प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्न संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरू नगरेसम्म सदन चल्न नदिने बताएको छ।
राष्ट्रियसभामा आइतबार बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुई पटकसम्म जवाफ दिए पनि चित्तबुझ्दो जवाफ नआएको र पीडितका तर्फबाट किटानी जाहेरी दिए पनि प्रहरीले नलिएको भन्दै कांग्रेसका सांसदले सदन चल्न नसक्ने बताएका थिए।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘किटानी जाहेरी किन लिन सक्नुभएन? निवेदन मात्रै लिएको भन्ने गृहमन्त्रीजीले जवाफ दिनुभएको छ।’
बाँके सभापति कोइरालाको हात भाँच्न संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरू नगरेसम्म सदनमा अवरोध नहट्ने पाण्डेले बताए।
गृहमन्त्री थापाले दोषीमाथि कडा कारबाही गर्न सरकारका तर्फबाट निर्देशन दिइसकेको र तीन जना पक्राउ परेको जानकारी सदनमा गराएका थिए।
‘तीन जना पक्राउ परिसके, अरू पनि तीव्र खोजीमा छन्। सरकारले यस घटनालाई सामान्य रूपमा लिएको छैन,’ गृहमन्त्री थापाले भने।
कांग्रेस सांसद उठेर अवरोध गरिरहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले ३० मिनेटका लागि सदन स्थगित गरेका छन्।