छिमेकी वडाका वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर -८ का अध्यक्ष अजय लुइँटेल पक्राउ परेका छन्।
वडा नम्बर ७ का अध्यक्ष सुरेश थापाले आफूमाथि वडाध्यक्ष लुइँटेलले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
लुइँटेलले मादक पदार्थ सेवन गरी असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन्। गाउँपालिकामा काम गरिराखेका बेला दिउँसो ३ बजे आफूमाथि कुटपिट भएको थापाको भनाइ छ।
थापाले उजुरी दिएपछि लुइँटेल सम्पर्कविहीन थिए। उनलाई आइतबार साँझ सदरमुकामबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिप्रका ओखलढुंगाका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार वडाध्यक्ष लुइँटेललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। लुइँटेलविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसूरमा मुद्दा दर्ता गरिएको छ। लुइँटेल नेपाली कांग्रेस र थापा नेकपाका हुन्।