेको बताए।
‘पद नगएको मैले कोही देखेको छैन। राजा, महाराजा, बादशाह सबैको पद जान्छ। आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु’ प्रधानमन्त्री ओलीले भने,‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो।’
यसअघि शनिबार पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुर्सी जाने डरले प्रधानमन्त्री थरर काँपिरहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले सरकार अचानक एउटा ह्वीममा जनताको निराशामा टेकेर बनेको नभई संघर्षको बलिदान र इतिहासबाट बनेको बताए।
‘बलिदानपूर्ण इतिहास र सही नीति हेरर यो सरकार बनाउने जनादेश प्राप्त भएको हो, भावावेशमा होइन,’ प्रधानमन्त्रीले भने,‘सरकारको लोकतन्त्रप्रतिको निष्ठाबारे अनावश्यक हल्ला चलाइएको छ। यो संसदभित्र भएका शक्तिविरुद्ध लागेर जनताको विश्वास भत्काउने प्रयासअन्तर्गत लोकतन्त्र ल्याउन लडेको सरकारमाथि प्रश्न उठाइएको छ।’
उनले सरकार अधिनायकवादतर्फ गयो भन्दा जनताले नपत्याउने भएकाले त्यस्ता कुरा नगर्न आग्रह गरे।
‘सरकारको संयम र उदारता हेरेर केही तत्व बढ्तै हौसिएको देखिएका छन्। संविधान र लोकतन्त्रको सवालमा विरोध र आलोचनाको पनि स्वागत गर्छौं। तर संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्व सरकारको उदारताबाट नहौसिए हुने हो,’ प्रधानमन्त्रीले भने।